निवेदन पाठ पढ्नुहोस् ।
पाठ ४: निवेदन
मिति: २०७८।०८।२१
श्री अध्यक्षज्यू,
रामेछाप नगरपालिका, वडा नम्बर ३, रामेछाप,
बागमती प्रदेश ।
विषय : आर्थिक सहयोग सम्बन्धमा ।
महोदय,
उपर्युक्त सम्बन्धमा रामेछाप नगरपालिका, साँघुटारमा अवस्थित श्री हिमगङ्गा माध्यमिक विद्यालयमा बालबालिकाको संरक्षण र सुरक्षाका साथसाथै विद्यार्थीका शैक्षिक र अतिरिक्त क्रियाकलापमा थप मदत गर्ने उद्देश्यले बालक्लब गठन गरिएको छ । विद्यालयभित्रको यस बालक्लबले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको कुरा यहाँ समक्ष विनम्र निवेदन गर्छु ।
आज हरेक टोल टोल र गाउँ गाउँमा बालविवाह तथा बालहिंसाको रोकथामका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक देखिन्छ । बालबालिकामा हुने घरेलु, सामाजिक, लैङ्गिक आदि प्रकृतिका हिंसा पूर्णतः रोकिन सकेका छैनन् भन्ने कुरा समय समयमा सञ्चारमाध्यममा आएका समाचारले पुष्टि गरेकै छन् । घरपरिवार, छरछिमेक र विद्यालयमा आइपरेका बालबालिकासम्बन्धी समस्या समाधानार्थ बालक्लबले सहजीकरण गर्न सक्छ । त्यसका साथै विद्यालयमा साइबर सदुपयोग र साइबर अपराधबारे सचेतना जागरणसमेत आवश्यक देखिएको छ । यसका लागि प्रथमतः विद्यालयका किशोरकिशोरीलाई नै सचेत गराउनुपर्ने हुन्छ । उनीहरूले साथीभाइका बिचमा आफ्ना समस्या खुलेर व्यक्त गर्ने, समस्याबारे विमर्श गर्ने, समस्या समाधानको बाटो खोजने जस्ता क्षमता विकास गर्ने खालका कार्यक्रम आयोजना गर्नुपर्ने देखिन्छ । किशोरकिशोरीको मूल समूह र त्यसपछि उपसमूह निर्माण गर्नुपर्ने हुन्छ । उनीहरूमा सिर्जनात्मक कौशल, आशावादी सोच र जीवनोपयोगी सिपबारे सचेतना प्रदान गर्नुपर्ने देखिन्छ । यस्ता कार्यक्रमबाट किशोरकिशोरीमाथि आइपर्न सक्ने समस्याको चेतना दिन तथा समस्याको समाधानमा सहयोग पुर्याउन सक्छन् ।
बालक्लबले आमा समूह, युवाक्लब जस्ता सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्न सक्छ । यसले सामाजिक विकृति र विसङ्गतिका विरुद्ध सकारात्मक भूमिका निर्वाह गर्न सक्छ । बालबालिकाको आनीबानीमा परिवर्तन ल्याई सामाजिक मूल्य, मान्यता, संस्कृति र आचरण वृद्धि गर्न पनि विभिन्न खालका सचेतनामूलक कार्यक्रम आयोजना गर्नु आवश्यक छ । यस्ता गतिविधि सञ्चालनबाट बालबालिकाको अधिकार र कर्तव्यप्रति सचेतना जगाउन सकिन्छ । बालविवाह, बालहिंसा, सामाजिक दुर्व्यवहार जस्ता पक्षको न्यूनीकरणका लागि सङ्घसंस्था तथा स्थानीय निकायको महत्त्वपूर्ण भूमिका रहन्छ । हाम्रो यस विद्यालयमा गठित बालक्लबले पहिले विद्यालयमा र त्यसपछि समाजमा गएर सचेतना फैलाउने उद्देश्य राखेको छ । उक्त उद्देश्यअनुरूप बिदाको दिन गाउँसहरका मुख्य स्थानमा विभिन्न सचेतना कार्यक्रम आयोजना गर्न लागेको छ । बालक्लबले लघुनाटक, प्रहसन, सूचना प्रवाह, आपसी छलफल आदि पद्धति अपनाई समाज सुधारको योजना पनि बनाएको छ । विद्यालयका समग्र बालबालिकाको हकहितका साथसाथै समाज परिवर्तनमा सघाउ पुऱ्याउने उद्देश्यले गर्न खोजिएको यस प्रकृतिका कार्यक्रमका लागि बालक्लबले अक्षयकोष खडा गरिसकेको छ । उक्त कोषमा विद्यालयका शिक्षक कर्मचारीले एक दिनको तलब जम्मा गरी विद्यार्थीको कामलाई थप आर्थिक सहयोग तथा हौसला प्रदान गर्नुभएको छ । बालक्लबले आयोजना गर्न लागेका यस किसिमका कार्यक्रमका लागि यस वडा कार्यालयबाट पनि आर्थिक सहयोग गरी विद्यार्थीको सत्प्रयासलाई मार्गदर्शनका साथै थप हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्छु ।
निवेदक
(……………………….)
अध्यक्ष
सिर्जनशील बालक्लब हिमगङ्गा माध्यमिक विद्यालय
शब्द र अर्थ (Glossary)
| शब्द | अर्थ |
| सचेतनामूलक | विशेष सचेतना वा सतर्कता फैलाउने खालको |
| हिंसा | अरूलाई पीडा दिने वा असर पुर्याउने काम |
| विमर्श | कुनै विषयवस्तुबारे गरिने विवेचना वा विचार, बहस |
| जीवनोपयोगी | जीवनका लागि काम लाग्ने |
| प्रहसन | हँसाउने वा मनोरञ्जन दिने उद्देश्यले तयार पारिने रूपक विधाको एक भेद |
| प्रवाह | प्रचारप्रसार |
| अक्षयकोष | मूल धन नमासिने गरी बैङ्कमा राखिने पैसा |
