‘स्वाद’ कथा पाठ पढ्नुहोस् ।
पाठ २: स्वाद (ध्रुवचन्द्र गौतम)
साबुनलगायत अरू पनि कति चिजबिज किन्नु थियो । साबुन कति दिनदेखि सकिएको थियो र नुहाउन नपाएर जिउ मैलो भएको आफैंलाई अनुभव हुन्थ्यो । कपालमा चाया परेको छ । स्वास्नी त त्यसै पनि नुहाउँथी तर लोग्ने चाहिँ साबुन नभईकन नुहाउँदैनथ्यो ।
उसकी स्वास्नी भन्थी, “देशमा यतिका गरिब बस्छन् । कसैलाई साबुन जुर्दैन, तपाईंलाई मात्रै स्वाङ ।”
ऊ भन्थ्यो, “यो के राम्रो कुरा हो त ? आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नैपर्छ ।”
आज बिहानै पनि यस्तो कुरा तिनीहरूका बिच भएको थियो । स्वास्नी नुहाउनमा जोड दिइरहेकी थिई । लोग्ने चाहिँ देशको गरिबीमाथि भाषण दिएर त्यसलाई टार्न खोजिरहेको थियो । अन्त्यमा आज पनि ऊ ननुहाएरै अड्डा गएको थियो ।
अड्डामा ऊ यौटा साधारण कारिन्दा थियो । कैयौँ वर्षदेखि ऊ यसै गरी साधारण थियो । बहाली भएको मितिदेखि ऊ त्यस पदमा आसीन थियो । उसको भाग्य के थियो भने एउटा पद उसले आजीवन पायो । नत्र कति मान्छे त कामै नपाएर फाल्दु भइरहेका छन् ।
आज तलब आउने दिन थियो। ऊ बिस गतेदेखि नै तलब आउने दिनलाई व्यग्रतासाथ पर्खिन्थ्यो । ज्यादै ढिला चालले त्यो दिन आइपुग्थ्यो । निश्चय नै यो एउटा दिन चाहिँ सधैं उसलाई नोकरी गर्न पाएकामा गर्व हुन्थ्यो ।
“कसम !, भोलि नुहाउँछु ल ।” बिहानको नुहाउने बहसलाई उसले यसै भनेर टुङ्ग्यायो र टोपी मिलाउँदै अड्डातिर लाग्यो । स्वास्नी हाँस्न थाली । उसलाई पनि आज तलब बाँड्ने दिन हो भन्ने पत्तो थियो ।
“साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी ।” उसले भनी र घरखर्चको हिसाब गर्न कोठातिर पसी । ऊ धेरै पढेकी थिइन तैपनि घर चलाउनमा पक्का थिई । त्यो त आफ्नो आम्दानी नै खोटो भएपछि यहाँभन्दा कति घर चलोस् । उसको दोष थियो त यसमा ?
साढे पाँच बजेतिर लोग्ने आयो प्रसन्न भएर । आउनासाथ भन्यो, “मैले हिसाब गऱ्याभन्दा बढी नै रकम पो आएछ त ?”
“कति बढी ?” स्वास्नीले सोधी । “साढे सात रुपियाँ ।”
सुनेर स्वास्नी खुसी भई र सिँगारपटार गर्न हिँडी ।
“अगि नै ठिक्क परेर बस्नुपर्दैन ?” लोग्ने झर्को मान्दै झर्कियो ।
“…पाँच मिनेटमा ठिक्क पर्छ, के गर्नु छ र अब, गाजल लाइसक्या छ, कपाल आधा कोरिसक्या छ ।” स्वास्नीले भनी र ऐना हेरी हेरी बाँकी कपाल कोर्न थाली ।
लोग्ने घडी हेर्न थाल्यो ।
आधा घण्टापछि छोरोसहित तिनीहरू निस्के । दुबैको हातमा एक एकओटा झोला थियो जसमा तलबले भ्याएजति माल कोच्नु थियो । तलबबाट केही रकम तिनीहरूले अपर्झट आइपर्ने घटना र आवश्यकताका लागि छुट्याएका थिए । बिस गतेसम्ममा त्यो रकमबिना कुनै घटना आफ्नो स्वाभाविक चालले बेपत्ता भइदिन्थ्यो ।
“चामल नकिन्ने आज ?” लोग्नेले सोध्यो ।
“छ अझै दुईचार दिनलाई । निकै फारो भो यसपालि ।” स्वास्नीले भनी ।
“अर्को महिनासम्म पुग्छ त ?”
“अँ पुग्छ ? दुईचार दिनपछि किन्नुपर्छ नि किन्न त ।”
त्यति भनेर स्वास्नीले सान्त्वना दिई, चामललाई चाहिने जति रुपियाँ छुट्याइदिएको छ ।
लोग्ने सन्तुष्ट भएर हिँड्न थाल्यो । आउनासाथ उसले सारा तलब स्वास्नीलाई बुझाइदिएको थियो ताकि स्वास्नीलाई गुनासो नरहोस् र उसलाई अनिश्चिन्तता ।
सबैभन्दा पहिले उसले साबुन नै किन्यो । त्यसपछि तेल मसला । स्वास्नीले महिनावारी खर्चलाई बनाएको लिस्ट हेर्दै ऊ किन्थ्यो । जहाँ अक्षर बुझिन्नथ्यो, त्यहाँ स्वास्नी स्पष्ट पार्दै जान्थी । जब स्वास्नीको प्रवृत्ति प्रत्येक चिजमा संशोधन गर्दै जाने देखियो, लोग्ने पड्क्यो ।
“यस्तै हो बजेट ? याँ आएर थप्दै जाने ? मान्छेको मगज तात्दैन, कि जिस्क्याएकी तिमीले मलाई” उसले भन्यो बम्केरै ।
“भैगो त भैगो, भोलि पुगेन भने मलाई के, पुगेन भन्दिन्छु ।” स्वास्नीले पनि आफ्नो कुराको सेखी झिकी । त्यसपछि स्वास्नीले लिस्ट संशोधन गर्न छाडिदिई र तिनीहरू जति कागतमा लेखिएको थियो, त्यति मात्र किन्न थाले ।
“अरू केही त बाँकी छैन किन्न ?” अन्त्यमा उसले सोध्यो ।
…स्वास्नीले लिस्ट हेर्दै भनी, “पख्नुस्न हेरू, छुटपुट छ कि ।”
लोग्ने डराउन थाल्यो कुनै झिकी पो हाल्छे कि छुटपुट कुरो । झिकी पनि हाली, लिस्टमा नभए पनि, “मेरो चुरा लाउनु थियो, भैगो भोलि लाउँला ।”
त्यसपछि सामान पसलेकै जिम्मा लाएर तिनीहरू तरकारी बजारतिर हिँडे, छोरोलाई डोऱ्याउँदै ।
छोरो थियो चार पुगेर पाँच लागेको । अब बुझ्न थालेको थियो, के पाएदेखि उसलाई प्रसन्नता प्राप्त हुन्छ । त्यसकारण फर्माइस गर्नमा बुबाको विचारमा ऊ आफ्नी आमाभन्दा कम थिएन । फरक यति हो कि छोराको फर्माइस पूरा चाहिँ उस्तो हुन्नथ्यो ।
बजार एकै ठाउँमा भरिभराउ भएर लागेको थियो । मानिस किन्नुभन्दा बढी मोलतोल गरेर आनन्द लिइरहेका थिए । जुन तरकारी किन्नु थिएन वा जुन पहिल्यै किनिसकेका थिए, त्यसको पनि भाउ सोध्दै हिँडिरहेका थिए । किन्नु छैन भने एक रुपियाँ किलो भनेको वस्तुलाई, सुकीमा दिन्छौ भन्थे र हिँड्थे । हरेक ग्राहक आँसु मात्र झार्न बाँकी राखेर महँगीको चीत्कार गरिरहेका थिए ।
एउटा विशाल कोलाहलका बिचबाट बाटो बनाउँदै तिनीहरू हिँडिरहेका थिए ।
छोरो यस्तो ठाउँमा कहिलेकाहीँ मात्र आउन पाउँथ्यो त्यसकारण निकै रमाइलो मानिरहेको थियो । केहीबेरपछि नै त्यो भोक लाग्यो पो भन्न थाल्यो । तिनीहरूले बडो कठिनाइसाथ त्यसलाई फकाए, घर जानासाथ मिठाई खान दिने भनेर । घरको वरपर कुनै मिठाई पसल थिएन । यो तिनीहरूलाई पक्का भएकाले यस्तो भनिएको थियो । सायद छोरो चाहिँ यसमा पक्का थिएन ।
तिनीहरूले काउली किने, आलु किने । लोग्नेले सम्भयो, “सागपातमा धेरै भिटामिन हुन्छ, त्यसकारण हामीले स्वास्थ्यमाथि पनि केही ध्यान दिनुपर्छ ।” तिनीहरूले साग किने । लिस्टमा तरकारीको उल्लेख थिएन, स्वास्नीलाई हतार भएर हो कि लेख्न कन्नुपर्ने भएर हो । स्वास्नी महाभारत राम्ररी पढ्थी तर कण्ठ गरेर ।
…स्वास्नी भन्दै जान्थी, के तरकारी किन्ने, लोग्ने किन्दै जान्थ्यो ।
“जाऊँ, अब त उचाल्नै नसकिने भयो यो झोला ।” लोग्नेले भन्यो तर झोला पूरा भरेको चाहिँ थिएन । हुन सक्छ उसलाई गह्रौँ बढी लागेको होस् ।
अब तिनीहरू फर्किन थाल्छन् । स्वास्नीले त्यसै बखत भनी, “एकफेर मासुतिर हेर्ने कि ?”
“भो, नजाऊँ, महँगो छ ।” लोग्नेले भन्यो, “उसैमा पनि अहिले बाखी काट्छन् रे, भाउ चाहिँ खसीकै लिन्छन् ।”
“हैन, त्यतैतिरबाट जाऊँ र यस्सो सोधौँ त भाउ । खसी काट्या हेर्न छोरो असाध्यै रमाउँछ क्या ।” उसले भनी ।
तिनीहरू त्यतैतिर लागे, जता तिनीहरू एक एक महिना बिताएर जान्थे । छरछिमेकमा चाहिँ प्रचार गरिदिएका थिए छोरो त पूर्वजन्मको वैष्णव रहेछ क्यार, मासु खानै मन गर्दैन अनि ल्याउनु कसका लागि ? तर यो कुरो हैन । मासु पाएका दिन बरु छोरालाई भात बढी रुच्थ्यो ।
खसी काटेको हेर्नुअगि नै माछा बजार देखियो । तिनीहरू किसिम किसिमका माछा पो हेर्न थाले । “रहु माछा नखाएको त बसौँ भइसक्यो ।” स्वास्नीले भनी ।
“नकराऊ, माछामा काँडा धेरै हुन्छन्, छोरालाई अड्क्यो भने ?”
“काँ हुन्छ रहु माछामा ज्यास्ती काँडा ?”
“महँगो हुन्छ नि त ।”
एक ठाउँमा टोकरीमा एउटा मात्र सिङ्गो माछा थियो विशाल रहु । स्वास्नी लोभिई । “कतिमा दिने” स्वास्नीले माछा बेच्ने मान्छेसँग सोधी ।
“१२ रुपियाँ किलो । अलिकति घटाइदिन्छु, लानुस् । यही एउटा माछा बाँकी छ, मलाई घर जान पनि हतार छ ।” माछा बेच्नेले भन्यो ।
छोरो माछा देखेर रमायो । किन्ने अड्डी कस्न थाल्यो । “कति छ यो माछा तौल गर त” स्वास्नीले भनी ।
…माछा बेच्नेले तौल्यो र भन्यो, “पूरा डेढ किलो छ । तपाईंलाई १० रुपियाँ के. जी. को भाउ गरिदिन्छु । १५ रुपियाँ दिनुस्, लानुस् ।”
लोग्ने चाहिँ पनि अलि उत्सुक भयो र भन्यो, “महँगो भयो, अलि कम गर न ।”
“१२ रुपियाँ के. जी. को माछा १० रुपियाँ गरिदिएँ तैपनि महँगो भन्नुहुन्छ, यहाँभन्दा कति कम गर्ने । आफूलाई नोक्सान परिसक्यो । हामीले पनि किनेरै ल्याएर बेच्ने हो । यसैबाट दुईचार पैसा कमाएर पेट पाल्नुपर्छ । के गर्नु ।” माछाबालले लामो गन्थन गर्यो ।
“१० रुपियाँमा सबै देऊ न” स्वास्नीले भनी ।
माछा विक्रेताले एकफेर टोकरीमा बाँकी रहेको त्यो ढाडे माछालाई हेर्यो र गम्यो । त्यसपछि भन्यो, “भैगो, सात रुपियाँ के. जी. भो, दश रुपियाँ पचास पैसा दिनुस् न ।”
लोग्नेले खल्ती छाम्यो । खल्तीबाट पाँच रुपियाँ र मोहर निस्क्यो । “के गर्ने, माछा त खानुपर्ने हो, यति सस्तो” उसले रहर र अभाव अनुभव गर्दै भन्यो, “तिमी यहीं बस, म हेर्छु, चिन्या कोही भेट हुन्छ कि ।”
उसले भर्खर श्याम दाइलाई गोलभेंडा मोल्न लागेको देखेको थियो । उसको विचार थियो, जरुरी देखाएर पाँच रुपियाँ माग्छु र आगामी महिनामा तिरिदिन्छु तर धेरै खोज्दा पनि श्याम दाइ फेला परेनन् ।
फर्कंदा उसले अचानक आफ्नै टोलको बगरे कान्छालाई देख्यो । ऊ आफ्नो पोजिसनको वास्ता नगरी त्यहाँ गयो, माछाको मात लागे झै भन्यो, “ए कान्छा दाइ, पाँचोटा रुपियाँ लेऊ त भोलि दिउँला ।”
कान्छाले भन्यो, “अर्काको खसी ज्यालादारीमा काटेको थिएँ, सबै पैसा भर्खरै त्यसैलाई बुझाइसकें ।”
…उसले सोच्यो, हामी जस्ताले माग्दा झन् गौरव पो मान्नुपर्ने । त्यहाँबाट फर्केर ऊ माछा र स्वास्नी भएका ठाउँमा आयो ।
उसको अनुहार खस्केको थियो । त्यसमा यति सस्तो माछा लिन नपाएको तोड बाँकी थियो । यस्तो थाहा पाएको भए, अगि अरू तरकारी नै किनिन्न थियो। “अब ?” उसले स्वास्नीतिर हेरेर भन्यो ।
“श्रोभासित मागेर ल्याऊँ ?” स्वास्नीले भनी । उसले सम्झी शोभाको घर नजिकै छ र उसको केटाकेटीदेखिकै साथी हो ।
लोग्ने अलिक अनकनायो र माछातिर हेर्यो । त्यसपछि भन्यो, “जाऊ न त, तर माछालाई भनेर नमाग्नु नि । औषधी किन्न पुगेन भन न ।”
स्वास्नी लोग्नेको निर्देशनलाई सम्किँदै गई । त्यतिन्जेल लोग्ने छोराको साथ माछा कुरिरह्यो ।
केहीबेरपछि स्वास्नी फर्की । टाढैबाट उसले पाँच रुपियाँको नोट देखाई जुन देखेर लोग्ने पनि साँच्चिकै प्रसन्न भयो ।
माछा किनेर उसले हातमा झुन्ड्यायो र सपरिवार हिँड्यो । बच्चो पटक पटक बुबाको हातमा झुन्डिएको माछालाई ट्याप्प समाउँथ्यो, छाड्थ्यो र खुसी हुन्थ्यो ।
डेरा पुगेर तिनीहरूले उत्साहसाथ माछा पकाए । त्यसपछि तृप्त भएर माछाभात खाए ।
राति सुत्दाखेरि ११ बजिसकेको थियो । तिनीहरूलाई कुनै समारोह र भोजको वास्तविक आनन्द आज कति वर्षपछि प्राप्त भएको थियो, त्योभन्दा बढी सस्तो माछा पाएको आनन्द, जसलाई भोलि छरछिमेकमा गर्वसाथ बयान गर्न सकिन्छ ।
सुत्नुअगि दुबैले कबुल गरे, “माछाको स्वाद ज्यादै मिठो थियो, अविस्मरणीय ।”
स्वास्नीले भनी, “यो स्वाद अब एक महिनासम्म मुखैमा झुन्डिरहन्छ ।”
लोग्नेले भन्यो, “अब अर्को महिनासम्म केही नखाए पनि हुन्छ त्यसो भए, न माछा न मासु । बरु शोभाको पाँच रुपियाँ भोलि नै तिरिदेऊ लगेर, राख्नुहुन्न ।”
“तिर्ने कसरी नि ?” स्वास्नीले सोधी ।
लोग्ने निदाउँदा निदाउँदै भन्यो, “कि ओखतीलाई छुट्याएको खर्चबाट तिरिदेऊ कि कोही अरूसित पैंचो मागेर, तर यो पैसा चाहिँ अब अर्को तलब नआई तिरिन्न ।”
शब्द र अर्थ (Glossary)
| शब्द | अर्थ |
| चाया | कपालको फेदमा जमेको मसिनो बुरबुरे सेतो धुलो |
| अड्डा | कार्यालय |
| कारिन्दा | लेखनदासको काम गर्ने व्यक्ति |
| व्यग्रता | व्यग्र हुनाको भाव वा अवस्था, व्याकुलता |
| खोटो | काम नलाग्ने |
| बम्केरै | रिसका आवेगमा ठुल्ठुलो स्वरले गर्जेर |
| चीत्कार | पीडाले भरिएको चिच्याहट |
| कोलाहल | होहल्ला |
| वैष्णव | विष्णुको उपासना गर्ने व्यक्ति |
| गौरव | महिमा, सम्मान |
| अनकनाउनु | अकमकाउनु, हिचकिचाउनु |
| उत्साह | हौसला, फुर्ती, जोस |
| तृप्त | सन्तुष्ट, अघाएको |
| अविस्मरणीय | बिर्सन नसकिने |
| पैंचो | पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम |
