माइकल फेराडे जीवनी पाठ पढ्नुहोस् ।
पाठ १२: माइकल फेराडे
संसारमा कैयौँ मानिस जन्मन्छन् र मर्छन् । तीमध्ये मानव सभ्यतालाई नयाँ युगतर्फ डोऱ्याउने केही व्यक्ति मात्र आफ्ना महान् कर्मका फलले संसारमा अमर हुन्छन् । यसरी मानव सभ्यताको इतिहासमा वैज्ञानिक आविष्कारका माध्यमबाट चिरकालसम्म जीवन्त रहने एक दृष्टान्त हुन् वैज्ञानिक माइकल फेराडे । गाँस, बास र कपासको अभावमा पिरोलिएको परिवारमा जन्मेका फेराडे गरिबी र अभावमा हुर्कदै गए । भौतिक विज्ञान र रसायन विज्ञानका क्षेत्रमा अविस्मरणीय योगदान दिएका फेराडेका सिद्धान्त र आविष्कारबाट आधुनिक जगत् कृतकृत्य छ । विज्ञानका क्षेत्रमा नयाँ नयाँ सिद्धान्त प्रतिपादन गर्नुका साथै उनले नयाँ नयाँ वस्तुको समेत आविष्कार गरी आधुनिक जगत्लाई आलोकित पारे । उनका वैज्ञानिक योगदानका अंशको परिणामस्वरूप आज हामीले ल्यापटप र मोबाइल जस्ता विद्युतीय उपकरण प्रयोग गरिरहेका छौँ । जेनरेटर र पानी तान्ने मोटर पनि प्रयोग गरिरहेका छौं । उनको निरन्तरको साधना र आविष्कारले गर्दा नै आज हाम्रो जीवन सहज र सरल बनेको छ ।
फेराडेले संसारलाई नै वैज्ञानिक आविष्कारको नयाँ ज्योति प्रदान गरे । बेलायतको लन्डनस्थित न्युविटनमा सन् १७९१ सेप्टेम्बर २२ का दिन जन्मेका माइकल फेराडेका बुबाको नाम जेम्स फेराडे र आमाको नाम मार्गरेट हस्बेल थियो । माइकल फेराडेको परिवार गरिब भएकाले माइकल नजन्मँदै बेलायतको योर्कसायरबाट कामको खोजीमा न्युविटन आएका थिए । उनीहरू त्यहाँ फलामको काम गर्थे । आरनमा जति जोतिए पनि बिहानबेलुकाको छाक टार्न र घर चलाउन धौ धौ परेका वेला जेम्स फेराडेकी गर्भवती पत्नी बिरामी परेकी थिइन् । पत्नीको उपचार गर्न नपाएर आमा र गर्भे शिशुसमेत बचाउन नसकिने भो भनी माइकलका बुबा चिन्तामा डुबेका थिए । यस्तै भयावह गरिबीका समयमा जेम्स फेराडेका घरमा एउटा शिशुको जन्म भएको थियो र त्यसै शिशुको नाम माइकल फेराडे राखियो । भोक, रोग र गरिबीले थिल्थिलिएको परिवारमा जन्मेका माइकलले जन्मैदेखि निकै कष्ट सहनूपर्यो । चरम विपन्नताका कारण कैयौँ महिनासम्म हप्ताको एउटा रोटी मात्र खाएर प्राण धानेका उनै माइकल फेराडेका आविष्कारले संसार हल्लाइदियो र उनी संसारकै विख्यात वैज्ञानिक बने ।
जेम्स फेराडेको परिवार म्यानचेस्टर स्क्वायरको सानो डेरामा बस्न थालेपछि माइकल फेराडेको सङ्घर्षमय र सफलताको यात्रा सुरु भयो । सुरुमा उनलाई साधारण विद्यालय भर्ना गरियो । साधारण विद्यालयमा पढे पनि माइकलमा ज्ञानको असाधारण भोक थियो । उनले त्यहाँ पढ्ने र लेख्नेदेखि लिएर गणितसम्मका धेरै कुरा सिके । बुबाले आरनमा काम गरिरहँदा उनी निकै घोरिएर हेरिराख्थे । उनको त्यो गहिरो हेराइमा ज्ञानको अनन्त रहस्य लुकेको हुन्थ्यो । १३ वर्षका भएपछि गरिबीकै कारण माइकलको औपचारिक पढाइ एक्कासि रोक्कियो र नाबालक उमेरमा नै उनले काम गर्नुपर्यो । उनले एउटा पुस्तक पसलमा किताबको जिल्दा हाल्ने काम पाए । यसरी दिनभरि काम र रातमा पढाइ गर्दै एउटा कलिलो बालकले कठोर सङ्घर्ष गर्नुपर्यो । भनिन्छ, राति पढ्दा नै उनमा बिजुलीसम्बन्धी जिज्ञासाको बीज अङ्कुरण भएको थियो । उनले फुर्सद निकालेर आफ्नै इच्छा र रुचिबमोजिमका किताब पढ्न थाले । त्यो जागिरका सात वर्षसम्म थुप्रै किताब पढेर बीसीजी बुद्धि तीक्ष्ण हुँदै गयो । त्यसमध्ये जेन मार्सेटद्वारा लिखित रसायन विज्ञानमा कुराकानी र विभिन्न पत्रपत्रिकामा छापिएका बिजुलीसम्बन्धी लेख पढेपछि भने उनमा विज्ञानप्रति गहिरो रुचि जाग्यो ।
नामी र चर्चित वैज्ञानिक हम्फ्री डेवीको सान्निध्य प्राप्त गरेपछि माइकल फेराडेको वैज्ञानिक प्रतिभाले पल्लवित हुने मौका पायो । हम्फ्री डेवीले सन् १८१२ लन्डनको रोयल इन्स्टिच्युसनमा विज्ञानसम्बन्धी भाषणको एउटा शृङ्खला नै सञ्चालन गरेका थिए । त्यो भाषण शृङ्खला सुन्न गएका माइकल फेराडेका जीवनमा उक्त भाषणले नयाँ मोड ल्याइदियो । भाषण सुन्न उपस्थित तमाम दर्शक डेवीले आविष्कार गरेका सामग्री प्रदर्शन गर्दै गर्दा त्यो देखेर र सुनेर तालीका पर्रा बर्साउँथे । त्यही भाषण सुनिरहेका फेराडे चाहिँ उक्त भाषणलाई एक एक गरी नोट गर्नमा तल्लीन हुन्थे । भाषणबाट निकै प्रभावित भएका फेराडेले भाषण विस्तृत रूपमा तयार पारी भाषण शृङ्खलाका नोटलाई जम्मा पारेर ३०० पेजको एउटा पुस्तक बनाई डेवीका हातमा पुऱ्याइदिए । त्यसको केही समयपछि डेवीले फेराडेलाई बोलाए र अन्तर्वार्ता लिए । आफ्नै प्रयोगशालामा कुनै वैज्ञानिक प्रयोग परीक्षण गर्दा एक दिन डेवीका आँखामा चोट लागेपछि डेवीले आफ्नो भाषण सुनेर नोट बनाउने माइकल फेराडेलाई बोलाउन पठाए । उनैलाई आफ्नो प्रयोगशालामा काम गर्ने जिम्मा दिए । पछि फेराडेलाई डेवीले सहयोगीका रूपमा राम्रो तलब दिएर काम दिए । सोही वर्ष डेवी युरोपको यात्रामा जाँदा माइकल फेराडेलाई पनि सँगै लगेर गए । यस भ्रमणको क्रममा उनले विश्वका केही प्रमुख रसायन विज्ञसँग भेट गर्ने सौभाग्य प्राप्त गरे । भ्रमणका वेला साथमा रहँदा डेवीले उनलाई दिनहुँ पढाउने गर्थे भने यो भ्रमणले फेराडेको ज्ञानको क्षितिज निकै फराकिलो भयो भन्ने गरिन्छ ।
फेराडेले चुम्बकीय क्षेत्रबाट विद्युतीय धारा उत्पादन गर्न सकिन्छ भन्ने प्राक्कल्पना गर्दै त्यसलाई सफल पारेरै छाडे । चुम्बकीय उपपादनको सिद्धान्त नामक䀘 उनको वैज्ञानिक सिद्धान्तबाट संसारले थुप्रै उपलब्धि हासिल गर्यो । उनले प्रतिपादन गरेका प्रमुख आविष्कार फेराडेज ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन हो । यसलाई हामी विद्युतीय चुम्बकीय उपपादनको सिद्धान्तको नामले चिन्छौँ । सन् १८२० मा हेन्स ओस्टेडले कुनै तारमा विद्युत् धाराको प्रवाहद्वारा चुम्बकीय क्षेत्र पैदा हुन्छ भन्ने तथ्य आविष्कार गरे । फेराडेले यस आविष्कारका बारेमा सुनेपछि उनको दिमाग घोरिन थाल्यो । वैज्ञानिक ओस्टेडले भने ‘विद्युतीय धाराको प्रवाहले चुम्बकीय क्षेत्र उत्पन्न हुन्छ’ भने यसको उल्टो पनि तो सम्भव छ भन्ने अनुमान गरे । यसो गर्दा ‘चुम्बकीय क्षेत्रबाट विद्युतीय धारा उत्पादन पनि त गर्न सकिन्छ’ भन्ने प्राक्कल्पना गरे । यसका लागि उनले एउटा प्रयोग गरे जसमा उनले एक खालका मुन्द्रा जस्ता कुन्डली बनाए । त्यसलाई चुम्बकको नजिकै राखे तर कुन्डलीमा कुनै बिजुली देखा परेन । उनले आफ्ना प्रयोग धेरै पटक दोहोऱ्याए तर हरेकचोटि असफल भए । धेरै प्रयासपछि एक दिन उनले कुनै चालक वा कुन्डलीलाई कुनै नजिकैको चुम्बकीय क्षेत्रमा प्रवेश गराए । चालक वा कुन्डलीका बिच विद्युत् वाहक बल उत्पन्न भयो र उनी आफ्नो प्रयोगमा सफल भए । त्यस समयमा फेराडेलाई यदि कुन्डली र चुम्बकको बिचमा आवश्यक गति छ भने विद्युत् उत्पादन हुन्छ भन्ने थाहा भयो । यो चुम्बकीय उपपादनको सिद्धान्तका रूपमा आविष्कृत भयो ।
माइकल फेराडेले डायनामोको आविष्कारका साथै रसायन विज्ञानसँग सम्बन्धित अन्वेषणसमेत गरेका छन् । उनले सन् १८३१ मा इङ्गल्यान्डमा डायनामोको आविष्कार गरेका थिए । हुन त त्यस वेला स्वतन्त्र रूपमा जोसेफ हेनरीले पनि डायनामो बनाएका थिए भनिन्छ तर उनले भने आफैँले प्रतिपादन गरेको चुम्बकीय उपपादनको सिद्धान्तमा टेकेर डायनामो बनाएका हुन् । उन्होंने मेकानिकल ऊर्जालाई विद्युत् ऊर्जामा रूपान्तरण गर्ने सिद्धान्त पनि प्रतिपादन गरे । इलेक्ट्रोम्याग्नेटिक प्रेरणाको अध्ययन गरेर नियमहरू बनाए । यिनै नियमका आधारमा उनले इलेक्ट्रिक जेनरेटर आविष्कार गरे जुन बिजुलीका क्षेत्रमा विश्वका लागि वरदान बन्न पुग्यो । माइकल फेराडेले भौतिक विज्ञानका साथै रसायन विज्ञानमा पनि अत्यन्त चाख राखेर उल्लेख्य र उपलब्धिमूलक अनुसन्धान गरेका छन् । क्लोरिन, कार्बनडाइअक्साइड जस्ता ग्यासलाई तरल रूपमा परिवर्तन गर्नु, बेन्जिन तथा अन्य हाइड्रोकार्बनको अन्वेषण गर्नु आदि उनका थुप्रै रसायन विज्ञानसँग सम्बन्धित अन्वेषण हुन् ।
माइकल फेराडेका वैज्ञानिक योगदानलाई सिद्धान्त र आविष्कारमा वर्गीकरण गरी तिनलाई समेत विभिन्न वर्गमा बाँड्न सकिन्छ । फेराडेज ल अफ इन्डक्सन, फेराडेज ल अफ इलेक्ट्रोमेग्नेटिक इन्डक्सन र फेराडेज ल अफ इलेक्ट्रोलाइसिस उनका मुख्य सिद्धान्त हुन् । आफ्नै सिद्धान्तमा आधारित रहेर उनले दर्जनौँ चिजको आविष्कार गरेका छन् । आज हामीले घरभित्र प्रयोग गर्ने मिक्स्चर, घरबाट बाहिर निस्कँदा चढ्ने गाडी, हामीले आआफ्नो घरमा पानी तान्नका लागि जडान गरेका मोटर ती सबै फेराडेको यही फेराडेज ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन सिद्धान्तकै मातहत चलेका छन् । उनका यी सिद्धान्त र आविष्कार त्यस वेला साना कुरा जस्ता भए पनि पछि गएर यसले तहल्का मच्चायो अनि यिनै आविष्कार अल्बर्ट आइन्सटाइन जस्ता थुप्रै वैज्ञानिक हिँड्ने वैज्ञानिक राजमार्ग बने । भनिन्छ, यिनकै अनुसन्धानलाई कोसेढुङ्गा मानी अगि बढेर आइन्स्टाइनले सापेक्षतावाद जस्तो वैज्ञानिक सिद्धान्त विश्वलाई उपहार दिए ।
माइकल फेराडेले कलेज जीवनमा थुप्रै सम्मान, पुरस्कार र पदक पाए । उनले रोयल मेडल (सन् १८३५ र १८४६), कप्ली मेडल (सन् १८३२ र १८३८), ऱ्याम्फोर्ड मेडल (सन् १८४६) र अल्बर्ट मेडल (सन् १८६६) प्राप्त गरे । सन् १८३२ मा अक्सफोर्ड विश्वविद्यालयले उनलाई सिभिल कानुनमा विद्यावारिधिको मानार्थ उपाधि प्रदान गर्यो । उनी सन् १८३३ मा बेलायतको रोयल इन्स्टिच्युटमा रसायन विज्ञानका पहिलो प्राध्यापक बने । सन् १८३२ मा फेराडे अमेरिकी कला र विज्ञान प्रतिष्ठानको एक विदेशी मानार्थ सदस्य चुनिए । उनी सन् १८३८ मा रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका विदेशी सदस्य पनि चुनिएका थिए । सन् १८४४ मा फ्रान्सेली एकेडेमी अफ साइन्सेजमा निर्वाचित आठ विदेशी सदस्यमध्ये उनी पनि एक थिए । सन् १८४९ मा उनी नेदरल्यान्ड्सको रोयल इन्स्टिच्युटको सम्बद्ध सदस्यको रूपमा चुनिए । यो संस्था दुई वर्षपछि रोयल नेदरल्यान्ड्स कला र विज्ञान प्रतिष्ठान बन्न पुग्यो र पछि उनलाई विदेशी सदस्य बनाइयो । फेराडेले सामान्य औपचारिक शिक्षा हासिल गरे पनि उनी पढेरभन्दा परेर र गरेर जान्ने इतिहासका प्रभावशाली वैज्ञानिकमध्ये एक बने ।
माइकल फेराडेले जीवनको उत्तरार्धमा थुप्रै पैसा आउने जागिर पाए तर उनी कहिल्यै पनि पैसालाई महत्त्व दिँदैनथे । त्यसैले उनी प्रचुर आम्दानी हुने जागिर छाडेर एकोहोरो अनुसन्धानमा लागिरहे । उनमा वैज्ञानिक आविष्कारको भोक तृप्त भएको थिएन । यसरी जागिर छाडेर अनुसन्धानमा लाग्दा उनलाई पुनः पैसाको सङ्कट पर्यो । उनी बिरामी पनि परे । यस्तो अवस्थामा पत्नी साराले उनलाई दिलोज्यानले साथ दिइन् र सेवा गरिन् । उनको योगदानको कदर गर्दै तत्कालीन राजा विलियमबाट वर्षको ३०० पाउन्ड पेन्सनको व्यवस्था भयो ।
सङ्घर्ष नै सङ्घर्षले खारिएका माइकल फेराडेको जीवनमा दुःख र कष्टका कहाली लाग्दा कहरले बाटो छेक्न खोजे पनि उनले कहिल्यै हरेस खाएनन् । त्यसैले त उनी गरिबीको गर्तबाट उठेर विज्ञानका आविष्कारमार्फत प्रसिद्धिको शिखर चुम्न पुगे । एउटा साधारण परिवारको व्यक्ति पनि आफ्नो अठोट र लगाव भयो भने जस्तोसुकै लक्ष्यमा पुग्न सम्भव हुँदो रहेछ भन्ने प्रेरणा माइकल फेराडेको जीवनबाट प्राप्त गर्न सकिन्छ । यिनै महान् फेराडेको २५ अगस्त १८६७ हैपटन कोर्ट स्थित निवासमै निधन भयो । उनको निधन भए पनि उनले प्रतिपादन गरेका सिद्धान्त र अनुसन्धान गरेका आविष्कारका माध्यमबाट युग युगसम्म उनी बाँचिरहेकै छन् र बाँचिरहने छन् ।
शब्दार्थ
* **दृष्टान्त:** उदाहरण
* **कृतकृत्य:** गर्नुपर्ने कुनै काम सम्पन्न गरेको, धन्य
* **भयावह:** डर उत्पन्न गर्ने खालको, भयकारक
* **विख्यात:** नाम चलेको, प्रसिद्ध
* **जिल्दा:** गाता, पुस्तकको सुरक्षाका लागि बाहिरबाट लगाइने मोटो पत्र
* **जिज्ञासा:** कुनै कुरा जान्ने इच्छा, थाहा पाउने अभिलाषा
* **अङ्कुरण:** आँकुरा निस्कने काम
* **तीक्ष्ण:** तिखारिएको, प्रखर, टाठो
* **अन्वेषण:** लुकेछिपेर रहेका कुराको खोजीनिती गर्ने काम, अनुसन्धान
* **कोसेढुङ्गा:** सीमा निर्धारण गर्न योग्य, उल्लेखनीय कुरा
* **सापेक्षतावाद:** विश्वका हरेक वस्तु एकअर्कासित कुनै न कुनै रूपमा सम्बद्ध रहने कुरामा विश्वास राख्ने सिद्धान्त
* **गर्त:** सतहभन्दा निकै गहिरो ठाउँ, खाडल
