‘स्वाद’ कथामा प्रस्तुत नेपाली समाजका सामाजिक तथा सांस्कृतिक विषय
‘स्वाद’ कथामा नेपाली समाजका कस्ता सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरिएको छ, लेख्नुहोस् ।
स्वाद कथा प्रसिद्ध कथाकार ध्रुवचन्द्र गौतमद्वारा लेखिएको सामाजिक कथा हो । यस कथाको विषयवस्तु करिब ५० वर्ष अघिको नेपालको सहरिया परिवेशमा आधारित रहेको छ । तत्कालीन समयमा सहरमा सामान्य जागिर गरेर जीवन निर्वाह गर्ने सामान्य कर्मचारीको जीवनयापनलाई यस कथामा प्रस्तुत गरिएको छ । कथामा महिनाको अन्त्यमा तलब आएको दिन बजार गई किनमेल गरी महिना दिनसम्मलाई पुर्याउने साधारण परिवारको अवस्था देखाइएको छ । लोग्ने अड्डामा सामान्य कारिन्दाको जागिर गर्दछ । तर आफूलाई चाहिए जति र इच्छा भएजस्तो सामान किन्ने हैसियत ऊसँग छैन । लोग्ने घरमा साबुन नहुँदा नुहाउनसमेत मान्दैन । स्वास्नीले नुहाउन कर गर्दा पनि ननुहाई अड्डा जान्छन् । आफू गरिब भए पनि गरिब भनेर चिनाउनु हुँदैन भन्ने उसको धारणा छ । समाजमा गरिबहरुले हेपिएर बस्नुपर्ने भएकाले ऊ गरिबीसँग घृणा गर्छ । गरिब भएपनि गरिबी बोकेर बाँच्न नहुने र समाजका प्रत्येक गरिब मानिसले गरिबीलाई घृणा गर्नुपर्ने विचार व्यक्त गर्दछ । घरमा आवश्यक हरेक सरसामान किन्न उनीहरु महिनाको अन्त्यमा आउने तलवलाई कुरेर बस्छन् । कैयौँ वर्ष कारिन्दाको पदमा जागिर खाए पनि उसको पदोन्नति भएको छैन तर गाउँमा ऊसमानका कैयौँ व्यक्तिहरुले जागिर नपाई बेरोजगार भएर जीवन बिताइरहेको अवस्थामा उसले भने कारिन्दा भएपनि जागिर खान पाएकामा ऊ गर्व गर्दछ ।
कथामा तत्कालीन नेपाली समाजका गरिब परिवारको वास्तविक स्वरुपलाई देखाइएको छ । अभावका बीच जीवन गुजार्ने सामान्य कारिन्दाको जीवनयापनको चित्रण गरी समाजमा देखिने चालचलनहरु, छिमेकी, इष्टमित्रहरुसँगको सम्बन्ध र सरसहयोग गर्ने प्रचलनलाई देखाइएको छ । त्यतिखेरको समाजमा जागिर गर्ने व्यक्तिको परिवारमा तलव आएका दिन महिनाभरिलाई पुग्ने खाद्यान्न र सरसामानहरु किन्ने चलन रहेको कुरा उल्लेख भएको पाइन्छ । पतिले तलब आएपछि पत्नीलाई दिने चलन, पत्नीले घरव्यवहार धान्ने, परिवारप्रतिको कर्तव्य पूरा गर्ने, हरहिसाब राखी महिनाभरि चाहिने चिज त्यही आएको लोग्नेको तलबबाट पुर्याउने जस्ता सामाजिक-सांस्कृतिक गतिविधिहरु प्रस्तुत भएको पाइन्छ । समाजमा ऍचोपैंचो गरी काम चलाउने, अप्ठ्यारो परेका बेलामा चाहिने पैसा जोगाएर राख्ने, केही मानिस हाटबजारमा व्यापार, व्यवसाय गरेर र कोही ज्यालादारी गरेर जीवन धान्न गरिने विभिन्न अवस्थाहरु कथामा देखाइएको छ । सहरमा विभिन्न सामानहरुको आ-आफ्नै तरिकाले बजार लाग्ने, छरछिमेकमा राम्रो व्यवहार गर्ने सांस्कृतिक पक्षलाई पनि कथामा प्रस्तुत गरिएको छ ।
यसरी प्रस्तुत ‘स्वाद’ कथामा तत्कालीन नेपालको सहरिया समाजका देखिने सामाजिक साथै सांस्कृतिक पक्षलाई उजागर गरिएको छ । समाजमा सामान्य आयस्तर भएका मानिसहरुको जीवनशैली, सामाजिक चालचलन, सांस्कृतिक विविधता आदि कुरा यस कथामा देखाइएको छ । कथामा सरल, सहज र तराई क्षेत्रमा बोलिने भाषाशैलीको प्रयोग गरिएको पाइन्छ ।
