अभिव्यक्ति लेखनसँग सम्बन्धित सङ्कलन
जीवनी लेखन
नामः ध्रुवचन्द्र गौतम
जन्म: वि.सं. २००० पुष २ गते
जन्मस्थान: भारतको रक्सौल
माता / पिता : दीपवती र गोविन्दप्रसाद गौतम
शिक्षा : नेपालका विद्यालय र विश्वविद्यालयबाट स्नातकोत्तरसम्म अध्ययन, भारतको पूर्णे विश्वविद्यालयबाट विद्यावारिधि
प्रथम प्रकाशित रचना : ‘तटस्थता असफलता’ कविता रूपरेखामा प्रकाशित
प्रमुख कृतिहरू: ‘अन्त्यपछि’, ‘अभिलेख’, ‘एक सहरमा एक कोठा’, ‘उपसंहार अर्थात् चौधी अन्त्य’, ‘कट्टेल सरको चोटपटक’ ‘बालुवामाथि’ आदि (उपन्यास), गौतमका प्रतिनिधि कथाहरू, गौतमका एकाउन्न कथा’ (कथा सङग्रह)
विशेषताः- विसङ्गतिवादी र अस्तित्ववादी दर्शनमा केन्द्रित भई उपन्यास लेख्नु
– उपन्यास लेखनमा आलोचनात्मक यथार्थवाद प्रयोग गर्नु
– मानवीय चरित्र, राजनीति आदिलाई व्यङ्ग्य प्रहार गर्न खप्पिस
– बहुमुखी प्रतिभा
पुरस्कारः ‘मदन पुरस्कार (२०४०), ‘साझा पुरस्कार (२०५९),
धुव्रचन्द्र गौतम
नेपाली साहित्य आकाशका विभिन्न नक्षत्रहरू मध्ये ध्रुवचन्द्र गौतमलाई पनि एक सच्चा साहित्यिक हस्तीको रूपमा लिन सकिन्छ । उनको जन्म वि.सं. २००० पुस २ गते भारतको रक्सौलमा माता दीपवती र पिता गोविन्दप्रसाद गौतमको सुपुत्रको रुपमा भएको थियो । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ उनी सानै उमेरबाट मिहिनेती र कर्मठ देखिन्थे । यसैक्रममा अध्ययनमा औधी रुचि राख्ने गौतमले नेपालका विभिन्न विद्यालयबाट शिक्षा लिन सुरुवात गरे भने विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरे । त्यसपछि पनि उनले आफ्नो पढाइको क्रमलाई निरन्तरता दिन चाहे । यसका साथै उनले पढाइलाई कहिल्यै पनि बोझको रूपमा लिएनन् त्यसै बमोजिम भारतको पूर्णे विश्वविद्यालयबाट विद्यावारिधि तहसम्मको अध्ययन पूरा गरे । गौतमले आफ्नो अध्ययनको साथसाथै आफ्नो कलमलाई साहित्यतर्फ लम्काउने सोचका साथ तटस्थता, असफलता कविता रूपरेखामा प्रकाशित गरेका थिए, त्यो नै उनको पहिलो प्रकाशित कविता थियो । मानव चरित्र, राजनीतिलाई व्यङ्ग्य गर्न खप्पिस गौतम विसङ्गतिवादी र अस्तित्ववादी दर्शनमा केन्द्रित रहेर उपन्यास लेख्नु उनको मूल विशेषता मानिन्छ । ‘अन्त्यपछि’, ‘अलिखित’, ‘एक सहरमा एक कोठा’, ‘उपसंहार अर्थात चौथो अन्त्य’, ‘कट्टेल सरको चोटपटक’, ‘बालुवामाथि’ आदि प्रमुख उपन्यासहरू लेखेर चर्चा कमाएका गौतमका कलम कथातर्फ पनि लम्किएको पाइन्छ । उनका कथा सङ्ग्रहहरूमा ‘गौतमका प्रतिनिधि कथाहरू’ र ‘गौतमका एकाउन्न कथा’ आदि चर्चित कथासङ्ग्रहहरू हुन् । यसर्थ उपन्यास, कथा लगायत विविध क्षेत्रमा कलम चलाएका हुनाले यिनलाई बहुमुखी प्रतिभाको धनी मानिन्छ ।
सङ्ख्याका दृष्टिले विविध साहित्यिक कृतिहरू रचना गरेता पनि उनका रचना अमूल्य रहेका छन् । यही कारणले गर्दा वि.सं. २०४० मा मदन पुरस्कार प्राप्त गरेका थिए भने वि.सं.२०५९ सालमा साझा पुरस्कार प्राप्त गरेका थिए । यसर्थ विसङ्गतिवादी अस्तित्ववादी र यथार्थवादी व्यङ्ग्यकारका रूपमा चर्चित ध्रुवचन्द्र गौतमका कृतिहरू अति सान्दर्भिक र समय सापेक्ष मानिएका छन् ।
विपक्षीको तर्फहरूको खण्डन गर्दै “छोरीलाई पैतृक सम्पत्तिभन्दा शिक्षा दिनुपर्दछ‘ भन्ने विषयका पक्षमा आफ्ना गहकिला भनाई प्रस्तुत गर्नुहोस् ।
आदरणीय यस सभाका सभाध्यक्षज्यू, निष्पक्ष निर्णायक मण्डल उपस्थित गुरुवर्ग तथा मेरा प्यारा साथीहरू !
आज यस वादविवाद प्रतियोगिता आयोजना गरेर मलाई पनि शब्द अगाडि आई आफ्ना २/४ भनाइहरु राख्न दिनु भएकोमा म आयोजकप्रति सर्वप्रथम धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु । आजको यस वादविवाद प्रतियोगितामा छोरीलाई पैतृक सम्पत्ति दिनुभन्दा उनीहरूलाई शिक्षा दिनुपर्दछ भन्ने विषयको पक्षमा आफ्ना तर्कहरू अगाडि राख्न चाहन्छु ।
हाम्रो समाज कुसंस्कार र कुरीतिको बन्धनले बाँधिएको छ । जन्मँदा चाहे छोरा चाहे छोरी दुवै बराबरी हुन्छन् त्यसपछिको विभेद त यो समाजको उपज हो । छोरा र छोरीलाई विभेद गर्नु कदापि राम्रो मानिदैँन । जसरी छोरालाई पैतृक सम्पत्तिको साथमा शिक्षा दिइन्छ छोरीलाई शिक्षा मात्रै भएपनि दिनुपर्दछ । वास्तवमा एउटा भोको व्यक्तिलाई माछा दिएर एक छाक टार्नुभन्दा उसलाई माछा मार्ने तरिका सिकाउनु अति राम्रो मानिन्छ । त्यसैगरी छोरीलाई पनि शिक्षा प्रदान गर्ने हो भने उनीहरूले जीवनका यावत् समस्याहरू आफैँ समाधान गर्न सक्छन र जीवनयापन गर्न कुनै गाह्रो हुँदैन । छोरी शिक्षित बनी चेतनशील भएमा उसको जीवन सुखमय हुन्छ । सम्पत्ति त हातको मैला हो आज रहन्छ भोलि कहाँ जान्छ कुनै थाहा हुँदैन ।
सभाध्यक्ष महोदय, मेरा पूर्ववक्ता साथीले छोरीलाई शिक्षा हैन बरु सम्पत्ति दिनुपर्दछ भनेर वकालत गरेको सुन्दा उहाँले अहिलेको वास्तविक संसारलाई बुझ्नुभएको नै रहेनछ । त्यसैले उहाँका तर्कहरू अध्याँरोमा झटारो हाने जस्ता थिए । अहिलेको समय विज्ञान र प्रविधिको हो भन्ने उहाँले बुझ्नु आवश्यक छ। आजको युग शिक्षा र चेतनाको युग हो । हामीहरू पनि युगअनुसार चल्न सिक्नुपर्दछ अन्यथा मानिस पनि पानी विनाका माछा जस्तो छट्पटाउनु बाहेक केही हुदैन । यसर्थ छोरीलाई पैतृक सम्पत्ति दिनुभन्दा शिक्षा दिनु धेरै उचित मानिन्छ ।
(जनाउ घण्टी बज्छ)
सभाध्यक्ष महोदय, सम्पति त चोरले चोर्न पनि सक्छ, भाइ अंश लाग्दछ । यसर्थ शिक्षा त नत चोरले चोर्ने न त भाइ अंश लाग्ने कुनै किसिमको डर हुँदैन । छोरीहरू पनि आज प्रधानमन्त्री, राष्ट्रपति, र विभिन्न सरकारी कार्यालय प्रमुख बन्न सफल भएका छन् आखिर त्यसको पछाडि सबै शिक्षाको देन नै हो । अतः अन्त्यमा पुनः छोरीलाई पैतृक सम्पत्ति दिनुभन्दा शिक्षा दिनु उत्तम हुन्छ भन्दै मेरा गहकिला तर्कहरू यहीं अन्त्य गर्दछु । धन्यवाद ।
पहिलोपटक एस्.ई.ई. परीक्षाको अगिल्लो रात मनमा उठेका कुरालाई समेट्दै एउटा मनोवाद तयार पार्नुहोस् ।
पहिलो पटक एस्.ई.ई. परीक्षाको तयारी
स्थानः सुत्ने कोठा
समयः रातीको १० बजे
पात्रः सुबोध
(सुबोधको घर गोरखा जिल्लाको सदरमुकाम नजिकै छ । ऊ अहिले आफ्नो परिवारसँग गोरखामा बस्छ । ऊ अहिले कक्षा १० मा पढ्दै छ । भोलिदेखि उसको एस.ई.ई. परीक्षा सुरु हुँदै छ । त्यसैले उसका मनमा विभिन्न किसिमका कुराहरू खेलिरहेका छन् ।)
विद्यालयमा मात्र परीक्षा दिइरहेको थिएँ । तर भोलिदेखि त एस्.ई.ई. परीक्षा दिँदैछु । यो मेरो जीवनको सुरुवात हो । यो परीक्षा भनेको त राष्ट्रिय परीक्षा हो र भोलिदेखि नै आफ्नो जीवन लक्ष्यको पाइला अघि सार्दै छु ।
साँच्चै ! भाग्यले साथ दिए मानिसले जस्तो सुकै चुनौतीलाई पनि अङ्गाल्न सक्छ । (आफ्नो भाग्य सोच्दै) मेरो चाहिँ भाग्य कस्तो छ होला ? यदि मलाई पनि मेरो भाग्यले साथ दिए यस परीक्षामा अवश्य सफल हुनेछु । यस एस.ई.ई. परीक्षामा सफल भएँ भने त अब जस्तोसुकै जीवनको अग्नि परीक्षामा पनि सफल हुनेछु । त्यसपछि एक एक हुँदै जीवनको गन्तव्यसम्म अवश्य पुग्न सक्छु । (मनलाई बङ्ग्याउँदै) तर फेरि यो परीक्षामा नै असफल भएँ भने त के हुने होला मेरो जीवनमा। जिन्दगी नै धरापमा पर्न सक्छ । (बुबाआमा र शिक्षकशिक्षिकालाई सम्झँदै) झन् त्यसपछि, बुबाआमा र शिक्षक शिक्षिकाहरूसँग कसरी यो मुख देखाउने । त्यसमाथि झन् बुबाआमाले यत्रो दुःख गरेर स्कुलमा पठाउनु भएको छ । बुवाआमाले दिनरात पसिना बगाएर स्कुल फि तिर्नु हुन्छ । यति गर्दागर्दै पनि यदि म यस परीक्षामा असफल भएँ भने त म मेरो बुबाआमाको गुन कहिल्यै तिर्न सक्ने छैन र बुबाआमालाई दिएको दुःख र कष्टको सट्टा कसरी म सुख दिन सक्छु । (लामो सास तान्दै) यो मान्छेको मन पनि कस्तो कस्तो हुँदो रहेछ । परीक्षालाई लिएर म पनि के-के, के-के सोच्न पुगेछु । राम्रोसँग पढ्यौँ भने कसरी पास नहोला । फेरि यो परीक्षामा पनि स्कुलमा दिइरहेको परीक्षा जस्तै त हो नि । (मनलाई शान्त पार्दै) यो परीक्षामा पनि अवश्य सफल हुनेछु ।
(घडी हेर्दै) ओहो! रातको १२ बजिसकेछ । अब सुत्नुपर्ला । (खाटमाथि पल्टिँदै) भोलि बिहानै उठेर पढ्नु पर्छ । फेरि आफ्नो त बिहान पढेको मात्र दिमागमा छिर्छ । (सिरक मुनि गुटमुटेर स्वाँस्वाँ ! गरी सुबोध सुत्छ ।)
वादविवाद लेखन
वैज्ञानिक आविष्कार वरदान नभई अभिशाप हो भन्ने शीर्षकको पक्षमा एउटा वादविवादको नमुना लेख्नुहोस् ।
यस गरिमामय सभाका सभाध्यक्षज्यू, निष्पक्ष निर्णायक मण्डल, गुरुवर्ग र मेरा प्यारा साथीहरू ।
भानु जयन्तीका अवसरमा आयोजित वाद विवाद प्रतियोगितामा म प्रतियोगी हुन पाएकामा सर्वप्रथम आभार प्रकट गर्दछु । आजको वाद विवाद प्रतियोगिताको पक्ष अर्थात् वैज्ञानिक आविष्कार अभिशाप हो भन्ने पक्षमा आफ्ना विचार प्रकट गर्न चाहन्छु ।
मेरा पूर्ववक्ता साथीले वैज्ञानिक आविष्कारको खुलेरै तारिफ गरेको सुन्दा दया लागेर आयो । उहाँले टेलिफोन, क्यालकुलेटर, कम्प्युटर, टेलिभिजन आदिको आविष्कारबाट मानिसले लाभ लिएको भनेर बताउनुभयो । हवाई जहाज, पानी जहाजलगायतका यातायातका साधनको आविष्कारले मानिसको जीवनमाा रात लामा र दिन चौगुना परिवर्तन ल्याएको सन्दर्भ उल्लेख गर्नुभयो । त्यस्तै रेफ्रिजिरेटर, बिजुलीको आविष्कारले जीवनशैलीमा चमत्कारिक परिवर्तन ल्याएको कुरा बताउनुभयो । यी कृत्रिमता विरोधी विचार र आयातित जीवन शैलीप्रतिको झुकाव राख्ने मेरा पूर्ववक्ता मित्रको कुतर्क देखेर टिठ लागेको छ ।
आजको वैज्ञानिक आविष्कारले मानव जीवन यान्त्रिक, जटिल र असहज बन्दै गएको छ । मानिसको सिर्जनशीलता, मौलिकता नष्ट भएको छ । कलकारखाना, यातायात र उद्योगधन्दाका कारण जल प्रदूषण, वायु प्रदूषण बढेको छ । ओजन तहको विनाश हुने स्थिति देखा परिसकेको छ । वैज्ञानिक आविष्कारको उपज हात हतियारको सन्त्रास बढेको छ । आणविक सस्त्रास्त्रको उत्पादन, परीक्षण र प्रयोगले उत्पादनशील माटोको उर्वरा शक्ति नष्ट हुँदै गएको छ । उत्पादनमा कमी आउन थालेको छ, जसका कारण विश्वभरि गरिबी, अभाव, तनाव बढ्दै गएको छ । हतियारकै आडमा अशान्ति मौलाएको छ ।
(जनाउ घन्टी बज्छ ।)
अन्त्यमा वैज्ञानिक आविष्कारले मानिसलाई हिंस्रक बनाएको छ । मानिसभित्रको सिर्जनशीलता मरेको छ । मानिसलाई गरिखानेभन्दा डुली खाने र लुटी खाने बनाएको छ । मानिसलाई असामाजिक, असहिष्णु र क्रूर बनाएको छ । त्यसैले वैज्ञानिक आविष्कार वरदान नभई अभिशाप वा दुर्भाग्यको प्रतीक हो भन्दै आफ्ना विचार यही अन्त गर्दछु, धन्यवाद ।
व्यापारिक चिठी
सोलुखुम्बु पुस्तक पसल
सल्लेरी ५, सल्लेरी
कोशी प्रदेश, नेपाल
पत्र सं.
च. न.
मिति : २०८०/०१/१०
विषय : पुस्तक उपलब्ध गराइदिनेबारे ।
श्रीमान् महाप्रबन्धक,
साझा बिक्री कक्ष
भृकुटी मण्डप, काठमाडौँ
महोदय,
उपर्युक्त सम्बन्धमा यस सोलुखुम्बु पुस्तक पसल, सल्लेरीले विगत लामो समयदेखि तपाईंको साझा बिक्री कक्षबाट पुस्तकहरू झिकाई बिक्री वितरण गर्दै आएको कुरा श्रीमानलाई अवगत नै छ । अहिले आएर निम्नानुसारका साहित्यिक पुस्तकहरूको माग भएकाले शीघ्रातिशीघ्र उपलब्ध गराईदिनुहुन अनुरोध गरिन्छ :
क्र.स. पुस्तकको नाम लेखक प्रति
१. मुना मदन लक्ष्मीप्रसाद देवकोटा ३५०
२. जुगा हृदयचन्द्रसिंह प्रधान १५०
३. अनिँदो पहाडसँगै पारिजात १५०
४. राधा कृष्ण धराबासी २५०
५. गौरी माधव घिमिरे ३५०
६. पल्लो घरको झ्याल गोविन्दबहादुर मल्ल ‘गोठाले’ २५०
७. नयाँ घर आहुति १५०
८. आमा माक्सिम गोर्की ३५०
९. तरुण तपसी लेखनाथ पौड्याल ३५०
१०. सेतो धर्ती अमर न्यौपाने २५०
११. खुसी विजय कुमार २५०
उल्लिखित पुस्तकहरूको भुक्तानीका लागि त्यस बिक्री कक्षको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १११११११११११११ मा पेस्की स्वरूप रु. ५१,०००। (अक्षरेपि एकाउन्न हजार) जम्मा गरेको बैङ्क भौचर यसै पत्रसाथ पठाइएको छ । बाँकी रकम पुस्तकहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध गरिन्छ ।
सहयोगका लागि धन्यवाद
भवदीय
प्रो. तेजप्रसाद कोइराला
खामको नमुना
टिकट
प्रेषक : प्रापक :
तेजप्रसाद कोइराला श्रीमान् महाप्रबन्धक साझा बिक्री कक्ष
सोलुखुम्बु पुस्तक पसल पुल्चोक, ललितपुर, नेपाल
सल्लेरी ५, सल्लेरी, नेपाल
कथालेखन
निम्न बुँदाको आधारमा छोटो कथा लेख्नुहोस् :
एउटा घोडाको बछेडो आमाले उसलाई एक बोरा गहुँ खोलापारि गई पिनेर ल्याउन अराउनु – बाटामा नदी पर्नु उसले एउटा गोरुलाई नदी तर्न सकिन्छ कि सकिँदैन भनी सोध्नु – गोरुले पानी धेरै छैन तर्न सकिन्छ भन्नु – बाटामा लोखर्के पनि भेटिनु – लोखर्केले पानीमा डुबिने कुरो बताई नदी तर्न नदिनु – बछेडो अलमल परी घर फर्कनु र आमालाई सबै कुरा भन्नु – आमाले गोरु अग्लो र लोखर्के सानो भएको कुरा बताई बुद्धि लगाउन भन्नु – बछेडोले कुरा बुझ्नु – ऊ नदी तरी सजिलै पारी पुग्नु र आफ्नो काम गरी फर्कनु ।
कुरा सुन्नु बूढाको
धेरै वर्ष पहिले सडक र यातायातको अभाव भएको गाउँमा एउटा धनी परिवार बस्थे । त्यस परिवारमा घोडाहरू पनि थिए । त्यस परिवारको सबारी साधन र ढुवानी गर्ने साधनको रूपमा घोडाहरू थिए ।
एक दिन घोडीले आफ्नो बछेडोलाई एक बोरा गहुँ खोलापारि लगी घट्टमा पिँधेर ल्याउन अराई । खोलावारि घट्ट थिएन । बछेडो गहुँ बोकेर घट्टमा पिँध्न जादै थियो । बछेडालाई खोलो तर्न सकिदैन कि भन्ने डर र शङ्का लागेको थियो । बाटामा उसले एउटा गोरुलाई भेट्यो । गोरुलाई सोध्यो, “ए गोरु दाइ। त्यो नदी तर्न सकिन्छ कि सकिंदैन ? गोरुले भन्यो, “त्यो नदीमा पानी धेरै छैन सजिलै तर्न सकिन्छ ।” बछेडो आँट र साहसका साथ खोलो तर्न लाग्दा लोखर्केलाई भेट्यो र सोध्यो, “ए लोखर्के ! यो नदी तर्न सकिन्छ ?” लोखर्केले भनेछ, “अहो ! बछेडो भाइ यो नदी त ठुलो छ । यहाँ त चुर्लुम्मै डुबिन्छ, खोला नतर ।” लोखर्केका कुरा सुनेर बछेडो अलमल परी घर फर्कियो र आमालाई सबै कुरा सुनायो ।
उसकी आमाले भनिन्, “बाबु ! गोरु अग्लो र बलियो हुन्छ । त्यो नदीको पानीले उसलाई केही गर्न सक्दैन, सजिलै तर्न सक्छ । तिमी गोरुभन्दा साना छौ र त्यति बलिया पनि छैनौ । त्यसैले गोरुलाई सजिलो भएको काम तिमीलाई गारो पनि हुन सक्छ । लोखर्के तिमीभन्दा सानो छ । उसले गर्न नसक्ने काम तिमी सहजै गर्न सक्छौ । त्यसैले काम गर्दा आफ्नो बुद्धि लगाउनुपर्छ । कुरा बुझ्यौ बाबु ! तिमी खोला तर्न सक्ने भएर नै मैले तिमीलाई पठाएको हो ।”
आमाले भनेको कुरा बछेडाले राम्ररी बुझ्यो । अनि उसले कसैको कुरा नसुनी सजिलोसँग नै खोला तर्यो र गहुँ पनि पिनेर ल्यायो । यसैले धेरै अरूका कुरा नसुनी आफ्नो बुद्धि पनि लगाउनुपर्छ र आफूभन्दा अग्रज बाबुआमाको कुरालाई सुन्नुपर्छ भन्ने शिक्षा यस कथाले दिन्छ ।
दिइएका बुँदाहरूका आधारमा छोटो जीवनी तयार पार्नुहोस् :
नाम : डायमन समसेर राणा
जन्म स्थान : पाल्पा जिल्लाको तानसेन बजार
जन्म मिति : वि.सं. १९७५ असार २१
पिता : बुध समसेर ज.ब.रा.
माता : मोहनकुमारी राणा
शिक्षा : पाँच वर्षको उमेरदेखि पढाइ प्रारम्भ र म्याट्रिक परीक्षाको तयारी गर्दागर्दै पिताको देहान्त भएकाले औपचारिक पढाइ स्थगित । तर प्रशस्त पुस्तकहरूको स्वाध्ययन ।
योगदान तथा कृतिहरूः
आफू राणा भएकाले अनिवार्य सैनिक सेवामा संलग्न
- मदन समसेरसँग श्री ३ महाराजकहाँ गएको बेला राणाहरूले नेपालको गुमेको भूभाग अङ्ग्रेजहरूबाट फिर्ता लिन नमानेको थाहा पाएपछि राणा शासनबाट विरक्तिएका
राणा शासन विरुद्ध कलम चलाएका
प्रो. अनमेश रायबाट साहित्यिक प्रेरणा पाएका
- उपन्यास लेखन वसन्ती (२००६), सेतो बाघ (२०३०), प्रतिबद्ध (२०३४), सत्प्रयाश ( २०३८), अनिता (२०४३) र धनको धब्बा (२०५१), गृहप्रवेश (२०५९) आदि ।
- ऐतिहासिक उपन्यासको आधुनिकता ल्याउने उपन्यासकार
- ऐतिहासिक उपन्यासका माध्यमबाट प्रजातन्त्रका पक्षमा खुला वकालत गरी नेपालमा
प्रजातन्त्र स्थापनार्थ योगदान
- थुप्रै मान सम्मान र पदकबाट विभूषित
नेपाली ऐतिहासिक उपन्यास लेखनका केन्द्रीय प्रतिभा ।
उपन्यासकार डायमन समसेर राणा
नेपाली साहित्यका उत्कृष्ट ऐतिहासिक उपन्यासकार डायमन समसेर राणाको जन्म पाल्पा जिल्लाको तानसेन बजारमा वि.सं. १९७५ असार २१ गते पिता बुध समसेर ज.ब.रा. र माता मोहनकुमारी राणाको कोखमा भयो । पाँचवर्षको उमेरदेखि उनको पढाइ प्रारम्भ भएको थियो । तीक्ष्ण र असाधारण बुद्धिका डायमन समसेरले पिताको देहावसानका कारण म्याट्रिक परीक्षाको तयारी गर्दागर्दै परीक्षा दिन पाएनन् । तर उनले घरमा बसीबसी अनेकौँ साहित्यिक तथा अन्य पुस्तकको स्वाध्ययन गरेका थिए ।
राणाकालमा सैनिक सेवामा केही समय उनले काम गरे । मदन समसेरसँग श्री ३ महाराजकहाँ गएको बेला राणाहरूले नेपालको गुमेको भूभाग अङ्ग्रेजहरूबाट फिर्ता लिन नमानेको थाहा पाएपछि राणा शासनबाट विरक्तिएर सो पेसा छाडे । अब उनले राणा शासन विरुद्ध कलम चलाउन थाले । प्रो. अनमेश रायबाट साहित्यिक प्रेरणा पाएका डायमन समसेरले नेपाली साहित्यको विकासका लागि अथक सेवा गरे । उनका प्रकाशित उपन्यासहरू वसन्ती (२००६), सेतो बाघ (२०३०), प्रतिबद्ध (२०३४), सत्प्रयाश (२०३८), अनिता (२०४३) र धनको धब्बा (२०५१) गृहप्रवेश (२०५९) आदि उल्लेख्य छन् । यी औपन्यासिक कृतिहरू उनका अमूल्य साहित्यिक निधिहरू हुन् । यी उपन्यासहरूबाट उनलाई उपन्यासका माध्यमबाट प्रजातन्त्रका पक्षमा वकालत गर्ने विशिष्ट साहित्यकारका रूपमा पनि चिनिन्छ ।
उनले दिएका अमूल्य योगदानका कारण उनले विभिन्न संघसंस्थाबाट अनेकन् मान सम्मान र पदकबाट प्राप्त गरेका छन् । प्रजातन्त्रका पक्षमा खुला वकालत गरी नेपालमा प्रजातन्त्र स्थापनार्थ योगदान पुऱ्याउने व्यक्तिका रूपमा पनि उनलाई बिर्सन सकिदैन । ऐतिहासिक उपन्यास लेखनका केन्द्रीय प्रतिभा डायमन समसेर राणा हाम्रा प्रेरणाका मुहान हुन् । नेपाली साहित्यका प्रेरणाका मुहानलाई भगवान्ले लिएर गए पनि उनका अमर कुतिहरू सदाका लागि अमर छन् ।
मनोवादको नमुना
आफू जन्मिएको ठाउँ छोडेर अन्यत्र पढ्न जानुभन्दा अघिल्लो रात मनमा उब्जेका भावनाहरू समेटिएको मनोवाद
स्थान : सुत्ने कोठा
समय : राती १० बजे
पात्र : कोपिला
(कोपिलाले यसै वर्ष महालक्ष्मी मा.वि.बाट एस.ई.ई. परीक्षा पास गरिन् । अव उच्च शिक्षाका लागि सहर जाने दिन पनि आयो । विद्यालयमा प्रमाणपत्र नआइपुगेकाले लब्धाङ्क पत्र बन्न सकेको थिएन नत्र भने उनी अस्ति नै काठमाडौँ गइसक्थिन् । उता कलेजहरूमा भर्ना खुल्यो । छिटो आउनु भनेर मामाले फोन गरेको गर्यै हुनुहुन्छ । सहरमा पढ्न पाउने खुसी त छ तर घर छोडेर कहिले बाहिर बसेकी छैन, आमा बुबा भाइ र साथीहरू सबैको कति न्यास्रो लाग्ने हो, त्यो गएपछि मात्र थाहा होला (आमाले घिउ, कुराउनी, मह, भटमासको दिउल सबै मिलाएर झोलामा राख्दिसक्नुभयो । आफ्ना लुगा, जुत्ता, डायरी पनि सबै मिलाएर तयार छ । भोलि त बिहानै उठेर हिँड्नु छ । कोसेलीपात ठिक पार्दा, एकछिन बसेर गफ गर्दा १० बजेछ । बुवाआमा र भाइ सुत्न गइसक्नुभयो । कोपिला पनि आफ्नो कोठातिर लाग्छिन् । खाटमा पल्टेपछि उनका मनमा विभिन्न कुराहरू खेल्छन् ।)
यो कोठामा सुन्तु पनि आज अन्तिम हो । अब त एकै चोटि दसैंमा आइन्छ होला । त्यही नि कति दिन क्याम्पस बिदा हुने हो ? हाम्रै गाउँको स्कुलमा क्याम्पस भइदिएको भए यसरी घर छोडेर हिँड्नुपर्ने थिएन । सबै साथीहरू सँगै पढ्न पाइन्थ्यो । घरमा पनि बुबाआमालाई साथी हुन्थ्यो । भाइ पनि सानै छ, फेरि घरको काम केही सघाउँदैन । म गएपछि आमालाई कति दुःख होला । त्यही भएर आमाको मुख अँध्यारो भएको निकै दिन भइसक्यो । (काल्टे फर्किन्छिन् । उता मामा भने मख्ख हुनुहुन्छ, मामाको छोरो त दिनमा दुई पटक फोन गर्छ । सबैलाई हाम्रो दिदी आउँदै हुनुहुन्छ भनेर सुनाउँछ रे । मामा भन्दै हुनुहुन्थ्यो, सुनेर हाँस उठ्यो । (खिस्स हाँस्छिन्) । अब के गर्नु जानै पर्ने छ, आफ्नो उच्च शिक्षा लिएर समाजमा उदाहरणीय छोरी बन्ने सपना पुरा गर्नै पर्छ । यहाँ बस्यो भने अब अर्को वर्षतिर बिहेको कुरा आउन थाल्छ । गाउँमा बिस वर्ष पुग्न नपाई छोरीहरूलाई पठाउने चलन छ । तर म पढेर समाज सेवा गर्न चाहन्छु । हाम्रो गाउँका पछि परेका महिला, दलितहरूको पीरमर्का बुझ्ने, समाजमा राम्रो काम गरेर देखाउने, उदाहरणीय महिला बन्ने मेरो सपना छ ।
हाम्रो बुबा आमा पनि छोरी मान्छे पढ्नुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने सोच राख्नुहुन्छ । त्यसैले त मलाई सहर पढ्न पठाउन राजी हुनुभयो । तल्लो घरकी राधिकालाई छोरीले पढ्न पुग्यो भनेर अब नपढाउने रे बिचरा! रुँदै थिइन् मसँग । तर के गर्नु हामीले भनेको कुरा सुन्ने खालकै हुनुहुन्न उसका बुबा आमा । हाम्रा बुबाआमाले कति माया गर्नुहुन्छ हामीलाई, कहिले गाली गर्नुहुन्न, त्यसैले पनि बुबा आमालाई छाडेर जान मनै मानेको छैन । घरबाट कतै टाढा गएर बसेको पनि छैन । सहरमा त चिनेको, वरिपरि छिमेकी पनि कम हुन्छन् । बोल्ने मान्छे नै नहुने होला, बिदाको दिन कसरी बिताउनु ? कोठाभित्र बस्नुपर्छ, बाहिर निस्किन पनि कता हो कता। पोहोर तिहारमा आमासँग जाँदा त मलाई कहिले गाउँ फर्किउँ जस्तो भएको थियो । अब त सधैं त्यहीँ बस्नु छ, के पो हुने हो । (लामो सास तान्छिन् ।) तर म सधैंका लागि त्यहीं बस्ने पनि त होइन । पढाइ पुरा गरेपछि आफ्नो गाउँ फर्किएर यतै जागिर खान्छु, आफ्नै गाउँघरमा सकेको काम गर्छु, गाउँको सेवा गर्छु । अझै पनि हामी आमा, काकीहरूलाई आफ्नो नाम समेत लेख्न आउँदैन । अब म पढेर गाउँ फकिएपछि आमा, दिदीबहिनीलाई पढ्न लेख्न सिकाउँछु । हाम्रो गाउँका महिनाहरू अझै पनि घर धन्दैमा सीमित छन् ।” तर म पढेर आफ्नै खुट्टामा उभिन्छु । महिलाले केही गर्न सक्छन् भन्ने देखाउनु छ, मलाई त्यसका लागि मैले सहर जानैपर्छ । (यसो पर्दा तानेर झ्याल बाहिर हेर्छिन्, ।) ओहो ! कति टहटह जुन लागेको, सारै रमाइलो देखिएछ आकाश, यो आकाशका ताराहरू हेर्दा मन शान्त भएजस्तो लाग्छ । (मोबाइलमा समय हेर्छिन्) । ओहो, रातको ११:३० भइसकेछ । अब सुत्नुपर्छ फेरि बिहान छिट्टै उठ्नुपर्छ । (सिरकले मुख छोपेर गुटुमुटु हुन्छिन् । एकछिन पछि भुसुक्क निदाउँछिन् ।)
कथालेखन नमुना
तल दिइएका बुँदाहरूका आधारमा छोटो कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस् :
एउटा जङ्गलमा हात्ती र बाँदर सँगै मिलेर बस्नु र सँगै खानेकुरा खोज्नु ….. एक दिनको ठुलो भन्ने विषयमा झगडा पर्नु …… लाटोकोसेरालाई झगडा छिनिदिन अनुरोध गर्नु दुवैलाई खोलापारिबाट नरिवल टिपेर ल्याउन लगाउनु.. लाटोकोसेराले खोलो तर्दा बाँदर हात्तीको पिठिउँमा चढ्नु र खोलो तर्नु… नरिवलको रूख ज्यादै अग्लो हुनु… हात्तीले बाँदरलाई नरिवल टिपेर ल्याउन अराउनु…. बाँदरलाई नरिवल बोक्न अप्ठेरो हुनु.. हात्तीले मुखमा च्याप्नु… लाटोकोसेराले नरिवल कसरी ल्यायौ भनी सोध्नु दुवैले समान कार्य गरेकाले दुवै आ-आफ्ना काममा ठुला छौ भनी लाटकोसेराले बताउनु… पहिलेजस्तै मिली जङ्गलमा बस्न थाल्नु गर्दा सबैलाई राम्रो हुने कथाले सन्देश दिनु । मिलेर बस्दा र काम गर्दा सबैलाई राम्रो हुने कथाले सन्देश दिनु ।
बराबर
चारकोसे झाडीको एउटा छेउमा कर्णकान्त नाउँको हात्ती र चकचकानन्द नाउँको बाँदर सँगै बस्थे । उनीहरू असाध्यै मिल्थे । उनीहरू सँगै खानेकुरा खोज्न निस्कन्थे र सँगै फर्कन्थे । एकदिन कर्णकान्तले सुँढ उचाल्दै भन्यो, “ए चकचके ! तँ फुच्चेभन्दा त म कति ठुलो हेर ! मलाई देखेर सबै डराउँछन् ।” “इस् होला, तिम्रो ज्यान मात्रै ठुलो, तिमी रूखमा चढ्न सक्दैनौ, म त रूखमा चढेर कति मिठा फलफुल खान्छु । तिमीभन्दा त मै ठुलो हुँ ।
चकचकानन्द पनि पछि परेन । उनीहरूमा झगडा पर्लाजस्तै भयो । झगडा गर्नु पनि उचित थिएन । उनीहरूले को ठुलो भन्ने विषयमा लाटोकोसेरालाई निर्णय गरिदिन र झगडा छिनिदिन अनुरोध गरे । लाटोकोसेराले सबै कुरा सुनेपछि नजिकैको खोलो देखाउँदै भन्यो, “हेर, त्यो खोलापारि नरिवलको रूख छ । त्यहाँ गएर एउटा नरिवल टिपेर ल्याओ अनि म को ठुलो भन्ने निर्णय गरिदिउँला ।”
लाटोकोसेराको कुरा सुनेर दुवै खोला तर्न लागे । बाँदरलाई खोलो तर्न गारो भयो । ऊ छट्पटाउन थाल्यो । “ए चकचके ! के हेरेको ? आइज मेरो पिठिउँमा बस् ।” कर्णकान्तले बाँदरलाई बोलायो । बाँदर हात्तीको पिठिउँमा चढेपछि दुवैले खोलो तरे र नरिवलको बोट छेउमा पुगे । नरिवलको बोट ज्यादै अग्लो थियो । हात्तीले नरिवल टिप्न सक्दैनथ्यो । उसले बाँदरलाई भन्यो, “ए चकचके ! ल तँ रूखमा चढेर नरिवल टिपेर ले।” नभन्दै बाँदर खुरुर्र रूखमा चढ्यो र नरिवल टिपेर भुइँमा झर्यो । उसलाई नरिवल बोक्न गारो भयो । उसले एकछिन सोचेर भन्यो, “ए कर्णकान्ते, तिमी त बलिया छौ नि ! ल यो नरिवल मुखमा च्याप अनि मलाई पनि बोकेर खोला तार ।”
हात्तीलाई करै लाग्यो । दुवै खोला तरेर लाटोकोसेराछेउ पुगे । उसले सोध्यो, “तिमीहरूले नरिवल कसरी ल्यायौ ?” दुवैले सबै कुरा बताए । त्यसपछि लाटोकोसेराले पखूँटा भ्याटभ्याट पार्दै भन्यो, “ल तिमीहरू दुवैले समान कार्य गरेछौ । तिमीहरू दुवै आआफ्ना काममा ठुला छौ । जाओ अब मिलेर बस । “लाटोकोसेराका कुरा सुनेर दुवै छक्क परे । त्यस दिनदेखि उनीहरू त्यही जङ्गलमा मिलेर बसे । यसरी मिलेर बस्दा र काम गर्दा सबैको भलो हुँदो रहेछ भन्ने कुराको कथाले सन्देश दिएको छ ।
बुँदा टिपोट गर्ने तरिका
- दिइएको अनुच्छेदलाई दुई तिन पटक पढ्नुहोस् ।
त्यसले भन्न खोजेका मुख्य कुरालाई रेखाङ्कन गर्दै पनि जानुहोस् ।
ती रेखाङ्कित मुख्य कुरालाई चार ओटा बुँदामा मात्र समेट्नुहोस् ।
- बुँदाको वाक्य मिल्यो मिलेन पुनः हेरी मिलाउनुहोस् ।
- बुँदा टिपोट गर्दा असमापिका क्रियापदको प्रयोग गर्नुपर्दछ ।
सारांश लेख्ने तरिका
- दिइएको अनुच्छेदलाई दुई तिन पटकसम्म पढ्नुहोस् ।
- त्यसमा भन्न खोजिएका मुख्य कुरालाई रेखाङ्कन गर्दै पनि जानुहोस् ।
- ती रेखाङ्कित मुख्य कुराको भाव नमर्ने गरी छोटा मिठा वाक्य बनाउनुहोस् ।
- ती वाक्य बनाउँदा दोहोरिएका कुरा, उदाहरण र उपमा हटाउनुहोस् । सकेसम्म एकल शब्दको प्रयोग गर्नुहोस् ।
- दिइएको अनुच्छेद र आफूले लेखेको सारांशको शब्दको गणना गर्नुहोस् ।
- गणना गर्दा पुरा अनुच्छेदको शब्द सङ्ख्या सारांश लेख्दा एक तिहाई भयो भएन हेर्नुहोस् । त्यसमा आवश्यक थपघट गर्नुपर्ने भए गर्नुहोस् ।
सारांशको अन्त्यमा पुरा शब्द सङ्ख्या र सारांशकृत शब्द सङ्ख्या तोकेर लेख्नुहोस् ।
अब, सारांशको मुख्य आशय वा भाव झल्कने बढीमा तिन शब्दको उपयुक्त शीर्षक छनोट गरी सारांश लेखिएको माथिल्लो भागमा राख्नुहोस् ।
संवादको नमुना
मिलेर पढौँ शीर्षकमा एउटा संवादको नमुना तयार पार्नुहोस् ।
मिलेर पढौँ
पात्र : डोमा र पेम्बा
स्थान: सडक
समय : बेलुकी ४ बजेपछि
(हाल कक्षा १० मा अध्ययनरत डोल्मा र पेम्बा एकै गाउँका साथी हुन् । धेरै दिनपछि उनीहरू आज सँगै कुराकानी गर्दै घर फर्किदै छन् ।)
पेम्बा : ए, डोल्मा आज त तिमी र म घर जान सँगै परिएछ । कति दिन भयो एउटै गाउँका भए पनि सँगै घर फर्किन नपाएको, हगि ?
डोल्मा : हो त नि । तिमी फुटबल खेल्न लाग्छौ । मचाहिँ चाँडै फर्कन्छु । त्यसो भएर पो त सँगै नपरेको ।
पेम्बा : कति फुटबल खेल्नु खै । अब त परीक्षा पनि आउन लाग्यो भनेर मैले पनि खेल्नेसेल्ने काम आजदेखि बन्द गर्न लागेको नि । आफ्नो त पछि बुद्धि आयो। तर के समय ज्यादै कम छ । पासै हुने पो डर लाग्छ, डोल्मा ।
डोल्मा : ठिक भन्यौ । हामीले खेल्ने समयमा खेल्नुपर्छ र पढ्न पनि पछाडि पर्न हुँदैन । अहिले तिम्रो पढाइ कस्तो चल्दै छ त ?
पेम्बा : के सोधेको होला, खेल्ने मान्छेको पढाइ ? खत्तम छ के । तिम्रो नि ?
डोल्मा : तिमी फुटबलतिर लाग्यौ । मैले त छ महिनासम्म ट्युसन पढेँ । अहिले त मोटामोटी परीक्षाको तयारी पुरा भयो । यसो दोहऱ्याएर हेर्न मात्र बाँकी छ ।
पेम्बा : लौ तिमीले त अचम्मै पो गरिछौ । खेलतिर लागेर मैले त किताब पल्टाएकै छैन । के पो गर्ने होला ?
डोल्मा : खै के गर्ने भन्नु नि । तिमीलाई पहिल्यै ट्युसन जाऔँ भन्दा मानेनौ । कुन समयमा के गर्ने भन्ने कुरा नजान्दा यस्तै हुन्छ त । खेल खेल्न मलाई चाहिं मन नलाग्ने हो र ? म व्याटमिन्टनमा विद्यालयमा नै पहिलो भएकी होइन र ?
पेम्बा : हो डोल्मा । मैले त मुख्य पढ्ने बेलामा खेलेर खत्तमै पो गरिछु। कक्षा १० पास नगरे त बर्वादै हुन्छ । पहिले फुटबलमा राम्रो भनेर सबैले उक्साए । कक्षा छोडेर फुटबल खेल्न कति गइयो । फेल भए त बाआमा र समाजको अगाडि मुख देखाउनै लाज हुन्छ । के पो गरूँ, डोल्मा ?
डोल्मा के गर्नु नि ? परीक्षा आउन अझै दुई महिना बाँकी छ। खुब मिहिनेत गर्ने नि ।
पेम्बा : कसरी खै ? (टाउकामा हात राखेर सुईय…. गर्दै बिरक्तिन्छ)
डोल्मा : अब जे हुनु भइसक्यो। मान्छेले जीवनमा हरेश खानु हुँदैन। बरु बिहान चाँडै उठेर तिमी मकहाँ नबुझेका कुरा सिक्न आऊ। म सिकाउँला । त्यस्तै स्कुलबाट घर सँगसँगै फर्किने गरौं । बाटोमा पनि पढाइकै बारेमा प्रश्नोत्तर गर्दै आउँला। बेलुकी फेरि मिलेर पढाइकै अभ्यास गरौं । तिमीलाई सिकाउँदा मलाई पनि झन् आउँछ । दुवैलाई फाइदा हुन्छ । कि कसो ?
पेम्बा : हो, डोल्मा तिमीले मलाई धेरै राम्रो सल्लाह दियौ । मैले त ढुङ्गा खोज्दा देवतै पाए जस्तो भो त । तिम्रो गुन म कहिल्यै बिर्सने छैन। म भरे बेलुकीदेखि नै तिम्रो घरमा आउँछु । धेरै मिहिनेत गर्छु ।
डोल्मा : ओहो ! कुरा गर्दागर्दै घरमा नै आइपुगिएछ। म त लागें है।
पेम्बा : हुन्छ ल डोल्मा । म घरमा गई चाँडै लुगा फेरेर किताब लिई तिमीकहाँ आउँछु ।
डोल्मा : ल, ल, चाँडै आऊ। यहाँ मिलेर गरे कुनचाँहि काम असम्भव छ र ? (दुवै जना आआफ्नो घरतिर लाग्दछन् ।)
कथालेखन
कुरा सुन्नु बूढाको
धेरै वर्ष पहिले सडक र यातायातको अभाव भएको गाउँमा एउटा धनी परिवार बस्थे । त्यस परिवारमा घोडाहरू पनि थिए । त्यस परिवारको सबारी साधन र ढुवानी गर्ने साधनको रूपमा घोडाहरू थिए ।
एक दिन घोडीले आफ्नो बछेडोलाई एक बोरा गहुँ खोलापारि लगी घट्टमा पिँधेर ल्याउन अराई । खोलावारि घट्ट थिएन । बछेडो गहुँ बोकेर घट्टमा पिँध्न जादै थियो । बछेडालाई खोलो तर्न सकिदैन कि भन्ने डर र शङ्का लागेको थियो । बाटामा उसले एउटा गोरुलाई भेट्यो । गोरुलाई सोध्यो, “ए गोरु दाइ। त्यो नदी तर्न सकिन्छ कि सकिंदैन ? गोरुले भन्यो, “त्यो नदीमा पानी धेरै छैन सजिलै तर्न सकिन्छ ।” बछेडो आँट र साहसका साथ खोलो तर्न लाग्दा लोखर्केलाई भेट्यो र सोध्यो, “ए लोखर्के ! यो नदी तर्न सकिन्छ ?” लोखर्केले भनेछ, “अहो ! बछेडो भाइ यो नदी त ठुलो छ । यहाँ त चुर्लुम्मै डुबिन्छ, खोला नतर ।” लोखर्केका कुरा सुनेर बछेडो अलमल परी घर फर्कियो र आमालाई सबै कुरा सुनायो ।
उसकी आमाले भनिन्, “बाबु ! गोरु अग्लो र बलियो हुन्छ । त्यो नदीको पानीले उसलाई केही गर्न सक्दैन, सजिलै तर्न सक्छ । तिमी गोरुभन्दा साना छौ र त्यति बलिया पनि छैनौ । त्यसैले गोरुलाई सजिलो भएको काम तिमीलाई गारो पनि हुन सक्छ । लोखर्के तिमीभन्दा सानो छ । उसले गर्न नसक्ने काम तिमी सहजै गर्न सक्छौ । त्यसैले काम गर्दा आफ्नो बुद्धि लगाउनुपर्छ । कुरा बुझ्यौ बाबु ! तिमी खोला तर्न सक्ने भएर नै मैले तिमीलाई पठाएको हो ।”
आमाले भनेको कुरा बछेडाले राम्ररी बुझ्यो । अनि उसले कसैको कुरा नसुनी सजिलोसँग नै खोला तर्यो र गहुँ पनि पिनेर ल्यायो । यसैले धेरै अरूका कुरा नसुनी आफ्नो बुद्धि पनि लगाउनुपर्छ र आफूभन्दा अग्रज बाबुआमाको कुरालाई सुन्नुपर्छ भन्ने शिक्षा यस कथाले दिन्छ ।
