‘स्वाद’ कथाको कथांशको व्याख्या
व्याख्या गर्नुहोस् :
आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिबले आफ्नो गरिबीलाई घृणा गर्नैपर्दछ ।
प्रस्तुत हरफहरु कक्षा ९ को नेपाली पाठ्यपुस्तक अन्तर्गत ‘स्वाद’ कथाबाट साभार गरिएको हो । यसका लेखक प्रसिद्ध कथाकार ध्रुवचन्द्र गौतम (वि.सं. २००१) हुन् । कथाका मुख्य पुरुष पात्र लोग्नेलाई उसकी स्वास्नीले नुहाउन कर गर्दा साबुन नभई ननुहाउने ढिपी गर्ने क्रममा माथिको भनाइ आएको हो । यस गद्यांशमा मानिस गरिब हुनु नियती भएपनि गरिबीपनलाई स्वीकारेर हार मान्नुहुँदैन बरु विचार र व्यवहारमा सबल हुने कोसिस गर्नुपर्दछ भन्ने भाव व्यक्त भएको छ ।
कथामा अड्डामा जागिर गर्ने एकजना साधारण कारिन्दाको परिवारको जीवनचर्यालाई देखाइएको छ । जागिर सामान्य भएको कारण महिनाको अन्त्यमा प्राप्त हुने तलवले उनीहरुको जीवन गुजारा गर्न धौधौ परेको छ । तलव आएको दिनमा नै आवश्यक सरसामान किनेर सकिने हुँदा अरु दिनमा किनमेल गर्न नसक्ने अभावबाट ग्रसित छन् । एउटा साबुनसमेत किन्न नसक्दा ननुहाउने लोग्ने स्वास्नीले जति कर गरेपनि नुहाउन तयार हुँदैनन् । ऊ तलव आएपछि साबुन किनेरमात्र नुहाउने सोचमा हुन्छन् । उसलाई आफू गरिब रहेको कुरा महसुस हुन्छ तर गरिब भयो भन्दैमा अभाव र दुःखमा बाँच्न नहुने विचार व्यक्त गर्दछन् । गरिब हुनु एउटा समस्या हो तर व्यवहारमा पनि आफ्नो गरिबीपन देखाएर हीनताबोध प्रदर्शन गर्नुहुँदैन । बरु गरिब मानिसले पनि आफूलाई सक्षम बनाउने प्रयास गर्नुपर्दछ । मानिस धनले गरिब भएपनि मनले गरिब हुनुहुँदैन । धनको अभावमा कठिन परिस्थितिहरु आएपनि विभिन्न उपायहरु लगाई समाधान गर्न सक्नुपर्दछ । धनले गरिब भएका मानिसले पनि मनले भने आफूलाई सबल ठानी दरिद्र चिन्तनलाई त्याग्नुपर्दछ । धनको अभाव हुँदैमा आफ्ना रहर र चाहनाहरुलाई मार्ने काम पनि गर्नुहुँदैन । बरु उदात्त भावना लिएर जीवनयापन गर्ने कोसिस गर्नुपर्दछ ।
यसरी माथिको हरफमा धनले गरिब भएपनि विचार र व्यवहारमा गरिबीपन देखाउनु हुँदैन । गरिब भएपनि गरिबीपनलाई त्यागेर मानिसले सार्थक जीवनयापन गर्न सक्नुपर्दछ भन्ने विचार व्यक्त भएको पाइन्छ ।
