चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध पाठ पढ्नुहोस् ।
पाठ ३: चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा
स्वस्थ तनलाई खुसी मनको आधार मानिन्छ । मानिसका आफ्नै असावधानीका कारण रोगव्याधिले शरीरमा अनधिकृत रूपमा प्रवेश पाउँछन् र तिनले शारीरिक शक्ति तथा मनका खुसी लुट्न पुग्छन् । मान्छेले त्यसबाट मुक्ति पाउन प्रयत्न गर्छ । मानव शरीर र मनमाथि आक्रमण गर्ने ती रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन एवम् शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको मानिन्छ । यस विज्ञानले मानिसको तन र मनलाई रोगमुक्त पार्ने प्रयत्न गर्छ । चिकित्सा विज्ञानका एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा दुई किसिमका उपचार पद्धति सबैभन्दा बढी प्रयोगमा छन् । पाश्चात्य विज्ञानले दिएको अद्वितीय वरदान एलोप्याथिक चिकित्सा पद्धति हो भने आयुर्वेद चिकित्सा वैदिक एवम् प्राच्य सभ्यताले दिएको अभूतपूर्व उपहार हो ।
आधुनिक चिकित्सा र आयुर्वेद चिकित्साका अनेकौँ अर्थ छन् । चिकित्सा शब्दको व्युत्पत्तिमूलक अर्थ ‘रोग हटाउने इच्छा’ हो । यसै अर्थभित्र औषधोपचार, इलाज, ओखती गर्ने काम, रोगको पहिचान, रोग निरूपण र रोग निदान जस्ता उस्तै उस्तै अनेक अर्थ समाविष्ट हुन्छन् । यसरी सामान्य अर्थमा रोगले सताउँदा रोगबाट मुक्ति पाउनका लागि गरिने उपचारलाई चिकित्सा भनिन्छ । व्यापक अर्थमा भने रोग लाग्नु अगावै स्वास्थ्यलाई जोगाउन र रोग लाग्न नदिनका लागि गरिने विविध खालका उपायसमेत चिकित्सा शब्दभित्रै समेटिन्छन् । चिकित्सा विज्ञानका लागि आयुर्विज्ञान शब्दको पनि प्रयोग हुन्छ । ‘चिकित्सा’ शब्दले रोगको मूल जरो पत्ता लगाएर विविध प्रकारका परीक्षण गरी उपचारबाट निर्मूल गर्ने विधिलाई जनाउँछ । ‘आयुर्वेद’ शब्द ‘आयु’ र ‘वेद’ मिलेर बनेको हो । यसको शाब्दिक अर्थ ‘जीवनको ज्ञान’ भन्ने हुन्छ । इसको शाब्दिक अर्थ ‘जीवनको ज्ञान’ भन्ने हुन्छ । यसलाई ‘आयुर्वेदको सार’ का रूपमा पनि लिइन्छ । जीवनको मर्म बुझेर मानव शरीरमा रोग लाग्नै नदिन वा रोग लाग्नुपूर्व अपनाउनुपर्ने खानपान र रहनसहनगत सावधानीमा रहन मदत गर्ने विज्ञानका रूपमा पनि आयुर्वेद चिकित्सा पद्धतिलाई अर्थ्याउन सकिन्छ ।
चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धति छन् । रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै प्रदान गरिने स्वास्थ्य सेवा निरोधात्मक चिकित्सा हो । स्वास्थ्य स्थिति सुधार गर्न प्रदान गरिने पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाइ कार्यक्रम जस्ता सेवा प्रवर्धनात्मक स्वास्थ्य सेवा हुन् । रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ । उपचारात्मक स्वास्थ्य सेवाका पनि आधुनिक चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पद्धतिबाहेकका होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनो चिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौँ उपचार पद्धति पनि रहेका छन् । तीमध्ये युनानी, एलोप्याथिक, होमियोप्याथिक र आयुर्वेदिक गरी चार चिकित्सा पद्धति प्रचलित छन् । युनानी चिकित्सा पद्धति अरबमा प्रचलित प्राचीन चिकित्सा पद्धति हो । अरब मूलका मानिस र इरानीद्वारा ११ औं शताब्दीतिर यो पद्धति भारतमा प्रचलनमा ल्याइएको थियो । भारतमा ब्रिटिस शासनका समयमा एलोप्याथिक प्रणाली सुरु भएपछि युनानी प्रणालीको औषधीय शिक्षा, अनुसन्धान र अभ्यास प्रक्रियामा कमी आयो । होमियोप्याथिक शब्दको अर्थ सदृश रोग चिकित्सा भन्ने हुन्छ । यसअनुसार रोगका सदृश वा समान लक्षण उब्जाउने औषधीय पदार्थद्वारा नै कुनै रोगको निदान गर्नु भन्ने बुझिन्छ । काँडालाई काँडाले झिक्नुपर्छ भने विषको औषधी विष नै हो भन्ने यसको मान्यता हो । यो सिद्धान्त ‘समानताले समानताको उपचार’ को मान्यतामा आधारित छ ।
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएको छ । होमियोप्याथी चाहिँ वैकल्पिक चिकित्सा पद्धतिका रूपमा प्रचलित छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमा रोग बढाउने खुराक दिइन्छ र क्रमशः निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । एलोप्याथी र आयुर्वेद दुबै चिकित्साशास्त्र हुन् तर व्यावहारिक रूपमा चिकित्साको वैदिक र प्राचीन चिकित्सा पद्धतिलाई आयुर्वेद चिकित्सा भनिन्छ । एलोप्याथिक प्रणाली वा पाश्चात्य आधुनिक चिकित्सा प्रणालीलाई चिकित्सा पद्धति भन्ने बुझिन्छ । आम रूपमा र प्रचलित धारणाअनुसार डाक्टरी उपचारका नामले चिनिने चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति वा एलोप्याथिक पद्धति हो ।
आयुर्वेद चिकित्साशास्त्रमा उपचारका आठओटा शाखा छन् जसलाई अष्टाङ्ग आयुर्वेदका नामले चिनिन्छ । यसमा मानव शरीरमा रोग लाग्ने मुख्य आठ अङ्गको उपचारबारे वर्णन पाइन्छ । आयुर्वेदका ती अष्टाङ्ग हुन्- काय चिकित्सा, शल्य चिकित्सा, शालाक्य चिकित्सा, कौमारभृत्य चिकित्सा, अगदतन्त्र, रसायन चिकित्सा, वाजीकरण चिकित्सा र भूतविद्या चिकित्सा । श्वासप्रश्वास, हाडजोर्नी तथा पाचन प्रणालीसम्बन्धी उपचार एवम् पञ्चकर्म जस्ता विशिष्ट उपचार पद्धति काय चिकित्साअन्तर्गतका पर्छन् । त्यस्तै चिरफार गरेर उपचार गरिने फिस्टुला, पायल्स आदि उपचार पद्धति शल्य चिकित्साअन्तर्गत पर्छन् । आँखा, नाक, कान, मुख र घाटीको रोगसँग सम्बन्धित चिकित्सालाई शालाक्य चिकित्सा तथा प्रसव र बालरोगसँग सम्बन्धित उपचार पद्धतिलाई कौमारभृत्य चिकित्सा भनिन्छ । सबै प्रकारका विष, सर्पको टोकाइ आदिमा उपचार हुने पद्धतिलाई अगदतन्त्र भनिन्छ । मानिसलाई निरोगी राख्ने वा रोगसँग लड्ने क्षमता बढाउने आयुर्वेदिक पद्धति रसायन चिकित्सा हो । त्यसै गरी स्वस्थ सन्तान प्राप्तिका लागि एवम् शारीरिक शक्ति वा तागत वृद्धिका लागि अपनाइने उपचार विधि वाजीकरण हो । यस्तै मनोरोगसँग सम्बन्धित उपचारका लागि भूतविद्या आयुर्वेद चिकित्सामा प्रचलित छन् ।
आयुर्वेदिक उपचारका अनेकौँ विशिष्ट पक्ष छन् । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । रोगको उपचार गर्दा मन र शरीरलाई पूर्ण रूपमा छुट्याउन सकिँदैन भन्ने मान्यताअनुसार रोगीको मन र शारीरिक प्रकृतिअनुरूप उपचार गरिनु पनि यसको विशेषता हो । आयुर्वेदिक औषधीले आफैँमा तागत वा रसायनको पोषण प्रदान गर्ने, बिरामी र स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो । आहार, विहार र आचारसंहितामार्फत रोगले आक्रमण नगरोस् भनी रोग प्रतिरोधी औषधी र आहारमा जोड दिनु पनि यसको विशेषता हो । रोगको प्रकृतिविरुद्ध आहारमा पथ्यापथ्यको निर्देश गरी स्वस्थ व्यक्तिलाई रोगको आक्रमणबाट जोगाउनु र रोगीको रोग चाँडै हटाउने काम यसमा हुन्छ । यसमा दक्ष चिकित्सकले रोगीको नाडी, मलमूत्र आदि अष्टविध अर्थात् आठ प्रकारका परीक्षा, प्रकृति, विकृति, व्यायाम आदि दशविध अर्थात् दश प्रकारका परीक्षाबाट रोगको निदान गर्छन् । आधुनिक प्रक्रियाबाट आयुर्वेदिक औषधीलाई परीक्षण गरेर मात्र उपचारमा प्रयोग गर्न सकिने हुँदा निदान गर्न सरल र सस्तो तरिका हुनु यसको सबल पक्ष हो । रोग नियन्त्रणका साथसाथै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने अनि कुनै पनि किसिमको पार्श्वप्रभावबाट बचाउने प्रयास गर्नु पनि यसको विशिष्ट पक्ष हो ।
आयुर्वेद चिकित्साका धेरै सकारात्मक पक्ष हुनाका साथै यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको हुँदा यसको वर्तमान सुन्दर र भविष्य उज्यालो देखिन्छ । यसमा पञ्चकर्म आयुर्वेदको महत्त्वपूर्ण उपचार प्रक्रिया हो । शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ । यसमा विभिन्न पाँच चिकित्सा विधिको सम्मिश्रण हुन्छ । यसअन्तर्गत वमन अर्थात् उपचारात्मक उल्टी, विरेचन अर्थात् परिष्करण चिकित्सा, वस्ति अर्थात् पेटसम्बन्धी चिकित्सा पर्छन् । त्यस्तै नश्य अर्थात् नाकबाट औषधी राखेर गरिने उपचार, रक्तमोक्षण अर्थात् रगत बग्ने दिने उपचारसमेत यस पञ्चकर्ममा पर्छन् । त्यस्तै आयुर्वेदका अनुसार शरीरका शारीरिक एवम् मानसिक क्रियाकलाप त्रिदोषमा निर्भर हुन्छन् । वात, पित्त र कफ तीनैओटामा सन्तुलन भयो भने मानिस स्वस्थ रहन्छ । इसमें असन्तुलन हुँदा मानिस बिरामी पर्छ । यी त्रिदोषका प्रभावक तत्त्व मौसम, जलवायु, स्थान, आयु र मानसिक अवस्था हुन् । यसको उपचार पद्धतिमा प्रयोग हुने जडीबुटी नेपालमै पाइनु, रोगको लक्षणका आधारमा उपचार गरिनु, चिरफार कम हुनु यसका विशेषता हुन् । त्यस्तै रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन् ।
नेपाल आयुर्वेदिक औषधीका लागि भूस्वर्ग मानिन्छ । नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटी नेपालको समृद्धिको ढोका खोल्न सक्छन् । नेपाल बहुमूल्य र घातक रोग निको पार्ने जडीबुटीको अजस्र भण्डार हो । रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण घाइते हुँदा सञ्जिवनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ । हनुमानले अनेकौँ जडीबुटीबिच सञ्जिवनी बुटी चिन्न नसकेर सिङ्गै पहाड उठाएर लगेका र त्यो जडीबुटी खुवाएपछि लक्ष्मणलाई सञ्चो भएको थियो । यसबाट परापूर्व कालदेखि नै नेपाल आयुर्वेदिक जडीबुटीको भूस्वर्ग रहेको पुष्टि हुन्छ ।
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । हाल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रसँगको समन्वयमा विभिन्न जडीबुटीका लागि औषधीय अनुसन्धान कार्यक्रम अगाडि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालयमा पनि आयुर्वेदको अध्ययन भइरहेको छ । आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीको दर्ता नेपाल आयुर्वेद चिकित्सक परिषद्मा हुन्छ । आयुर्वेद चिकित्सासम्बन्धी अनुगमन, गुणस्तर नियन्त्रण आयुर्वेद चिकित्सा परिषद्ले गर्छ ।
यति हुँदाहुँदै पनि आयुर्वेदिक उपचार पद्धतिमा व्यवस्थापन, सङ्गठन र निदानमा समेत केही सीमा रहेका छन् । दुर्घटनामा परी अङ्गभङ्ग भएको साथै एपेन्डिसाइटिस, हृदयाघात, पक्षाघात आदि रोगबाट पीडित बिरामी, शल्यक्रियाबाट गरिने उपचार, सघन उपचार आदिमा राखेर गरिने उपचारमा एलोप्याथीको सहयोग लिनुपर्ने अवस्था छ । साथै आयुर्वेद उपचारका नाममा जसले पनि औषधी बेच्नु, भिडभाड हुने ठाउँमा हकरले पनि औषधी बेच्नु र त्यसलाई रोक्ने कुनै संयन्त्र नहुनु र यसरी जो पायो त्यसैले घरघरै स्वघोषित आयुर्वेदिक वैद्य बनेर उपचार गर्नु जस्ता यसका सीमा हुन् । आयुर्वेदिक औषधीका पार्श्वप्रभाव न्यून हुन्छ । धेरै खायो भने चिनी पनि तितो हुन्छ भने झै नजानी नजानी त्यस्ता औषधी खाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
आधुनिक चिकित्सा पद्धतिका पनि विशेषता र सीमा छन् । छिटो सञ्चो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु, Medical Council र औषधी व्यवस्था विभागबाट स्वीकृति लिएर मात्र उपचार गर्न पाइनु यसका विशेषता हुन् । साथै विश्व स्वास्थ्य सङ्गठनको स्वीकृति चाहिनु अर्थात् यसको सङ्गठन बलियो हुनु, आपत्कालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाबाट गम्भीर रोग निको हुनु पनि यसका विशेषता मानिन्छन् । यसका साथै प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठुला सबै रोग निको पार्न प्रभावकारी हुनु, ठुलो रोग लाग्नुअगि नै त्यसलाई रोक्ने खोपको व्यवस्था हुनु पनि एलोप्याथी पद्धतिका थप विशेषता हुन् । यो उपचारमा दक्ष जनशक्तिको अभाव हुनु, औषधीका नकारात्मक असर देखिन सक्नु, औषधी महँगो पर्ने हुँदा गरिबको पहुँचभन्दा बाहिर हुनु र यी औषधीको दुरुपयोग हुँदा घातक हुनु जस्ता कुरा एलोप्याथी औषधीका सीमा हुन् । यति हुँदाहुँदै पनि गम्भीर प्रकृति र आकस्मिक उपचार गर्नुपर्ने बिरामी एलोप्याथी अर्थात् आधुनिक चिकित्सा पद्धतिको भर नपरी सुखै छैन ।
समग्रमा रोग लाग्नुभन्दा रोग लाग्न नदिनु सर्वोत्तम उपाय हो । रोग लागेपछि मानिसले रोगको प्रकृतिअनुसार विभिन्न उपचार पद्धति चयनको विकल्प छँदै छ । आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा मान्ने गरिएको एलोप्याथिक औषधीको जस्तो पार्श्वप्रभाव नहुने र शरीरबाट रोगलाई पूर्णतः निर्मूलीकरण गरिने आयुर्वेदिक चिकित्सा पद्धतितर्फ मानिसको आकर्षण बढेको छ । आफ्नो शरीरलाई स्वस्थ राख्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न र ‘निरोगी जीवन सुखी जीवन’ को सपना साकार पार्न आयुर्वेदिक चिकित्साको प्रयोग आजको आवश्यकता र समयको माग बनेको छ ।
शब्दार्थ:
- व्याधि : शारीरिक रोग, व्यथा, वेदना
- अनधिकृत : अधिकारपूर्वक नगरिएको, आधिकारिक नभएको
- शमन : कुनै बाधा, विकार आदिलाई शान्त पार्ने काम
- प्राच्य : प्राचीन, पहिलेको, पुरातन
- आयुर्विज्ञान : आयुसम्बन्धी वस्तुगत ज्ञान
- सदृश : उस्तै देखिने, एकनासे
- वैकल्पिक : विकल्पमा आउने
- पथ्यापथ्य : सजिलैसँग पच्ने र नपच्ने
- पार्श्वप्रभाव : सँगसँगै आउने असर
- भूस्वर्ग : पृथ्वीमा रहेको सुन्दर ठाउँ
- समृद्धि : उन्नति वा सम्पन्न हुनाको भाव
- अजस्र : अथाह, धेरै
- सञ्जीवनी : प्रसिद्ध अमृत वा त्यस्तो क्षमता भएको बुटी विशेष
- हकर : सामानको विज्ञापन गर्दै आफ्ना सामान बेच्ने मानिस
- वैद्य : आयुर्वेद चिकित्सा विधिको ज्ञाता, कविराज
