समय पीडा कथा पाठ पढ्नुहोस् ।
पाठ ११: समय पीडा
– पद्मावती सिंह
बिहान उठेर केही समय हिँड्ने रामनाथको दिनचर्या नै थियो । पाँच वर्षदेखि लगातार उनी पाँच बजे ओछ्यान छोड्छन् । बेलुका नौ बजेको समाचार सुनेपछि सरासर उनी बिछ्यौनामा ढल्छन्, एकैछिनमा मस्त निदाउँछन् तर आनन्दीलाई त दिनभर दुनियाँभरको कामले व्यस्त बनाइरहन्छ । त्यसो त घरमा जोईपोइबाहेक कोही छैनन् । दुवै छोरा विदेशमै छन् । चुप लागेर बस्न नसक्ने स्वभावले गर्दा उनी बिहान उठेदेखि नसुतुन्जेल कुनै न कुनै काममा अल्झिरहन्छिन् । बिहान उठेपछि घरको सफासुग्घर गर्नु, पूजापाठ गरी खाना तयार पार्नु, रामनाथ अफिस गएपछि केहीबेर बगैंचामा टहल्दै फूल स्याहार्नु, भान्सा उठेपछि कोठा तह लगाउने यावत् काम गर्दै रातको दश बजुन्जेल उनी काममै व्यस्त रहन्छिन् । राति रामनाथ सुतेपछि घरधन्दा सकी पत्रपत्रिका पढ्नु, बिदेसिएका छोराहरूसित कुरा गर्नु अथवा पुराना एल्बम खोलेर छोराहरूको तस्बिर हेरी आँखा भिजाउनु उनको दैनिकीभित्र पर्ने कुरा हुन् । यति गर्दागर्दै रातको एघार बज्छ त्यसपछि उनी ओछ्यानमा ढल्छिन् ।
बिछ्यौनामा ढले पनि धेरैबेरसम्म उनी निदाउन सक्तिनन् । उनी छोराहरूकै चिन्तामा डुबिरहन्छिन् । छोराहरू विदेशमा सात समुद्रपार छन् । उनीहरू नोकरी, घरगृहस्थी धानी विदेशमा कति सङ्घर्ष गर्दै होलान् ! विशेष गरी पढ्दै गरेको सानो छोराको विशेष चिन्ता लाग्छ आनन्दीलाई । पढ्नु, नोकरी गर्नु अनि पकाइतुल्याइ गर्नु, घरमा गाग्रोबाट पानीसमेत नसारेर खानेले घरको सबै काम गरी कसरी जीवन धानेका होलान् ! सम्झी सम्झी उनको आँखाका परेली भिज्छन् । घरमा सबै सुखसयल भए पनि विदेशमै बस्ने, जति नै दुःख झेल्न परे पनि उतै बस्न रमाउने युवा पिँढीको मनस्थितिका अगाडि रामनाथ र आनन्दीले घुँडा नटेकी सुखै पाएनन् तर दुबै छोरा बिदेसिए पनि एउटी छोरी स्वदेशमै छिन् । ती दोका लागि सन्तोषको कुरा यही एउटा छ ।
छोराहरू बिदेसिएपछि घर शून्य त हुने नै भयो । त्यसमाथि घरको सबै काम आफैंले गर्नुपर्ने र सारा सामाजिक व्यवहार आफैले धान्नुपर्दा आनन्दी कहिलेकाहीँ दिक्क हुन्छिन् । सधैं अफिसमै व्यस्त, हृदयरोगी हुनाले रामनाथलाई घरायसी कुनै चिन्ता दिन उनी चाहँदिनन् । घरको सारा बोझ आफ्नो थाप्लामा बोकी, छोराछोरीको चिन्तामा पिल्सिएर कहिलेकाहीँ त उनी छटपटाउँछिन् । आधुनिक जीवनशैली यस्तै हुँदो रहेछ, जसरी भए पनि समयको पदचापलाई पछ्याउनैपर्ने रहेछ भनी आफ्नो मन आफैँ बुझाउँछिन् ।
ठुलो छोरा परिवारसहित अस्ट्रेलियातर्फ काम र मामको खोजीमा बिदेसिएपछि सानो छोरालाई आफ्नै साथ राख्न उनीहरूले नचाहेका होइनन् तर दिनरातको अमेरिका गई पढ्ने सुगारटाइबाट विवश भई कान्छालाई अमेरिका पढ्न पठाउन उनीहरू सहमत भएका थिए । दुई आँखाका नानी जस्ता दुबै छोरा आफ्ना आँखाबाट ओझेल भएपछि ६० पार गरिसकेका दुबै दम्पती मणि हराएका सर्प जस्तै भएका छन् । रामनाथ जत्तिकै पिरोलिए पनि श्रीमतीका अगाडि आफ्नो पिर पोख्दैनथे । आनन्दी पनि रामनाथको अगाडि कहिल्यै आँखा भिजाउँदिनथिइन् । दुबैले आआफ्ना पिर आपसमा लुकाउँथे । त्यसो त दुबैले फोन गरी आमाबुबासित कुराकानी गरिरहन्छन् तर टाढा फोनबाट मात्रै सम्पर्क गरी आमाको ममताको फूल फक्रिन कहाँ पाउँछ र ? उनी त सधैं दुबैलाई आफ्नो आँखा अगाडि देख्न चाहन्छिन् । कहिलेकाहीँ छोराहरूलाई मन पर्ने परिकार भान्सामा पाक्दा आनन्दीको आँखा रुभछ । चाडबाडमा उनीहरूलाई सम्झी उनको मुखबाट गाँसै छिर्दैन ।
“आज माघेसङ्क्रान्ति, उनीहरूले माने कि मानेनन् ? घिउचाकु तताएर भातमा भवाइँ गरेर खान कान्छालाई खुबै मन गर्छ, खाए होलान् र त्यसरी ?”
“बुढाबुढी भइसकेका आमाबुबा छोडी विदेशमा गएका छोराहरूको केको चिन्ता गर्नु ? घिउचाकु खाँदा हुन्छ र ? पिजा, बर्गर खाएर रमाइरहेका होलान् नि । बिनसित्ति उनीहरूको के चिन्ता गर्छ्यौ ?” रामनाथले झर्किएर आफ्नो मनको पीडा पोखे ।
रामनाथ झर्किनु पनि जायजै हो । रामनाथको आफ्नै व्यापारव्यवसाय छ । त्यही व्यापार धाने पनि छोराहरूलाई मनग्य पुग्छ । काम र मामको खोजीमा विदेशमा भौंतारिनु ठुलो छोरालाई पर्दैनथ्यो तर समयको हावाले गर्दा स्वदेशको सुखभन्दा विदेशको सङ्घर्ष नै ती दुई छोराले आफ्नो लक्ष्य बनाएपछि कसको के लाग्छ र ! सानो छोरा त पढाइका लागि गए तर ठुलो छोराले त बुबाको व्यवसायलाई अँगाल्नुपर्ने होइन र …? कपडाको ठुलै व्यापार छ, त्यसलाई नै फुलाउनु पर्ने होइन र ? विदेशमा अर्काको नोकरी दिन र रात एक गरी गरिरहेका छन् । दोस्रो नागरिकको पीडा सहेर बाँचिरहेका छन् । यो कस्तो रहर हो ? रामनाथले बुझ्न सकिरहेका छैनन् । रामनाथ त्यसैले छोराहरूको कुरै गर्न चाहँदैनन् । आफ्नो व्यवसायमा दुबैले ध्यान दिएका भए आज उनले कामदार राख्नै पर्दैनथ्यो । आफूले नभ्याएका कारण कारोबार हेर्न म्यानेजर राखेका छन् । अरू कामदार त कति छन् कति ।
एउटी छोरी स्वदेशमै नभएकी होइनन् … तर बिहे गरी पठाइसकेको र पत्रकारिता पेसा अँगालेकी हुँदा उनलाई एकछिन फुर्सद छैन । त्यसमाथि साना दुई केटाकेटी छन्, घर हेर्नु, बच्चाको स्याहार गर्नु र जागिर धाउनुमा नै उनी व्यस्त रहन्छिन् । कहिलेकाहीँ मात्र माइतमा गोडा टेक्न आउँछिन् । आजकालको व्यस्त जीवनमा कसलाई फुर्सद छ र ! बुढाबुढी भएका आमाबुबासित बसी कुराकानी गर्नलाई … । आनन्दी आफ्नो मन आफैँ बुझाउँछिन् ।
“हेर्नुस् मा । मलाई त बिहान उठेदेखि बेलुकी आधारात नहुन्जेल फुर्सदै हुन्न । छोराछोरी सुतेपछि लेख्छु । कहिलेकाहीँ त कम्प्युटरको अगाडि बस्दा बस्दा कुखुरा बास्छ । घरधन्दा गर्न बिहानै नउठी सुखै पाइँदैन । छोराछोरीलाई विद्यालय पठाऊ अनि आफू अफिसतिर कुद, कहिले फुर्सद पाउनु र भेट्न आउनु ?” कहिलेकाहीँ फोनमै हालचाल सोधी छोरी गनगनाउँछिन् । हुन पनि आजकाल सबै व्यस्त छन् । व्यस्त भएको त राम्रै हो। महिला पनि घरायसी कामका अतिरिक्त बाहिरी काममा व्यस्त हुनु त समयको माग हो तापनि आफ्ना वृद्ध आमाबुबालाई समय दिनै नसक्ने व्यस्तताप्रति भने आनन्दीलाई दिक्क लागेर आउँछ । प्रायः रामनाथ सुतेपछि आनन्दीले छोराहरूसित सम्पर्क गर्थिन् । राति नै छोरीले पनि उनीसित सम्पर्क राख्छिन् । दिनभरि त सबै आआफ्नै जीवन धान्न कुदिरहेका हुन्छन् । उनलाई फुर्सद हुने पनि राति नै हो। उनी मात्रै दिनभर त्यसै बसेकी हुन्छिन् । घरको काम पनि प्रशस्तै हुन्छ । घरको व्यवस्थापन पनि कम झन्झटिलो र समय खाने हुँदैन र …? छोराछोरीसित कुराकानी गरेपछि मन केही हल्का भए पनि ओछ्यानमा ढल्किएपछि आनन्दीलाई निद्रा पर्दैन । उनी छोराछोरीले गरेका कुरालाई मनमा खेलाई चिन्तित भइरहन्थिन् । उनी अरूले पस्केका समस्यामा पिरोलिरहन्छिन् । मनमा अनेक चिन्ताको जालो बुन्दै कतिखेर निदाउँछिन् उनले पत्तै पाउँदिनन् ।
एकाबिहानै फोनको घन्टी बज्नाले रामनाथ र आनन्दीको निद्रा खुल्यो । दुबैको मुटुको धड्कन तेज भयो । असमयमा फोन आउँदा मुटुको धड्कन तेज हुनु र हुनसम्म हडबडाउनु आनन्दीको पुरानै रोग भने पनि हुन्छ । छोराछोरी साथमा हुँदा त कुसमयमा फोनको घन्टी बज्दा उनी झसङ्ग हुन्थिन् र फोन नै उठाउन डराउँछिन् । अहिले छोराहरू बिदेसिएपछि त कुसमयमा फोनको घन्टी बज्यो कि उनी थरथर काम्छिन् । उनको यो रोग झनै बढ्यो । रामनाथले फोन उठाए । फोन अस्ट्रेलियाबाट आएको रहेछ ।
“किन यति सबेरै फोन गरेको ? सबै हालचाल त ठिकै छ होइन ?” रामनाथले चिन्तित हुँदै सोधे ।
“सब ठिक छ बुबा … एकपल्ट आमालाई दिनोस् न ।”
“छोरा सन्चै छौ ?” आनन्दीले मुटु ढुकढुक पार्दै सोधिन् ।
“हामी सन्चै छौँ तर सानुलाई सन्चो नभई अस्पताल भर्ना गरेका छौँ । उसलाई निमोनिया भएको छ । एकपल्ट उसको नाउँमा कुलदेवतालाई बत्ती बालिदिनोस् न ।” ठुलो छोराको कुरा सुनी आनन्दी हुनसम्म पिरोलिइन् । उनले उत्तिखेरी नुहाइधुवाइ गरी चोखो लुगा लगाएर कुलदेवताको पूजा गरी नातिनीको सुस्वास्थ्यको कामना गरी दीप प्रज्वलित गरिन् । पूजाकोठाको सबै देवीदेवताको सामु प्रार्थना गरिन् । शङ्कटा, महाङ्काल र भद्रकालीमा गई पूजा गरिन् ।
दिनभरि आनन्दीलाई केही काम गर्न मन लागेन । घरी घरी उनको दृष्टि कोठामा झुन्ड्याइएको छोराबुहारी र नातिनातिनीको तस्बिरमा गई अल्झिरह्यो । उकुसमुकुसमै उनले दिन बिताइन् । साँझ रामनाथ आउनासाथ उनलाई बरन्डामा झोक्रिएर बसिरहेको देखी रामनाथले भने, “भर्खरै ठुलोबाबुको फोन आएको थियो अफिसमा । नातिनीलाई अलि सन्चो भएको छ रे । अस्ट्रेलिया जस्तो विकसित देशमा राम्रो औषधोपचार भइहाल्छ नि, बिनासित्ती कति चिन्ता गर्छ्यौ ?” रामनाथले पत्नीलाई चिन्ताबाट मुक्त गर्नका लागि उनको पिठिउँ थपथपाए ।
“ए हो र ?” आनन्दीको चिन्ताको बादल मडारिरहेको मनाकाशमा झुलुक्क घाम भुल्कियो ।
“जाऊ, तातोतातो चिया बनाएर ल्याऊ । आज दुबै साथै चिया पिऔं ।” रामनाथले पत्नीलाई अह्राए ।
आनन्दी पिर र चिन्ताले दिनभरि केही खाएकी थिइनन् । उनले साँझ परेपछि मात्र पतिको साथ चिया पिइन् । चिया पिएपछि आनन्दीले अस्ट्रेलियामा छोराको मोबाइलमा सम्पर्क राखिन् ।
“सानुलाई अहिले कस्तो छ ?” उनले एकै सासमा सोधिन् । “अहिले निक्कै बेस छ । स्वास्थ्यमा निक्कै सुधार आएको छ । अब चिन्ता लिनुपर्दैन भनेर डाक्टरले भनेका छन् ।” छोराले निश्चिन्त हुँदै भनेको कुरा सुनेर बल्ल आनन्दीले सन्तोषको सास फेरिन् । कहिले नातिनीको मुख हेरूँ भइरहेको आनन्दीले रामनाथको सामु बिस्तारै आफ्नो मन फुकाइन् । “छोराले अस्ट्रेलिया बोलाएको बोलायै छ । जाऔं न एकपल्ट उनीहरूलाई भेटेर आऔं । नातिनी एक वर्ष हुँदा काठमाडौँ छोडेका अहिले त सानु पाँच वर्ष पुगिसकी कहिले देखूँ झै भएको छ ।”
“हुन्छ जाऔंला ।” रामनाथले पत्नीको मन राख्न भने। केही दिनपछि सानो छोराले अमेरिकाबाट फोन गरे । “आमा, मैले परीक्षा उत्तीर्ण गरें। अब तपाईंहरूले मलाई खर्च पठाउनुपर्दैन । यतै केही वर्ष काम गरी बस्ने मनसाय बनाएको छु ।” छोराको आवाज सुन्न पाई आनन्दी हुनसम्म आनन्दित भइन् । “किन र बाबु पढाइ सकेपछि काठमाडौँ फर्की यतै काम गर्छु भनेको होइन ? फेरि तेरो बिहे पनि गर्नुपर्छ नि … “
“केही वर्ष त काम गरी अनुभव बटुल्नुपर्यो नि …। बिहेसिहेको कुरा छोड्नुस् । मैले त यतै केटी मन पराइसकेको छु । मेरो बिहेको चिन्ता छोड्नुहोस्, मिल्छ भने यतै बिहेका लागि आउनुहोला ।” यति भनी सानो बाबुले फोनको सम्पर्क बिच्छेद गरेपछि आनन्दी आकाशबाट झरेसरी भइन् । पढ्न जाँदा सानो छोराले पढाइ सकेपछि काठमाडौँ फर्की यतै काम गर्ने र यतै आई बिहे गर्ने बाचा गरी गएका थिए । उनले त आफूलाई उतै अमेरिकामा बस्ने मेसो गरिसकेछन् । सानो छोराको कुरा सुनी आनन्दी हुनसम्म दुःखी भइन् । फोन हातैमा लिएर उनी किंकर्तव्यविमूढ भई टोलाइरहिन् । रामनाथ साँझ घर फर्केपछि रुदै उनले सानो छोराले भनेको कुरा सुनाइन् ।
एकछिन त रामनाथ आनन्दीको कुरा सुनी हतप्रभ भए । उनकी अनुहारमा पीडाका रेखा सलबलाए तर पछि धैर्यधारण गरी उनले रोइरहेकी आफ्नी पत्नीको आँसु पुछ्दै भने, “हेर आनन्दी … उनीहरू आफ्नो जिन्दगी बाँचिरहेका छन् भने हामी आफ्नो जिन्दगी बाँचिरहेका छौं । रातदिन छोराहरूको चिन्ता छोड । अब हामीले उनीहरूबिना बाँच्न सिक्नुपर्छ । विदेशको मोह र रमझमले उनीहरूलाई हामीबाट टाढा पुऱ्यायो । त्यहीको हावापानी र रमझममा उनीहरू रमिसके । न अब तिनीहरू फर्कन्छन्, न हामी यहाँबाट उम्किन सक्छौँ । व्यर्थै तिमी आफ्नो मुटु नजलाऊ, उनीहरूलाई हाम्रो पर्वाह र चिन्ता छैन भने हामी मात्र सधैं उनीहरूकै चिन्तामा किन जलिरहने ?”
“तपाईंको मुटु त ढुङ्गाको पो हो कि …?” आनन्दीले रुदै भनिन् ।
“तिमीसित आमाको हृदय छ भने मसित पनि बुबाको हृदय छ । तिमीले बिस्यौ ? तिनै छोराहरू बिरामी पर्दा हामीले रात रातभरि नसुती बोकेर डुलाएका थियौँ । तिनीहरू कहिलेकाहीं टाइममा घर नफर्के चिन्तित भई यताउति खोजी हिड्थ्यौँ । के दिन, के रात उनीहरूकै सुखसुविधा र शिक्षादीक्षाका लागि जिन्दगीभर हामीले दौडधुप गर्यौँ । तिमीले उनीहरूको स्याहारसुसारमा जिन्दगी खर्च गर्यौ भने मैले दिनरात कमाएर उनीहरूको हर सुविधाको ख्याल गरें। राम्रो खानपिन, राम्रो शिक्षादीक्षा र रहनसहनको बन्दोबस्त गरेँ तर उनीहरूले हाम्रा लागि के गरे ? एक पैसा खर्च नगराई ठुलेको बिहे गरिदिएँ र कारोबारमा लगाउन प्रयत्न गरें । एउटा बच्चा जन्मिनासाथ आफ्नो परिवार लिएर यत्रो कारोबारलाई लत्याएर अस्ट्रेलिया गयो । अर्को साने पनि जिद्दी गरी अमेरिकातर्फ पढाइको बहानाले हिँड्यो । पढाइ त एक बहाना हो। के यहाँ राम्रा क्याम्पस छैनन् ? आमाबुबालाई लत्याएर आफ्नो स्वार्थका लागि बिदेसिने छोराहरूप्रति केको माया अनि केको चिन्ता ? यत्रो घर, सम्पत्ति अनि कारोबारलाई लत्याएर काममामको खोजीमा उनीहरूलाई बिदेसिनुपर्छ र …? भन यसको जबाफ छ तिमीसित ? स्वतन्त्र जीवन बाँच्न र विदेशको रमझममा रङ्गिन होइन र ?”
रामनाथले यतिन्जेल मनभित्र गुम्सिएका तितो ओकले । आनन्दी रुन छोडी पतिको मुख हेरी टोलाइन् । पतिको कुरामा लुकेको सत्यतालाई उनले हृदयङ्गम गरिन् ।
सानो छोरा पनि नफर्किने सुरसार देखेपछि आनन्दीको मनमा सधैं चिन्ताको बादल मडारिन थाल्यो । सानो छोराको बिहे गरी नातिनातिना खेलाई सुखपूर्वक बाँकी जीवन बिताउने उनको सपना तुहिएकामा उनी हुनसम्म विचलित भइन् । उनलाई अब संसारै अँध्यारो भए जस्तै लाग्न थाल्यो । उनी आफूप्रति दिन प्रतिदिन लापरवाह गर्न थालिन् । रामनाथ मनमनै बिरक्तिएर आफ्नै काममा व्यस्त रहन थाले । आनन्दीका दिन तथा रातहरू बिरानोसित बित्न थाले । उनी चुपचाप आफ्नो जिन्दगीलाई घिसार्न थालिन् । कहिलेकाहीँ छोरी घाम झै झुल्किन आइपुग्थिन् तर अब उनको मन सांसारिक प्रपञ्चबाट तथा मोहबाट झन्झन् टाढा हुन थाल्यो । उनी आफ्नो पीडा कसैसित बाँड्न सक्दिनथिइन् । हृदयरोगी पति, अति व्यस्त छोरी दुबैसित उनले आफ्नो मन साट्न पाइनन् । एकाएक आनन्दी उठ्नै नसक्ने गरी बिरामी परिन् । रामनाथले अझसम्म पत्नीलाई कहिल्यै बिरामी देखेका थिएनन् । अहिले आएर पत्नीलाई उठ्नै नसक्ने गरी बिरामी भएको देखी उनलाई पर्नु पिर पर्यो । बुढेसकालमा आएर उनले पत्नीको स्याहारसुसार गर्नुपर्ने भयो । केही दिन त छोरीले आवतजावत गरी आमाको सक्दो हेर विचार गरिन् तर आफ्नो घरगृहस्थी र जागिरले गर्दा उनले त्यसो गर्न भ्याइनन् ।
अब पत्नीको रेखदेख र हेरविचारका लागि रामनाथले घरमा एक महिला सेविकालाई प्रशस्तै पैसा तथा सुविधा दिएर राखे तर आनन्दी दिन प्रतिदिन अस्वस्थ हुँदै गइन् । रामनाथको वर्तमान तथा भविष्य दुबै सङ्कटमा पर्यो । आफ्नो आशा तथा अभीप्सा दुबै अन्धकारको गहिराइभित्र डुब्दै गरेको प्रतीत भयो रामनाथलाई । दुबै बिदेसिएका छोरालाई आमाको बिरामीको खबर नपठाएका होइनन् रामनाथले तर एक जना बिदा नमिलेको बहाना र अर्को अध्ययनमा दखल पर्ने बहानाले आमालाई स्याहार्न आएनन् । बुहारीले आउने आशा त देखाइन् तर छोरीको स्वास्थ्य ठिक नभएका कारण देखाई उनी पनि घर फिरिनन् । आनन्दी मुखले केही बोल्दिनथिइन् तर छोरा, बुहारी तथा नातिनीको मुख हेर्न र उनीहरूको आगमनको उनलाई प्रतीक्षा भइरह्यो । पति नभएको वेला उनी एल्बम झिकी हेर्थिन् र छोराछोरीको बाल्यावस्थाको तस्बिरलाई चुम्बन गर्दै रुन्थिन् । मानौँ ती तस्बिर नभई छोराछोरी नै हुन् भने गरी काखमा राखी थपथपाइरहन्थिन् । एकपल्ट उडेर छोराछोरीको अनुहार हेरेर फर्किन पाए पनि हुन्थ्यो भनेर मनमनै कल्पेर आँखा रुझाइरहन्थिन् ।
त्यसो त छोराहरूले उनलाई दिनहुँ झै फोन गरीको हालचाल सोधिरहन्छन् र बिदा मिल्नासाथ घर आउने आश्वासन दिइरहन्छन् तर आमा तीन महिना ओछ्यान पर्दा पनि उनीहरूलाई घरमा आई बिरामी आमालाई हेर्ने अनुकूल मिलेन । रामनाथ, छोरी र घरकी सेविकाले जत्तिकै स्याहारसुसार र हेरविचार पुऱ्याए पनि छोराहरूको सामीप्यको अभावले उनको मुटु चिरा चिरा परि नै रहेको छ । आँखा प्रतीक्षामा भित्रि नै रहेका छन् ।
पत्नीको पीडाले विह्वल मनलाई सान्त्वना दिन रामनाथले भन्ने गर्छन्, “छोराछोरीहरू चराचुरुङ्गीका बचेरा जस्तै हुन् । चराचुरुङ्गीका बचेरा पखेटा लागेपछि उडेर बसाइँ सर्छन् । मान्छेका बच्चा पनि गोडा लागेपछि आमाबुबाको काख छोडी गाँस, बास, कपासका लागि यताउति बसाइँ सर्छन् र आमाबुबाबाट टाढा हुन्छन् । यो प्रकृतिको नियम नै हो। हाम्रा मात्र होइन, अहिले त घर घरमा यही स्थिति छ । सन्तान बिदेसिने क्रम बढ्दो छ । तसर्थ तिमीले मुटुमा घाउ नपार । म छदै छु नि तिम्रो साथमा । अन्त्यमा बुढाका लागि बुढी, बुढीका लागि बुढा, यही नै शाश्वत सत्य हो ।”
पतिको सान्त्वनायुक्त कुरा सुनेर आनन्दीले बादलले ढाकेको मनाकाशमा घामको झुल्का देखापर्छ । बुढा हृदयको रोगी भए पनि काममा खटेका छन्, आफू भने ओछ्यानबाट उठ्नै नसक्ने भएकी हुनाले आनन्दीलाई हुनसम्म दुःख लाग्छ । उनको मनभित्र पीडाको सागर उर्लन्छ ।
सधैं केही न केही गुनासो गरी कचकच गर्ने, आफूले भने जस्तो नभए क्रोधित हुने, कहिलेकाहीँ केही भनाभन भए खाँदै नखाई बाहिरिने पतिका दुर्गुण अहिले सद्गुणमा परिणत भएको देख्दा उनी अहिले मनमनै आनन्दित हुन्छिन् । समय र परिस्थितिले मानिसलाई कस्तो परिवर्तन गर्दो रहेछ । उनी मनमनै सोचिरहन्छिन् । जीवनको सन्ध्याकालमा आएर उनले बुझिन्, पतिपत्नीको माया जस्तो अमूल्य संसारमा केही रहेनछ भनी ।
यसरी मनमा अनेक तर्कना निम्त्याई चिन्ताको सागरमा डुबुल्की मारिरहेकी पत्नीलाई मायालु स्पर्श गर्दै रामनाथ भन्छन्, “आनन्दी, दिनरात व्यवसायमा डुब्नुपर्दा तिमीसित घुमफिर र रमाइलो गर्ने समय कहिल्यै निकाल्न सकिनँ । तिम्रो इच्छा तथा आकाङ्क्षाको कहिल्यै पर्वाह गरिनँ । अब मेरो चेतना खुल्यो, दिनरात खटेर यत्रो सम्पत्ति जोडें कसका लागि ? आखिर यी सब हामीले साथमा लिएर जाने होइन । जिन्दगीभर छोराछोरी भनियो, अब ती सबै स्वार्थी भए । आफ्ना खुसीका लागि तिनीहरूले हामीलाई त्यागिदिए । छोरी नै हाम्रो बुढेसकालको सहारा भइन् ।” यसो भन्दै बिरामी पत्नीको हात समाएर रामनाथ निःशब्द रुन थाले । पतिलाई यसरी असहाय झै रोएको देखी आनन्दी पनि भक्कानिएर रोइन् ।
त्यति नै वेला फोनको घन्टी बज्यो । सायद अस्ट्रेलिया वा अमेरिकाबाट आएको होला भनी रामनाथले फोन उठाउन जाँगर देखाएनन् । खाली फोनबाटै आमाको हालचाल सोधी औपचारिकता निर्वाह गर्ने छोराहरूप्रति रामनाथको मनमा वितृष्णा जागृत भएर आयो । फोन धेरैबेर चिच्याइरह्यो कानै खाने गरी । केहीबेरपछि थाकेर चुप लाग्यो ।
भक्कानिएर रोइरहेकी पत्नीलाई स्नेहपूर्वक अँगाल्दै रामनाथले भने, “आनन्दी जबसम्म तिम्रो साथमा म छु, तिमी कुनै धन्दा नमान । संसारको कुनै कुनामा लगेर भए पनि म तिमीलाई निको पार्छु । यो सम्पत्ति आखिर के कामका लागि ? तिमी साथमा भए सबै सम्पत्ति खर्चिन पनि पछि पर्दिनँ । मात्र तिमीले पुत्रमोह त्यागिदेऊ । उनीहरूको चिन्ता गरी मन दुखाउन छोडिदेऊ । चिन्ताले नै तिमीलाई चितातर्फ धकेलिरहेछ ।”
पतिको कुराबाट आश्वस्त भई आनन्दीले पतिको न्यानो अँगालोमा संसार भुलिन् । पतिको अनुहारमा मायालु दृष्टि फ्याँकी उनले आँखा चिम्लिन् र फेरि कहिल्यै ती आँखा खोलिनन् ।
शब्दार्थ
-
पदचाप: पैतालाको चिह्न, पाइला राख्दाको आघात
-
विवश: इच्छा नहुँदा नहुँदै वा विपरीतको काम गर्न बाध्य हुनु
-
मनग्य: प्रशस्त, मनले चिताएजति
-
हतप्रभ: मनमा प्रभा वा कान्ति हराएको अवस्था, पराजित मनस्थिति
-
हृदयङ्गम: हृदयमा राम्रोसँग बोध गर्नु, मर्मस्पर्श हुनु
-
अभीप्सा: प्रबल इच्छा वा तीव्र चाहना
-
दखल: निपुणता, कार्यकुशलता, विजय
-
आश्वासन: कसैबाट प्राप्त आडभरोसा, विश्वास
-
सामीप्य: निकटता वा नजिक हुनुको भाव
-
वितृष्णा: तृष्णा वा इच्छा नभएको अवस्था
