नेपाली लोकबाजा निबन्ध पाठ पढ्नुहोस् ।
पाठ १४: नेपाली लोकबाजा
दसैं र तिहार रमाइला हाम्रा चुट्का र ख्यालीले
हिर्दय हाम्रो जुर्मुराउँछ जितको भ्यालीले
बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।
– माधव घिमिरे
हाम्रो नेपाली धर्ती अनेकौँ मौलिक कला संस्कृतिको अनुपम सङ्ग्रहालय हो । यहाँ फुलेका र फक्रेका अनेकौं सांस्कृतिक वैभवमध्ये हाम्रा लोकबाजा गौरव गर्न लायक सम्पत्ति हुन् । हाम्रो समाजमा प्रचलित तारले रेटेर, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई विभिन्न अवसरमा बजाइने यस्ता यन्त्रविशेष वा वाद्यलाई नै लोकबाजा भनिन्छ । यिनीहरू नेपाली समाजको रहनसहन, जन्म, विवाह र मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् । यी नेपाली लोकबाजा नेपाली समाजको मौलिक सभ्यता र संस्कृतिको शङ्खनाद गर्ने मौलिक पहिचानसमेत हुन् । नेपाली समाज सांस्कृतिक र जातीय विविधताले युक्त छ । यहाँका जातजातिले विभिन्न पर्व र संस्कारका अवसरमा बजाउने बाजामा पनि त्यस्तै विविधता पाइन्छ । हाम्रा नेपाली लोकबाजाको इतिहास खोज्दै जाने हो भने मानव सभ्यता जत्तिकै पुरानो हुनुपर्छ । पुराण वा मिथकमा वर्णित शिवजीले हातमा लिने डमरु, विष्णुका हातको शङ्ख र कृष्णका हातका मुरलीबाट पौराणिक कालदेखि नै बाजाको सुरुआत भएको मानिन्छ ।
नेपालमा वाद्यवादनको विकास प्राचीन कालदेखि हुँदै आएको कुरा विभिन्न अभिलेखले सङ्केत गर्छन् । जुन कुरा वसन्तदेवको संवत् ४३४ को टिस्टुङको अभिलेखमा कुँदिएको शङ्खको सन्दर्भले पनि पुष्टि गर्छ । हाँडीगाउँको अंशुवर्माको अभिलेखमा मङ्गल बाजा बजाउने र पूजाको अवसरमा शङ्ख बजाउने कामका लागि रकम छुट्याइएको प्रसङ्गले पनि लोकबाजाको प्राचीनतालाई सङ्केत गर्छ । त्यस्तै गरी ललितपुर लेलेको अभिलेखमा परेको वादित्र गोष्ठीको प्रसङ्गले पनि लिच्छवि कालमा वाद्यवादनलाई महत्त्व दिइन्थ्यो भन्ने बुझिन्छ । मल्ल कालमा चाहिँ वाद्यवादन र वाद्यसामग्रीको व्यापक रूपमा विकास भएको मानिन्छ । त्यस वेला राजाहरूले पनि स्वयम् वाद्यवादनमा भाग लिई बाजा बजाउँथे । यस कुरालाई हनुमान ढोकाको एक मूर्तिमा प्रताप मल्लले बाजा बजाइरहेको दृश्य अङ्कित हुनुले पनि पुष्टि गर्छ ।
संस्कृति र perम्पराअनुरूप लोकबाजाका तालबाजा र सुरबाजा गरी दुई प्रकार छन् । हजारौं वर्ष पहिले नाट्यशास्त्रका लेखक भरतमुनिले बजाउने शैलीका साथै बनोटका आधारमा लोकबाजालाई तत वाद्य, वितत वाद्य, शुषिर वाद्य, घन वाद्य र अवन वाद्य वर्गमा वर्गीकरण गरेका छन् । त्यसैका आधारमा नेपाली लोकबाजालाई पनि वर्गीकृत गर्न सकिन्छ । यसमध्ये पहिलो वर्गमा कोट्याएर वा आघात पारेर बजाइने एकतारे, वीणा, टुना जस्ता तारका बाजा पर्छन् । यिनलाई तत वाद्य भनिन्छ । दोस्रो वर्गमा रेटेर बजाइने सारङ्गी जस्ता तारका बाजा पर्छन् यस्तालाई वितत वाद्यअन्तर्गत राखिन्छ । तेस्रो वर्गमा हावा वा सास फुकेर बजाइने मुरली, बाँसुरी, सहनाई, नरसिंहा, शङ्ख आदि बाजा पर्छन् । यिनलाई शुषिर वाद्यका नामले चिनिन्छ । चौथोमा ठोकेर बजाइने घन्टी, भ्यालीभ्याम्टा, खैजडी आदि बाजा पर्छन् जसलाई घन वाद्य भनिन्छ भने अर्को वर्गमा छालाले मोडिएका ढोल, मादल, नगरा, दमाहा, ट्याम्को, डमरु आदि तालबाजा पर्छन् जसलाई अवन वाद्यको वर्गमा राखिन्छ ।
बहुजातीय र बहुसांस्कृतिक मुलुक हुनु नेपालको गौरवमय अतीत मात्र होइन सुन्दर वर्तमान पनि हो । वास्तवमा यो मुलुकमा बस्ने हरेक व्यक्तिको सम्बन्ध कुनै न कुनै जातिसँग गाँसिएकै हुन्छ । यस अर्थमा हामी नेपाली कुनै न कुनै जात वा जातिको समुदायका सदस्य हौं । नेपालमा आफ्नै बाजा, गीत, सङ्गीत नभएका कुनै पनि जाति छैनन् । नेपालमा नेवार जातिका धिमे, ढाँचा, करखिं, नगरा, पोंगा भ्यालीलगायत सबैभन्दा बढी ६० का हाराहारीमा बाजा छन् भने अति अल्पसङ्ख्यक कुसुन्डा जातिको चाहिँ एउटा मात्र इर्लुङ पिपरी नामको बाजा छ भनिन्छ । नौमती र पञ्चेबाजा नेपालका प्रचलित र चर्चित बाजा हुन् । लिम्बू जातिका च्याब्रुङ, तुङ्गेवा र फेन्जे बाजा, मगर जातिका मादल, कौरा खैजडी र मुर्चुङ्गा बाजा नेपालका अमूल्य निधि हुन् । त्यस्तै तामाङ जातिका डम्फु र टुना बाजा, राई किरातका बाँस तुम्बा, ढोल र बिनायो बाजाले नेपाली संस्कृतिलाई समृद्ध तुल्याएका छन् । त्यस्तै थारू जातिका खंजडा, झिलमिले र तमौरा बाजाले पनि नेपाली लोकसंस्कृतिलाई अझ समृद्ध तुल्याएका छन् । त्यति मात्रै होइन शेर्पा जातिका डा, ग्यालिङ र piवाङ् बाजा, ब्राह्मण छेत्रीका शङ्ख, घण्ट, खैजडी र मुजुरा बाजाका साथै नेपालमा बसोबास गर्ने सबै जातिका हरेक बाजा नेपालका अमूल्य सम्पदा हुन् । नेपाली लोकबाजा संरक्षणका क्षेत्रमा लागेका संस्कृतिकर्मी रामप्रसाद कँडेलले ‘लोकबाजा’ पुस्तकमा नेपालमा ३७५ ओटा लोकबाजा रहेको सचित्र उल्लेख गरेका छन् । सबै जातजातिले आआफ्ना समुदायका लोकबाजालाई जगेर्ना गर्नु अत्यन्त जरुरी देखिएको छ ।
नेपालमा हिजो कुनै जातिविशेषले र जातिविशेषका मात्र भनेर चिनिने र बजाइने यी लोकबाजा आज समग्र नेपाली जातिका आफ्नै बाजा बनेका छन् । जुनसुकै जातिका विवाहमा बजाइने यी पञ्चेबाजा र नौमतीको लोकप्रियताले आकाश छुँदो छ । स्वरोजगारमूलक व्यवसायका रूपमा अन्य जातिले पनि नौमती र पञ्चेबाजा बजाउँदै आर्थिक उपार्जनसमेत गरिरहेका छन् । मगर जातिमा लोकप्रिय मानिने मादल अब सिङ्गो नेपाली जातिको बाजा बनेको कुरा रोदीघरमा यसको लोकप्रियताले साक्ष्य प्रस्तुत गरेकै छ । शङ्खघण्ट ब्राह्मणको मात्र रहेन नेपालमा बसोबास गर्ने ठुलो जनसङ्ख्याले आफ्ना धार्मिक अनुष्ठानमा यिनको प्रयोग गरिरहेकै छन् । यसरी नेपाली समाजमा देखा पर्दै गरेको सांस्कृतिक अन्तघुलनको प्रत्यक्ष प्रभावसमेत नेपाली लोकबाजाका क्षेत्रमा देखापर्दो छ ।
हाम्रा नेपाली लोकबाजा हाम्रै नेपाली मौलिक लोकसंस्कृतिको महत्त्वपूर्ण उपकरणका रूपमा रहेका सङ्गीतका अभिन्न अङ्ग हुन् । नेपाली लोकबाजा नेपाली लोकजीवनका धुकधुकी हुन् । ‘सङ्गीत रत्नकोश’ मा लेखिएको छ, “गीतं, वाद्यं तथा नृत्यं त्रयं सङ्गीतमुच्यते” अर्थात् गीत, वाद्य र नृत्यको सामूहिक नाम नै सङ्गीत हो । सङ्गीतमा प्राण भर्ने काम वाद्यले गरेको हुन्छ । नेपाली लोकबाजामा विश्वसङ्गीतलाई मार्गदर्शन गर्न सक्ने शक्ति छ भन्दा अत्युक्ति नहोला । नेपाली लोकबाजामा नेपाली जीवनको पिर र व्यथा बोलेको हुन्छ, आँसु रसाएको हुन्छ र हाँसो पनि मुस्कुराएको हुन्छ । नेपाली लोकबाजाका क्षेत्रमा गहन अनुधान गर्नेहरू पनि छन् । लोकबाजामा हामी गौरवशाली पुर्खालाई देख्न र उनीहरूका आवाज सुन्न सक्छौँ । हुन पनि हो, बाजा एक्लो हुँदैन र एक्लै बज्दैन । ऊसँग ताल, बोल, स्वर, राग, गीत तथा नाच साथीका रूपमा रहेका हुन्छन् । यी सबै मिलेर हाम्रो गौरवमय लोकसंस्कृति जन्मन्छ । यस्तै यस्तै लोकसंस्कृति र लोकभाकाले नेपाली लोकजीवनका आँखामा बगेका आँसु पुछेका छन् । यिनै लोकभाकाले नेपाली वीरताको गाथा गाएका छन् । नेपाली लोकहृदयका कहिल्यै पनि नपुरिने दुःख, पीडा र व्यथाका घाउको सहज उपचार गरिदिएका छन् । जब नेपाली लोकजीवनमा सन्तान वृद्धिको खुसियाली छाउँछ, त्यति वेला छैटीमा नवजात शिशुको दीर्घायुका लागि खैजडी र मजुरा बज्छन् । विवाहको अवसरमा बज्ने नौमती या पञ्चेबाजाले पैदा गर्ने रौनकको त बयान गरी के नै साध्य छ र ? देवदेवीका थानमा बज्ने मङ्गल धुन र विभिन्न उत्सव र पर्वहरूमा बज्ने बाजागाजाले नेपाली लोकको सङ्घर्षशील जीवनलाई पनि निकै मनोरञ्जन र आनन्द प्रदान गरेका छन् । नेपाली समाजमा कुनै पनि धार्मिक अनुष्ठान र सामाजिक संस्कार साङ्गीतिक अनुष्ठानबिना सम्पन्न हुँदैनन् भने हरेक यस्ता साङ्गीतिक अनुष्ठान नेपाली लोकबाजाबिना अधुरा नै रहन्छन् ।
आयातित बाजाबाट नेपालका मौलिक र रैथाने लोकबाजा लखेटिने स्थिति आउनुहुँदैन । हिजोआज हाम्रा लोकबाजाप्रति नयाँ पुस्ताको चासो घट्न थालेको हो कि भन्ने आभास हुन थालेको छ । सारङ्गी, मादल, मुर्चुङ्गा, विनायो, ट्याम्को, सनाही, झ्याम्टा आदि हाम्रा लोकबाजा हुन् तर नेपालीहरू हार्मोनियम, गितार, किबोर्ड, तबला र बिंजुको धुनमा समेत रमाउन थालेका छन् । दिन प्रतिदिन देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुँदै जानु चिन्ताको विषय हो । लोकबाजा लोकको सम्पत्ति हो । त्यसैले यसको संरक्षणमा सरकार र समाज दुबै जिम्मेवार हुनुपर्छ । नेपालमा लोकबाजाको संरक्षणका लागि लोकबाजा सङ्ग्रहालय नामक संस्था छ । व्यक्तिगत रूपमा कतिपय व्यक्ति आज यसको संरक्षणका लागि दिलोज्यानले समर्पित पनि छन् । सुशील गन्धर्वलगायतले यसको संरक्षणको अभियानमा देखाएको अग्रसरता प्रशंसायोग्य छ ।
हाम्रा नेपाली लोकबाजामा मान्छेलाई लठ्याउने शक्ति र कलाको अनन्त जादु भएकैले यिनको ठुलो महत्त्व छ । नेपालका पञ्चेबाजाले शुभकार्यको सङ्केत दिन्छन्, त्यसैले त विवाह होस् वा अन्य कुनै शुभकार्य पञ्चेबाजालाई अगि लगाइन्छ । ती बाजा घन्किन थालेपछि सारा अशुभ सङ्केत कुलेलम ठोक्छन् भन्ने विश्वास गरिन्छ । मलामी जाँदा बजाउने एकोहोरो शङ्खमा भूतप्रेत भगाउन सक्ने शक्ति हुन्छ भन्ने परम्परित विश्वास एकातिर छ भने अर्कातिर शङ्ख फुक्दा फोक्सोको व्यायाम हुन्छ भन्ने पनि मानिन्छ । त्यसो त हरेक बाजा बजाउँदा शारीरिक एवम् मानसिक स्वास्थ्यमा समेत अनुकूल प्रभाव पर्छ । मुरली वा बाँसुरी बजाएरै पौराणिक कालडेखि कृष्णले मच्चाएको प्रेमलीलाको किंवदन्तीले मुरलीमा रहेको शक्तिलाई द्योतन गरेकै छ । युद्धको घोषणा गर्ने ‘नगरा’ र सामाजिक भेलाको निम्ति सूचित गर्ने ‘पुङ’ जस्ता बाजाहरूभित्र लुकेको शक्ति विचित्रको छ । हिजोआज त कतिपयले बाजा बजाउनुलाई व्यवसाय र पेसाकै रूपमा विकसित गरी आयआर्जनसमेत गरिरहेको पाइन्छ । यसरी बाजाबाट निस्कने धुनले व्यक्तिमा परिवेश अनुकूलको भाव पैदा गर्ने, शुभाशुभ सङ्केत गर्ने र व्यक्तिको शारीरिक एवम् मानसिक स्वास्थ्यसमेत स्वस्थ राख्न मदत पुर्याउने हुँदा यसको महत्त्व छ ।
नेपालका विभिन्न जातिका अनेक चाडपर्व, विवाह, धार्मिक कार्य आदिमा गाउँसहर जताततै नेपाली लोकबाजा बज्नुपर्छ । आधुनिकताका नाममा पप, ऱ्याप, डिस्को होइन नेपाली लोकगीत तथा लोक सङ्गीतका तालमा नेपाली बाजा नै घन्किनुपर्छ । आधुनिकतालाई अँगाल्नु समयको माग होला तर यसैमा डुबेर आफ्नो मौलिकतालाई भुल्नु कदापि राम्रो होइन । आफ्नो संस्कृतिका यी अमूल्य लोकबाजाको प्रयोग र संरक्षणप्रति राज्य र नागरिकसमेत जागरुक हुनु जरुरी छ । संस्कृति भनेको हरेक राष्ट्रको आत्मा हो र मौलिकताको पर्याय हो । मौलिकता भाषा र रहनसहनले मात्र होइन, त्यहाँको बहुसांस्कृतिक सुवास र त्यसमा अटाउने गीत एवम् सङ्गीतले पनि बोक्छ । हाम्रा मौलिक बाजा सङ्कटमा पर्दा हाम्रो पहिचानसमेत सङ्कटमा पर्ने हुँदा यसको संरक्षण र संवर्धनका लागि सम्पूर्ण मुलुक एक ढिक्का हुनु आवश्यक छ । नेपाल लोकबाजाका दृष्टिले समेत वैभवशाली छ । यो वैभवलाई बचाए मात्र हामी आफ्नै संस्कृति, परम्परा र कलालाई अझै समृद्ध तुल्याएका छौँ । राष्ट्रकवि माधव घिमिरेको गीति कविताका माथिका हृदयस्पर्शी हरफमा भ्याली र मादलले समग्र लोकबाजाको प्रतिनिधित्व गर्दै यी रहे भने मात्र नेपाल रहन्छ भन्ने मार्मिक भाव व्यक्त छ । अतः राष्ट्रको अस्तित्व बचाउन मुलुकको मौलिक लोकबाजाको संरक्षण जरुरी छ ।
शब्दार्थ
-
अनुपम: उपमा दिन नसकिने, अतुलनीय
-
मेलापात: खेतबारीमा धेरै जना मिलेर गरिने कामकाज
-
वादित्र: बाजा
-
नगरा: गजाले बजाइने एक तालबाजा, ठुलो दमाहा
-
अल्पसङ्ख्यक: कम सङ्ख्या भएको
-
अमूल्य: मोल गर्न नसकिने, बहुमूल्य
-
जगेर्ना: जोगाएर राख्ने, सुरक्षा
-
अत्युक्ति: बढाइचढाइ गरिने वर्णन, अतिशयोक्ति
-
गहन: गहिरो, गम्भीर
-
अनुष्ठान: धार्मिक कार्य, विधिमुताबिक गरिने पूजा पाठ वा आराधना
-
आभास: कुनै कुरा हो कि जस्तो लाग्नु, झल्को
-
व्यायाम: शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन नियमित रूपमा गरिने श्रम वा कसरत
-
द्योतन: सङ्केत गर्ने, सूचना दिने काम
-
अस्तित्व: कुनै वस्तु हुनाको भाव वा अवस्था
