लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठ पढ्नुहोस् ।
पाठ ५
लक्ष्मीप्रसाद देवकोटा
विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यमा अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन्। नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन्। शिक्षित र पठित परिवारमा जन्मेका, जीवनमा दुःख र सुखका अनेकौँ उकाली र ओराली भोगेका देवकोटाले किशोरावस्थादेखि नै स्तरीय कृति रचना गरे। बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन्।
नेपाली साहित्यका शिखरपुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते भएको हो। त्यस दिन लक्ष्मीपूजाको दिन परेकाले घर घरमा दीपावलीको उमङ्ग छाएको थियो। हरेक घरमा धनसम्पत्तिकी अधिष्ठात्री महालक्ष्मीको भव्य पूजा, आराधना भइरहेको हर्षद् अवसर थियो। डिल्लीबजार धोबीधाराको तिलमाधव देवकोटाकहाँ सबैका घरमा दीपावलीको उज्यालो मुस्कुराइरहेको थियो। त्यही घरभित्र तिलमाधवकी धर्मपत्नी अमरराज्यलक्ष्मी देवीको कोखबाट सन्तानको जन्म भएको थियो। नवजात शिशुको जन्म नक्षत्रअनुसारको नाम तीर्थमाधव भए तापनि महालक्ष्मीको पूजाका दिन लक्ष्मीको प्रसादस्वरूप प्राप्त भएको सुपुत्र ठानेर त्यस शिशुको नाम लक्ष्मीप्रसाद राखियो। लक्ष्मी पूजाका दिन जन्मेका देवकोटाको नाम लक्ष्मीप्रसाद राखिए पनि पछि उनी सरस्वतीका वरद पुत्र बने।
शिक्षित परिवारमा जन्मेका र बाल्यकाल निकै स्नेहमय वातावरणमा बिताएका देवकोटा आमाबुबा, दाजु र दिदी सबैका मुटुका धुकधुकी थिए। देवकोटा स्वयम्ले आफ्नो बाल्यकालको स्मरण गर्दै ‘कवि हुने धुनमा’ भन्ने निबन्धमा आफू शान्त, सुशील, आज्ञाकारी र सन्तोषी स्वभावको रहेको कुरा व्यक्त गरेका छन्। पठित र शिक्षित परिवार भएकाले उनले घरबाटै पठनपाठनको राम्रो वातावरण पाए। संस्कृतका विद्वान् एवम् कवि बुबा तिलमाधव देवकोटासँग उनले घरमै संस्कृतको अध्ययन गरे। बुबाले कागज वा स्लेटमा लेखेर दिएका मन्त्र र श्लोकलाई एक पटक पढेपछि नहेरीकन दोहोऱ्याएर मुखाग्र सुनाउँथे। उनको यस्तो स्मरणशक्तिका प्रशंसक बुबा तिलमाधव उनलाई सरस्वतीका अवतार मान्थे। उनका बुबाको इच्छा उनलाई पण्डित बनाउने थियो तर आफ्ना दाजु र आमाको प्रेरणाबाट उनमा अङ्ग्रेजी पढ्ने रहर पलायो अनि ११ वर्षको उमेरमा वि.सं. १९७७ मा दरबार हाइस्कुलमा पञ्चम श्रेणी अर्थात् अहिलेको छैटौँ कक्षामा भर्ना भए। त्यही अङ्ग्रेजी भाषाप्रतिको चासो र व्यङ्ग्य समेटी पछि उनले ‘हाइहाइ अङ्ग्रेजी’ निबन्ध लेखेका थिए। युवा अवस्थामा देवकोटा बाल्यकालका दयालु, उदार र अति शिष्ट व्यक्तिका रूपमा चिनिन्थे। दीनदुःखी मानिसलाई भेटे भने सर्वस्व दिनसमेत पछि नपर्ने उनका हृदय अत्यन्तै कोमल थियो। मानिसले मानिसलाई दुःख दिएको देख्दा वा मानिसले दुःख पाएको देख्दा उनको हृदय छिया छिया हुन्थ्यो। जातपातका दृष्टिले होस् वा धनी गरिबका दृष्टिले होस् कसैलाई हेप्नुहुन्न भन्ने देवकोटा ‘मानिसको सेवा नै ईश्वरको सच्चा सेवा र पावन पूजा हो’ भन्ने ठान्थे।
दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै वेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिएका थिए। उनका कतिपय साथी देवकोटालाई आफ्ना दाजुलाई कविता लेख्न लगाएर आफैँले लेखे जसरी सुनाउने भनेर आरोप लगाउँथे। उनले साथीहरूकै सामुन्ने धडाधड कविता लेख्दै र सुनाउँदै आरोप लगाउनेलाई नाजबाफ पारिदिन्थे। हुन पनि हो, कसैले आलोचना गर्यो भने त्यसको जबाफ कुराले होइन कामले दिन सक्नुपर्छ। साथीहरूकै अगाडि १५ मिनेटमा ‘दरबार स्कुल’ शीर्षकको कविता रचना गरी सुनाएपछि त साथीहरू उनकै समर्थक पो बन्न पुगे। तिनै साथीहरूको अनुरोधमा शिक्षकले पनि त्यो कविता हेरे। कविता पढेर दङ्ग पर्दै शिक्षकले देवकोटालाई अङ्ग्रेजीमा बडेन पोइट अर्थात् ‘कोपिला कवि’ भनी टिप्पणी गरे। त्यसो त देवकोटाले १० वर्षको उमेरमा नै कवितायात्राको थालनी गरेका कुरा समालोचकले स्विकारेका छन्। उनले नेपाली भाषामा रचना गरेको पहिलो दुई हरफे कविता यसप्रकार छ, “घनघोर दुःखसागर संसार जान भाइ नगरे घमन्ड कहिले मर्नु छ हामीलाई ।”
देवकोटाले किशोर र पूर्व युवावयको एउटै डुङ्गामा पारिवारिक जीवन, कलेज जीवन, अनुशिक्षण र साहित्यिक यात्रालाई निरन्तर खियाइरहे। वि.सं. १९८१ मा १५ वर्षको उमेरमा काठमाडौँको चालिसे परिवारकी मनदेवी चालिसेसँग यिनको विवाह भयो। वि.सं. १९८२ मा १६ वर्षको उमेरमा उनले म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण गरे। जाँच दिएपछि फुर्सदका समयमा अङ्ग्रेजी स्वच्छन्दतावादी कवि वर्डस्वर्थ र सेलीका कविता रुचिपूर्वक पढ्न थाले। वि.सं. १९८३ मा उनी त्यति वेलाको त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना भए। पढ्दै पनि गर्नुपर्छ, कमाउँदै पनि गर्नुपर्छ भन्ने घरपरिवारको आग्रहअनुरूप उनले अनुशिक्षण सुरु गरे। यही पेसाका कारण उनी कक्षामा नियमित उपस्थित हुन पाएनन्। यस वेला उनलाई कलेज जीवन र विज्ञान शिक्षाले भन्दा सेली, वाइडन र म्याथ्यु आर्नोल्डका कविताले तान्यो। वि.सं. १९८५ मा उनले आइएस्सी परीक्षा उत्तीर्ण गरेपछि उनी त्यसभन्दा माथिल्लो कक्षामा विज्ञान नपढी अङ्ग्रेजी, अर्थशास्त्र र गणित विषय लिएर त्रिचन्द्र कलेजमै मानविकीतर्फको स्नातक तहमा भर्ना भए। उनले वि.सं. १९८७ मा बी.ए. उत्तीर्ण गरे। त्यस वेलासम्म १२ घन्टे अनुशिक्षणसँग जुधेर भए पनि केही गीत र कविता रचना गरिसकेका थिए।
देवकोटाले जीवनमा पारिवारिक वियोगका असह्य पीडा खप्नुपर्यो। उनी २५ वर्षका हुँदा वि.सं. १९९१ असार २४ गते उनले आमा अमर राज्यलक्ष्मीदेवीलाई गुमाउनुपर्यो। त्यसका एक वर्षपछि वि.सं. १९९२ जेठ २५ गते बुबा तिलमाधव देवकोटाको पनि देहावसान भयो। वि.सं. १९९२ मै जन्मेकी लक्ष्मीप्रसाद देवकोटाकी माहिली छोरीको जन्मेको दुई महिनामै मृत्यु भयो। यसरी देवकोटाले २५/२६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनु पर्दा उनको हृदय कति छिया छिया भयो होला ! उनको जीवनमा आइपरेका यस्ता कहाली लाग्दा पीडाले उनलाई विह्वल बनायो तर पनि उनले साहित्य सिर्जना यात्रालाई अघि बढाइरहे। त्यस वेला उनले लेखेका रचनामा आफन्तको मृत्युबाट सिर्जित वेदनाका साथै प्रकृतिको स्वच्छन्द र भावमय वर्णन पाइन्छ।
छाँगो छङ्छङाए झै बिजुली वेगमा कविता लेख्ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन्। उनले विभिन्न साहित्यिक विधामा कलम चलाएका छन्। उनका ‘शाकुन्तल’, ‘सुलोचना’, ‘महाराणा प्रताप’ ‘प्रमिथस’ आदि प्रसिद्ध महाकाव्य हुन्। उनले ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘लुनी’ जस्ता दर्जनौँ खण्डकाव्य लेखे। उनले ‘यात्री’, ‘पागल’, र ‘प्रभुजी मलाई भँडो बनाऊ’ जस्ता सयौँ कविता लेखे। उनले कविता विधामा मात्र आफ्नो कलमलाई सीमित गरेनन्। उनले लेखेका साहै गहकिला निबन्ध ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ ‘दाडिमको रुखनेर’ मा सङ्कलित छन्। उनको एउटा ‘सावित्री सत्यवान्’ भन्ने नाटक र ‘चम्पा’ उपन्याससमेत प्रकाशित छ। वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए। जति वेला ताते गर्दै नेपाली साहित्य क्रमशः किशोर वयतिर चढ्दै थियो, ठिक त्यति वेला नेपाली साहित्यले उनको कलमको जादुमय स्पर्श पायो। त्यसपछि नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो। उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे। अझ भनौँ, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे। त्यसो नहुँदो हो त तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनभित्रका ६० घण्टामा ‘सुलोचना’ महाकाव्य र एकै रातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नु जोसुकैका लागि सम्भव हुने कुरा कहाँ थियो र ! साहित्यमा देवकोटाका लागि भने असम्भव केही थिएन। अरू कविको नजरबाट ओझैल परेको भ्याउरे छन्द अर्थात् लोकभाकालाई ‘मुनामदन’ मार्फत देवकोटाले नै शिखरमा पुऱ्याएका थिए। आफ्नो जीवन अवधिमा उनले कविताका क्षेत्रमा ७०० जति फुटकर कविताका साथै आधा दर्जन महाकाव्य रचना गरे। यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन्। प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन्।
देवकोटाको जागिरे जीवनयात्रा पनि नदी एकनासले कहिल्यै बगेन। उनको जीवनमा कहिलेकाहीँ कहाली लाग्दा दुःखैदुःख निम्तिए। देवकोटा ३४ वर्षको उमेरमै वि.सं. २००० भदौ ११ गते नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए। यो जागिरे अवधि उनको लेखन यात्राको स्वर्णकाल रह्यो। यसै समयमा नै उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा र निबन्ध रचना गरेका छन्। देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ? मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति वेला उनले पनि विद्रोहको बाटो समाते। उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए। उनी घरपरिवार कसैलाई थाहा नदिई बनारसतर्फ प्रवासिए। त्यहाँबाट निस्किने ‘युगवाणी’ पत्रिकामार्फत निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके। त्यहाँ उनी सिकिस्त बिरामी परे। शारीरिक अवस्था झन् झन् बिग्रँदा बोल्न पनि नसक्ने अवस्थामा पुगे। असक्त भई प्राणै जोगाउन मुस्किल परेपछि उनले विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिए र काठमाडौँ आए। उनी त्रिचन्द्र कलेजका प्राध्यापक पनि भए। उनी २०१४ साल डा. के. आई. सिंहको मन्त्रीमण्डलमा शिक्षामन्त्री बने। यसरी उनले नेपालको उच्चपदस्थ शिक्षामन्त्री जस्तो गहन जिम्मेवारी वहन गरेका थिए। उनी नेपाल एकेडेमीको प्राज्ञ र त्रिभुवन विश्वविद्यालयको कमिसन सदस्य पनि बने। पदको शिखरमा पुग्दा होस् वा पदमा नरहँदा होस् उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्भाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो। कविता, गीत, निबन्ध, नाटक, उपन्यासलगायत थुप्रै रचनाका फूल उनको सिर्जनाको बारीमा निरन्तर फुलिरहे।
देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो। सुरुमा संसारलाई घनघोर दुःखसागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै ‘भिखारी’ कवितामा मानवतावाद र कर्मवादको शङ्खनाद गरे। त्यस्तै ‘जरुर साथी म पागल’ भन्ने ‘पागल’ कविताका देवकोटा ‘प्रभुजी मलाई भेडो बनाऊ’ भन्ने कवितामा विद्रोही कविका रूपमा देखिन्छन्। खहरे गडगडाएर स्वच्छन्द बगेका ‘शाकुन्तल’ का देवकोटा प्रेम, मानवता र उदारता प्रकट गर्ने ‘मुनामदन’ का देवकोटाको भव्य र उदात्त रूप नेपाली साहित्यमा परिचित छ। कुनै वेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ कविता लेख्दा धेरैले उनलाई तरङ्गी र लहडी भने तर त्यो लहड नभई दूरदर्शिता थियो। जुन कुरा उनी दिवङ्गत हुनुभन्दा केही समयअगि रुसको रकेट चन्द्रलोक पुगेपछि प्रमाणित भयो। देवकोटाले जीवनभोगाइका क्रममा जे देखे, जे भोगे र जे अनुभूत गरे त्यसलाई आफ्ना कृतिमा उतारेको देखिन्छ। जीवन भोगाइका क्रममा देखेभोगेका यावत् विषयवस्तुलाई विभिन्न सिर्जनामार्फत प्रस्तुत गर्नु नै उनको सिर्जना यात्रामा देखापरेको विविधता हो।
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे। देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए। उनका चेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन्। शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्य विषयका रूपमा लागु गर्ने गराउने कार्यमा उनैको विशेष पहलकदमी रह्यो। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय संलग्न भएर संस्थागत रूपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेकै छ। त्रिभुवन विश्वविद्यालय कहाँ रहने भन्ने स्थान चयन पनि उनीबाटै भयो। उनी एक यस्ता मोती हुन् जसले जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई झन् झन् चम्काइदिए।
देवकोटालाई विभिन्न समयमा देशविदेश घुम्ने अवसर मिल्यो। उनले पाएको त्यो अवसर सिङ्गो नेपाल, नेपाली जनता र नेपाली साहित्यको गौरव वृद्धिको अवसर बन्यो। उनी जहाँ जहाँ पुग्थे त्यहाँ त्यहाँ ओजस्वी भाषणद्वारा सबैलाई मन्त्रमुग्ध पार्थे। आफ्नै रचना तत्काल अङ्ग्रेजीमा अनुवाद गरी सुनाएर सबैलाई मन्त्रमुग्ध पार्ने क्षमताको प्रयोग पनि उनी गर्थे। यसरी उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारेका थिए। वि.सं. २०१५ मा तत्कालीन सोभियत सङ्घमा भएको ‘अफ्रो एसियाली लेखक सम्मेलन’ मा भाग लिन उनलाई निम्ता आयो। त्यस सम्मेलनमा उनले नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाए। भनिन्छ, शारीरिक अस्वस्थताका कारण त्यस समारोहमा भाषण गर्नुअगि देवकोटालाई चिकित्सकको सल्लाहले रगत पनि चढाइएको थियो। उनले त्यहाँ भाषणको अन्त्यमा नेपाली साहित्य विश्व साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने छ भन्ने कुरा सहभागीको हृदय हल्लाउने गरी सारगर्भित पाराले यसरी व्यक्त गरेका छन्, “हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वतशृङ्खलाको भुलभुलैयामा बिलाउने छैन । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम महासागरमा मिल्न पुग्ने छ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलविन्दुका रूपमा फेरि हाम्रा पहाडमा नै बर्सने छ ।”
करिब तीन दशकसम्म नेपाली भाषा र साहित्यको सेवा गरेका देवकोटालाई क्यान्सर रोगले अचानक हमला गर्यो। एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कातिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गर्यो। उनी लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले भन्दा सरस्वतीले धेरै माया गरिन्। केही पैसा सरसापट गरेर उनी वि.सं. २०१६ वैशाख २२ गते त्यति वेलाको शान्तभवन अस्पतालमा भर्ना भए। उनलाई थप उपचारका लागि कलकत्ता लानुपर्ने भयो। उनलाई वि.सं. २०१६ असार ६ मा उपचारका लागि कलकत्ता लगियो। कलकत्तामा २४ दिन बस्दा पनि उनलाई निको नहुने भएपछि काठमाडौँ फर्काइयो। समुद्रपारिका देशमा उपचार गर्ने खर्च उनीसँग थिएन। उनलाई असह्य पीडा भएपछि पुनः वि.सं. २०१६ भदौ ५ गते शान्तभवन अस्पतालमा भर्ना गरियो। उनले पीडा नै पीडाका बिच त्यही अस्पतालमा भदौ ८ गते ‘प्रलय वेदना’ कविता रचे। सोही महिनाको १६ गते मोती जयन्तीका दिन ‘सङ्कल्प हाम्रो फलोस्’ कविता रचे। त्यही महिनाको भदौ १७ गते देवकोटालाई आफ्ना कृतिको मूल्यबारे सोध्दा अरू रचनाभन्दा ‘मुनामदन’ लाई सबैभन्दा उत्कृष्ट रचना माने। मृत्युशय्यामा छटपटाउँदा पनि उनले साहित्य सिर्जना गर्न छोडेनन्। चिकित्सकले समेत उनको जीवनको आस मारेको थाहा पाएपछि देवकोटाकै इच्छाबमोजिम उनलाई आर्यघाट लगियो। उनी वि.सं. २०१६ साल भदौ २९ मा यो संसारबाट सदाका लागि बिदा भए।
देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ। नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन्। देवकोटाको देहावसानपछि वि.सं. २०२३ मा नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटालाई मरणोपरान्त ‘त्रिभुवन पुरस्कार’ प्रदान गरी सम्मानित गर्यो। वि.सं. २०६५ मा त्रिमूर्ति निकेतनको संयोजनमा नेपाल सरकारले ‘देवकोटा जन्म शताब्दी’ भव्य रूपमा आयोजना गर्यो। काठमाडौँको मैतीदेवी स्थित देवकोटाको निवासलाई नेपाल सरकारले देवकोटा सङ्ग्रहालय बनाएर वि.सं. २०७९ असोज १४ देखि कार्यान्वयनमा ल्याइसकेको छ। देवकोटाका कृति र उनको कृतित्व विषयमा दर्जनौँ विद्यावारिधि अनुसन्धान भइसकेका छन्। महान् कवि एवम् विलक्षण प्रतिभाशाली देवकोटाले जनस्तरबाटै महाकविको पदवी पाए। उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्।
शब्दार्थ
- चिरस्मरणीय: पछिसम्म सम्झनयोग्य / लामो समयसम्म सम्झन योग्य
- युगपुरुष: युगनायक
- अनवरत: निरन्तर, लगातार
- समृद्ध: उन्नतिशील, उन्नत / उन्नत, धनधान्य आदिले सम्पन्न
- अधिष्ठात्री: कुनै वस्तु, स्थान वा कार्यकी संरक्षिका, देवतामध्ये सबैभन्दा बढी मानिएकी देवी
- हर्षद्: खुसियालीको क्षण
- वरद: आशीर्वाद दिने, वरदाता
- मुखाग्र: कण्ठ भएको, कण्ठस्थ
- पावन: पवित्र पार्ने, शुद्ध गर्ने
- समालोचक: साहित्यिक कृति वा अन्य प्रकारका रचनाको समीक्षा गर्ने व्यक्ति, टिप्पणी कर्ता
- घनघोर: भयङ्कर, ज्यादै घना, डर लाग्दो
- अनुशिक्षण: अतिरिक्त अध्यापन
- शङ्खनाद: झङ्कारका साथ उच्चरित ध्वनि
- उदात्त: उदार, महान, फुक्का मनको
- पहलकदमी: अग्रसरता
- ओजस्वी: ओज भएको, प्रभावशाली
- मन्त्रमुग्ध: मोहित पारिएको
- परिवेष्टित: चारैतिरबाट घेरिएको
- जलविन्दु: पानीको थोपा
