मेघ बिजुली विवाह कविताको मूल भाव
कवि भरतराज पन्त र ‘मेघ बिजुली विवाह’ कविता
कवि भरतराज पन्त नेपाली कविताको आधुनिक कालको परिष्कारवादी धारामा कलम चलाउने अग्रपङ्क्तिका प्रतिभा हुन् । उनी शास्त्रीय छन्दमा कविता गर्ने छन्दवादी कवि हुन् । उनका कविताहरुमा प्रकृति चित्रण, राष्ट्रियता, मानवता, बौद्धिकता, हार्दिकता, सांस्कृतिक चेत, विकृति र विसङ्गतिको व्यङ्ग्यात्मक विरोध आदि पाइन्छन् । उनको ‘मेघ बिजुली विवाह’ कविता शिखरिणी छन्दमा रचित उत्कृष्ट पद्य कविता हो ।
‘मेघ बिजुली विवाह’ कवितामा हिन्दु संस्कार र संस्कृति अनुसार विवाह सम्पन्न भएको सुन्दर परिकल्पना गरिएको छ । मेघ र बिजुलीका बिचमा वैवाहिक सम्बन्ध कायम हुन लाग्दाको अवस्थाको उल्लेख अति कलात्मक ढङ्गले गरिएको छ । कवितामा मानिसहरुले जस्तै प्रकृतिले असारे दिनमा लगन जुराई विवाह गरेको वर्णन गरिएको छ । कवितामा मेघलाई वर र विजुलीलाई वधू मानिएको छ । असारको शुभलगनमा सम्पन्न भएको मेघ र बिजुलीको विवाहबाट बर्षा भई सम्पूर्ण धर्तीलाई सिञ्चित गर्ने र बर्षाका कारण धर्ती उर्वरायुक्त भई शोभायमान हुने कुरा कवितामा उल्लेख गरिएको छ । असार महिनामा हुन लागेको उक्त विवाहमा प्रकृति जगत् नै एकजुट भई विवाहको उत्सव मनाएको परिकल्पना गरिएको छ । विवाह उत्सवमा बाँसका झ्याङ्हरुले झ्याली बजाएको, हरियो दोसल्ला भिरेर पहाडले पुरेतको काम गरेको, मयुरको श्रुतिमधुरतामा वेदध्वनि (मन्त्रोच्चारण) गुञ्जिएको कल्पना गरिएको, पर्वतमालाहरु केराका थाम र चँदुवा भएको प्रसङ्गको उल्लेख गरिएको छ । कविले पृथ्वीलाई तन्नाका रुपमा मानेका छन् भने हरियो चउरलाई मखमली सुन्दर गलैंचा हो भनेका छन् । झलमल्ल भएर झल्कने हिमचुलीलाई दुलाहाको रातो फेटा बनेको वर्णन गरिएको छ भने आकाशमा उड्ने बकुल्लाहरुलाई विवाहका जन्ती भनिएको छ । कविका अनुसार निशाकालमा चम्किने जुनकिरीहरु चमचम गर्ने सिताराजडित घुम्टो बनेको छ । त्यस्तै वर्षा हुँदा देखिएको इन्द्रेणी दुलहीको रङ्गीचङ्गी लुगा कपडा भएको, साँझपखका सूर्यको किरणले रङ्गिएको पहाडहरु दुलहीको रातो पछ्यौरी बनेको, रातको अन्धकारलाई बेहुलीको नीलो चुल्ठो बनेको प्रसङ्गको चर्चा गर्दै प्रकृतिको मानवीकरण गरिएको छ ।
यस कवितामा एकातिर हिन्दू संस्कृतिको चित्र उतारिएको छ भने अर्कातिर बर्षायाममा देखिने विभिन्न प्राकृतिक रमणीयताको संयोगबाट वैवाहिक कार्यक्रमहरुको जस्तो झलक दिई पृथ्वीलाई सधैं हराभरा बनाउन लागिरहनु पर्ने विचार व्यक्त गरिएको छ । प्रस्तुत विवाहमा बेहुलाका तर्फबाट पृथ्वीका सम्पूर्ण प्राणीहरुलाई अन्नको भोज खुवाएको र आकाशले सलामी बाजा घन्काएको कुरा मानवीकरण गरिएको छ । विवाहमा बिजुलीरुपी रानीलाई लिई मेघरुपी बेहुलाले शरद ऋतुमा रस लिन लागेको सुन्दर कल्पना गरिएको छ । यस कविताले प्राकृतिक सौन्दर्यलाई देखाएर मान्छेलाई कर्मवादी भई पृथ्वीलाई हराभरा बनाउने कार्यमा संलग्न हुने सन्देश दिएको छ । मेघ र विजुलीको विवाहपश्चात् जल बर्सिन गई पृथ्वी हराभरा हुने र प्रकृतिमै सम्पूर्ण मानव बाँच्ने कुरा एकातिर गरिएको छ भने दुलाहा र दुलहीको मिलनबिच नयाँ सृष्टिको सुरुवात हुने कुरालाई प्रतीकात्मक रुपमा देखाइएको छ ।
५. (क) मेघ बिजुली विवाहको मण्डप र चँदुवाको काम के केले गरेका छन् ?
‘मेघ बिजुली विवाह’ कविताका वरको रुपमा मेघ र वधू बिजुली हुन् । उनीहरूको विवाह हिन्दु संस्कार र संस्कृतिअनुसार सम्पन्न भएको छ । कवितामा वनजङ्गललाई पूजाघर र पर्वतमालालाई केराका थामसँग तुलना गरिएको छ । त्यसैले मण्डपको काम हावासँगै नाचिरहेका वनले गरेका छन् भने चॅदुवाको काम केराका थाम बनेका शैलश्रेणीले गरेका छन् ।
