नेपाली हाम्रो श्रम र सिप कविता पाठ पढ्नुहोस् ।
पाठ ८
नेपाली हाम्रो श्रम र सिप – मुकुन्दशरण उपाध्याय

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेश मै लगाऊँ ।
नेपाल भोको रहन्छ सितो एउटैले नखाए
नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए
यसैले आऊ खाना र नाना सबैलाई पुऱ्याऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथें
तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथें
के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।
यो कस्तो देश सृष्टिकै वेला विज्ञान पाएको
देवता ऋषि मनुष्य मिली वेदान्त गाएको
मुन्धुम महान् धम्मपद महान् सम्पदा महान्
विश्वमै छैन धरती महान् यो देश समान ।
पूर्वले दियो विश्वकै लागि रहस्य विशाल
अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल
ऋषिले सुने रहस्य यहीं ब्यूँझेर सखार
हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।
नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी
आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
शब्द र अर्थ (सबै पेजबाट सङ्कलित)
- गौरव: इज्जत, सम्मान, प्रतिष्ठा
- टालो: कपडाको सानो टुक्रा, वस्त्र
- सिँचाइ: जमिनमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी लगाउने काम
- सृष्टि: बनाउने वा पैदा गर्ने काम, सिर्जना
- वेदान्त: वेदमा वर्णित सिद्धान्तको विवेचना गर्ने सिद्धान्त वा दर्शन
- धम्मपद: बुद्धका उपदेश भएको ग्रन्थ
- अपूर्व: अद्वितीय, अनुपम
- सखार: बिहान सबेरै, झिसमिसेमा
- प्रकाशपुञ्ज: एकै ठाउँमा जम्मा भएको प्रकाश
- आभा: कुनै वस्तु आदिमा देखा पर्ने चमक, झलक
