यस्तो कहिल्यै नहोस् मनोवाद पाठ पढ्नुहोस् ।
पाठ ४: यस्तो कहिल्यै नहोस्
पात्र : शुकमान
स्थान : बोहोराटार, काठमाडौँ
समय : राती १० बजे
(शुकमान बत्ती बन्द गरेर सुतेको आधा घण्टा भइसक्यो । उनलाई पटक्कै निद्रा परेको छैन । साइबर अपराध बढेका कारण आफू र थुप्रै मानिसले पाउनुसम्म दुःख पाएको सम्झेर उनी खिन्न छन् । सामाजिक सञ्जालमा छाएका विकृतिले गर्दा आज उनको मन अमिलो भएको छ । बिस्तरामा सुतेको एक घण्टा हुँदा पनि उनलाई निद्रा लागेको छैन । वेला वेला साइबर अपराधबारे आफूले पढेका, सुनेका र थाहा पाएका कुरा पनि मनमा झल्यास्स आइरहन्छन् ।)
हरे ! के जमाना आयो यस्तो । सामाजिक सञ्जालले गर्दा जीवन सहज र सजिलो भयो भनेको त झनै जटिल र समस्याग्रस्त पो बन्न थाल्यो ! सामाजिक सञ्जालबारे थाहा भएको म जस्तो त आज फसँ भने अरू कति मान्छेलाई यो सञ्जालले पीडा दिएको होला ! खाएको विष पो लाग्नुपर्ने । (कोल्टो फर्कंदै) नखाएको विष पनि लाग्दोरहेछ । यो मोबाइलभित्रको साइबर संसारमा पस्दा त खुबै विचार पुऱ्याउनु पो पर्दोरहेछ नि । हैट ! मोबाइललाई पनि के दोष दिनु र खै । मैले नै होस गुमाएपछि मोबाइललाई केको दोष । यो मोबाइल भन्ने चिज पनि विचित्रकै छ । (घोरिँदै) पोहोर साल त सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतनासम्बन्धी कक्षामा म स्वयम् सहभागी भएको थिएँ नि तर खै के गर्नु ? पढेका कुरालाई व्यवहारमा उतार्न नसकेपछि त्यो पढाइको के पो अर्थ हुँदोरहेछ र ! वेलामा बुद्धिमा बिर्को लागेपछि (उति वेला कक्षामा सहभागी हुँदाका कुरा सम्झन्छन्) त्यो वेला साइबर अपराधबारे गज्जबसँग भन्नुभएको थियो नि साइबर क्राइम शाखाका सब इन्सपेक्टरले । वास्तवमा यी सारा कुरा मैले त्यति वेला सुनेर उति बेलै अर्को कानले नउडाएको भए (उठ्छन्, बत्ती बाल्छन् र पानी पिउँछन्) त्यस दिन आएको त्यो म्यासेजलाई मैले तुरुन्तै हटाइदिनु पर्नेरहेछ, के गर्नु, के रहेछ भनेर हेरि त हालें । हरे शिव ! यस्तो नचिनेको व्यक्ति र नम्बरबाट आएको म्यासेज त शत्रुले पनि नहेरोस् ।
“तपाईंलाई २५ लाख रुपियाँको पुरस्कार परेको छ बधाई” भन्ने आशयको सन्देश मोबाइलमा पठाएको पो रहेछ । त्यो सन्देश देख्नासाथ म त खुसीले उम्लेछु । अब सित्तैको धन पाइने भो भनेर म मक्ख परें । आज मैले यो गति भोग्नुपर्यो । (खुइय सुस्केरा हाल्दै) अझ मैले घर परिवारलाई भनेकै छैन । सबैले थाहा पाए भने ? कसरी मुख देखाउने होला ! यो सङ्कटको भुमरीबाट कसरी उम्कने होला ?
हरे ! जताततै साइबर अपराधको बाढी पो आए जस्तो छ त ! सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर नक्कली प्रोफाइल खोल्ने र गैरकानुनी हर्कत गरेर बेइज्जत गर्ने तथा दुःख दिने गर्दारहेछन् ! (गम्भीर हुँदै) धन्य, अहिलेसम्म आफू त्यस्तोमा परिएको छैन र पो ! विभिन्न किसिमका तस्बिरमा अरूको टाउको जोड्ने तथा आफन्तलाई पठाउने, सामाजिक सञ्जालमा राख्ने कार्य पनि गर्दारहेछन् ! के गर्नु, cyber सचेतना कक्षा लिइएकै हो क्यारे ! (आफूले आफैँलाई धिक्कार्दै) शिक्षकले बिहान पढाएका र पाठ्यपुस्तकमा लेखेका कुरा मात्र पढ्ने बानी परेको म बाहिरी प्रविधिमय संसारसँग अपरिचित पो रहेछु । जीवनमा आफैँलाई दुःख पर्दा पढेका र जानेका कुरा पनि व्यवहारमा प्रयोग गर्ने नसकिने रहेछ । (मोबाइल ओल्टाइपल्टाइ हेर्न थाल्छन् मोबाइलभित्रको संसार को कल्पनामा डुब्छन्) साँच्चै यो मोबाइलभित्र त सारा संसार पो अटाएको रहेछ । यसमा के छैन ? नाच यहीं रहेछ, गाना यहीं रहेछ, धर्म यहीं रहेछ, अधर्म पनि यहीं नै रहेछ, स्वर्ग नर्क जे भनौँ सबै यसैमा रहेछ । ज्ञानको भण्डार पनि यहाँ रहेछ । सुख पनि यहीं रहेछ । सुकर्म देखाउने बाटो पनि यहीं रहेछ । कुकर्मतिर लाग्ने कुबाटो पनि यहीँ रहेछ । (टाउकामा हात राख्दै) जब मान्छेका हातका औंला मोबाइलभित्रका खराब कुरा खोज्न तम्सिँदा रहेछन् नि त्यसपछि त मान्छेले यही धर्तीमा नै नर्क भोग्नु पर्दोरहेछ । मलाई धिक्कार छ मेरा यी औंला त्यो दिन किन त्यो म्यासेज थिच्न पुगे होलान् । (खुइय सुस्केरा छाड्दै) लोहोराले थिचौँ जस्तो लाग्छ यी औंलालाई । २५ लाख पाउने लोभमा फसाएर त्यस दुष्टले मेरो सबै बैङ्क खाता लगायत व्यक्तिगत विवरण माग्यो । एक मनले त शङ्का लागेको थियो ‘आ होस् ठग होला, विवरणसिवरण केही नदिऊँ कि भन्ने पनि नलागेको कहाँ हो र ? तर के गर्नु अर्को मनले भन्यो, “हेर् शुकु ! यो तेरो भाग्य चम्केको हो । तेरो तालुमा आलु फल्दै छ, ठालु पल्टेर यसलाई स्विकारिनस् भने तेरो बैङ्क खातामा आउने २५ लाख आउने छैन ।” (लामो सास फेर्दै) अनि त्यसपछि त मेरो मन २५ लाखको लोभको माकुरे जालामा फसी त हाल्यो । त्यस अपरिचित दुष्टले ककसका खातामा कति कति पैसा पठाइसकियो भन्ने कुराको विभिन्न बैङ्कमा जम्मा गरेका भौचरसमेतका फोटा खिचेर पनि म्यासेजमा पठायो । मलाई यो त त्यस्तो अपराधी होइन होला कि भन्ने पनि लाग्यो । (कोल्टे फर्किन्छन्) उसले मागेजतिको मेरो नाम, विवरण, बैङ्क खाता सबै खुरुखुरु त्यही मेसेजमा लेखेर पठाएँ । हैन, सधैं कुनै महत्त्वपूर्ण काम गर्दा त म कसै न कसैलाई सोध्ने गर्थे नि । कहिले साथीलाई सोध्थें, कहिले परिवारलाई सोध्ने गर्थे । के गर्नु मेरो दशा लागेको ! दुर्दशा भन्ने कुरा आउन थालेपछि त चुकुल लगाएर सुतेको कोठामा पनि लोककथामा वायुपङ्खी घोडा चढेर राक्षस आए झै सुरु सुरु आउने रहेछ क्यारे ! (दलिनतिर एकटकले हेर्छन्)
“तपाईंलाई चिट्ठा परेको छ यो चिट्ठा तपाईंले लिनुभएन भने अर्कैलाई दिन्छौँ” भनेर फोन आएको थियो । (निधारमा दाहिने हात राख्दै थुक्क तेरो बुद्धि पर्सिपल्ट बैङ्कको खातामा पैसा चेक गर्न जान्छु भनेको त… मेरी आम्मै नि ! त्यस दुष्टले त उल्टै मेरो खाताको पाँच लाख पो गायब पारेछ । सित्तैमा धनको खोलो फर्काउँछु भन्दा पसिना बगाएर सँगालेको धन पो बगेर गयो बरै ! ‘लोभले लाभ, लाभले विलाप भन्छन्’ मेरो त लोभले लाभ नहुँदै एकैचोटि विलापैविलाप मात्र भयो । (फेरि कोल्टो फर्केर भित्तातिर एकटकले हेर्दै) बुद्धि नपुऱ्याउँदा मोबाइलभित्रका साइबर संसारबाट दुनियाले कति दुःख पाएका होलान् । (पोहोरको एउटा घटना सम्झन्छन्) पोहोर साल पनि एउटा अपरिचित व्यक्तिले फेक आइडी हो कि क्या हो ? त्यसबाट पठाएको म्यासेज मेरा काकाकी छोरी पानमतीले एसेप्ट गरिछन् । त्यसपछि त त्यसले उनीसँग तारन्तार म्यासेज गर्न थालेछ । आफूलाई हङकङको लाहुरे हुँ, काठमाडौँमा बिहे गर्न आएको भनी गुड्डी हाँकेछ । पढेका के गछ्यौं नानी, पढे पनि पैसा चाहिन्छ क्यारे, आखिर पैसा कमाउने नै हो; देशविदेश घुम्न पनि पाइन्छ भनेर फकाएछ । त्यसको केही दिनपछि त्यसैसँग बिहे गरिछ । दिल्ली हुँदै हङकङ लान्छु भनेर सुनौली पुऱ्याएछ । कति छिट्टै उसका कुरामा विश्वास गरेकी होली, अलिकति त विचार गर्नुपर्छ नि ! उसको ठाउँ ठेगाना त बुझ्नुपर्छ । त्यो पनि कुनै कागजात र पासपोर्ट बिना नै हङकङ लान्छु भन्दा कसरी पत्याएकी ? झुक्याउनसम्म झुक्याएछ बदमासले । धन्न संयोगले बचिछ ! उसले सुनौलीको नाका पास गराउन खोजेका वेला एक सामाजिक संस्थाका कर्मचारीले देखेछन् । “तिमी कहाँबाट आएकी हौ र कहाँ जान लागेकी हौ ?” भनेर पानमतीसँग सोधपुछ गर्न थालेछन् । अब समातिने भइयो र पोल खुल्ने भो भनेर त्यो हङकङको लाहुरे हुँ भन्नेको त सातोपुत्लो उडेछ । यसरी जेलमा जाकिने भएँ भनेर सबैको आँखा छली त्यहाँबाट सुइँकुच्चा ठोकेछ । धन्न ! सामाजिक संस्थाका दिदीबहिनीले बचाएर घर फर्काएछन् र पो, नत्र (लामो सास फेर्छन्) ।
लौ हेर त, १२ पो बजिसकेछ ! (घडी हेर्दै) अब त निदाउनुपर्यो । ‘हुने हार दैव नटार’ भन्छन् । पाँच लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउनुभन्दा आत्मविश्वासका ऊर्जाले ज्यान बचाउनतिर लाग्नुपर्छ । दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा गयो त के गर्ने ? आफ्नै बुद्धिले गयो । मरुभूमिमा पसिना बगाएर कमाएको त्यो मेरो धन झुक्याएर लाने त्यस्ता दुष्टलाई भगवान्ले पनि सजाय त देलान् नि ! हे भगवान् । (अलि ढुक्क हुँदै निदाउनका लागि आँखा चिम्म गर्छन्) खै भगवान्ले पनि के गर्नु र आफ्नै बुद्धि बिग्रेपछि । (दाहिनेतिर कोल्टो फर्केर हातका पन्जालाई टाउकाको सिरानी बनाएर सुत्छन्) । अँ, अस्ति एउटा समाचार पढेको थिएँ । साइबर अपराधका बारेमा लेखेको थियो । ‘कोही जानी नजानी यस्तो संसारमा पसेका छन्, फसेका छन्, त्यसबाट उम्किने उपाय खोज्छन् र त्यस्तामा अरू पनि कोही नफसोस् भन्ने चाहन्छन् भने नेपाल प्रहरीको साइबर अपराध शाखामा तुरुन्त सम्पर्क गर्नू’ भनी त्यसमा पनि लेखेको थियो । (अलि आश्वस्त हुँदै) म त फसें फसें, मेरो पैसा त डुब्यो डुब्यो ! अब अरू कोही पनि नफसुन् र नडुबुन् भन्नका लागि अब साइबर अपराध शाखामा जान्छु ।
साइबर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायतका पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइन आउट वा लग आउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ । अँ साच्ची मैले पुलिसलाई फोन गरेको भए त म यसरी फस्ने नै थिइनँ नि ! कुनै पनि मेल वा म्यासेन्जरमा लिङ्क आएमा पहिला लिङ्क सही हो वा होइन पत्ता लगाएर मात्र लिङ्कमा क्लिक गर्ने गर्नुपर्छ । त्यसै गरी गैरकानुनी रूपमा अरूको वाइफाई प्रयोग नगर्ने, मोबाइल हराएमा नजिकको दूरसञ्चार सेवा प्रदायकलाई जानकारी गराई आफ्नो सिम ब्लक गराउन लगाउनुपर्छ ।
कस्तुरीले आफ्नो नाभिमा भएको गन्ध खोज्दै जाँदा सिकारीका फेला पर्छ रे ! म पनि फेला परें, पाँच लाख लुट्ने सिकारीका फेला । अब धेरै सुर्ता लिएर के गर्नु ! आऽऽ जेसुकै होस् । साइबर अपराध शाखामा जान्छु । मलाई कुन नम्बरबाट त्यस्तो म्यासेज आयो सबै बताउँछु, सके पैसा भेटाइदेला नत्र त्यो बदमासलाई पक्रन सक्यो भने पनि म जस्ता अरू त नफस्लान् नि ! ओहो ! एक पो बजिसकेछ । अब बिहानै साइबर ब्युरोमा फोन गर्छु । साइबर अपराधमा कसरी फसिँदोरहेछ, त्यसमा नफस्न के के गर्नुपर्दर्छ सबै सिक्छु र सामाजिक चेतना जगाउने काममा पनि लाग्छु । मेरो जीवनमा र काकाकी छोरीका जीवनमा परे जस्तै घटना कति मान्छेले भोग्नुपरेको होला ! कति घटना गुपचुप होलान् । समाजमा यस्तो तनाव कसैले पनि बेहोर्नु नपरोस् र कोही पनि यसरी अनाहकमा फस्नु नपरोस् । अब साइबर अपराधीको सातो उडाउनुपर्छ, तिनलाई पक्राउनुपर्छ किनकि अब कसैको जीवनमा कहिल्यै यस्ता घटना नघटुन् । कसैलाई पनि कहिल्यै यस्तो नहोस् । (सोच्दै ओछ्यानमा पल्टन्छन् र भुसुक्कै निदाउँछन् ।)
शब्दार्थ:
- विचित्र : अनौठो, विलक्षण
- भुमरी : हावा, पानी आदि घुमेर बनेको चक्राकार ठाउँ
- गैरकानुनी : कानुन विरुद्ध, अवैधानिक
- कुकर्म : खराब काम
- दुष्ट : अर्कालाई दुःख दिने स्वभाव भएको
- दुर्दशा : दुर्गति
- गायब : बेपत्ता, हराउने काम
- नाका : प्रवेश स्थान
- प्रदायक : प्रदान गर्ने
- अनाहक : विनसित्ति, बिनाकाममा
