कर्तव्य कथा पाठ पढ्नुहोस् ।
पाठ ११: कर्तव्य
लगालग नौ दिन ज्वरो आएर मुखिया गङ्गाधरले संसार छोडे । उनी एउटा महान् पुरुष थिए । आफ्नो विपुल सम्पत्तिलाई उनी सधैं “जनताको थाती” भन्थे र आफूलाई त्यस सम्पत्तिको केवल एउटा सञ्चालक मात्र सम्झन्थे । गरिबका चुलामा आगो नबलेको र सुत्केरी भोको रहेको समाचार सुन्नेबित्तिकै बोलाएर चाहिँदो अन्नपैसा दिई पठाउँथे । कसैले तिर्ने भाका सोध्यो भने “सके तिर्नू, नसके तिमीहरूकै हो” भन्ने जबाफ दिन्थे । उनको जीवनकालमा कसैको बिहाबर्तुन, किरियाश्राद्ध, दसैंतिहार अड्केन । गाउँका दीनहीन गरिब बिरामी परेको सुन्नासाथ ओखतीमूलो लिएर उसका भत्केका झुपडीमा पुग्थे । गाउँका गरिबलाई ‘मुखिया बाको जिउ छउन्जेल हामीले अन्यायमा मर्नुपर्दैन’ भन्ने दृढ विश्वास थियो । उनी आँगनमा आएर नउभिदिएसम्म मानिस आफ्नो चाडबाड, काजकल्याण अपूर्ण सम्झन्थे । कसैले अन्याय गर्यो भने वरिपरि दश गाउँका दुनियाँ उनैका ढोकामा फिराद गर्न आइपुग्थे ।का उनको शासनकालमा कसैले कसैलाई सताउन पाएन ।
गाउँका तालुकदार भए पनि ‘मुखिया बा’ का नाउँले प्रसिद्ध थिए । उनी गाउँतिर झरे भने गाउँका सारा केटाकेटी ‘मुखिया बा’ भन्ने कोहोलो हाल्दै आउँथे र कोही औंला, कोही लबेदाको फेर, कोही उनको लट्ठी समाउँथे । केटाकेटीले त्यसो गर्दा ‘मुखिया बा’ मुसुमुसु हाँसेर कसैको गाला थप्थपाउँथे, कसैको चिउँडो उचालेर हाँस्थे । यसप्रकारले गाउँका युवावृद्धा, बालवनिता सबैका निमित्त उनी अपार प्रिय थिए । उनलाई ग्रामपिता भन्नु कति अत्युक्ति थिएन ।
उनको देहावसानले गर्दा वरिपरि दश गाउँको अपार क्षति भो । भोकानाङ्गा, दुःखीदरिद्रीका बाबु मरे । बुढाबुढी र असहायको टेक्ने लट्ठी भाँचियो । न्यायको बत्ती निभ्यो । अनाथ र अशक्तको आशास्तम्भ ढल्यो । गाउँका ‘धन्वन्तरि’ अस्ताए । बिरामी कुर्न बसेका दश गाउँका दुनियाँ डाँको छोडेर रुन लागे । एउटा ठुलो आर्तनाद दिग्दिगन्तमा व्याप्त भो । केही बेरपछि शव उठाएर खोलातिर लगे । मलामीको लर्को गाउँदेखि तल खोलासम्म पुग्यो । मानिसले भने, “कसैको मरण होस् त यसप्रकारको होस् ।”
गङ्गाधरका दुई छोरा थिए; जेठा मुरलीधर र कान्छा श्रीधर । मुरलीधर पण्डित थिए । सबेरै न्वाउँथे र आधा दिनसम्म पूजापाठ गर्थे । उनी आफ्नो धर्म र संस्कृतिका उपर असीम श्रद्धा राख्थे । आफ्ना पिताका जस्तै उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे । मानिस उनलाई जिल्लाका टाढा टाढा ठाउँमा बोलाएर सप्ताह पुराण सुन्थे । उनी एउटा वास्तवमा सच्चा ब्राह्मण थिए । धोतीमाथि लामो लबेदा, लबेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, काँधमा च्यादर, ललाटमा चन्दन, उनी सधैं यही परिधानमा हिँड्थे । जिल्लामा ‘मुरली पण्डित’ का नाउँले विख्यात थिए । उनी बाबुसँग अगि नै छुट्टिएर बेग्लै बसेका थिए । उनका दुई जना छोरी थिए ।
यता भाइ श्रीधर चाहिँ राजनीतिक पार्टीका सदस्य र ग्राम विकासका प्रधान थिए । दसौँ श्रेणीसम्म अङ्ग्रेजी पढेका थिए । धोक्रे सुरुवाल र कुर्ता लाउँथे । दारीजुंगा खौरेर लामो बुलबुल पालेका थिए । कहिलेकाहीँ बुलबुलको अग्रभाग निधारतिर झर्यो भने टाउको झड्कारेर पछाडितिर सार्थे । आधा अङ्ग्रेजी, चौथाइ संस्कृत र चौथाइ नेपाली मिसाएर कुरा गर्थे । त्यसो हुनाले उनले गरेका कुरा अशिक्षित ग्रामीण जनता चौथाइ मात्र बुझ्थे । पूजापाठ गर्नु र टीकाचन्दन लगाउनु दासत्वको चिह्न हो भन्थे । वीरगन्जको अधिवेशनमा जाँदा गोरखपुरमा ‘केलनर’ को होटलभित्र पसेर के के खाए भनी उनका साथी भन्थे । उनी आफूलाई जिल्लाभरिको प्रमुख प्रगतिवादी सम्झन्थे । हातमा चन्दाको बुक लिएर चन्दा माग्दै हिँड्थे । त्रासले भनूँ या आशले भनूँ जिल्लाका सानाठुला सबै मानिसमा उनको निकै धाक थियो । जिल्ला गाउँका मानिस उनबाट अर्थोकमा भन्दा धनीहरूको अधियाँ बाली कब्जा गर्ने, अधीन गर्ने साहु बिर्तावालहरूको लरलहना र झाराखेताला हडप्ने काममा विशेष सहायता पाउँथे । जिल्लामा उनी ‘शर्माजी’ का नाउँले प्रख्यात थिए ।
छोराहरू भिन्न हुँदा ‘पिपले’ भन्ने सय मुरी खेत बुढाले आफ्नो जिउनी राखेका थिए । कुलाको पानी लाग्ने, खोलापैराको डर नभएको, मानामुरी फल्ने र डोल परेको साह्रै राम्रो खेत थियो । क्रिया सिद्धिएको केही दिनपछि बाबुको जिउनी खेतको विषयमा मुरलीधर र श्रीधरबिच विवाद उठ्यो । बाबुसँग बसेकाले ऐनसवालले एकलौटी हुने भन्ने श्रीधरको र मर्ने वेलामा मेरा दुबै छोरा बराबर हुन्, “आधा आधा बाँडेर खानू भनी बाले भनेर जानुभएकाले आधामा मेरो पनि हक लाग्ने” भन्ने मुरलीधरको भनाइ थियो ।
काम सिद्धिएको ४५ दिनको भोलिपल्ट जिउनी खेतको निर्णयका निमित्त मुरलीधरले गाउँका मानिसलाई बोलाए । जुन आँगनमा, दश गाउँका दुनियाँको होचीअर्धेली र न्यायअन्यायको निरोपण हुन्थ्यो, आज त्यही आँगनमा उनै न्यायाधीशका दुई सन्तानको निसाफ गर्न गाउँका मानिस भेला भए । मानिसको दुई मत भो । उमेर पुगेका बुढापाकाले मुरलीधरको पक्ष लिए । श्रीधरको प्रभावमा परेका नयाँ ठिटाले चाहिँ श्रीधरको । सम्पत्तिका धनी बाबुले नै “दुबै छोराले आधा आधा खानू” भनेर गएपछि त्यस महाआत्माको अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ भन्ने निर्णय बुढापाकाले गरे । आधा आधा खानू भन्ने लिखत पण्डित बाजेले देखाउन नसकेपछि बाबु जुन छोरासँग बसेका हुन् ऐनकानुनले जिउनी उसै छोराको एकलौटी हुन्छ भन्ने फैसला ठिटाले गरे । बुढापाकाले धर्मको न्याय गरे, ठिटाले ऐनको । भोज सम्झेर गाउँका सारा कुकुर पनि त्यहीँ जम्मा भएका थिए, परस्पर ठुलो विवाद भो । हुल्लडवाज नयाँ ठिटाका अगाडि बुढापाकाको केही जोर चलेन; आखिर न्यायको केही टुङ्गो नलागी सभा विसर्जन भो । भेला भएका ठिटा बुढापाकालाई छेड हानेर हाँस्दै घरतिर गए । बुढापाका पनि लाखापाखा लागे ।
ग्रामसभा विसर्जन भएको अलि दिनपछि बाबुको अन्तिम आज्ञाको आधार लिएर मुरलीधरले अदालतमा नालिस दिए । धुमधामसँग मुद्दा चल्यो । गाउँका बुढापाका, तरुणतन्नेरी साराले बकपत्र गर्नुपर्यो । साक्षी बस्दा पनि गाउँ दुई भागमा विभक्त भो । “मर्ने वेला दुबै छोराले आधा आधा बाँडेर खानू भनी बुढापाकाले भनेको हामीले प्रत्यक्ष देखेसुनेका हौं ।” भनी बुढापाकाले बकपत्र गरे, ठिटाले चाहिँ “होइन” भने; होइन भन्नेकै सङ्ख्या बर्ता भो ।
जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा पनि आफ्नो रोबरवाफ प्रशस्त जमाइराखेका थिए । भने जस्तो भएन भने बजारमा ढ्वाङ फुकेर पर्चा बाँड्दै हिँड्थे । त्यसो हुनाले अदालतका डिट्ठाविचारी श्रीधरसँग अलि झस्कन्थे । उसमाथि अदालतमा मामिलाको निरोपण हुँदा बकितम्लाई भन्दा लिखितम्लाई बर्ता महत्त्व दिने रीति छ । हरेक विवादमा ऐनकानुनकै आधार लिइन्छ । कानुन श्रीधरका पक्षमा थियो; अन्त्यमा डिट्ठाविचारीले कानुनको आज्ञा पालन गरे । जिउनी श्रीधरले पाए, मुरलीधरको हार भो ।
यता केही महिनादेखि श्रीधर बिरामी छन् । उनलाई तपनी ज्वरो आइरहन्छ, खोकी लाग्छ, छाती दुख्छ भन्छन् । बेथा आहारविहारको दोषबाट भएको भन्थे । शरीर सुकेर हाडछाला मात्र बाँकी थियो । यस्तै वेलामा कुटुम्बले छोरा शशीधरलाई छोरी दिन आए । कुटुम्ब धनीमानी थिए । जिल्लामा उनको ठुलो ख्याति थियो । मधेसतिर तीनचार मौजा जिमीदारी छ भन्थे । सन्तानमा केवल यिनै एउटा छोरी मात्र हुन् भन्ने सुनिन्थ्यो । शशीधर भर्खर १५ वर्ष मात्र लागेको थियो । ठिटो राम्रो र बहुतै मेधावी थियो । छोराको यति सानै उमेरमा बिहा गर्न त श्रीधरको मन थिएन । एउटी छोरी मात्र भएका धनी कुटुम्बले घरै आएर छोरी दिँदा उनी बडो असमञ्जसमा परे । उता घरकाले पनि बिहा गर्नैपर्छ भनेर करकर गर्न थाले । कामकुरो छिनियो । खुब मन फुकाएर बिहाका मालसर्जाम तयार गर्न थाले ।
वैशाखको महिना थियो । मुरलीधर न्वाएर पूजाकोठामा पसेका मात्रै थिए, श्रीधरका घरमा बाजा बज्न लागेको सुनेर झ्यालबाट हेर्न लागे । आँगनमा चौकाचंदुआ गरेको, चारैतिर तोरण टाँगेको, मण्डप ध्वजापताकाले सिँगारी राखेको, निम्तामा आएका नसनाता राम्रा राम्रा लुगा लाएर बाहिरभित्र गरिरहेका, अरू इष्टमित्र चाहिँ दलान, फलैंचा, बैठकमा डम्माडम्मी भएर बसेका, मण्डपमा यज्ञसामग्री फिँजिराखेका, पुरोहित वेदीअगाडि बसेर यज्ञविधि गर्न लागेका, बडो अपूर्व शोभा देखिन्थ्यो । एक छिनपछि सकीनसकी मण्डपमा आएर श्रीधरले पूर्वाङ्ग कर्म गर्न थाले ।
घरगृहस्थीको यति ठुलो चाडउत्सवमा दुई कान्लामाथि घर भएका आफ्ना सहोदर दाज्यूभाउज्यूलाई श्रीधरले बोलाएनन् । अरूलाई नभए पनि दाज्यूका दुई जना छोरीलाई त अवश्य डाक्नुपर्थ्यो । तिनीहरूलाई पनि डाकेनन् । मुरलीधरको मन एक तमासको भो । घोरिएर आकाशपट्टि हेर्न थाले । अतीतका अनेक स्मृति उनका सामुन्ने साकार भएर आए । एक पटक स्वर्गीय पिताको तेजस्वी अनुहारको पनि सम्झना भो । केही बेरपछि बर्र आँसु झारेर आफ्नो नित्य कर्म गर्न थाले ।
अपराह्नतिर दुलहा अन्माउन थाले । मुरलीधर आफ्नो पूजाकोठाको झ्यालमा उभिएर हेरिरहेका थिए । एक छिनपछि बाजावाला मङ्गलधुन बजाउँदै अगि अगि हिँडे । त्यसपछि दुलहाको तामदान चल्यो । शशीधर बिहाका राम्रा राम्रा पोसाक लाएर ताम्दानमाथि बसेको थियो । शिरमा जरीवाल गुलाफी पगरी, काँधमा रातो दोसल्ला, गलामा फूलको माला, निधारमा पहेंलो ठाडो तिलक, कानमा उज्ज्वल टप लगाएको गन्धर्व जस्तो देखिन्थे । शशीधरलाई दुलहाका रूपमा ताम्दानमा बसेको देखेर हर्षले मुरलीधरको गहभरि आँसु भो, मनमनमा भने “कुलको जेठो सन्तान, मेरो पिण्डपानीको दाता ।” मुरलीधरले सबै बरियातीलाई एक एक गरेर हेरे । बुढोपाको एउटा थिएन, सबै अल्लारे ठिटा मात्रै । श्रीधर चाहिँ फलैंचामा ओछ्यान लाएर पल्टिरहेका थिए ।
मुरलीधरले मन मनमा भने, “खोलामा बाको कत्रो नाम छ । आज पनि घर घरमा बाकै यश र कीर्तिको चर्चा हुन्छ । उसमाथि त्यस्ता घरानियाँ कुटुम्बका दैलामा बरियात जानु छ । यी ठिटा पुड् न पुच्छरको उट्पटाङ गफ चुट्नबाहेक अर्थोक जान्दैनन् । बाबु चाहिँ ओछ्यानमा लम्पसार परिरहेछ । यिनले बाबुबाजेको नाउँ इज्जत पखाल्न आँटे । अब आँखा चिम्लेर बस्नु भएन” भनेर मुरलीधर आफ्ना कोठामा पसे अनि लुगासुगा लाएर उनले जहानसँग भने, “कमला, मेरो दोसल्ला झिकिदेऊ ।” पतिलाई लुगासुगा लाएर हिँड्न तम्तयार भएको देखेर कमलाले भनिन्, “यस्तो टट्यानपुर घाममा कता हिँड्न लाग्नुभाको, नि ?”
“जन्त ।”
“जन्त ? नबोलाईकन त कुकुर पनि नजाओस् ।”
“ठिक भन्यौ, कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ ।”
“अँ, नबोलाईकन पनि जानुपर्छ । दाज्यूलाई बाबुले मर्ने वेलामा दिएको खेत पनि खोसेर खाने त्यस्ता असत्तीको ………..”
“खाउन्, आखिरमा त मेरो खाने पनि यिनै हुन् । मरेपछि खानुपर्थ्यो, जिउँदैमा खाए । त्यसको पाप धर्म उनैलाई छ ।”
“भो, म त मारे पनि जान दिन्नँ । उनलाई दाज्यूभाउज्यू नचाहिएपछि हामीले मात्रै किन अँगालो हाल्दै हिँड्ने ?”
“त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला, यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो । कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ । बाबु चाहिँ फलैंचामा ओछ्यान लाएर लडिरहेछ । जन्तीमा बुढोपाको एउटा छैन । खालि ओठ निचोर्दा दुध झर्ने अल्लारे ठिटा मात्र छन् । घरगृहस्थीको यति ठुलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान् ? स्वर्गमा बसेका पितृले के भनिठान्लान् ? कुलको मर्यादामा भनेको कत्रो कुरो हो । त्यो तिमीलाई थाहा छैन । जन्ती बँसीमा पुगिसके, चाँडो दोसल्ला झिकिदेऊ ।”
कमलाले झर्कदै बाकसबाट दोसल्ला झिकेर दिइन् । दोसल्ला काँधमा हालेर लौरो टेक्दै मुरलीधर जन्त हिँडे । उनलाई यस्तो टट्यानपुर घाममा एक्लै ओह्रालो लागेका देखेर गाउँका मानिस अचम्म मानेर मुख मुखमा हेर्न लागे ।
बरियात खोलापारि पुगिसकेको थियो । मुरलीधर पनि पछि पछि गए । झमक्क साँझ परेपछि दुलहीका घरमा पुगेर सुटुक्क फलैंचामा बसे । मुरलीधर पुग्दा दुलहीका बाबु वरणी गर्न लागेका रहेछन् । मानिसको घुइँचामा उनलाई कसैले चिनेनन् । वरणी सिद्धिएको केही बेरपछि यज्ञमण्डपको कार्य आरम्भ भो । पुरोहित वेदीमा रेखी हाल्न थाले । भित्रबाट यज्ञसामग्री आउन थाले । यज्ञ सम्पन्न भएपछि दुलहादुलहीलाई बस्न पुग्ने गरी आसन ओछ्याएर दुलहालाई राखे । एक छिनपछि छोरी बोकेर घरभित्रबाट दुलहीका बाबु निस्के र छोरीलाई दुलहाका बायाँतर्फ बसाए । दुलही बसेपछि लाज माने जस्तो गरेर शशीधर अलि पर सर्यो । शशीधरले लाज मानेको देखेर मुरलीधर फलैंचामा मुसुमुसु हाँस्न लागे । दुलहादुलही यज्ञमा बसेपछि दुलहीका बाबुले यताउति हेरेर भने, “खै, सम्धी पाल्नुभएको छैन, अब मण्डपमा आएर बसिदिनुभएहुन्थ्यो ।” दुलहीका पिताले बोलाएको सुनेर फलैंचाबाट मुरलीधरले भने, “ज्यू, म यहीं छु, आउन लागें ।”
मुरलीधर उठेर मण्डपमा गए । चिनेका मानिसले ढोगिदिए । जेठाबाबुलाई अचानक आफूनेर उभिएको देखेर शशीधरले पनि ढोगिदियो । मुरलीधरले छोरालाई “नानी चिरञ्जीवी भए” भनेर आशिष दिए र उसको पछाडिपट्टि बसी उसलाई आफ्नो काखनेर ताने । बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका ठिटा परस्पर कानेखुसी गर्न लागे ।
मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए । उनलाई कन्यापक्षका धेरै मानिस चिन्थे । श्रीधर र मुरलीधरले जिउनीका विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थाहा थियो । कन्यापक्षका बुढापाकाले भने, “त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे । तब पो मानिस कुलघरान भन्छन् ।” विवाहविधि आरम्भ भो । पुरोहितले ऋचामन्त्र उच्चारण गर्दा अशुद्ध भएका ठाउँमा मुरलीधर सच्याइदिन्थे । शशीधर चाहिँ जेठाबाबुका छातीमा अडेस लागेर आनन्दसँग बसेको थियो । मुरलीधर बखत बखतमा गर्नुपर्ने कर्म छोरालाई सिकाइदिन्थे । एवम् प्रकारले विवाहविधि समाप्त भो ।
भोलिपल्ट दिउँसो दुलही अन्माइदिए । मुरलीधरले निहुरेर बुहारीको मुख हेरे, बुहारी महालक्ष्मी जस्ती रहिछन् । छोराबुहारीको रूप देखेर मुरलीधर गदगद भए । दुलहादुलहीको डोली अगाडि लाएर मुरलीधर घरतिर फर्के । साँझ पर्ने वेलामा बरियात गाउँनेर पुग्यो । पँधेरामाथिको चौतारामा रमिता हेर्ने मानिसको घुइँचो थियो । बरियात दोबाटोनेर पुगेपछि “लौ, घर लगेर भित्र्याऊ” भनेर मुरलीधर आफ्ना घरतिर गए ।
दुलही भित्र्याएपछि दाज्यू बिहेमा गएको, सबै कार्यविधि आफ्नो कुलपरम्पराअनुसार राम्रो प्रकारसँग सम्पन्न भएको खबर श्रीधरले सुनेर गहभरि आँसु पारे र ठिटासँग सोधे, “दाज्यूलाई खानपिन त राम्ररी गरायौ के ?”
“आज एकादशी भनेर पण्डित बाजेले केही खानुभएन, भोकै आउनुभयो ।”
बिहे सिद्धिएको एक महिनापछिको कुरा हो । एक दिन बिहान मुरलीधर आफ्नो नित्यकर्म सिध्याएर फलैंचामा बसेर भागवत हेर्न लागेका थिए । त्यस्तैमा शशीधरले बिस्तारै बिस्तारै आएर मुरलीधरलाई ढोगिदियो र दलानको थाममा टाँसिएर भन्यो, “ठुलाबा जिउनीको पिपले खेतमा हजुरलाई जताबाट मन पर्छ, नापेर आधाखेत कमाउनुहोस् अरे, बाले भनेर पठाउनुभा’को ।” शशीधरको कुरा सुनेर मुरलीधरले उसका मुखतिर हेरेर मुसुमुसु हाँस्दै भने, “जिउनीको आधा खेत मैले कमाए तिमीहरू के खान्छौ नि बा ?” शशीधर केही उत्तर नदिएर छिटो छिटो आफ्नो घरतिर गयो । कमला चाहिँ दैलाको आडमा उभिएर बाबुछोराको कुरा सुनिरहेकी थिइन् ।
शशीधरले खेत कमाउने कुरो सुनाएर गएको चौधपन्ध्र दिनपछि एक दिन मुरलीधर फलैंचामा बसेर नस सुँघ्दै विद्यार्थीलाई रघुवंशको पाठ घोकाउँदै गर्न लागेका थिए । त्यस्तैमा श्रीधरकी सानी छोरी रमाले आएर रुन्चे मुख लाएर भनी, “ठुलाबा बालाई व्यथाले चाप्यो । हजुरलाई बोलाउन पठाउनुभएको ।” छोरीको कुरो सुन्नेबित्तिकै पढाउन छोडेर रमाको हात समाउँदै मुरलीधर भाइका घरतिर गए । श्रीधर खाटमा कोल्टे परेर सुतिरहेका रहेछन् । दाज्यूलाई देखेर बडो कष्टसँग उठेर गहभरि आँसु झारेर ढोगिदिए । भाइका आँखामा आँसु छचल्किरहेको देखेर मुरलीधरको पनि गहभरि आँसु भो । चार वर्षपछिको यी दुई दाजुभाइको पुनर्मिलन सारै दुःखलाग्दो देखियो ।
मुरलीधरको गहभरि आँसु भएको देखेर उनको गोडामा समाउँदै श्रीधरले रुन्चे स्वरले भने, “दाज्यू अस्तिदेखि दम बढ्न थाल्यो । मलाई अब धेरै दिन बाँचुला जस्तो लाग्दैन । मैले जीवनमा हजुरप्रति धेरै अत्याचार गरेको छु । यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला ।” भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही वेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, “बिसेक हुन्छ बा हरेस नखाऊ । बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन । बरु अब यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गराउन लैजान्छु ।”
यति भनेर भाइका पथपरेजको व्यवस्था मिलाएर केही बेरपछि मुरलीधर आफ्नो घरतिर गए । यो घटना भएको छ सात दिनपछि भाइलाई लिएर औषधी गराउन मुरलीधर देशतिर हिँडे भन्ने सुनियो ।
शब्द र अर्थ (Words & Meanings):
- विपुल : अति धेरै, प्रशस्त
- फिराद : सम्बन्धित अदालत वा अधिकारीसमक्ष न्याय पाउन गरिने उजुर, नालिस
- लबेदा : मयलपोस, दौरा
- विख्यात : नाम चलेको, प्रसिद्ध
- बुलबुल : अगिल्तिर लामा रौं राखेर कपाल बनाउने ढाँचा
- बिर्ता : बहादुरी देखाएबापत वा वृत्तिका लागि प्राप्त भएको सरकारलाई तिरो तिर्न नपर्ने जग्गा
- लरलहना : लेनदेनको व्यवहार, लगानी
- निसाफ : कुनै मुद्दामामिलामा अदालतबाट दिइने न्याय, अदालती निर्णय
- रोबरवाफ : तडकभडक, धाक
- जिउनी : सन्तानलाई अंशबन्डा गर्दा आमाबुबाले आफ्ना लागि छुट्याएको सम्पत्तिको भाग
- तपनी : मन्द ज्वरो
- मौजा : जग्गा, जमिन, गाउँ
- मेधावी : बुद्धि भएको मेधावान्
- असमञ्जस : दोधारको अवस्था
- फलैचा : धेरै मानिसलाई अडेस लगाएर बस्न मिल्ने गरी बनाइएको काठ वा फलेकको आसन
- वेदी : धार्मिक कार्यका लागि अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भाग वा चौकी
- तिलक : होम गर्दा डढेको चरुको कालो टीका
- गन्धर्व : गाउने बजाउने कलामा प्रवीण, गानबजान नै पेसा भएको व्यक्ति
- कुल : पितापुर्खादेखि एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना, वंश
- असत्ती : इमानजमान नभएको, साँचो व्यवहार नगर्ने, दुष्ट स्वभावको
- जोरीपारी : आफ्नो उन्नति प्रगतिमा डाह गर्ने र हानिनोक्सानीमा खुसी मान्ने छरछिमेकका व्यक्ति
- वरणी : विवाहमा जन्ती आइपुग्नेबित्तिकै दुलहा घरमा नलगी दुलहीका बाबुले गर्ने पूजा
- रघुवंश : रघु राजाबाट प्रवर्तन भएको वंशपरम्परा
- वैद्य : आयुर्वेद उपचारको विधिअनुसार रोगको उपचार गर्ने व्यक्ति, कविराज
- पथपरेज : रोगीले खान हुने, नहुने वा गर्न हुने, नहुने कुरा आदिको अनुशासन, मुख बार्ने काम
