कञ्चनजङ्घालाई नियाल्दा नियात्रा पाठ पढ्नुहोस् ।
पाठ ९: कञ्चनजङ्घालाई नियाल्दा (राजेन्द्रमान डङ्गोल)
नेपाल पर्यटनका दृष्टिले धर्तीको स्वर्ग हो । अनेकौँ सम्पदाले भरिएको मेरो प्यारो नेपालको प्रकृति, संस्कृति र माटो गौरवशाली छ । मलाई वेला वेला नेपालका यिनै सम्पदाका नजिकै पुगेर धीत मर्ने गरी हेर्ने भोक लाग्छ र तिर्खा मेटिने गरी पिउने र तृप्त हुने हुटहुटी जाग्छ । म धेरै पटक सपनामा पूर्वी नेपालको प्राकृतिक सौन्दर्यमा रमाउने रमरम कल्पनामा डुबिरहेको हुन्थें । त्यसैले मलाई कञ्चनजङ्घा पदयात्रा गर्ने रहर जागेको थियो । साँच्चै भनँ भने मलाई कञ्चनजङ्घाले तानिरहेको थियो ।
कञ्चनजङ्घा यात्राको सपना पूरा गर्न पाइला अगि बढे । हवाई उडानबाट मेरो यात्रा प्रारम्भ भयो । मेरो मनमा निकै अटेसमटेस उद्वेलन थियो । कञ्चनजङ्घा आधार शिविरको पदयात्रा गर्ने रहर कुँदिएका मेरा पाइलाले सार्थकता पाउने अर्थमा म अत्यन्तै हर्षित थिएँ । काठमाडौँबाट भद्रपुरका लागि उडेको जहाजले धावनमार्ग छाडेर आकासिने बित्तिकै लाङटाङ, दोर्जेलाक्पा, जुगल, गौरीशङ्कर, नुम्बुर, चोयू, सगरमाथा, मकालु र सूदुरपूर्वसम्मकै हिमालका शृङ्खलामा मेरा आँखा ठोक्किन पुगे । जहाज भद्रपुरको धावनमार्गमा अवतरण नहुन्जेल ती हिमशृङ्खलाबिचमा अन्तिम गन्तव्य कञ्चनजङ्घा बेसक्याम्म त्यतै कतै होला भनेर म रोमाञ्चित थिएँ । मेरो यो रङ्गीन यात्रामा अरू दुई जना हितैषी मित्र थिए ।
कञ्चनजङ्घाका अनेकौँ अर्थ होलान् । ‘कञ्चन’ भन्नाले स्वच्छ वा सफा र ‘जङ्घा’ भन्नाले जाँघ वा तिघ्रा भन्ने अर्थ होला । हिमाल सेतो, सफा र भीमकाय हुने भएकाले पो ‘कञ्चनजङ्घा’ भनिएको हो कि । स्थानीय भने कञ्चनजङ्घालाई आआफ्नै खालका अर्थ लगाउँदा रहेछन् । कसै कसैले कञ्चनजङ्घालाई सुन, चाँदी, मणि, अन्न र पवित्र ग्रन्थको अर्थ लगाएका रहेछन् भने लिम्बू भाषीले यसलाई ‘सेसेलुङ’ अर्थात् अटलता र पवित्रताको प्रतीक मान्दा रहेछन् ।
भोलिपल्ट बिहान गाडी चढेर कञ्चनजङ्घा आधार शिविरलाई गन्तव्य बनाई झापाको बिर्तामोडबाट चारआलीतर्फ लाग्यौँ । हामी पूर्वपश्चिम राजमार्गलाई चारआलीनेरै छाडेर मेची राजमार्गतर्फ उकालियौँ । सात घण्टाको पहाडी बाटामा कैयौँ पहाडको फन्को मार्दै साँझ ताप्लेजुङ पुग्यौँ । मेची राजमार्गमा गुड्दै गर्दा पहाडका मायालु काखमा बसेका मानव बस्ती, मनोरम थुम्काथुम्की र तरेली परेका खेतबारी विपरीत दिशातिर बेगिइरहेको भान हुन्थ्यो । मान्छे आफ्नै खाले दिनचर्यामा देखिन्थे । कोही खेतबारीमा पसिना चुहाउँदै गरेका, कोही कोही सडकछेउ बसेर फलफूल बेचिरहेका, कोही घाँसको भारी त कोही दाउरा बोकेर घर फर्किरहेका । यी दृश्य हेर्दा मैले गाउँमा छँदा ठुलीवनबाट आफैँले घाँस दाउरा गरेको झलझली सम्झै ।
कन्याम, fिक्कल र fिदिम हुँदै पहाडी घुम्ती अनि विभिन्न आरोहअवरोह पार गरेपछि आइपुग्दो रहेछ, ताप्लेजुङ बजार । मध्यकालमा ‘ताप्ले’ नाम गरेका राजाले यस क्षेत्रमा शासन गर्थे रे । लिम्बू भाषामा ‘जुङ’ को अर्थ ‘किल्ला’ हुन्छ । उनै ‘ताप्ले’ राजाको अधीनमा रहेको किल्ला भएकाले ‘ताप्ले’ र ‘जुङ’ शब्दको संयोजन गरी ‘ताप्लेजुङ’ नामकरण गरिएको हो भन्ने जनश्रुति रहेछ । यसरी ताप्लेजुङ जिल्लाको नामकरण लिम्बू भाषाबाट भएको मानिँदो रहेछ । मेची राजमार्गको साँघुरो, घुमाउरो र नागबेली परेको सडकमा गुड्दै र हुत्तिदै ताप्लेजुङ पुग्दा साँझको छ बजिसकेको थियो । हामी निरन्तर साढे सात घण्टाको यात्राले निकै थाकेर लखतरान भइसकेका थियौँ । यस्तो लाग्थ्यो, अर्को दिन कतै पदयात्रा सुरु गर्न आजको थकाइ मेटिने हो कि होइन । ओइलाएको साग लल्याकलुलुक भएको आफ्नै शरीरप्रति मलाई त्यति भरोसा थिएन । ताप्लेजुङमा चिसो सिरेटाको साम्राज्य चलिरहेको थियो । सिरेटासँग सिँगौरी खेलदै हामीले स्थानीय एक होटेलको कोठामा पुगेर झोला थन्क्यायौँ र खाना खान होटेलको भान्सातर्फ लाग्यौँ । अलिकति चियाको चुस्की लिएपछि खानाको सुरसार भयो । खानापछि रात्रिकालीन समयलाई आआफ्नै तरिकाले रोमाञ्चक बनायौँ ।
…अर्को दिन, चराको चिरबिरे कलरवले मलाई मिरमिरेमै हठात् ब्यूँझाइदिन्छ । सायद तिनीहरू मलाई भन्दै थिए, “अब उठ राजेन्द्र ! कञ्चनजङ्घा पदयात्रामा निस्केको पदयात्री यसरी सुतेर हुन्छ ?” मेरो शरीरमा काठमाडौँबाट हिँड्दाका पूर्ण रूपले स्फूर्ति आइसकेको थियो । अब म पुनः पुरानै जोस, जाँगर र उमङ्गले भरिएको थिएँ । घामले पनि बिस्तारै आँखा खोल्दै गया । भ्यालको खापा चुम्दै घामका किरण कोठाभित्रै प्रवेश गरे । म तिनै सुनौला किरणले चङ्गिएँ । ताप्लेजुङमा हरेक शुक्रवार बजार बन्द हुँदो रहेछ । संयोगले त्यो दिन शुक्रवार परेछ । बजारको शान्त वातावरण देखेर बन्द, हड्ताल हुँदा राजधानीमा छाउने सन्नाटाको झझल्को पो आयो मलाई । चहलपहल नभए पनि होटलबाट बाहिर निस्केर बिहानको आठ बज्दासम्म पनि ताप्लेजुङको त्यो शून्यतामा म हराइरहें ।
हामीले छिरुवा छिचोल्नुपर्छ आजै तर लामो थियो तय गर्नुपर्ने यात्राको लम्बाइ । गन्तव्यका लागि हाम्रा पाइला अगि बढे । कदम उठायौँ हामीले । ताप्लेजुङको आँगनबाट यसो तलतिर चियाएर हेर्यौ । चञ्चले तमोर नदी सल्बलाइरहेको दृश्यले झनै म मोहित भएँ । तमोर नदीको साँघुरो उपत्यकामा जताजतै हरियाली पोतिएको छ । बादलका टुक्राटाक्री तमोर माथिका अग्ला पहाडका बिचमा छुनमुनाइरहेका थिए । चञ्चल वायु र चराचुरुङ्गीका कलरव श्रवण गर्दै हामीले जोसिला पाइला चाल्यौँ । मेरो मनले तमोर सेरोफेरोका प्राकृतिक सौन्दर्यको आकाशमा उडान भर्न थाल्यो । त्यसैले त पदयात्रा झन्झन् रोमाञ्चक हुँदै गयो । अनगिन्ती उकालीओराली आए र एकपछि अर्को पहाडका छाती टेक्दै आस्वादन गरेका प्राकृतिक मनोरम दृश्यले क्षणिक नै किन नहोस् भोकतिर्खा टर्दो रहेछ । सिस्ने पुगेपछि खाना खानका लागि एकछिन रोकियौँ । तावागाउँको पातलो बस्ती हुँदै गन्तव्यतर्फ निरन्तर अगाडि बढ्यौँ र त्यो दिनको पदयात्रा छिरुवामा पुगेर टुङ्ग्यायौँ ।
यतिका हिँड्दा त कञ्चनजङ्घा भेटिनु नि ? जति जति कञ्चनजङ्घातर्फ अगि बढ्यो त्यति त्यति कञ्चनजङ्घा झन्झन् पर पर सर्दो रहेछ कि क्या हो ? गन्तव्य चुम्न अझै यस्ता बस्ती, जङ्गल र उच्च पहाड छिचोल्न बाँकी छन् । अदम्य इच्छाशक्तिले मेरा जोसिला पाइलालाई दगुराएका छन् । त्यो अन्तिम गन्तव्य पुगेर मैले लेख्नु छ, एउटा रोचक यात्रा वृतान्त । रामताङ नपुगी कञ्चनजङ्घाको दर्शन पाउन सकिन्न । कतिखेर त्यहाँ पुगौँला र आँखालाई कञ्चनजङ्घासम्म पुऱ्याउँला भन्नेमा म छु । साँच्चै भनूँ भने कञ्चनजङ्घाबाहेक अरू कुनै कुरा थिएन, मेरो मनमस्तिष्कमा । मेरा नयनमा सुनेको कञ्चनजङ्घा मात्र प्रतिबिम्बित भइरहेथ्यो ।
…हरेक दिन सूर्योदयसँगै उठ्नु, हतारहतार हातमुख धुनु र बिहानको नास्ता गर्नेबित्तिकै अर्को गन्तव्यका लागि बाटो तताउनु नै दैनिकी जस्तै भइसकेको थियो । सुन्दर तमोर नदीको तट हुँदै छिरुवाबाट सेकाथुम (१६४० मिटर) तर्फ लाग्दा बाटामा पाइलैपिच्छे पाकेका ऐंसेलु र काफल भेट्यौँ । कति मज्जा ! टिप्दै खाँदै । सुकेको आँतलाई रसिला काफल र ऐंसेलुले भिजाउँदै हिँड्नुको मज्जा नै अर्कै । एकातिर वनस्पतिको बास्ना, अर्कोतिर जिबुल्ले जिब्रालाई कन्दमूलको स्वाद । सोचेभन्दा छिट्टै सेकाथुम पुगेर ज्यानलाई बिसायौँ । जापानटार पनि भनिँदो रहेछ सेकाथुमलाई । उचाइ बढ्दै गएकाले पो हो कि ? सेकाथुमपछिका दिन खासै सहज भएनन् । जति जति उचाइ बद्ध्यो, त्यति त्यति नै कठिन हुन्थ्यो हाम्रो यात्रा । सेकाथुमबाट हिँडेका दिन आम्जिलासा (२५१० मिटर) मा पुग्ने हाम्रो मनसुबा पूरा हुन सकेन । मौसमको प्रतिकूलताले हामी थाड्यानी (२४०५ मिटर) को उचाइको एउटा सानो चिया घरमा बास बस्न बाध्य भयौँ । कञ्चनजङ्घा आधार शिविर पुगेर फर्केका विदेशी पर्यटक पनि त्यही टुप्लुक्क आइपुगेका थिए, त्यो साँझ । मेरो ज्यान उकालो हिँड्दा हिँड्दा गलेर लखतरान पर्यो । त्यसैले होला हरेक रातको निन्द्रा यति मिठो हुन्थ्यो कि, हामी बेलुका सुतेपछि भुसुक्कै निदाउँथ्यौं र बिहान मात्र ब्यूँझन्थ्यौँ ।
हाम्रो यात्राको सातौं दिन अरुणोदयअगि नै घुन्सातर्फ अगाडि बढ्छ । हामीलाई घ्याप्लादेखि घुन्सासम्मका घना लेकाली जङ्गल पार गरेर झन्डै ३६०० मिटर उचाइमा पुग्नु थियो । बाटामा रङ्गीबिरङ्गी लालीगुराँसलगायत अनेकौँ फूलले हामीलाई स्वागत गरे । लालीगुराँसको सौन्दर्यको लालिमाले प्रत्येक पाइलामा ऊर्जा थपिएको भान हुन्थ्यो । मन्त्रमुग्ध बनाइरहेको थियो जीवन्त रूपमा गुन्जिएका पन्छीका मधुर धुनले । हतारोको ठेलाइमा बगिरहेको घुन्सा खोलाले पनि गङ्गेरै हाम्रो आगमनलाई स्वागत गरिरहेको आभास हुन्थ्यो । हाब्रेको त्यो संसारमा एउटै हाब्रे नदेख्दा भने म अचम्मित भइरहेको थिएँ । ‘आज कहाँ गए होलान् ती हाब्रे ? कति रमाइलो हुन्थ्यो होला हाम्रो आतिथ्यमा तिनीहरूको पनि उपस्थिति भइदिएको भए ! स्वभावैले ती लज्जालु हाब्रे सायद लाजले भुतुक्क हुँदै कुनै कुनाबाट हामीलाई नै हेरिबसेका त छैनन् ?’ मनमा अनेक कुरा खेलाउँदा खेलाउँदै फलेगाउँ (३१४० मिटर) पुगिएछ । सुन्दर उपत्यका लाग्छ, चारैतिर पहाडले घेरिएको फलेगाउँ । प्रकृतिका कालिगढले कुँदेर बनाएको कलात्मक र सुन्दर उपत्यका पो देखिएको रहेछ । त्यो त गुराँसको पछ्यौरा ओढेर बसेको बस्ती जस्तो आभास हुन्थ्यो । आफैँमा उमङ्गित भएर पारिपट्टि पाखाबाट छङछडिरहेछ सुन्दर छहरो । झिमिक्कै नगरी ती सुन्दर दृश्यमा मेरा आँखा डुलिरहे । चौँरीगाईका बाच्छाबाच्छीसित रमाइरहेका थिए, तिब्बती मूलका अबोध शिशुहरू । तिनलाई देख्दा जगत्कै सम्पूर्ण खुसी बटुलेर फलेगाउँलाई सुनमा सुगन्ध छरिरहेको प्रतीत हुन्छ । यस्तो लाग्छ, स्वर्गभित्रको एउटा छुट्टै स्वर्ग हो फलेगाउँ । यहाँ मानव बस्ती छ । यहाँको आफ्नो संस्कार र संस्कृति छ । घुन्सा पुग्न डेढ घण्टा लाग्थ्यो । खानापछि हामी केहीबेर सुस्ताएर आफ्नो गन्तव्यतर्फ बाटो लाग्यौँ ।
…घुन्सा पुग्नुअगावै आँखामा ठोक्किन आइपुग्छ एउटा स्मारक । त्यो स्मारक वि.सं. २०६३ मा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रुको सम्झनामा बनाइएको पो रहेछ । केहीबेर म घोत्लिन पुग्छु । कञ्चनजङ्घा संरक्षण आयोजनासम्बन्धी कार्यक्रमको समापनपश्चात् घुन्साबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर त्यति वेला नजिकैको डाँडाका ठोक्किएको मैले पनि समाचारमा सुनेको थिएँ । दिवङ्गत हुनेहरू सबै ख्यातिप्राप्त व्यक्तित्व थिए । मानवीय संवेदनाले मलाई छोयो । मलाई डा. हर्क गुरुङको स्मरण भयो । नेपालको पर्यटन क्षेत्रमा उनको योगदान अविस्मरणीय छ । मैले ती ज्ञातअज्ञात मृतकप्रति श्रद्धाञ्जली अर्पण गरें । उनीहरू जस्ता मान्छे जन्मिएलान् त फेरि ? कस्तो निर्दयी हुन्छ काल पनि । नलग्नु पर्ने मान्छेलाई चटक्क चुंढेर अकालमै लगिदियो । घुन्सा नपुगुन्जेल मलाई यिनै प्रश्नले पटक पटक चिमोटिरहे ।
विभिन्न जातजातिको बसोबास रहेको अनेकौँ जातजातिको फूलबारी जस्तै ताप्लेजुङको भूगोललाई नियाल्दै हामी घुन्सा पुग्यौँ । अरू ठाउँको तुलनामा ३५९५ मिटर उचाइमा अवस्थित घुन्सा विकसित रहेछ । यहाँ बिजुली बत्ती र टेलिफोनको सुविधा रहेछ । होटेल व्यवसायी अतिथि सत्कार र सन्तुष्टि प्रदान गर्ने अनुभवले खारिएका रहेछन् । किञ्चित् थकान त उनीहरूसँगको आत्मीयताले पनि मरेथ्यो । भोलिपल्ट हामीले बिदा माग्यौँ । मेरा उनीहरूसँगका पल स्मृतिपटमा नमेटिने गरी कुँदिए र यात्रा जीवन्त बनिरहे ।
आजको हाम्रो यात्रा ४१०० मिटरको उचाइमा रहेको खाम्बोचेनतर्फ सोझियो । बाटो हिँड्दा देखिने दृश्य रमाइलो भए पनि ठाउँ ठाउँका पहिराले भने अलिक अप्ठ्यारो पार्यो । खाम्बोचेन पुग्नुअगि कहीं पनि खानेबस्ने सुविधा थिएन । रामपरक खर्क पुगेपछि आफूसँग भएको खाजाले भोक माौँ । रामपरक खर्कपछिको ठाडो उकालाले हामीलाई निकै चुनौती दियो । यस्तो लाग्थ्यो, जिन्दगीको खाता कतै यतै बन्द गर्नुपर्ने त होइन ! माथिबाट झरिरहने ढुङ्गाबाट जोगिनु कठिन थियो । यही कारणले यात्रालाई विराम लगाउनु पनि बुद्धिमानी हुँदैनथ्यो । जोखिम मोलेरै किन नहोस् हामी अगाडि बढी नै रह्यौँ । वास्तवमा जीवन भन्नु नै यात्रा रहेछ । यात्रा चाहिँ जोखिम नमोलिकन कहिल्यै पूरा हुँदो रहेनछ । सामुन्नेको ठुलो झरना र पारिपट्टिको ७७११ मिटरको भीमकाय कुम्भकर्ण हिमालले पनि हामीलाई जिस्क्याइरहे लाग्थ्यो । कष्टपूर्ण क्षण भनेको यस्तै हुँदो रहेछ । हामी मनभित्र त्रास बोकेरै खाम्बोचेन पुग्यौँ । हिँड्दै गर्दा ६००० मिटरभन्दा माथिका बेगिन्ती हिमाल आँखैअगाडि आए । आफैँमा पनि मनोरम बस्ती हो खाम्बोचेन । यो उचाइबाट देखिने दृश्य झनै मनोहर थिए । यो ठाउँलाई आधुनिकताले फिटिक्कै छोएको छैन । लोभ र लालचको लेस पनि नभएका यहाँका बासिन्दा सहरियाभन्दा खुसी छन् । यहाँ न कुनै कुराको विकृति छ न कुनै विसङ्गति नै । निरोगी छन् उनीहरू । बाहिरबाट हेर्दा जति निश्चल देखिन्छन् भित्र पनि त्यत्तिकै कञ्चन छन्, कञ्चनजङ्घा जस्तै ।
…हामीलाई अब लोनाक हुँदै रामताङ पुग्नु थियो । लोनाक पुग्नका लागि अझै ७०० मिटर उक्लनुपर्छ । उचाइका कारण खतरा हुन सक्ने सम्भावनातर्फ सचेत गर्दै खाम्बोचेनमै बास बसी भोलिपल्ट बिहानै हिँड्यौँ । ठाउँ ठाउँमा ढुङ्गा खस्ने र पहिरा पार गर्नुपर्ने भएकाले लोनाकतर्फको गोरेटो पनि ज्यादै चुनौतीपूर्ण थियो । तिब्बती भेडा न्यानो खोजेर पहिराका कुना कुनामा बसिरहेका देखिन्थे । मान्छे पहिरो नजिक पुग्दा ती भाग्ये । ढुङ्गाको वर्षा नरोकिएसम्म पर्खनुपर्थ्यो । करिब १५ मिनेटको त्यो कठिन आरोहणपछि हामी फेरि प्राकृतिक सौन्दर्यमा रम्न थाल्यौँ । करिब दुई घण्टाको हिँडाइपछि दुर्बिनडाँडा भनेर चिनिने रामताङ पुग्यौँ । यहाँबाट कञ्चनजङ्घालगायत अनेकन् हिमाल दुरबिनले नजिकै देखिँदा रहेछन् । एकनास उभिएका हिमालका प्राकृतिक सौन्दर्यलाई म शब्दमा कसरी वर्णन गरूँ ? सुहाउँदा शब्द नै भेटिएनन् । हामीले कञ्चनजङ्घा हेरिरह्यौँ आँखा नथाकुन्जेल तर पनि तृप्त हुन सकेनौँ । ती दृश्यको आस्वादनले हाम्रो भोक पनि भागिसकेछ ।
हाम्रो यात्रा निरन्तर अगाडि बढ्छ । लोनाकसम्म पुगुन्जेल रामताङ, कञ्चनजङ्घालगायत थुप्रै हिमनदी देखिन्छन् । नेपालका ठुला हिमनदी यिनै हुन् भन्ने प्रतीत हुन्छ । हिमपहिरोका दृश्य पनि हाम्रा लागि नौला भएनन् । त्यही दिन मौसमले निकै तुजुक देखायो । हामीलाई तर्साउन पो हो कि, मेघ गर्जनसहित बिजुली चम्क्यो । गड्याङगुडुङ गर्दै मेघ गर्यो । मुटु नै छेड्ला जस्तो गरी सिरेटो चल्यो । एक्कासि आकाशबाट कपास बस्र्यो, आमै नि त्यो त हिमपात पो रहेछ । जिउले थेग्नै नसक्ने गरी चिसो बढ्यो । यतिखेर कुन दुलामा होलान् यहाँका हिउँ चितुवा ? म सोच्दै थिएँ ।
सहयात्री लाल भन्दै थिए, “ताप्लेजुङको तोङ्बा भइदिएको भए यो मौसममा कति काम दिन्थ्यो !” रामले ठट्यौलो पारामा भने, “अब तातोपानी माग्ने र त्यसैलाई तोड्बा सम्झेर पिउने ।” रामको कुरामा मेरो स्वीकारोक्ति थियो । तोड्बा सम्झेरै मनग्य तातो पानी पियौँ । हामी पाँच बजेतिरै खाना खाएर कोठाभित्र छिौँ । यात्रा तालिकाअनुसार भोलिपल्ट पाङ्ग्रेमा अर्थात् कञ्चनजङ्घा आधार शिविर जानु छ । भोलिको मौसम नबिग्रियोस् । बस्, यही मात्र थियो हाम्रो कामना ।
…भोलिपल्ट बिहान ५ बजेसम्म मौसममा सुधार आउने छेकछन्द थिएन । खुल्दुली यथावत् थियो मनमा । मौसम सुधेन भने के गर्ने होला ? तर, नास्ता गर्दा गर्दै हठात् मौसम सुधने लक्षण देखा पर्यो । आखिर मौसम नहो । कतिखेर बिग्रने र कतिखेर सप्रने कसलाई थाहा हुन्छ र !
“मौसमले साथ दिने भयो । अब आकाश खुल्छ । जान आउनका लागि करिब सातआठ घण्टा लाग्छ । अबेर नगरौं !” तयार रहन रामले तातो लगाए ।
नभन्दै आकाश खुल्दै गयो । विलम्ब नगरी यात्रा सुरु गर्यौ हामीले । बाटो अप्ठ्यारो भए पनि सुधिएको मौसमले हामी उल्लासित थियौँ । केहीबेर त जोसिएका थियौँ । हामीमा भएको जोस भने धेरै बेर टिकेन । ४५०० मिटरभन्दा माथिका उचाइ, त्यसमाथि पनि उकालो । लामो लामो निश्वास लिंदै उकालियौँ । लाल सबैभन्दा अगाडि पुगेर पर्खिरहेका हुन्थे । ६५०० मिटरका चुलीमा समेत सफल आरोहण गरिसकेका उनको गतिमा हिँड्न म कहाँ सक्नु र ! म उकालामा सामर्थ्यको अग्निपरीक्षा दिँदै थिएँ । मनकामनाको जस्तै केबलकार यो ठाउँ
मा पनि भइदिए जुत्ताको तलुवा खियाउनुपर्ने नै थिएन । म कल्पनामा डुब्दै उकालिइरहें र उचालिइरहें ।
लक्षित गन्तव्य कञ्चनजङ्घाको जाँघमै आइपुग्दा प्रकृतिसँग लाप्पा खेल्दै ५००० मिटरको पापेमा अर्थात् कञ्चनजङ्घा आधार शिविर पुगेका थियौँ । त्यो वेला ८५८६ मिटर उचाइको कञ्चनजङ्घाको शिरमा बादल सलबलाइरहेको थियो । कञ्चनजङ्घालाई बादलले त्यसरी ढपक्क ढाक्न खोज्दा हावालाई झोक चलेछ कि क्या हो ? हावा गएर बादलका ससाना दललाई लखेट्यो । बादलको भुल्कालाई माथि उचाल्यो अनि आतिथ्यमा कञ्चनजङ्घाले हामीलाई झुकेर अभिवादन गर्यो । कञ्चनजङ्घालाई नजिकैबाट हेर्ने हाम्रो सपना पूरा भयो । यात्राभरिका हाम्रा दुःख, कष्ट र पीडा कञ्चनजङ्घालाई हेर्नासाथ हराएर गए ।
…यति वेला हामी विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घाको काखमा थियौँ । यो नेपाल र भारतको सिमाना छुट्याउने प्राकृतिक पर्खाल र नेपाल आमाको पहरेदार पनि हो । सिर्रसिर्र हावा चलिरहेको थियो । मौसम… सफा थियो । कञ्चनजङ्घालगायत वरिपरिका सम्पूर्ण हिमशृङ्खला मुसुमुसु मुस्कुराइरहेका थिए । घामका लालीले कञ्चनजङ्घा सिँगारिएको थियो । यात्राको सबैभन्दा रोमाञ्चक क्षण थियो यो । लाग्थ्यो, हिँउ चुम्दै ब्युँझेको अरुणको मलिन किरणको फैलावटसँगै कञ्चनजङ्घा शीतल पवनमार्फत पहाड र तराईलाई शान्तिको सन्देश पठाइरहेछ । त्यो क्षण हामी त्यति नै खुसी थियौँ, सायद जो ब्राउन र जर्ज ब्रान्ड पहिलो पटक सन् १९५५ मा कञ्चनजङ्घाको सफल आरोहण गर्दा जति खुसी भएका थिए । मैले कञ्चनजङ्घालाई खुब नियालेर हेरें । फेरि पनि कञ्चनजङ्घाको अर्थ खोज्ने प्रयत्न गरेँ । वास्तवमा कञ्चनजङ्घा त एउटा नियति रहेछ, प्रकृतिसित उसले गरेको सम्झौता र स्वीकारोक्तिले शरीरभरि सेतो र चिसो हिउँको उपर्ना ओढेर हाँसिरहेको एउटा यथार्थता र विवशता रहेछ ।
नेपालको राष्ट्रियता, स्वाभिमान र मातृत्वभावको झल्को दिने किरण खरेलको कञ्चनजङ्घाको महिमा गान गरिएको गीत आधार शिविरबाट फर्कने क्रममा मैले गुन्गुनाएँ : कति राम्रो यो प्यारो कञ्चनजङ्घा कञ्चनजङ्घा, कञ्चनजङ्घा स्वर्गलाई छुन्छ यो कञ्चनजङ्घा कति राम्रो यो प्यारो कञ्चनजङ्घा…..
शब्द र अर्थ (Glossary)
| शब्द | अर्थ |
| सम्पदा |
सम्पत्ति, धन |
| उद्वेलन |
छचल्किने अवस्था, अटाइनअटाइ बग्ने काम |
| नागबेली |
नागको जस्तो आकार परेको वा सर्पको हिँडाइ जस्तो बाङ्गोतिङ्गो रेखा परेको |
| भरोसा |
अरूबाट हुने भरको आशा वा विश्वास |
| सिरेटो |
चिसो हावा, शीत लहर |
| कलरव |
मिठो र सुरिलो आवाज |
| मिरमिरे |
अलि अलि उज्यालो भएको अवस्था, बिहानीपखको समय |
| आस्वादन |
स्वाद लिने काम, आनन्दको अनुभूति |
| वृतान्त |
बयान, बेलिविस्तार |
| आँत |
शरीरको भित्रीभाग, आन्द्रो |
| जिबुल्ले |
मिठो मिठो खान खोज्ने |
| अरुणोदय |
सूर्य उदाउनभन्दा पहिलेको समय |
| लालिमा |
रातोपना, लाली |
| मन्त्रमुग्ध |
मोहित पारिएको, लट्ठ पारिएको |
| अबोध |
केही पनि नबुझ्ने |
| स्मारक |
कुनै व्यक्ति वा विषयलाई सम्झाउनका निम्ति बनाइने स्तम्भ, सालिक आदि |
| दिवङ्गत |
मृत्यु भएको वा मरेको |
| स्मृतिपट |
अभिलेख, सम्झनाको भण्डार |
| भीमकाय |
ठूलो जिउ भएको |
| मनग्य |
मनले चिताए जति, प्रशस्त |
| विलम्ब |
ढिलो, अबेर |
| उपर्ना |
पछ्यौरा, दोसल्ला |
