सत्यमोहन जोशीको जीवनी पाठ पढ्नुहोस् ।
सत्यमोहन जोशी
नेपाली भाषा साहित्यका अविश्रान्त साधक तथा नेपालभाषा साहित्यका वरेण्य व्यक्तित्व सत्यमोहन जोशी नेपाली कला र संस्कृतिका समेत अनन्य उपासक थिए। व्यक्तिगत हितभन्दा माथि उठेर आफ्नो जाति र देशको हितका लागि समर्पित भएकाले यिनको विशिष्ट योगदानले मुलुकको भाषा, साहित्य, संस्कृति र कला निरन्तर आलोकित छ। काठमाडौँ उपत्यकाभित्र ललितपुर सहरको बखुम्बहालमा वि.सं. १९७७ वैशाख ३० गते यिनको जन्म भएको थियो। शङ्करराज जोशी र राजकुमारी देवीका ज्येष्ठ सुपुत्र सत्यमोहन जोशी आफ्ना आमाबुबाप्रति अत्यन्त भक्ति र श्रद्धाभाव राख्थे। सकारात्मक सोच तथा आशावादी जीवनदृष्टिका धनी जोशी ‘कर्मण्येवाऽधिकारस्ते’ अर्थात् व्यक्तिको अधिकार कर्ममा हुन्छ त्यसैले निरन्तर कर्म गर्नुपर्छ भन्ने ठान्थे। त्यसैले त उनी निष्काम कर्मयोगीले दीर्घकालसम्म सेवा गरी सम्पूर्ण नेपालीका हृदयमा बसेका छन्। नेपाली पोसाकप्रति गौरव गर्दै सधैं दौरासुरुवाल र भादगाउँले टोपीमा सजिएर हिँड्ने जोशी ‘सादा जीवन उच्च विचार’ का आदर्श अनुयायी थिए।
सत्यमोहन जोशीको बाल्यकाल र शिक्षादीक्षा निकै उतारचढावयुक्त रह्यो। पाँच वर्षको उमेरसम्म पनि बोली नफुटेका कारण उनका आमाबुबा चिन्तित भए। भनिन्छ, बोली फुटोस् भन्नका लागि आमाबुबाले देवीदेवताको भाकल गरे। धामीझाँक्रीलाई देखाए तर केही सिप लागेन। त्यस वेलाको जनविश्वासअनुसार सूर्यविनायकको जङ्गलमा लगेर केही क्षण एक्लै छोडेछन्। त्यसपछि उनी ‘माँ, ए माँ !’ भनेर चिच्याएका थिए रे। उनको अक्षरारम्भ नेपालभाषाका माध्यमबाट सात वर्षको उमेरमा घरबाटै भएको थियो। उनको अक्षरारम्भ सुरुमा छिमेकी गुरुबाट भएपछि उनलाई मङ्गल बजारस्थित भाषा पाठशालामा भर्ना गरियो। यसरी उनले नेपाली भाषा चाहिँ दश वर्ष पुगेपछि मात्र सिकेका थिए। अङ्ग्रेजी भाषा पढाउने हेतुले सुरुमा पाटन हाइस्कुलमा भर्ना गरिए पनि केही समयपछि उनलाई रानी पोखरीस्थित दरबार हाइस्कुलमा भर्ना गरियो। उनले त्यहीँबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरे। काठमाडौँको त्रिचन्द्र कलेजबाट वि.सं. १९९८ मा आई.ए. उत्तीर्ण गरेपछि स्नातक तहमा भर्ना भए तर परिवारको जीविकाका लागि बिचैमा पढाइ छाडेर जागिरतिर लाग्न बाध्य भए।
सरकारी सेवाका सामान्यदेखि उच्च ओहदासम्म काम गरेका जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिका साथै नेपालभाषामा समेत सशक्त कलम चलाएका थिए। वि.सं. २००१ मा ‘औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डा’ बाट उनको जागिरे जीवनको सुरुआत भएको थियो। वि.सं. २००७ मा उनी सङ्ख्या विभागमा सुपरिवेक्षक भएका थिए। वि.सं. २०१४ मा राष्ट्रिय योजना परिषद्मा कार्यक्रम अधिकृत भई काम गरेका थिए। त्यसै गरी के. आई. सिंहको प्रधानमन्त्रीत्व कालमा मन्त्री परशुरामभक्त माथेमाको निजी सचिवसमेत भएर काम गरेका थिए। २०१६ सालमा पुरातत्त्व र संस्कृति विभागमा निर्देशक भएका जोशी नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवसम्म भई काम गरेका थिए।
उनको साहित्यिक लेखनको प्रारम्भ वि.सं. १९९८ तिर भएको थियो। कलेज पढ्न थालेपछि उनले संस्कृत साहित्यबाट प्रभावित भई छन्दमा कविता लेख्न थालेका थिए। त्यति वेलै लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेको सङ्गतमा पुगेका उनले कविद्वयबाटै कविता लेख्ने प्रेरणा पाएको देखिन्छ। भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरका सान्निध्यमा आएपछि उनले अङ्ग्रेजी भाषाका कथा र कविता नेपालीमा अनुवाद गरेका थिए। जागिरको सिलसिलामा तनहुँ र लमजुङ जिल्लामा रहँदा त्यहाँका ग्रामीण लोकभाकाको सुस्केरा सुनेर उनलाई लोकसाहित्यमा लाग्ने प्रेरणा मिल्यो। त्यसपछि उनी संस्कृतिको अध्ययन अनुसन्धानमा आफूलाई समर्पित गर्न थाले। यसैको प्रेरणास्वरूप उनले वि.सं. २०१४ मा ‘हाम्रो लोकसंस्कृति’ नामक पुस्तक प्रकाशन गरेका थिए। उनले नेपाली साहित्यमा कविता, नाटक, समालोचनाका अतिरिक्त लोकसाहित्य, संस्कृति आदि क्षेत्रका दर्जनौँ कृति रचना गरेका थिए। उनले भाषा र नाटक, कविता, कथा, निबन्ध जस्ता साहित्यिक विधाका करिब तीन दर्जन जति कृति रचना गरेका थिए। उनका नेपालभाषाका विभिन्न विषय र विधाक्षेत्रसँग सम्बन्धित करिब चार दर्जन रचना प्रकाशन गरी नेपालभाषाको श्रीवृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुऱ्याएका छन्। उनी ‘नेपालभाषा एकेडेमी’ को स्थापना र नेवारी साहित्य, कला र संस्कृति जोगाउन क्रियाशील थिए।
विभिन्न ओहदामा रहँदा र कर्मक्षेत्रमा खटिंदा जोशीले चिरस्मरणीय योगदान दिएका छन्। उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा दिलोज्यानले मुलुकका भाषा र संस्कृतिको विकासमा अहम् योगदान दिएका छन्। यिनकै संयोजकत्वमा विदेशीले नेपालका बारेमा तयार पारेका लेखरचना र पुस्तकको ग्रन्थसूची तयार भएको थियो। उनी प्रज्ञा प्रतिष्ठानमा रहँदा ‘गाईजात्रा महोत्सव’ को प्रवर्धन गरेका थिए। तत्कालीन प्रशासकलाई समेत व्यङ्ग्य गरिएको आरोप लगाई गाईजात्रा कार्यक्रम बन्द गराउन दरबारबाट आएको दबाबलाई उनले ठाडै अस्वीकार गरी कार्यक्रम जनतामाझ जनप्रिय रहेकाले बन्द गर्न नसकिने जवाफ फर्काइदिएका थिए। यसबाट उनी जनमतका विपरीत कसैको दबाब र धम्कीबाट पछि नहट्ने व्यक्ति थिए भन्ने प्रस्ट हुन्छ। उनकै प्रयासबाट समाजका विकृति विसङ्गतिका विरुद्ध गाईजात्राका माध्यमबाट हास्यव्यङ्ग्य विधाको विकास भएको थियो। यस कार्यक्रमको सफलताबाट हौसिएका जोशीले नेपाली नाटकलाई माथि उकास्ने हेतुले प्रतिष्ठानमै ‘नाटक महोत्सव’ गर्ने परिपाटी पनि बसालेका थिए। उनी आफ्नो जिम्मेवारीमा अहोरात्र खटिरहन्थे। जमलमा राष्ट्रिय नाचघरका लागि जग्गा किन्ने र भक्तपुरमा राष्ट्रिय सङ्ग्रहालयको निर्माण गर्ने काम पनि जोशीकै सक्रियतामा भएको थियो। उनले प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव रहँदा नेपाली भाषाका साथै शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवार, चेपाङ, राजवंशीलगायत भाषाको अध्ययन अनुसन्धान गरेका थिए। यिनै १४ भाषामा पर्यायवाची कोश निर्माणको कार्यसमेत सम्पन्न भएको थियो। सत्यमोहन जोशीले नेपालका प्राचीन मुद्राको खोज अनुसन्धान गरी ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक ग्रन्थ पनि लेखेका छन्। उनकै अध्ययनका आधारमा राजा जयप्रकाश मल्लका पालामा सबैभन्दा सानो सिक्का प्रचलनमा रहेको थियो भन्ने देखिन्छ। उक्त सिक्का संसारकै सबैभन्दा सानो सिक्का भनेर गिनिजबुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता भएको छ।
उनले चीनमा नेपाली भाषाको प्रचारप्रसार गर्नुका साथै अन्य थुप्रै मुलुकको भ्रमण गरेका थिए। चीनबाट नेपाली भाषा पठनपाठनका लागि प्रशिक्षकका रूपमा बोलावट भएपछि उनी त्यहाँ गएर नेपाली भाषालाई चिनियाँमाझ पुऱ्याउने काममा सक्रिय रहे। उनले त्यहाँ आफ्ना विद्यार्थीको सहयोगमा नेपाली विभाग खोलेर नियमित रूपमा नेपालीमा समाचार प्रसारण गर्ने र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने चाँजो मिलाएका थिए। यसरी विदेशमा नेपाली भाषाको प्रसारण कार्यमा जोशीबाट उल्लेख्य योगदान पुगेको देखिन्छ। उनले चीनमा रहँदा कलाकार अरनिको र उनले चीनमा निर्माण गरेको श्वेतचैत्यबारे खोज अनुसन्धान गरी ‘नेपाली वास्तुविद् कलाकार अरनिको’ नामक शोधग्रन्थ प्रकाशित गरे। उनले भृकुटीबारे पनि खोज अनुसन्धान गरी तथ्य पहिल्याउने काम गरेका थिए। उनले प्रज्ञा प्रतिष्ठानको सदस्य रहँदा तत्कालीन सोभियत सङ्घको भ्रमण गरेका थिए। उनी नेवार बन्धुहरूको विश्व सङ्गठनले लन्डनमा आयोजना गरेको सम्मेलनमा अतिथिका रूपमा सहभागी भएका थिए। अमेरिकास्थित नेवार बन्धुको सङ्गठनले वासिङ्टन डिसीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा समेत विदेश भ्रमण गरेका थिए। बङ्गलादेशमा सांस्कृतिक विविधतासम्बन्धी मन्त्रीस्तरको अन्तर्राष्ट्रिय सम्मेलनमा उनी सहभागी भएका थिए। उनले भारत र चीनका मुख्य मुख्य सहरमा समेत कैयौं पटक भ्रमण गरेका थिए।
नेपाल आमाका कर्मठ सपूत सत्यमोहन जोशीले थुप्रै पुरस्कार, सम्मान र पदक पाएका थिए। उनी नेपाल र नेपालीको गौरव उच्च पार्न सधैं अग्रसर बने। उनलाई नेपाली वाङ्मय र संस्कृतिका क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै काठमाडौँ विश्वविद्यालयबाट वि.सं. २०६८ मा महाविद्यावारिधिको उपाधि प्रदान गरिएको थियो। उनलाई त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते ‘शताब्दी पुरुष’ को उपाधि प्रदान गरेको थियो। नेपाल सरकारका तर्फबाट वि.सं. २०७४ वैशाख २१ मा उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि प्रदान गरिएको थियो। उनको नाममा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ समेत मनाइएको थियो। उनी नेपाली र नेपालभाषाको संरक्षण तथा नेपालीको राष्ट्रिय पहिचानका लागि निरन्तर लागिरहे। जोशीले ‘गोरखा दक्षिण बाहु’, ‘मदन पुरस्कार’, ‘पृथ्वी प्रज्ञा पुरस्कार’, ‘भानुभक्त पुरस्कार’ लगायत दर्जनौँ पुरस्कार प्राप्त गरेका थिए। उनलाई झन्डै दुई सय सङ्घसंस्थाले सम्मान तथा अभिनन्दनसमेत गरेका थिए। वि.सं. २०७६ मा नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशनमा ल्याएको छ। उनी ‘लोक संस्कृति’, ‘नेपाली राष्ट्रिय मुद्राहरू’ और ‘कर्णाली लोक संस्कृति’ नामक कृतिका लागि तीन पटक मदन पुरस्कार पाउन सफल भएका थिए। उनी नै तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति हुन्।
सत्यमोहन जोशी नेपाली भाषा, लोकसाहित्य, संस्कृतिलगायत क्षेत्रमा अनवरत रूपमा योगदान दिने विशिष्ट व्यक्तित्व थिए। उनको जीवनका महत्त्वपूर्ण योगदानमा प्रज्ञा प्रतिष्ठानबाट गाईजात्रा महोत्सवको प्रवर्धन, कलाकार अरनिकोबारे अन्वेषण, प्राचीन नेपाली मुद्राको खोजी आदि अविस्मरणीय छन्। त्यस्तै नेपालभाषा एकेडेमीको स्थापना, चिनियाँ कविताको नेपाली अनुवाद तथा कर्णाली लोकसंस्कृतिको अनुसन्धानमा समेत उनको अहम् योगदान रहेको छ। उनी व्यक्तिगत जीवनभन्दा राष्ट्र र राष्ट्रियताका लागि अनवरत रूपमा समर्पित हुने कर्मशील व्यक्ति थिए। सत्यमोहनमा रहेको अथक प्रयास र कामप्रतिको लगावबाट हामी सबै निष्ठावान् भई देशसेवामा लाग्यौँ भने सजिलै देशको काँचुली फेर्न सकिन्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ। सत्यमोहन जोशीले नेपाली भाषा र नेपालभाषा दुबैमा दर्जनौँ कृतिको रचना गर्नु चानचुने कुरा होइन। भाषा, संस्कृति र वाङ्मयका यस्ता अनन्य साधकको देहावसान वि.सं. २०७९ असोज ३० गते भयो। आज उनी हामीबिच नरहे पनि उनका कृतिमा अमर बनेर रहेका छन्। बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रलाई सशक्त र भावनात्मक रूपमा एकताको सूत्रमा बाँध्ने उनका प्रेरणादायी कार्यप्रति सिङ्गो राष्ट्र गौरव बोध गर्छ।
शब्दार्थ
-
वरेण्य: सबैभन्दा उत्तम
-
आलोकित: उज्यालो पारिएको
-
गौरव: इज्जत प्रतिष्ठा
-
सान्निध्य: समीप वा निकट हुनुको भाव, सामीप्य
-
दिलोज्यान: तन र मन दुबै लगाउनु
-
अहोरात्र: दिन वा चौबिसै घण्टा, दिनहुँ
-
पर्यायवाची: समान वा एउटै अर्थ बुझाउने
-
वास्तुविद्: भवन निर्माण कलासम्बन्धी राम्रो ज्ञान भएको व्यक्ति
-
निष्ठावान्: निष्ठा भएको, श्रद्धा राख्ने, आस्थावान्
