कालजित र अजङ्गको राक्षसको कथा कथा पाठ पढ्नुहोस् ।
पाठ ७: कालजित र अजङ्गको राक्षसको कथा (मोतीलाल पराजुली)
एकादेशमा पहाडको काखमा खेतीकिसानी गर्ने र गाईवस्तु पालेर आफ्नो जीविका चलाउँदै आएका किसान चौपट्टै मिलेर बसेको एउटा सुन्दर गाउँ रहेछ । त्यस गाउँको नजिक घना वनजङ्गल र गाईवस्तु चर्ने ठुलो फराकिलो खर्क रहेछ । हिउँदका दिनमा दिउँसो किसान गीत गाउँदै घाँसदाउरा लिन त्यही वनमा जाने र साँझपख फर्किने रहेछन् । यसै गरी उनीहरूको दैनिकी चल्दो रहेछ ।
एक दिन त्यस गाउँमा ठुलो आपत् आइलागेछ । कुरो के भएछ भने त्यस दिन पनि दशबाह्र जना महिला सधैं जस्तो घाँसदाउरा लिन भनेर वनमा गएका रहेछन् । धेरै टाढा गएर घाँसदाउरा गर्दाखेरि उनीहरू यताउता छरिएछन् अनि घाँसदाउराका आआफ्ना भारी तयार गर्दै रहेछन् । यत्तिकैमा एउटी महिलालाई एउटा अजङ्गको राक्षसले देखेछ र तिनलाई समातेर खाने सुर कसेछ । ती महिलाले चिच्याएर हारगुहार गरिछन् । वरपरका सबै महिला त्यहाँ जम्मा भएछन् । आम्मै नि ! त्यस डरलाग्दो राक्षसले ती महिलालाई आफ्ना लामा लामा नङ्ग्राले चिथोर्दै पो रहेछ । अरू महिलाले राक्षसका अगाडि केही गर्ने हिम्मत गरेनछन् । सभी डराएर रुँदै कराउँदै गाउँमा गुहार माग्न गएछन् । घाँसदाउरा गर्न वनमा गएका महिला कराउँदै गुहार माग्दै गाउँमा आएको देखेपछि सबै गाउँले जम्मा भएछन् । वनमा भएको उपद्रोका बारेमा जानकारी लिएछन् ।
त्यस राक्षसलाई नमारी भएन भनेर सबै गाउँलेले सल्लाह गरेछन् । आफ्ना घरमा भएका खुंडा, खुकुरी, तरबार र बन्चरो जस्ता घरेलु हातहतियार लिएर राक्षस भएको ठाउँतिर गएछन् । गाउँलेले हल्लाखल्ला गर्दै राक्षसमाथि ढुङ्गा बर्साउन थालेछन् । बाबै नि ! त्यस नरभक्षी राक्षसले आफ्नो शरीर फुलाउँदै लगेर एउटा पहाड जत्रो बनाएछ । उसले उल्टै गाउँलेलाई थर्काउँदै र तर्साउँदै भन्न थालेछ, “हेर मनुवा हो ! यस महिलाको काल आजै आएको थियो र मलाई पनि बिछट्टै भोक लागेको हुनाले मैले यसलाई खाइदिएँ । अब तिमीहरूले पनि मलाई जिस्क्यायौ भने म तिमीहरूलाई पनि एक एक गरी अहिल्यै खाइदिन्छु ।” यसो भनेर मुख ‘आँऽऽऽ’ गर्दै लामा लामा दाह्रा देखाउँदै आफूमाथि ढुङ्गा बर्साउने गाउँले माथि जाइलाग्न पो थालेछ । त्यसपछि त एउटी महिलालाई बचाउन खोजदा सारा गाउँलेको ज्यानै जाने भो भन्ठानी सबै गाउँलेको सातोपुत्लो गएछ । गाउँले भागाभाग गर्दै गाउँतिर झरेछन् । भागिरहेका गाउँलेलाई चिच्याउँदै र गर्जदै राक्षसले भनेछ, “ए गाउँले हो ! कति भाग्छौ ? भोलि गाउँमै आएर तिमीहरू सबैलाई सिध्याइदिन्छु । कि तिमीहरूले दैनिक मलाई एक एक जना मान्छे पठाउने गर ।”
त्यसपछि गाउँले नजिकैको चौतारामा भेला भएछन् । गाउँका एक जना भलादमीले भनेछन्, “यदि राक्षसबाट बच्ने उपाय छ भने सोचौँ नत्र भने सबै एकै पटक मर्नुभन्दा त यस राक्षसलाई हरेक दिन एक एक जनाका दरले आहारा पुऱ्याइदिऔं ।” गाउँलेको सल्लाह मिल्यो र उनीहरू अर्को दिन बिहानै वनमा गए । उनीहरूले राक्षससँग भने, “हे राक्षस ! हे काल ! तिमी नरिसाऊ । हामी तिम्रो आहाराको व्यवस्था गरिदिने छौँ ।” त्यसपछि अगिल्लो दिनदेखि पहाड जत्रो पारेको जिउ राक्षसले सानो बनाएछ र पहिलेको जस्तै भएछ । गाउँलेले दिनको एक जनाका दरले आफूहरू आहारा बन्न तयार रहेको बताएछन् । गाउँलेको सामूहिक काल बनेर आएको त्यस राक्षसले भनेछ, “हे मानव हो ! त्यसो भए तिमीहरूले मलाई दैनिक एक मान्छे र एक मुरी अन्न दिन्छौ भने म तिमीहरूलाई केही गर्दिनँ, नत्र भने म तिमीहरूको गाउँ नै उजाड बनाइदिन्छु ।” यसरी राक्षसले कालै नआएका मान्छेलाई समेत खान थालेछ । “काल आएका मान्छेलाई मात्र खानू” भन्ने विधिको उल्लङ्घन गर्न थालेछ । त्यसपछि दैनिक एक मान्छे र एक मुरी अन्न राक्षसलाई दिने कबोल गरेर गाउँले गाउँमा फर्केछन् ।
गाउँमा आएपछि उनीहरूले एउटा नियम बनाएछन् । हरेक कुरियाको पालो बाँधेछन् । आफ्नो पालो पर्दाका दिनमा एक मुरी अन्न र एक जना मान्छे राक्षसको आहारको निमित्त हरेक कुरियाले व्यवस्था गर्नुपर्ने नियम बसालेछन् ।
…एक दिन राक्षसको आहारा बन्ने एउटी दोजिया महिलाको पालो परेछ । लोग्ने परदेश गएको, सासूससुरा मरिसकेकाले उनी घरमा एक्लै बसेकी रहिछन् । आफू एक्ली भएकी हुनाले आफूबाहेक अरू मानिस आहारा पठाउनका लागि कोही भएनछन् । आफ्नो पेटको बच्चाको मायाले गर्दा उनी राक्षसको आहारा हुन जान पनि सकिनछन् । त्यसैले एक मुरी अन्न भरेर घरको पिँढीमा राखी आफू भागेर माइततिर टाप कसिछन् । दिउँसो बाह्र बजेसम्म पनि आफ्नो आहारा नआएपछि त्यो राक्षस गाउँको नजिक झरेछ र गाउँ नै थर्कने गरी कराएछ । यसरी राक्षस कराएपछि गाउँले पालो परेकी महिलाको घरमा गएछन् । उनले एक मुरी अन्न छुट्याएर राखेको देखेछन् तर महिलालाई देखेनछन् । राक्षस पनि रिसाउँदै र राता राता आँखा पार्दै गाउँमा नै आइपुगेछ । त्यसपछि गाउँलेले राक्षससँग भनेछन्, “आज पालो परेकी महिलाले धोका दिइन् । आज अन्न खाएर यही घरमा बस्नुहोस् । भोलिदेखि सर्तबमोजिमको आहारा दिने छौँ ।” राक्षसले सित्तैंमा घरमा बस्ने पाउने भएपछि गाउँलेको आग्रह स्वीकार गरेछ । ती महिलाले राखेको अन्न खाएछ त्यसै घरमा बस्न थालेछ । गाउँलेले सर्तबमोजिमको आहारा राक्षसलाई दिन थालेछन् ।
ती महिला माइतमा नै बस्न थालिछन् र चार महिनापछि तिनले छोरो जन्माइछन् । उनले छोराको नाम कालजित राखिछन् । समय बिस्तारै बित्दै गएछ, छोरो पनि ठुलो हुँदै गएछ । लगभग दशबाह्र वर्ष यत्तिकै बितेछ । एक दिन कालजित मावली गाउँका साथीसँग खेल्दै रहेछ । उसका साथीले बुबा र घर दुबै नभएको ‘भतुवा’ भनेर गिज्याउन थालेछन् । आफ्ना बुबाको माया नपाएको कालजितको मनमा वचनवाणले बेसरी घोचेछ । ऊ रन्थनिंदै घरमा आएछ । त्यसपछि उसले आमासँग भनेछ, “आमा, हाम्रो घर कहाँ हो ? मेरो बुबा कहाँ हुनुहुन्छ ?” छोराले एक्कासि यस्ता प्रश्न गरेको सुनेर ती महिलाले छोरालाई धेरै सम्झाउने प्रयास गरिछन् तर छोराले किमार्थ मानेनछ । त्यसपछि लाचार भएर ती महिलाले आफ्नो पूर्वकथा बेलीबिस्तार लगाइछन् । साहसिलो केटो कालजितले साथीको हेपाइ र वचनवाण खप्नुभन्दा आफ्नै घरमा जानु जाती ठानेर उसले आफ्नो घर जाने निधो गरेछ । यो निर्णय सुनेर आमा साह्रै नै आत्तिइछन् । कालजितले आमालाई सम्झाएछ र बाटामा खाने खाजा तयार गर्न भनेछ । आमाले मिठो रोटी पकाइदिइछन् । कालजितले ती रोटी झोलामा राखेछ र आफ्नो घरतिर हिँडेछ । आमालाई मावलीमै छाडेर कालजित आफ्नो गाउँ आइपुगेछ ।
…गाउँमा गएपछि गाउँलेसँग सोधपुछ गरी उसले आफ्नो घर पत्ता लगाएछ । आफ्नो घरमा राक्षस बस्ने गरेको कुरा पनि उसले सुनेछ । ऊ आफ्नो घरमा जाँदा ढोका बन्द देखेर ढोका ढकढक्याएछ । भित्रबाट राक्षसले गर्जदै भनेछ, “ढोका ढकढकाउने को हो ?” “मामा, म तपाईंको भान्जो हुँ ।” कालजितले राक्षसलाई बाहिरबाटै भनेछ । भान्जो साइनो सुन्नेबित्तिकै उसले ढोका खोलिदिएछ । कालजित भित्र पसेछ र “ल मामा खानुहोस्” भन्दै आफ्नी आमाले बनाएका मिठा मिठा रोटी राक्षसलाई खान दिएछ । राक्षसले चिल्ला र गुलिया रोटी असाध्यै मिठो मानेर खाएछ र कालजितसँग खुसी हुँदै भनेछ, “ओहो भान्जा ! रोटी तो ज्यादै मिठा पो छन् त ।” कालजितले भनेछ, “हेर्दै जानुहोस् न मामा, म तपाईंलाई अझै कति मिठा मिठा चिज खुवाउँछु !” यसरी कालजितले हरेक दिन गाउँमा गएर मिठा मिठा खानेकुरा ल्याएर राक्षसलाई खुवाउन थालेछ र दुबै जना मिलेर बस्न थालेछन् । कालजित र राक्षस सँगसँगै बसेको देखेर गाउँले पनि चकित परेछन् ।
राक्षस घरबाट कहिल्यै बाहिर जाँदैन रहेछ । गाउँलेहरूले पनि राक्षसको खानेकुरा त्यसै घरमा नै ल्याइदिँदा रहेछन् । राक्षसले गाउँलेलाई यसरी दुःख दिएको र आफ्नो घर कब्जा गरेर बसेको कुरा कालजितलाई मन परेनछ । त्यसैले उसले राक्षससँग भनेछ, “मामा ! तपाईं यो घरबाट बाहिर जानुहुन्न किन ?” राक्षसले भनेछ, “बाहिर गएर के गर्ने, हेर भान्जा ! मलाई अन्त जान त मन छैन । मैले काल आएका मान्छेलाई मात्र खान भनी भगवान्ले अराएको र मेरो जिम्माको काममा ठुलो गल्ती गरेको छु । भगवान्सँग माफी माग्नका लागि एक पटक भगवान्लाई भेट्न भने जान मन लागेको छ ।”
“ए मामा ! त्यसो भए तपाईं भगवान्लाई भेट्न आजै गइहाल्नुहोस् । यस्तो कुरामा ढिलो गर्नु उचित हुँदैन । बरु, जाँदा भगवान्सँग मेरो परमआयु पनि सोधेर आउनुहोस् है ।” राक्षसले हुन्छ त भनेछ तर ऊ गएनछ किनभने उसलाई एकातिर भगवान्ले के भन्नुहुन्छ भन्ने भय रहेछ भने अर्कातिर राक्षसलाई बसी बसी खाने बानी परेर अल्छी भइसकेको रहेछ । कालजितले दिनदिनै यो कुरो दोहोऱ्याउन थालेपछि र सारै करकर गरेपछि राक्षस एक दिन भगवान्लाई भेट्न भनेर हिँडेछ । एक हप्ता जति त्यो राक्षस त्यस गाउँबाट अलप भएछ । मान्छेको बस्तीमा बसी काल नआएका मान्छेलाई जथाभावी खाएर नियम कानुन मिच्दै हिँडेको राक्षसलाई भगवान्ले पक्कै पनि हप्काएको भएर होला निन्याउरो मुख लगाउँदै राक्षस फर्केर आएछ । यता राक्षस फर्केर आएपछि यसलाई कसरी मार्ने ? भन्ने युक्ति सोच्दै कालजित त्यसैको तयारीमा लागेछ । नभन्दै एक हप्ता पुगेका दिन राक्षस आइपुगेछ । तिनीहरूका बिच कुराकानी चलेछ ।
…कालजितले भनेछ, “मामा ! मेरो परम आयु कति वर्षको छ अरे ?” राक्षसले उत्तर दिएछ, “हेर भान्जा, तिम्रो आयु त ७९ वर्षको छ रे । त्यस समयसम्म तिमीलाई कसैले केही पनि गर्न सक्दैन रे ।” कालजितले भनेछ, “हैन, मेरो आयु किन ७९ वर्ष राखेको होला ? कि ८० वर्ष बनाइदिएको भए हुन्थ्यो, कि त ७८ वर्ष बनाइदिएको भए हुन्थ्यो । ए मामा ! तपाईं गएर भगवान्सँग मेरो आयु कि एक वर्ष बढी कि एक वर्ष घटी बनाइदिन भन्नु न !”
राक्षस पनि भान्जाको कुरो हार्न नसकेर भोलि पल्ट नै भगवान्सामु गएछ र कालजितको आयु कि एक वर्ष घटाइदिनुपर्यो, कि एक वर्ष बढाइदिनुपर्यो भनेर अनुनय गरेछ । भगवान्ले भन्नुभएछ, “हेर काल ! यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन । त्यसैले कालजितलाई यही कुरो सुनाइ देऊ ।” फर्केपछि राक्षसले पनि कालजितका आयुका बारेमा भगवान्ले भनेका सबै कुरा बताइदिएछ । मेरो आयु ७९ वर्षको छ र भगवान्ले पनि एक वर्ष तलमाथि गर्न नसक्ने रहेछन् भने यो राक्षसले मलाई केही गर्न सक्दैन भन्ने कालजितलाई लागेछ ।
भोलि पल्ट बिहान सबेरै उठेर कालजितले बाहिरबाट धेरै दाउरा आँगनमा जम्मा पारेछ र अगेनामा आगो फुकेछ । त्यसपछि फलामका आँसी, बाउसो, बन्चरो र ओदान त्यही आगोमा तताएछ । फलाम रातो भएपछि सनासाले समातेर राक्षसलाई टाढैबाट हान्न थालेछ । राक्षसले आत्तिदै त्यसो नगर्न आग्रह गरेछ तर कालजितले तँलाई नमारेसम्म म र मेरा गाउँलेको रक्षा हुँदैन भन्दै हतियार बर्साइरहेछ । तातो फलामको डाहाले गर्दा राक्षस त्यहीँ लडेछ । कालजितले फलामका ताता डल्लाले राक्षसलाई अझ हान्दै गएछ । केहीबेरपछि राक्षस त्यहीँ मरेछ ।
…यसरी राक्षसलाई मारेपछि कालजितले गाउँलेलाई बोलाएछ र सबै मिलेर राक्षसको सद्गत गरेछन् । कालजितलाई गाउँलेका प्रशंसा गरेर आफ्नो गाउँको प्रमुख चुनेछन् । त्यसपछि कालजितले मावलीमा गएर आमालाई लिएर आएछ । ऊ आफ्नो घर र खेतीबाली समाली बस्न थालेछ । काललाई पनि जितेर गाउँमा सुखशान्ति दिएको हुनाले गाउँलेले कालजितलाई सम्मानपूर्वक राख्न थालेछन् । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले पनि सधैंका लागि गाउँमा शान्ति ल्याउन सफल भएछ ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला !
यो कथा वैकुण्ठ जाला, भन्ने वेला तात्तातै मुखमा आइजाला !!
शब्द र अर्थ (Glossary)
| शब्द | अर्थ |
| खर्क |
गाईवस्तु चराउनका लागि राखिएको बाँझो जग्गा |
| राक्षस |
क्रूर, मान्छेको प्रतिपक्षी नरभक्षी असुर जाति |
| उपद्रो |
भाँडभैलो, उधुम, कुनै दुःखद घटना |
| भलादमी |
असल स्वभाव वा चरित्र भएको मान्छे, सभ्य र प्रतिष्ठित मानिस |
| उल्लङ्घन |
नियमको अवहेलना, नाघ्ने काम |
| कुरिया |
घरधुरी, कुनै मालमत्ता वा जग्गा जमिन कुर्ने व्यक्ति, कुरुवा |
| दोजिया |
गर्भवती |
| भतुवा |
काम नगर्ने खाएर मात्र बस्ने व्यक्ति |
| वचनवाण |
वाण बिक्ने खालको तीक्ष्ण बोली |
| भय |
डर, त्रास, कुनै अनिष्ट कुराको सम्भावनाबाट उत्पन्न हुने मानसिक स्थिति |
| अनुनय |
शक्तिशाली व्यक्तिका सामुन्ने कसैको उद्धारका निम्ति गरिने नम्र अनुरोध, बिन्ती, अनुरोध |
| भावी |
पौराणिक मान्यताअनुसार शिशुको भाग्य लेखनकर्ता |
| सनासो |
भाँडाकुँडा च्याप्न वा समात्न प्रयोग गरिने फलामको एक प्रकारको साधन |
| डाहा |
मानसिक र शारीरिक पीडाबाट हुने छटपटी, अरूको उन्नति देख्न नसकेर मनमा हुने कष्ट |
| सद्गत |
दाहसंस्कार |
