शत्रु कथा पाठ पढ्नुहोस् ।
पाठ ७
शीर्षक: शत्रु
लेखक: विश्वेश्वरप्रसाद कोइराला
‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायका निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन् । यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रुपियाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर दुःख परेको बखतमा ‘राजद्वारे श्मशाने च’ तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे । जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पिरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेको आँखमा आँसु ल्यायो । गाउँलेमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे । तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिंदैनथ्यो । आफ्नो घरबाट तिनी कम निस्किन्थे र निस्केको दिन कि तो कसैकहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नु पर्थ्यो; सडकमा सब जना अदबसँग तिनको अभिवादन गर्थे ।
कृष्ण रायलाई सब प्रकारको सुख थियो; धनको, यशको र सम्मानको । तिनका सन्तान थिएनन्, तर यस अभावलाई तिनले आफ्नो एउटा टाढाको भतिजोलाई पाली पूर्ति गरेका थिए ।
एक रात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको जीवन कसैले असफल भन्न सक्दैन । सानोतिनो पुँजी पनि कमाइ हालेका थिए रुपियाँ जम्मा गर्दा अरू कसैलाई पिर पनि पारेनन् । तिनको कोही बैरी थिएन, यही तिनको सन्तोषको ठुलो कारण थियो । ४५ वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई आफ्नो शत्रु बनाएनन् । यस कल्पनाले तिनको तन्द्राको सुख बढाइरहेको वेलामा तिनीमाथि लट्ठीको प्रहार पर्यो । संयोगवश लट्ठीको मुख्य चोट तिनीमाथि परेन । प्रहारकर्ताले तिनीमाथि प्रहार गरेको हो कि भित्तामाथि, यो छुट्याउन गाह्रो थियो ।
कृष्ण राय जुरमुरिँदै उठे, तबसम्म आक्रमणकारी भागिसकेको थियो । “मलाई कसले यसरी आक्रमण गर्यो होला ?” तिनी विचार गर्न थाले । “यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, झगडा फसादमा रहिनँ ।” कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन । सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । कृष्ण रायले बिछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टिपे, हेरेर गम्न थाले “को मेरो शत्रु हुन सक्छ ?”
धेरे घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाएको जस्तो लाग्यो । आजै बिहान एउटा काम बिगार्दा रामे भन्ने नोकरमाथि तिनी रिसाएका थिए । नोकरको के ठेगान, झाँक उठ्यो र मालिकलाई हान्न हिँड्यो होला । नोकरसित झकँदा तिनले उसको मुख रातो भएको देखेका थिए । उनलाई के थाहा; रिसले रातो भएको रहेछ । ऊ केही अचाक्ली गरी रिसाएको थिएन । यत्रो पुरानो नोकरले त्यति हप्की पाउँदा मालिकलाई मार्न नहिँड्नुपर्ने । रामले योभन्दा ठुलो ठुलो गाली सहेको थियो र आजको झटनीले त्यसको धैर्यको अन्त नगर्नुपर्ने । मनुष्यको स्वभाव कसले जान्न सक्छ र ? ऊ नभए अरू को मेरो शत्रु होला ? हो न हो, यो रामको काम हैन, बलभद्रको काम हो । कारण, अस्ति हिसाब गोलमाल गरेर ठग्न खोज्दा कृष्ण रायले तिनलाई फेला पारी लज्जित पारेका थिए । आखिर बलभद्रको समाजमा आदर थियो, गाउँलेहरूले तिनलाई इज्जत गर्थे । कृष्ण रायले तिनलाई बेइज्जती गरेको तिनले सहन सकेनन् होला र आज राती बदला लिन आएका होलान् ।
कृष्ण रायले विचार गर्दै थिए । अस्तिको नोकरी खोज्दै आएको युवकको ध्यान तिनलाई आउन थाल्यो । बिचरा खान नपाएर तिनकहाँ आएको थियो । काममा लगाउन छोडेर तिनले उसलाई उपदेश दिन थाले । कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भने, त्यस युवकको यो निश्चय नै मन पराएन होला । त्यो बडो स्वाभिमानी होला जस्तो थियो, त्यस्तालाई कठोर शब्द असाध्यै बिझ्छ र धेरै दिनसम्म इख लिइरहन्छन् । कृष्ण रायको एउटा अत्यन्त नराम्रो बानी छ । आफूलाई अकलुषित र दुर्गुणरहित भनी ठान्ने कृष्ण रायलाई आफ्नो एउटा ठुलो दोषको सम्झना भयो । समय असमयमा तिनी अर्कालाई आदेश सल्लाह दिइरहन्छन् । नाहक कृष्ण राय यस दुर्गुणलाई गुण ठानेर अङ्कमाल गरिरहेका थिए ।
कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए । यो बडो गर्वको कुरा हो । गाउँले तिनीमाथि नै विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे । यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो । निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला । एक दिनको घटना उदाहरणस्वरूप तिनको सामुन्ने आउन थाल्यो । गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन । कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए ती झगडियालाई झगडाको दुष्परिणाम बुझाउन थाले । हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ ? आपस्तमा मिल, खाऊ, पिऊ र ईश्वरको भजन गर । यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन् । तिनीहरू मिल्न मानेनन् र बिचरा मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपर्यो । यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् । फेरि एउटा मास्टर र कैयाँको झगडामा न्याय कैयाँको पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, “हेर्नुहोस् कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु तर कैयाँ कैयाँ नै हुन्, काम लाग्ने छैनन् ।” एउटा झगडामा सबभन्दा निर्दोष काम हो, त्यो झगडाको मध्यस्थ हुनु तर कुनै पनि मध्यस्थ दुबै पक्षको समर्थक हुन सक्दैन । मध्यस्थले एउटा न एउटाको शत्रु हुनैपर्छ, कृष्ण रायले बिउँझे यो ज्ञान आर्जन गरे ।
विचार गर्दागर्दै कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झे, हाटमा तिनीद्वारा धक्का खाई लडेको एउटा मान्छेलाई सम्झे, तिनले निकालिदिएका नोकरहरूलाई सम्झे, गरिब तर इर्ष्यालु दाजुभाइलाई सम्झे जो तिनको उन्नति देखिसहँदैनथे । अरूको त के कुरा, आफ्नै पोष्य पुत्रमाथि पनि उनलाई भरोसा थिएन ।
घटनालाई बिर्सन प्रयत्न गर्दै कृष्ण राय निदाउने निहुँले बिछ्यौनामा बड्ङ लडे । शत्रुताको पनि कस्तो व्यापक सम्बन्ध रहेछ ? दुनियाँमा कोही पनि मित्र हुँदैनन् सबै शत्रु, सबै बैरी नै हुन्छन् । कसले भन्छ अकारण नै कोही शत्रु हुँदैन ? मानें अकारण कोही कसैको शत्रु हुँदैन तर झगडाको निहुँ कति सजिलै पाइन्छ ? कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग गरे सबैलाई तिनीसँग ‘बापवैर साध्ने’ कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ । भोलिपल्ट यो घटनाले जाँच हुँदा पुलिसको इन्स्पेक्टरले तिनलाई सोध्यो, “तपाईंलाई कसैमाथि शङ्का छ ?”
कृष्ण रायले गम्भीर भएर उत्तर दिए; “रामे, केदार, युवक, गोविन्द पण्डित, कन्हैया, मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली…।”
शब्दार्थ (पाठ ७ को उपलब्ध अंशका सबै शब्दार्थहरू):
- कर्जा: निश्चित अवधिमा ब्याजसहित वा बिनाब्याज फर्काउने गरी लिइएको रकम, ऋण
- मध्यस्थ: कसैको पक्षमा नलाग्ने, तटस्थ
- अदब: आफूभन्दा ठुलाबडा वा मान्यजनप्रतिको आदर भाव, मर्यादायुक्त शिष्ट एवम् नम्र आचरण
- यत्न: प्रयास, जमर्को, कोसिस
- बैरी: शत्रु, विरोधी
- तन्द्रा: निद्रा लाग्नु अगाडिको आँखाको लठ्याइ, निद्राको पहिलो अवस्था
- फसाद: असजिलो अवस्था, झमेला
- अचाक्ली: धेरै, हुनुपर्नेभन्दा बढी
- इख: प्रतिशोधको भावनाले मनमा उठ्ने द्वेष, रिस
- नाहक: कुनै प्रयोजनबिना, बिनसित्ति
- दुष्परिणाम: खराब नतिजा
- आपस्त: आफन्त
- पोष्य: पालनपोषण गर्न योग्य
