पख्नोस् निबन्ध पाठ पढ्नुहोस् ।
पाठ १३ : पख्नोस्
“पख्नोस्, एउटा लेख दिउँला ।”
पख्नोस्, उही चिरपरिचित शब्द ! उही पत्यारलाग्दो आश्वासन ! उही झुलाएर फुलाउने बोक्रे बढत्व !!!
तपाईंको कन्सिरी तातेर आयो होला, होइन ? तर डर नमान्नुहोस्, कन्सिरी जतिसुकै ताते पनि तपाईंको जिउमा आगलागी भैहाल्ने छैन । भियतनामका बौद्ध भिक्षुले जस्तै तपाईंले ज्युदै डढेर मर्नुपर्ने छैन किनभने नेपालमा रक्तकाली प्रकट भैसकेकी छिन् ।
जे होस् ल, आफ्नै कुरा गरूँ, धेरै पटक भइसक्यो, एउटा लेख तपाईंले मसित माग्नुभएको तर पटकैपिच्छे मैले ‘पख्नोस्’ भन्दै आएको छु, पर्खाएको छु । सम्पादक जस्तो मान्छेले पनि जमिनदारकहाँ ऋण माग्न गएको जैरे काहिँलो पटकैपिच्छे लुत्रे कान लगाएर फर्कनुपर्दा जङ चल्नु स्वाभाविकै हो । जङ्गिँदाजङ्गिँदै जङ्गबहादुर बने पनि के लाग्छ र ? अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईंले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईंले धैर्य गर्नुपर्छ । अझ भनूँ भने झुल्नुपर्छ, धाउनुपर्छ, पर्खनुपर्छ । सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन् । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।
भनूँ भने, मान्छेले राम्ररी जानेका क्रिया नै पर्खनु र पर्खाउनु हो । यो के बकन्याइ छाँट्न लाग्यो भनी तपाईं जिल्लिनुहोला तर पख्नोस्, तपाईं आफू मात्रै पर्खिरहेको नठान्नुहोस् । तपाईं अहिले जुन वेला मसित लेख पर्खिनुभएको छ यसै वेला यतिखेर कहाँ कहाँ, को को, के के पर्खिरहेका होलान् त ! लौ मनिटर घुमाउँदै जानोस् ।
यसै वेला यतिखेरै कपुरीकान्त कार्की कान्लामाथि बसेर माइत गएकी कर्किनीलाई पखँदो हो । खस्याङखुसुङ खोलाबाट खबटानन्द खतिवडा खाटमाथि पल्टेर ख्वाङख्वाङ खोक्तै डाक्टर खुकुरीराम खत्रीलाई पखँदो हो । गाना सुन्न गएकी गीतादेवी वेला नभैसकेकाले गजक्क परेर रेडियो भएनिर पखँदी हो । घटसिंह घले घट्टमा घैयाको पिठो पिँध्न गएको, पालो नपाएर उँघी उँघी पखँदो हो । जङ्गबहादुर डोलेलाई सुश्री नाकथोप्ली मैयाँ भऱ्याङमुनि ङिच्च मुख लगाएर पखँदी हो । चम्रेल बाбу चाक्सी किन्न पठाएको चतुरे चार घण्टा भइसक्यो आएन भनी पखँदा हुन् । छत्रजङ्ग छाता नहुनाले छत्रपाटीको छ्यापी पселमा पानी रहला र हिँडुला भनी पखँदा हुन् । जरसाहेबकाँ जागिर माग्न गएको जगन्नाथ जैसीदेवलको छिँडीमा उनको बाटो कुरी पखँदो हो । झाडा लागेको झसवीरेकी बुहारी, झटपटसाथ टट्टी गएकी भित्र अर्कै मानिस देखेर बाहिरैपट्टि पखँदी हो । गोरुसिङ्गे ‘ञ’ जस्तो लट्ठक ञचाको नाति सिद्रा बेच्न देउपाटन गएको वनकालीमा बाँदर देखेर फरक्क फर्की गौशालाको बस पखँदो हो । ल भन्नोस्, नाम, काम र ठामको पछि नलागेर जबाफ दिनोस्, के यी सब सम्भाव्य पर्खाइ होइनन् ? नेपालको मात्र कुरा नलिउँ भने मनमिटर अलि टाढा टाढा नै पुऱ्याइदिनोस् ।
यस वेला यतिखेरै तानाबाना भिरेर ताइपेहमा जम्मा भएका सिपाही विपक्षीको तालुमा तारो हान्न पखँदा हुन् । थाइल्यान्ड पुगेका थाकखोलाका थकाली अमेरिकी सैनिकको अड्डामा रिहाइको आदेश पर्खदा हुन् । दलाई लामाका मानिस दानापुरमा दाना सिद्धिएर देवताको नाम वा दाम कमाउन देश फर्कन दाउ हेर्दै देवाधिदेवको दैलामा दण्डवत् गरी गरी पखँदा हुन् ।
ल, अब कति भनूँ, नपुगेको भए फेरि मनमिटरलाई जता जता पर्छ, उतै उतै छोड्नोस्, यस वेला यतिखेरै पोल्यान्ड जान लागेका पाण्डेजी पालम एयरपोर्टमा पासपोर्ट जँचाएर ‘पाइप’ पिउँदै प्लेन पखँदा हुन् । फर्सीजङ्ग सुब्बा फैजावादको प्लेनफार्ममा फत्तेपुर जाने रेल पखँदा हुन् । बाटुली बराल्नी लाहुर गएको लोग्ने कहिले आइपुग्छ भनी पखँदी हो । भाटभटेनी बस्ने भुँडेकाजी भद्रकालीनिर कसैलाई पखँदो हो । मास्कोमा वैज्ञानिकहरू उडिरहेको स्पुतनिक मरुभूमिमा खस्ने भो भनी आँखा तानेर पर्खिरहेका होलान् ।
ओहो ! अब त मेरो एकोहोरो फतफताइ अति नै भयो । तपाईंलाई कति झर्को लाग्यो होला हगि ? साह्रै नै झर्को लागेको भए त एक चुस्की चिया पिउनुस् । तपाईं नै भन्नोस्, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति घोत्लिइरहुन्, वैज्ञानिक जति घोट्टिरहुन् मलाई त लाग्छ, बाँच्नुको पर्याय नै पर्खनु हो । सोझै कुरा गरूँ भने पनि हेर्नोस्, दसौं महिना आमाको गर्भमा गुँडुल्किएर नपर्खी तपाईंले सूर्यदर्शनको साइत फेला पार्नुभएन । यसरी नजन्मेदेखि पर्खदै आउनुभएको तपाईंले सायद किशोर भएपछि विद्यालयमा शिक्षकलाई कैयौं दिन पर्खनुभयो । बाटाको छेडामा, बारीको डिलमा या बिग्रेको पाटीमा प्रतीक्षाका गीत गुनगुनाई दिनको बाह्रौँ घण्टा पर्खनुपर्यो होला, आफ्ना साथीको गुलियो भाकामा । यसरी पर्खाइबाटै सुरु भएको तपाईं हाम्रो जिन्दगी यता र उता, यसलाई र उसलाई पखँदा आज कताबाट यहाँ आइपुगेको छ, तपाईं पर्खने र म पर्खाउने हुनुपरिरहेको छ । मान्नोस्, मैले आज लेख दिएँ तर भोलिदेखि तपाईंको पत्रिका कहिले निस्कने हो भनी मैले पर्खनुपर्छ । एक महिने भनेको चार महिनामा निस्कने नेपाली पत्रिकाको बानी नजान्ने को छैन ? भनूँ, एक न एक दिन तपाईंको पत्रिका निस्किहाल्यो तर भोलिपल्टदेखि पुरस्कार लिन आज आज भोलि भोलि भन्दाभन्दै कैयौं दिन तपाईंले झुलाउनुहुन्छ, पर्खाउनुहुन्छ ।
आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईं गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साह्रै जुम्सो भएको छु । बरु के तपाईं पत्याउनुहुन्छ ? यो जुम्स्याइँको जन्मदाता पनि यस्तै जङचल्दा पर्खाइ हुन् । साँच्चै भनूँ भने मेरो दुनियाँ झन् लम्स्याङलुम्सुङको छ । मेरो जमाना झन् जम्स्याङजुम्सुङको छ । मैले थाहा पाएदेखि म पखँदो छु । काममा गएकी आमालाई, जागिरमा गएका बाबुलाई, पाठ दिने गुरुलाई, माया दिने मान्यजनलाई, जागिर पाउने आश्वासनलाई, तलब पाइने दिनलाई, ओखती गर्ने उपचारकलाई, बिदा दिने निर्देशकलाई, पैसा दिने मालिकलाई, लुगा सिउने सूचीकारलाई ।
यी सभी पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् । म केही गरूँ, केही बनूँ, केही दिऊँ भन्छु तर यो असीमित इष्टसिद्धका लागि यतै पर्खनुपर्छ, उतै पर्खनुपर्छ, यतै झुल्नुपर्छ, उतै धाउनुपर्छ, दोष कसलाई ? धेर कुरा किन ? सुरुदेखि सत्य, समता र शान्ति पर्खदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, झन् अशान्त भइरहेछ । बुझ्नै सकिँदैन, आणविक हतियारमा प्रतिबन्ध लगाउने कुरामा किन सबैको लम्स्याङलुम्सुङ हो, भौतिक उन्नति यति तीव्र भइसक्यो तैपनि दुई गज र दुई गाँसको निम्ति जिन्दगीभर पर्खनुपर्ने । यो कस्तो जम्स्याङजुम्सुङ हो ।
अब तपाईं मात्रै पर्खनुपर्यो भनेर किन पट्टाउनुहुन्छ ? जब तपाईंलाई नपर्खी सुखै छैन । त्यसैले मान्नोस्, पर्खाइदेखि डराउने पलायनवादी हो, पामर र पानीमरुवा हो । जुन आदर्श आज म तपाईंका अगाडि छाँट्तै छु, भोलि तपाईं मेरा अगाडि छाँट्नुहुन्छ । वास्तवमा तपाईं पनि पर्खन चाहनुहुन्न, म पनि पर्खन चाहन्नँ । हामी दुबै चाहन्छौँ एउटा त्यस्तो दुनियाँ सिर्जना गरौं जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ! झुल्याएर फुल्याउने, लर्काएर पर्खाउने यस्तो जालेमाले परम्परा नहोस् । तर समस्या त उही नै हो, जतिसुकै बलियोसँग चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन, पर्खनुपर्छ । त्यसैले त म लस्याङलुसुङ गरेर भए पनि घरी यता धाउँछु, घरी उता धाउँछु, घरी यता हुन्छु, घरी उता हुन्छु, जम्स्याङजुम्सुङ गरेर भए पनि पर्खिरहेछु र तपाईंलाई पनि भन्दै छु, पर्खनुदेखि पट्टाउनु पलायनवादिता हो ।
मेरो पर्खाइ पुराण त अहिल्यै के सकिन्थ्यो र ! तर अब कतिबेर पर्खाऊँ, तपाईंकी श्रीमतीज्यू घरमा तपाईंलाई पर्खिरहेकी होलिन् । आउँदै गर्नुहोला, धाउँदै गर्नुहोला, पख्नोस्, कुनै न कुनै दिन म पनि एउटा लेख लेख्ने प्रयास गरुँला, तपाईंको पत्रिकामा छाप्न दिउँला । लौ त नमस्ते !
शब्द र अर्थ
बढत्व: बढी हुनाको भाव, बढप्पन
बकन्याइ: मौखिक रूपमा बयान गर्नु, बेहोसीमै कुनै कुरा भन्नु, बरबराउनु
मनिटर: कम्प्युटरको स्क्रिन, मस्तिष्कको दृष्टि
घट्ट: कुलामा ल्याएको पानीको धारले काठको पङ्खा घुमाई पिठो पिँध्ने ठुलो खालको जाँतो जस्तो साधन, पानीघट्ट
घैया: पानी नलाग्ने खेतबारीमा रोपिने एक किसिमको धान
चाक्सी: पातलो र पहेंलो बोक्रा हुने, गुलियो गुलियो स्वाद भएको फलको एक जात
जुम्सो: दुब्लो, मरन्च्याँसे वा लोसो
इष्टसिद्ध: इच्छा गरिएको काम सम्पन्न हुनु
गज: तीन फुट वा छत्तिस इन्च लम्बाइको नापो
पलायनवादी: आफ्नो सिद्धान्तमा स्थिर नरहने खालको, पलायन सिद्धान्तको अनुयायी
पामर: अविवेकी, कातर, अबुझ
