‘स्वाद’ कथाको सन्देश
कथाकारले ‘स्वाद’ कथामा लोग्ने पात्रका माध्यमबाट कर्मचारीको जागिरे मनोवृत्तिको चित्रण गरेका छन् । नेपाली पुरुषप्रधान समाजमा महिलाहरू पुरुषकै आम्दानीमा आश्रित हुन परेको वास्तविकतालाई औंल्याइएको छ । कर्मचारीले एक पटक सेवामा प्रवेश गरेपछि वृत्तिविकासका अवसरहरू खोजी नगरी सोही पदमा अल्झिरहने निष्क्रिय जीवनशैली प्रस्तुत गरिएको छ । यस्ता कर्मचारीलाई आफ्नो सीमित कमाइबाट परिवारको आधारभूत आवश्यकता पूरा गर्न धौधौ परेको देखिन्छ । बजारमा महँगी बढ्दै गएको छ तर कर्मचारीको तलब बढेको छैन । निम्न आयस्रोत भएका कर्मचारीलाई कहिलेकाहीं मिठोमसिनो खानसमेत कठिनाइ परेको तितो यथार्थले कथामा स्थान पाएको छ । यसै सन्दर्भमा तलब बुझेकै दिन सापटी गर्नुपर्ने दयनीय अवस्थाको चित्रण भएको छ । अतः निम्न स्तरका कर्मचारीको आयस्रोत र यसले गुजारा चलाउन परेको कठिनाइको मार्मिक चित्रण नै ‘स्वाद’ कथाको मुख्य सन्देश हो ।
