घरको माया एकाङ्की पाठ पढ्नुहोस् ।
पाठ १४ : घरको माया
पात्रहरू
जमानसिंह र लालबहादुर (दुई मित)
गाउँले केटो
कान्छो
बतासे
अधबैंसे आइमाई
स्थान: दरभङ्गा (बिहार)
(असार महिनाको बिहानीपख भए तापनि प्रचण्ड गर्मी छ । प्लेटफर्ममा लालबहादुर र जमानसिंह अल्लारे छाँटले हिँडिरहेका छन् । दुबैको एकनासे जिनको कट्टु र भिन्नाभिन्नै कपडाको बाँकटे कमिज छ । दुवै गधार्पाच्चसी पार नगरेका, दुब्ला दुब्ला, मझौला कदका, काला काला वर्णका छन् । लालबहादुरको मुख चेप्टो, जमानसिंहको नाक नेप्टोभन्दा बढ्दा विशेषता अरू केही छैनन् । दुबैका जुगाका रेखी स्पष्ट देखिन्छन् ।)
लालबहादुर : हैन त मितज्यू, पहाडमै बसिराख्या भए यस्तो देख्न सुन्न कहाँबाट पाइन्थ्यो ?
(यत्तिकैमा नेपथ्यबाट कसिएको आवाजमा “गरम गरम चाय”, “मुम्फली मुम्फली” कराएको सुनिन्छ । छोटो कछाड कस्यो, फाटेको ठुटे र भोटो लायो, भैंसीको भकारो सोहोर्यो, बस्यो ।)
जमानसिंह : हो त नि मितज्यू, खुबै सोख गरियो भने झुत्रो गुन्द्री, पिँढीमा बसेर पिच्चपिच्च सुर्तीको थुक आँगनमा थुक्नु, त्यत्ति न हो ।
लाल : म त सम्झन्नँ गाउँघर पनि, के सम्झनु छ र ? दुःखै सम्झनु त हो नि !
जमान : हो त नि, मेरा त झन् आमा छैनन्, बुबा छैनन्, तपाईं आमाबुबा भएकालाई त त्यस्तो छ भने मलाई झन् कस्तो ? के सम्झनु !
लाल : आमा सखारै उठ्दी हुन्, जाँतामा कोदो पिन्दी हुन्, बुबा रातमा मेलाबाट आएर अगेनाको छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खाँदा हुन्, त्यही त हो नि । त्यो गाउँ, त्यो ठाउँ, त्यो चाला, त्यो पाखोलाई सम्झनुभन्दा बिर्सनु जाती । हैन त, मितज्यू ?
जमान : हो त नि, जहाँ भए पनि काम नगरी खान पाइने हैन । देशमै बस्नु जाती नि । एउटा गर्मी भने चर्को यहाँको, तालु नै पोल्दोरहेछ । बिहानीपख नै यस्तो । (पसिना पुछ्छ) दिन छिप्पेपछि झन् के चाहियो र !
लाल : कुरो नगर्नोस्, उहाँ पनि उस्तै हो । वैशाखजेठको महिना, फाँटमा काम गर्दा कस्तो पार्थ्यो ? काँचो मेवा करमकरम चपाउँदा पनि आँत सुकेको सुक्यै हुन्थ्यो । भारी बोकेर उकालो चढ्दा कस्तो पार्थ्यो ? बिर्सनुभो ?
जमान : त्यो त हो, जस्तै गर्मी भए पनि घाममा मात्रै हो नि ! पानी चिसो, हावा चिसो, यहाँ चाहिँ घाम पनि तातो, पानी पनि तातो, हावा पनि तातो । तीन ताताले त के चाहियो, उखुमै पार्दोरहेछ ।
लाल : उसो भए मितज्यूलाई घरको माया लाग्यो कि त ?
जमान : को छ र माया लाग्नु ?
लाल : मलाई त मितज्यू, mरे पनि यही देशमै मरूँ । पछि हंस पनि त्यो पाखामा नजाओस् जस्तो लाग्छ । (यत्तिकैमा मैलो धोती, गन्जी र थोत्रो चप्पल लाएको फेरीवाला काठको तख्तामा मालसामान राखेर घाँटीमा त्यही झुन्ड्याएर “ले पान, … मुम्फली” कराउँदै आउँछ । मुखभित्र पानको बुजो छ । लालबहादुर र जमानसिंह त्यतैतिर हेर्छन् ।)
फेरीवाला : ए साथी ! पान खाएगा ?
जमान : हाम पान नहीं खाएगा
लाल : लाओ पान । (पैसा दिएर पान खान्छ । फेरीवाला उस्तै प्रकारले कराउँदै जान्छ ।) मितज्यू, देशमा त पान र पानी खुब खानुपर्छ ।
जमान : मलाई त भन्नुहोला मितज्यू, साँचो कुरा गरूँ भने, देशको सबै कुरा मिठो लाग्यो, पान र पानी चाहिँ रद्दी । यहाँ त सबै जना पानै खाने, जसको मुखमा हेर्यो पानैको बुजो । कस्तो न होला जस्तो लाग्यो मलाई, कहिले पान मुखमा नपरेको मान्छे म, एक बिरा किनेर कत्रो रहरले मुखमा हालेर के चपाएको मात्र थिएँ मेरो त सारा जिभ्रो, चरचर, परपर परपर, झमझम झमझम, रमरम रमरम, पिरेको पात खाएको जस्तो, काँचो टिमुर चपाएको जस्तो, के के भो के के भो । तैपनि पछि पछि मिठो स्वाद आउने पो हो कि भनेर चपाउँदै गएँ । के सकिन्थ्यो । घाँटी नै किक्लिक्क किक्लिक पार्ला जस्तो पो भएर आउन थाल्यो र बलजफतैसित थुकिदिएँ । जिभा सबै पाछेछ, त्यस दिनदेखि पान खान दुरदुहाई । अनि पानी पनि नमिठो । पानी अमलाको झोल पिएको जस्तो । स्वाद नै छैन, खल्लो । हाम्रो उहाँ मूल रसाएर आएको कुवाको पानी ! ढुङ्गेधाराको पानी । अहा कस्तो !!!
लाल : मितज्यू, तपाईं त फेरि पनि नेपालै सम्झन पो लाग्नुभो । कस्तो माया नगएको ।
जमान : केको सम्झन्थें नाइँ । माया लाग्ने भए के भनेर छाडेर आउँथे र ? कुरामा कुरा चल्यो र कुरा गरेको सम्म पो !
लाल : म त सपनामा पनि सम्झन्नँ त्यो गाउँ, त्यो ठाउँ, ती गाउँले ।
जमान : म साँच्ची कुरा भनूँ त, मितज्यू ?
लाल : भन्नोस् न, के कुरा ? (जमानसिंह अलि दुविधामा पर्छ ।) किन अनकनाउनुभयो ? भन्नोस् न !
जमान : फेरि तपाईंलाई मन नपर्ने हो कि ?
लाल : कुरै सुन्न नपाइकन…………।
जमान : बरु, बतासेलाई भने बराबर सम्झिरहन्छु । कति बिर्सन खोजें, बिर्सन सक्दिनँ ।
लाल : को नि बतासे भनेको ?
जमान : हाम्रो गाउँकी एउटी । उमेरमा त मभन्दा जेठी नै हुन् तर मुख हेर्दा मभन्दा कान्छी जस्ती देखिन्थ्यान् । पँधेरामा जाँदा दुबै कर्के आँखाले हेराहेर गथ्यौं । उनीसित त्यस्तै परेको थियो ।
लाल : त्यस्तै परेको भनेको के नि ?
जमान : अब आफैँ विचार गर्नोस् न, त्यस्तै परेको क्या, के भनूँ ! (हाँस्छ ।) (लालबहादुर पनि हाँस्छ, दुबै हाँस्छन् ।)
लाल : उसो भए त बतासेको मायाले मितज्यूलाई घरमै फर्काउँछ कि ? मलाई त शङ्का लाग्यो ।
जमान : त्यस्तो के कुरा गर्नुभएको । छाडेपछि छाउँ छाडें । एउटा सम्झन्छु भन्ने कुरोसम्म पो गरेको ! (लालबहादुर नेपथ्यतिर टाढा हेर्छ । जमानसिंह पनि हेर्छ ।)
जमान : के हेर्नुभएको ?
लाल : (हेर्दै) को हो त्यो ?
जमान : (हेर्दै) को छ र ?
लाल : (हेर्दै) देख्नुभएन ?
जमान : (हेर्दै) के छ र ?
लाल : (हेर्दै) देख्नुभएन ?
जमान : (हेर्दै) हैन के ?
लाल : (हेर्दै) अझ देख्नुभएन ? ऊ दौरा लाएको पहाडी केटो यतैतिर आउँदै छ । देख्नुभयो ? हामीसितै भेट्न आएको जस्तो छ ।
जमान : ए, हो त नि । ए, त्यो त चिने चिने जस्तो पो लाग्छ । हाम्रै कान्छा त हैन ? ए हो, लौ कान्छा नै हो । कताबाट आइपुगेछ यहाँ । ऊ छोटो दौरा र कछाड, गरम भएर होला दौराको तुना फुकालेछ, टोपी फालेछ ।
लाल : गर्मी भएरै होला नि !
जमान : दुब्लाएछ बिचरो । हेर, हामीलाई देखेर आधार पाएको जस्तो गरेर आएको । साँझमा माउलाई देखेर जसरी बाच्छो खुसी भएर नाच्दै नाच्दै आउँछ । बिचरो १५/१६ वर्षको केटो एक्लै रहेछ, बिरानो ठाउँ, आत्तियो होला । (कराएर) ए कान्छा ! क्या हो ? कहाँबाट आइपुगिस् ? (दुबै जना उत्कण्ठाले उतैतिर हेरिरहेका हुन्छन् । यत्तिकैमा कान्छो आइपुगेर तिनीहरूको अगाडि उभिन्छ र दौराको फेरले पसिना पुछ्छ ।) दुब्लाइछस् कान्छा, तँलाई के भो ? त्यस्ता भकुन्डे गाला त खै । कहाँबाट आइपुगिस् ? किन गाउँ छाडेको ? एउटै छोरो, सारा खेतीपाती, घरधन्दा धान्नुपर्ने छोरो लौ यसरी पो हिँडेछ । उहाँ आमा कति रुंदी हुन् बालक छोरो, कहाँ गयो, के भयो भनेर !
लाल : बेसै गरिस् कान्छा, त्यो पाखामा बसेको भए पाखे, खरीगाँठे हुन्थिस्, बुद्धि पुऱ्याइस् बेलैमा । हाम्रा उमेरमा त बिजुली भइसक्छस् । भाग्यमा भए धन पनि कमाउलास् ।
कान्छो : जमान दाइ, म त भोकले भुतुक्क भा’को छु । दुई दिन भो क्यै खान नपाएको । उभिन पनि सक्दिनँ ।
जमान : बिचरा ! पख् है त, म बदाम किनेर ल्याउँछु । धन्दा नमान्, अब त हामीलाई भेटिहालिस् नि । हाम्रो जे गत, तेरो त्यही गत । (जान्छ)
लाल : आइज उता बेन्चमा गएर बसौँ । (दुबै जना अलि पर यात्री बेन्चमा गएर बस्छन् ।)
कान्छो : घरै जाऔं लाल दाइ, यस्तो ठाउँमा यो गर्मी खाएर किन बस्नु ?
लाल : के कुरा गर्छस् कान्छा ? देश भनेको देशै हो । के छ र गाउँमा ? एक छाक मकै, एक छाक भोकै हुन जाने ?
कान्छो : दुबै छाक भोकै भएर भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती । क्यै नभए पनि चिसो बतास त छ कि ! यो बर्खामास पन्चे बाजा बजार बादकहरू आलीमा बस्ता हुन्, रोपारहरू धान रोप्ता हुन्, लाठेहरू बाउसे गर्दा हुन्, मेरो त मनै उहीँ पुगिराख्या छ । झलक्क झलक्क त्यहीँको रमाइलो सम्झन्छु, बोल्न पनि सक्दिनँ म त लाल दाइ, भोकले पो हो कि छिन छिनमा घाँटी नै प्याकप्याक्ती सुकेर थुकको थोपासम्म पनि जिभ्रामा छैन, सम्झन्छु, रोऊँ रोऊँ जस्तो लाग्छ । के दशा लागेर अर्काको बहकाउमा परेर आ’छु नि जस्तो लाग्छ ।
लाल : धत्तेरी ! कान्छा, तेरा दुःखका दिन सकिएछन् । सुदिनले तँलाई डोऱ्याएर ल्यायो यहाँ । अब नोकरीसोकरी खोजौँला, दरबानमा तँ अलि सानो छस्, लिंदैनन्, सके हामी जस्तै कुल्ली होलास्, मोटर धुनेमा कसो होला, केही नभए पनि होटेलमा त पक्का ।
कान्छो : होटेलमा रे ? यी साराका जुठा भाँडा माझेर बस्ने मैले ? इज्जत फालेर पैसा किन कमौनुपऱ्या छ र ?
लाल : कल्ले देख्ने हो र यहाँ ? पैले पैले हामीले पनि त त्यसै गरेका हौं नि । ऐले पो बल्ल कुल्ली हुन पायौँ ।
कान्छो : अहँ । (जमानसिंह बदाम लिएर आउँछ र कान्छालाई दिन्छ । ऊ छोडाएर खान थाल्छ तर निल्न नसकेर घाँटी किक्लिक्क किक्लिक्क पार्छ ।)
जमान : घाँटी त ज्यादै सुकेको पो रहेछ, निल्नै सकेन बिचराले । पख् है त, म पानी लिएर आउँछु । (जान्छ ।)
कान्छो : मलाई भोकले बोक्रैसमेत चपा’र निलूँ जस्तो भ’को छ ।
लाल : ज्यादै भोकाइस् । नेपाल फर्कने मति नलिएस् बाबै, उँभो लाग्ने छैनस् । मैले तँलाई बेलैमा भनिदिएको छु । तँ काँचो केटो, ऐले तँलाई भुटे पनि हुन्छ, पिने पनि हुन्छ । भुटे फुल उठ्लास्, पिने रोटी बन्लास् … । (जमानसिंह पानी ल्याएर कान्छालाई दिन्छ । ऊ त्यो पानी एकै सासमा पिइसक्छ ।)
कान्छो : पानी पनि के पिउनु छ र ? एक भल्को उमाल्या जस्तो । हाम्रो घरको खोलाको क्या पानी, दर्सनढुङ्गासित लडीबुडी लडीबुडी खेलेर आ’को पानी । (कान्छो कुरुमकुरुम बदाम खाइरहन्छ । उनीहरू त्यसलाई के के मनले हेरिरहन्छन् ।)
जमान : त्यत्तिले नै अघाइस् त कान्छा ? आधा त राखिस् नि !
कान्छो : खाऊँ भने त दुई माना पनि खान सक्छु नाइँ । मैले मात्रै खा’र भ’न, उहाँ दिदी भी म जस्तै भोकी छन् । उनलाई पनि त लगिदिनुपर्यो नि । (‘दिदी’ शब्द सुन्नासाथ जमानसिंह बसेको ठाउँबाट एक्कासि उठेर अत्यन्त आश्चर्य, हर्ष र उत्सुकताले प्लावित हुन्छ ।)
जमान : दिदी पनि आएकी छिन्, कान्छा ? हो कान्छा ? बतासे दिदी पनि ?
कान्छो : हो
जमान : बतासे दिदी पनि ?
कान्छो : हो
लाल : कहाँ छिन् त ?
जमान : कहाँ छन् त, कान्छा ? किन एक्लै छाडेर आइस् त ?
कान्छो : उता पर भुइँमा सुतिरा’की छन्
जमान : जाऔं न त कान्छा, हामी पनि उहीं
कान्छो : म हीं डाकेर ल्याइदिन्छु नि ।
जमान : हामीले उहाँ जान हुँदैन र ?
कान्छो : हीँ आइहाल्छिन् नि, उनी पनि आधार नपा’र बगरौं पऱ्या डुङ्गा जस्तै चल्नै सकेकी छैनन् ।
लाल : भैगो हामी यहीं बसौं न त । उसैले डाकेर ल्याइहाल्छ नि ।
जमान : जात जा कान्छा, झट्टै डाकेर ले । जा । (कान्छो जान्छ । ऊ त्यसलाई टाढासम्म हेरिरहन्छ ।)
लाल : के तो मितज्यू, तपाईंलाई आफ्नो घरको भन्दा बढ्ता माया बतासेको लागेको थियो, उसैलाई सम्झिरहनुहुन्थ्यो, सपनामा पनि देख्नुहुन्थ्यो होला, अब त ऊ यहीँ आइहाली । नेपाल त किन सम्झनुहोला, किन फर्कनुहोला र अब ?
जमान : साँचो कुरा, अब त मभरिको सुन कसैले दिन्छ भने पनि त्यो पाखामा जान्नँ, गुन्द्रुक र ढिँडो खान्नँ ।
लाल : उसलाई पनि यहाँ राख्नुपर्छ अब । कतै नोकरी लगाइदिउँला । बतासे, तपाईंकी भन्नु कुन, मेरी भन्नु कुन, हामी हित्तचित्त मिलेका मित मित, हैन त मितज्यू ? (जमानसिंह सुनेको नसुन्यै गर्छ र खल्तीबाट बाटुलो ऐना झिकेर आफ्नो मुख मुन्टो घुमाई हेर्छ । त्यस्तै सानो काँगियो झिकेर कपाल कोर्छ । चिट्टे चिम्टा झिकेर त्यहीँ ऐनामा हेरी हेरी आनन्दको सुसेलीमा गीत गाई गाई दाह्रीका फाट्टफुट्ट रौं उखेल्न थाल्छ । लालबहादुर मुसुमुसु हाँसेर उसको चेहरा हेरिरहन्छ । ऊ चाहिँ छिन छिनमा कान्छो गएको बाटातिर पनि दृष्टि दिँदै गर्छ ।) (एकछिनपछि नेपथ्यतिर हेरेर) ऊ, ल्यायो कान्छाले । आई बतासे भन्ने, कस्ती अग्ली नि ! (जमानसिंह पुलुक्क उतैतिर हेरेर ऐना, काँगियो, चिम्टा खल्तीभित्र राख्छ ।)
जमान : आइमाई भएर मात्रै अग्ली देखिएकी, मान्छे त हामी जत्रै हुन् । पातलो जिउले पनि अग्ली भएकी होली नाइँ ।
लाल : भो, अब चुप लागौँ
जमान : भोकाएकी भए पनि हाँस्तै हाँस्तै आएकी छ, आफ्नो मान्छेलाई भेट्टाएँ भन्ने खुसीले पो हो कि !
लाल : भो भो अब चुप लागौँ । (दुबै जना उतैतिर हेरिरहन्छन् । बतासे र कान्छो आएर उनीहरूको नजिकै उभिन्छन् ।) सन्चै छ, बतासे दिदी ?
बतासे : के दिदी भन्छौ ? बैनी भन न
लाल : हो त नि आफूभन्दा कान्छीलाई केको दिदी भन्नु त नि ? अनुहारले नै बताउँछ, त्यस्तो कलिलो । बस्नोस्, बस् न भाइ ! (त्यही बेन्चमा जमानसिंह, लालबहादुर, कान्छो, बतासे लहरै बस्छन् । बेन्चको एक छेउमा जमानसिंह र अर्को छेउमा बतासे हुन्छन् ।)
जमान : हैन, कताबाट आयौ ? कैले आयौ ? किन आयौ ? कसरी आयौ ? कल्ले ल्याइदियो ?
बतासे : त्यही मोरो पापी पोक्चेले त हो नि । गाउँका सबै जना देश गइसके, हिँड जाऔं हामी पनि, यो पहाडमा दुःख पाएर किन बसिरहने भनेर मलाई फकायो, बहकायो । देश गए त के के न होला, सुनकै मान्छे होइएला कि भनिठानेर भएका गहनापात बेचविखन गरेर उसैका साथ आयौँ । बाटाभरि पनि हाम्रै सामल घिच्यो, यहाँ आइपुगेर त हामी दुबैलाई यसै छाडेर कहाँ भाग्यो कहाँ । दुई दिन भो हामी दिदीभाइ अलपत्र परेका । मर्न नसकेको मोरो । (fरियाको सप्काले पसिना पुछ्छे)
कान्छो : ऐले गाली गछ्यौं ऊ वेला मलाईभन्दा बढ्ता माया गथ्यौं
बतासे : (हप्काएर) चुप लाग्
जमान : धामीको छोरो पोक्चे अब । गाउँभरको छट्टु त्यो
लाल : के भो त जाती नै भो, हामी सबै एकै ठाउँ, एकै डेरामा बस्न पायौँ । दिदीभाइलाई नोकरी खोजौँला, के भो त ?
बतासे : को बस्छ यस्तो ठाउँमा ? अघाइयो । मलाई त यहाँ जे पनि गन्हाउने पो हुन लाग्यो । खान थाल्यो भुटुन गनाउने, पिउन थाल्यो पानी गनाउने, रेल गनाउने, यो त ठाउँ नै गनाउने पो रहेछ । आफ्नो गाउँमा त भकारोकै छेउमा गुन्द्री हालेर सुत्ता पनि गनाउँदैनथ्यो, मलकै भारी बोक्दा पनि गनाउँन्नथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ ? भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर वरको चौतारीमा शीतल हावा खाएर सुतौँला नि । जमानसिंह दाइ, हिँड तिमी पनि, जाऔं आफ्नै घर, आफ्नै देश ।
लाल : जाने भए किन आएको ? आइसकेपछि अब किन जाने ? अलि वर्ष नोकरी गरौं, धन कमाऔं, अनि जानुपरे पनि त्यसै वेला जाउँला ।
जमान : हो नि बतासे बैनी, बसौँ न यहीँ अलिक वर्ष ।
कान्छा : जाऔं दिदी, जाऔं, आफ्नै गाउँ जाऔं। म त ह्ययाँ आएदेखि नै निसास्या’ छु ।
बतासे : किन बस्ने यहाँ ? एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौंला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ? उहाँ आफ्नो चाडबाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ? जाऔं हिँड जमान दाइ, मर्नुपरे पनि बरु आफ्नै देशमा मरौंला, आफ्नै भुइँमा लम्पसार परौंला, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जलौँला । हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला । आफ्ना पुर्खाको धर्म थामौँ । जमान दाइ, जाऔं । आजै जाऔं । उठ, ऐल्यै जाऔं । गइहालौँ । नबसौं ।
जमान : (लालबहादुरतिर हेरेर) मितज्यू, (लालबहादुर बोल्दैन) मितज्यू ! (लालबहादुर उस्तै) मितज्यू, जाऔं ।
लाल : (लामो सास फेरेर) म त जान्नँ
जमान : मितज्यू, जाऔं । हाँस्तै हाँस्तै, नाच्तै नाच्तै, पहराको फूलको माला गाँस्तै गाँस्तै जाऔं ।
लाल : (सुइ’यऽ सुस्केरा हालेर) म त जान्नँ । चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिच्न सक्तैन । तपाईंहरू नै जानोस् ।
जमान : मितज्यू, चित्त दुखाउनुहुन्छ कि ?
बतासे : जाऔं जाऔं, सबै एकै जहान भएर जाऔं । कसैले कसैको चित्त दुखाउने कुरा नै पर्दैन ।
लाल : म त जान्नँ, आएँ आएँ, जानोस् तपाईंहरू नै
बतासे : उठ् कान्छा, उठ जमान दाइ, (आफू पनि उठ्छे ।)
जमान : जाऊँ है त मितज्यू, फेरि आइयो भने भेटौँला नि ! (लालबहादुर जमानसिंह र सबैलाई हेर्छ र ठुस्केको मुद्राले मुन्टो फर्काउँछ ।)
बतासे : (गाएर) पसिना मेरो झट्टै पुछिदेला पिपल वरको छायाले, वनका वस्तु साँझ फर्किहाले आफ्नै घरको मायाले
लाल : (भित्र निमन्त्रणा भएको जस्तो चेहराले हेरिरहन्छ !!! र एकछिनपछि ….) मित त दोचार दिनमा घर पुगिहाल्लान् । शमीको शीतल बतास, छहराको पानी, रोपाइँको रमाइलाले मलाई बिर्सिहाल्लान् । ममात्र उनलाई सम्झिरहने भएँ, फाँटमा अलमलिएको गोरु जस्तै पसिना चुहाई चुहाई बाटो नपाएर घुमिरहने भएँ, रुमल्लिरहने भएँ (टाढाबाट कराएको आवाज सुनिन्छ, ‘मितज्यू ! आउनोस् सँगै जाऔं ।’) (उता हेर्छ, सोच्छ, फेरि उता हेर्छ, सोच्छ) (कराएर) मितज्यू । मितज्यू । आएँ । म पनि आएँ । सँगसँगै जान आएँ । घरको मायाले आएँ । (बिस्तारै बिस्तारै जान्छ ।)
शब्द र अर्थ
आँत: शरीरको भित्री भाग, अन्तःकरण
रद्दी: काम नलाग्ने, गएगुज्रेको
उत्कण्ठा: उत्सुकता
बिजुली हुनु: सिपालु हुनु
गत: अवस्था
लाठे: रोपाइँमा कोदालीको काम गर्ने व्यक्ति
प्लावित हुनु: उत्तेजित हुनु
चेहरा: अनुहार
भुटुन: तरकारी वा अन्य चिज पकाउन प्रयोग गरिने घिउ वा तेल
भकारो: गाई, भैंसी आदि पशुको मल
कमारो: नोकर
चित्त: मन, दिल
