पर्यावरण सन्तुलन पाठ पढ्नुहोस् ।
पाठ ६: पर्यावरण सन्तुलन
(नौ कक्षाका विद्यार्थी शिक्षकसँग उद्यानको मनोरम वातावरणमा बसेर पर्यावरणीय सन्तुलनबारे कुराकानी गर्दै छन् ।)
शिक्षक : तिमीहरूलाई थाहा छ ? हाम्रो वरिपरि हावा, पानी, माटो, बोटबिरुवा, जीवजन्तु, सूर्यको प्रकाश जस्ता प्राकृतिक वस्तु छन्। यिनै वस्तु मिलेर बनेको हाम्रो वरिपरिको आवरणलाई नै पर्यावरण भनिन्छ।
दीक्षा : पर्यावरण र पारिस्थितिक प्रणाली उस्तै हुन् र गुरु ?
शिक्षक : स्याबास ! जिज्ञासा राखेकामा। पारिस्थितिक प्रणाली पर्यावरणसँग सम्बन्धित कुरा अवश्य हो तर एउटै कुरा चाहिँ होइन। पर्यावरण भनेको हाम्रो जीवनलाई प्रभावित गर्ने भौतिक र जैविक परिवेश हो।
सुवर्ण : त्यसो भए पारिस्थितिक प्रणाली भनेको के हो नि गुरु ?
शिक्षक : हाम्रो पर्यावरणका विभिन्न तत्त्वका बिचको अन्तरसम्बन्ध नै पारिस्थितिक प्रणाली हो।
सुवर्ण : बल्ल प्रस्ट भयौँ गुरु। पहिले त मलाई पनि यी दुई कुरा एउटै हुन् जस्तो पो लागेको थियो।
दीक्षा : पर्यावरणका विभिन्न तत्त्वको एकआपसको सम्बन्धबाट नै हाम्रो जीवनको अस्तित्व सम्भव हुँदो रहेछ, होइन गुरु ?
शिक्षक : हो, पृथ्वीमा उपलब्ध वायुमण्डल, पानी, सूर्यको प्रकाश, माटो तथा ओजोन तहबिच रहने एकआपसको सम्बन्धका कारण नै यस पृथ्वी ग्रहमा जीवन सम्भव भएको हो, सम्पूर्ण जीवजगत्को अस्तित्व सम्भव भएको हो।
दीक्षा : हाम्रो पृथ्वी जस्तो जीवनमैत्री ग्रह त अरू कुनै पनि छैन होला नि गुरु ?
शिक्षक : तिमीले ठिक भन्यौ, अहिलेसम्मका विभिन्न अनुसन्धानबाट पृथ्वीमा जस्तो अनुपम पर्यावरणीय संरचनाको संयोग अन्य कुनै ग्रहमा भेटिएको छैन र जीवनको अस्तित्व पनि पत्ता लागेको छैन।
निशान्त : जीवनका लागि पर्यावरण आवश्यक त छदै छ। त्यसमा पनि स्वच्छ र सन्तुलित पर्यावरणले मात्र मानव जीवन र सम्पूर्ण जीवजन्तु, वनस्पतिलाई स्वस्थ र सन्तुलित राख्न सक्ने रहेछ, हो गुरु ?
श्रेया : निशान्तको जिज्ञासा मलाई पनि ठिक लाग्यो। बरु गुरु, पर्यावरण असन्तुलित हुँदा जीवनमा पर्ने प्रभावका बारेमा बताइदिनुहोस् न।
निहारिका : पर्यावरण असन्तुलित हुनमा त मानव र उसका क्रियाकलाप नै प्रमुख कारक रहन्छन् होइन र ?
शिक्षक : (खुसी हुँदै) हो, पर्यावरण सन्तुलन बिगार्ने गरी अनावश्यक वस्तु थपिँदा वातावरण असन्तुलित हुन पुग्छ जसलाई हामी वातावरण प्रदूषण भन्छौँ। उद्योगधन्दा, कलकारखाना, मोटरगाडीबाट निस्किने धुवाँ तथा अन्य रासायनिक पदार्थले हाम्रो वायुमण्डल, जमिन, पानी आदि प्रदूषित पार्छन्। बाढी, पहिरो, खडेरी, अतिवृष्टि, महामारी, अनिकाल जस्ता प्राकृतिक प्रकोप असन्तुलित पर्यावरणकै कारण उत्पन्न हुने गर्छन्। अम्लीय वर्षा, हरितगृह प्रभाव तथा ओजन तह क्षयीकरण आदि वर्तमान पर्यावरणीय चुनौतीभित्र पर्छन्। यी सबै कारणले गर्दा जीवजन्तु, वनस्पति तथा मानव जीवनमा नकारात्मक असर पर्न सक्छ।
…निहारिका : मैले हिजो मात्र इन्टरनेटमा अम्लीय वर्षाका बारेमा खोजी गरेकी थिएँ। वायुमण्डलमा नाइट्रोजन र सल्फरडाइअक्साइड जम्मा हुँदा आकाशबाट परेको पानीसँग रासायनिक प्रतिक्रिया गरी नाइट्रिक एसिड र सल्फ्युरिक एसिड जस्ता कडा अम्ल उत्पन्न भई वर्षासँगै जमिनसम्म आउनुलाई अम्लीय वर्षा भनिन्छ। अम्लीय वर्षाका कारण भवन, मूर्तिलगायत विभिन्न संरचनामा क्षति हुँदो रहेछ। यसले प्राणी तथा वनस्पतिमा नराम्रो असर गर्दो रहेछ। विशेष गरी पानीमा बस्ने प्राणीलाई यसको असर बढी पर्ने रहेछ। मैले यो हरितगृह प्रभाव र ओजन तह क्षयीकरणका बारेमा चाहिँ पढ्न भ्याएकी छैन।
शिक्षक : हो त, यस्ता ज्ञानगुनका कुरा खोज्न सजिलो भएर त इन्टरनेटको लोकप्रियता र महत्त्व बढेको हो नि।
श्रेया : ओजोन तहले सूर्यबाट आउने हानिकारक पराबैजनी किरणलाई छेकेर पृथ्वीसम्म आउन दिंदैन भन्ने कुरासम्म मैले पनि इन्टरनेटबाटै पढेर थाहा पाएकी हुँ तर क्षयीकरणका बारेमा भने मैले पनि पढ्न अझै बाँकी छ।
शिक्षक : तिमीहरू आफ्ना जिज्ञासाको समाधानका लागि इन्टरनेटको पनि प्रयोग गर्दा रहेछौ। यो एकदम ठिक हो। अँ, अब ओजोन तहको क्षयीकरण र हरितगृह प्रभावका बारेमा कुरा गरौं। सुन है, हाम्रो वायुमण्डलमा भएको ओजोन तहको महत्त्वका बारेमा त श्रेयाले प्रस्ट पारिसकिन्। ओजोन तह क्षयीकरण हुँदा पराबैजनी किरण पृथ्वीसम्म आई मानव, पशुपन्छी तथा वनस्पतिमा नराम्रो असर देखाउँछन्। तिनले आँखाको दृष्टिमा समस्या, छालाको क्यान्सर तथा वनस्पतिका हरितकणको क्षति पुर्याउन सक्ने हुँदा ओजोन तह बचाउनु हाम्रो दायित्व हो। कलकारखाना, हवाईजहाज, रेफ्रिजिरेटर आदिबाट उत्सर्जन हुने क्लोरोफ्लोरो कार्बन नामक ग्यास नै ओजोन तह क्षयीकरणको प्रमुख कारक हो यसैको कारण ओजोन तह पातलिँदै गएको कुरा वैज्ञानिक बताउँछन्।
दीक्षा : यस्तो खालको अन्तरक्रियाबाट त धेरै कुरा सजिलोसँग बुझ्न सकिने रहेछ। गुरु, अब हामीलाई हरितगृह प्रभावका बारेमा केही भनिदिनुहोस् न।
शिक्षक : (विद्यार्थीतिर फर्केर) तिमीहरू कसैलाई हरितगृहका बारेमा केही थाहा छ भने भन त।
निशान्त : (हात उठाएर बोल्न अनुमति माग्दै) यस बारेमा मैले इन्टरनेटमा हेरेको भिडियोबाट जानकारी पाएको कुरा भन्छु नि गुरु।
शिक्षक : हुन्छ भन न, पढ्ने बुझ्ने भनेको यसरी नै त हो नि।
…निशान्त : नर्सरीमा साना तथा कलिला बिरुवाका लागि आवश्यक ताप व्यवस्थापनका लागि सिसा प्रयोग गरी हरितगृह बनाइएको हुन्छ। सूर्यबाट आएका किरण सजिलै निस्किन नसक्ने भएकाले हरितगृहभित्र बाहिरको तापक्रमभन्दा केही बढी न्यानोपन कायम रहन्छ। हाम्रो वायुमण्डलमा मुख्य रूपमा कार्बनडाइअक्साइडको मात्रा बढी हुँदा यसले सिसाको जस्तै गुण देखाउँछ र पृथ्वीको तापक्रम बढ्दै जान्छ। यसैलाई हरितगृह प्रभाव भनिन्छ। यसैकारणले पनि दिनानुदिन पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ। यसलाई ग्लोबल वार्मिङ भनिन्छ रे।
शिक्षक : स्याबास ! निशान्तले पाएको जानकारी शतप्रतिशत सही छ। तिमीहरूको उत्साहपूर्ण सहभागिताबाट मलाई साह्रै खुसी लाग्यो।
सुवर्ण : गुरु, यसो हेर्दा त पर्यावरणीय असन्तुलनको कारण विशेष गरी मानिसले गरेका विकास तथा आविष्कार नै भएको महसुस भयो नि। मैले कतै गलत त बुझिनँ नि गुरु ?
शिक्षक : तिमीले बुझेको कुरा ठिक हो। अनियन्त्रित जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण, स्रोतसाधनको अत्यधिक प्रयोग आदि नै पर्यावरण विनाशका कारण हुन्। यी सबै मानव क्रियाकलापसँग सम्बन्धित छन्। कुनै पनि विकास कार्यक्रमले केही न केही पर्यावरणीय क्षति त अवश्य निम्त्याउँछ।
दीक्षा : त्यसो भए त पर्यावरण संरक्षणका लागि विकास निर्माणका काम नै रोक्नु पर्यो नि होइन र?
शिक्षक : पृथ्वी सम्पूर्ण प्राणीको साझा घर हो। यसको विनाशले सबैको जीवनमा नकारात्मक प्रभाव पर्ने तथा स्वयम् मानिस नै समस्यामा पर्ने गरेकाले अहिले आएर मानिसको चेतनाने परिवर्तन आएको छ। दिगो विकासको अवधारणाअनुरूप खानेपानी योजना, जलविद्युत् परियोजना, Sडक निर्माण जस्ता विकास योजना निर्माण गरिनुपर्छ। दिगो विकास भनेको दीर्घकालीन वा लामो समयसम्म टिकाउ हुने विकास हो। यस्ता विकास योजना सुरु गर्दा विज्ञ समूहद्वारा उक्त योजनाले पार्न सक्ने पर्यावरणीय प्रभावको अध्ययन गरी तयार गरिएको प्रतिवेदनका आधारमा कार्यान्वयनमा ल्याउने परिपाटी बसिसकेको छ। यसका कारण विकासको काम पनि रोकिँदैन र पर्यावरण पनि सुरक्षित रहन्छ।
श्रेया : दिगो विकासको कुरा त मलाई साह्रै ठिक लाग्यो। दिगो विकासको अवधारणाअनुसार कार्य गर्न सके विकास योजनाका कारण वातावरणमा पर्न जाने नकारात्मक प्रभावलाई न्यून गर्न सकिने पो रहेछ त।
…निहारिका : प्लास्टिकको बढ्दो प्रयोग, रासायनिक मल, कीटनाशक विषादी आदिले पनि वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले यसबारे जानकारीमूलक कार्यक्रम आयोजना गरी जनचेतना बढाउन सके पर्यावरणीय सन्तुलन कायम गर्न केही टेवा पुग्ने थियो कि ?
शिक्षक : हो, हामीले हाम्रोतर्फबाट पर्यावरण जोगाउन धेरै काम गर्न सक्छौँ।
सुवर्ण : पर्यावरण जोगाउने उपाय पनि बताइदिनुहोस् न गुरु।
शिक्षक : लौ सबैले सुन है, घरबाट निस्कने फोहोरको वर्गीकरण गरी सड्ने फोहोरलाई मल बनाई प्रयोग गर्न सके वातावरणीय सरसफाइमा टेवा पुग्छ। यसो गर्दा रासायनिक मलको प्रयोगलाई घटाउन सकिने भएकाले हामी सभीले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नु जरुरी छ। पेट्रोलियम पदार्थका सट्टामा जलविद्युत्, सौर्यऊर्जा, गोबरग्यास जस्ता वैकल्पिक ऊर्जाका स्रोतको प्रयोग गर्न सके वातावरणीय प्रदूषण घट्न गई हामी स्वच्छ वातावरण पाउछौँ। फेरि हाम्रो देशमा जलविद्युत्, वायुऊर्जा तथा सौर्यऊर्जाको पर्याप्त सम्भावना पनि भएकाले यसतर्फ सबैलाई प्रेरित गर्न सके पर्यावरण संरक्षण मात्र होइन देशको अर्थतन्त्र पनि माथि उठ्ने कुरामा कुनै दुई मत छैन।
निशान्त : यो नवीकरणीय र अनवीकरणीय स्रोतका बारेमा पनि केही जान्न पाए राम्रो हुन्थ्यो कि गुरु।
शिक्षक : पर्यावरणमा भएका विभिन्न स्रोतसाधनको प्रयोग गरेर नै हाम्रो जीविका चलेको हुन्छ। पृथ्वीमा भएका प्राणीमध्येको मानिस सर्वोत्कृष्ट प्राणी भएकाले ऊ आफ्नो चेतना र ज्ञानको प्रयोग गरी पृथ्वीमा उपलब्ध स्रोतसाधनको उत्खनन र प्रशोधन गरी भरपुर प्रयोग गर्छ। भूमिगत तेल, भूमिगत पानी, विभिन्न धातु, वनजङ्गल, जडीबुटी, नदीनाला सबैको प्रयोग गर्न सक्ने क्षमता मानिसमा रहेको छ। कतिपय मानिसले यी स्रोतसाधन प्रयोग गरी मनग्य आर्थिक उपार्जन पनि गर्ने गरेका छन्। यस्ता स्रोतसाधनलाई नवीकरणीय र अनवीकरणीय स्रोत गरी दुई वर्गमा विभाजन गर्न सकिन्छ। एक पटक प्रयोग गरिसकेपछि पनि पुनः उपयोग गर्न सकिने स्रोतलाई नवीकरणीय ऊर्जा स्रोत भनिन्छ। जमिन, वनजङ्गल, जडीबुटी, भूमिगत पानी आदि नवीकरणीय ऊर्जाका स्रोत हुन्। एक पटक प्रयोग गरिसकेपछि फेरि उपयोग गर्न नसकिने स्रोतलाई अनवीकरणीय स्रोत भनिन्छ।
सुवर्ण : ए साच्चै ! यी अनवीकरणीय स्रोतको प्रयोगमा ध्यान दिइएन भने त भावी पुस्ताले यिनीहरूको प्रयोग गर्न नपाउने पो रहेछन् त।
दीक्षा : यी स्रोतको प्रयोग गर्दा त निक्कै नै ध्यान पुऱ्याउनुपर्ने पो देखियो नि गुरु। यिनीहरूको आवश्यकताभन्दा बढी प्रयोग गर्नु भनेको त आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु जस्तो पो रहेछ। दुबै खालका प्राकृतिक स्रोतको सही र उपयुक्त प्रयोग गर्न जान्यो भने मात्र पर्यावरण जोगिने रहेछ।
शिक्षक : दुबै खालका स्रोतको यथोचित प्रयोग गरी पर्यावरण सन्तुलित राख्ने कुरामा मानव जीवनको ठुलो भूमिका हुन्छ। पर्यावरणीय असन्तुलनका कारण स्रोतसाधन मात्र होइन जैविक विविधता पनि ह्रास भएर जाने सम्भावना हुन्छ र कतिपय वन्यजन्तु तथा वनस्पति लोप भएर जाने सम्भावनासमेत रहन्छ। वातावरणीय प्रणाली तथा खाद्यशृङ्खलाको एउटा अंशका रूपमा रहने हरेक प्राणी र वनस्पतिलाई लोप हुनबाट बचाउनु हाम्रो कर्तव्य हो। पर्यावरण सन्तुलनका सम्बन्धमा कुरा बुझ्यौ नि ?
सबै विद्यार्थी : बुझ्यौँ गुरु।
(सबै जना कक्षाकोठातर्फ प्रस्थान गर्छन्।)
शब्द र अर्थ (Glossary)
| शब्द | अर्थ |
| आवरण |
बाहिरबाट ढाक्ने, छोप्ने प्रक्रिया, वरिपरि घेरिएको |
| अनुपम |
उपमा नभएको, अतुलनीय, बेजोड |
| क्षयीकरण |
खिइँदै वा नासिँदै जाने काम वा प्रक्रिया |
| उत्सर्जन |
छोड्ने, त्याग्ने काम |
