आमाको तस्बिर कविता पाठ पढ्नुहोस् ।
पाठ १५: आमाको तस्बिर
– भूपिन
यही डल्ले जाँतो फनफनी घुमाएर आफ्नो उमेर अँजुलीभरि सपनाहरूको घान हालेर तिमीले मेरा लागि घुमाइरह्यौ जाँतो जीवनभरि ।
दिदीको फेसबुकमा जब देखें तिम्रो तस्बिर ओहो ! मलाई कठिन भैरहेछ सास फेर्न बन्द भए झै लाग्दै छ रगत बग्न धमिलो धमिलो सम्झिएँ मलाई पिठिउँमा बोकेर तिमीले लोरी गाउँदै जाँतो घुमाएको ।
सम्झिएँ, उमेरका पाँच छओटा अखेटा चढेपछि मलाई जाँतो नजिकै राखेर तिमीले सुनकेसरी मैयाको कथा सुनाएको । तिमीले मधुमालतीको कथा सुनाएको ।
सम्झिएँ, मैले जाँतो घुमाउने जिद्दी गर्दा तिमीले स्नेहले भनेको, “सक्दैनस् बाबु अहिले ठेला उठ्छ कलिलो हत्केलामा ।”
जब जाँतो घुमाउन सक्ने भएँ मेरै जीवनको चक्र घुम्यो त्यही जाँतो झै र म उड्नुपर्यो सात समुद्रपारि ।
मलाई डोकाको घाँसमाथि राखेर तिमीले उकालीओराली र तिम्रो ढाड कुप्रियो ।
मलाई सधैं सुखमा राखेर तिमीले हातमा ठेला उठायौ र तिम्रो भाग्यरेखा मेटियो ।
अब त फेरिनु पर्थ्यो तिम्रो दैनिकी तर दिदीले लेखिन् फेसबुकमा “आमाको पृथ्वीमा दुःखको मौसम अझै पनि ।”
आमा ! मैले यहाँ दुःखले कमाएको पैसाले म जन्मेको घरको दैलो पोतेनछ झिसमिसेमै गएर ल्याएनछ पानी पँधेराबाट गोठको भकारो फालेनछ घाँस काटेनछ खोरियाबाट दाउरा ल्याएनछ जङ्गलबाट ।
सोचेथें, मैले यति कमाएपछि अब त तिम्रा दुःखहरू यसै सकिए होलान् । अल्सरले बितेका बुबाको झल्को पनि कम हुँदै गयो होला “बचेराहरू गुंड छोडेर जानका लागि जन्मन्छन् ।” तिमीले चित्त बुझायौ होला ।
आमा ! यता म फसेको छु जीवनको दलदलेमा जति निस्कन खोज्छु यो देशबाट उति नै जोडले भासिन्छु तल अझ तल झनै तल ।
धेरै ढिला गरेर आत्मसमीक्षा गर्दै छु आमा ! मैले तिम्रा लागि केही सोचेनछु मैले सोचेनछु आमा, तिम्रो दमको रोग आङ खस्ने बिमार र जाँतोसँगै एक्लै बर्बराएर बाँच्नुपर्ने एउटा जिन्दगीका बारेमा ।
पासपोर्ट, भिसा वा पिआरको चक्कर लगाउँदा लगाउँदा घर, गाडी र सम्पत्तिको किस्ता तिर्दा तिर्दा मैले बिर्सेछु, दुनियाँको सबैभन्दा प्यारो काखलाई ।
आमा ! छुट्टीको दिन जब आकाश चिर्दै उडिरहेका जहाजहरू देख्छु सोच्छु, यीमध्ये कुनै जहाज मेरो देशमा पनि जान्छ । जब हल्ला गर्दै उडिरहेका कऱ्याङकुरुङ देख्छु सोच्छु, यिनीहरूको लस्कर मेरो गाउँमा पनि पुग्छ ।
म त्यो जहाजको एक यात्री बन्न पनि सकेनछु म त्यो बथानको एउटा चरा बन्न पनि सकेनछु आमा ! दिदीको फेसबुकमा जब तिम्रो फोटो देखें म मानी फुक्लिएको जाँतो भएको छु ।
शब्दार्थ
-
जाँतो: चाक्ला र गोलाकार ढुङ्गाका दोई फग्लेटाबाट बनाइएको मकै, गहुँ, कोदो आदि पिस्न प्रयोग गरिने एक प्रकारको घरेलु यन्त्र
-
घान: एक पटक भुट्न, कुट्न वा पिस्नका लागि छुट्याइएको वस्तुको मात्रा
-
लोरी: नानीबाबुलाई सुताउन आमाले गाउने गीत वा त्यसको लय
-
अखेटा: अगि बढ्न वा उचाइतिर जानका लागि रुख वा बोटमा नचिप्लिने गरी टेकिने भाग, ससाना हाँगा
-
दैलो: घरमा पस्न वा निस्किनका निम्ति राखिएको ढोका, दहिलो
-
खोरिया: बाली लगाउनका लागि जङ्गलका रुख, बुट्यान आदि काटेर पोलेर बनाइएको जमिन
-
गुँड: चराको वासस्थान
-
आत्मसमीक्षा: आफ्नै गुणदोषको विवेचना
-
लस्कर: ताँती, लाम
