कार्यालयीय चिठी पाठ पढ्नुहोस् ।
पाठ १३: कार्यालयीय चिठी
प.स. च.न.
प्रदेश सरकार लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र रुपन्देही
मिति : ………………..
श्री पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
विषय : नेपाली विषयका विज्ञ उपलब्ध गराइदिनुहुन ।
प्रस्तुत विषयमा यस तालिम केन्द्रले माध्यमिक शिक्षा (कक्षा ९-१०) नेपाली भाषा विषयका शिक्षकका लागि शिक्षण विधि र प्रविधिसम्बन्धी तालिमको आयोजना गर्न लागेको छ। त्यस केन्द्रबाट नेपाली भाषा पाठ्यक्रममा समयानुकूल परिमार्जन गरी सोहीअनुरूप नयाँ पाठ्यपुस्तक विकास गर्ने कार्य भएको छ। परिवर्तित पाठ्यक्रमअनुरूप विकास गरिएका पाठ्यपुस्तक प्रयोगमा आइसकेका छन्। यसै सन्दर्भमा माध्यमिक शिक्षा (कक्षा ९-१०) पाठ्यक्रम, २०७८ अनुरूप परिमार्जन गरिएका नेपाली विषयको शिक्षणमा अपनाउनुपर्ने सिकाइ सहजीकरणका विभिन्न प्रक्रिया र शिक्षण विधिबारे छलफल र अन्तरक्रिया गरी सिकाइलाई प्रभावकारी बनाउने उद्देश्य यस तालिम केन्द्रले लिएको छ। परिवर्तित पाठ्यक्रममा बहुबौद्धिकता, समालोचनात्मक सोच, सहकार्यात्मक सिकाइ जस्ता क्रियाकलापमार्फत सिकाइ सहजीकरण गर्नुपर्ने उल्लेख छ। सिकाइ सहजीकरणका यी र अन्य नयाँ क्रियाकलापबारे शिक्षकलाई प्रयोगपरक अभ्यास गराउन सकियो भने शिक्षण सिकाइ प्रभावकारी हुने विश्वास गरी यो तालिम सञ्चालन गर्न लागिएको हो।
यसै सन्दर्भमा यस तालिम केन्द्रमा नेपाली विषयका विज्ञ नभएको हुँदा नयाँ पाठ्यक्रममा उल्लेख भएका विषयवस्तुको सिकाइ सहजीकरणका लागि नेपाली विषयका विज्ञको आवश्यकता परेकाले २०७८ चैत २० गतेदेखि २३ गतेसम्मका लागि त्यस केन्द्रबाट नेपाली विषयका दुई जना विज्ञ उपलब्ध गराइदिनुहुन अनुरोध छ।
प्रमुख शिक्षा तालिम केन्द्र, रुपन्देही
शब्दार्थ (पाठको पुच्छरमा जम्मा पारिएको)
-
प्रविधि: कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति
-
परिमार्जन: लेखरचनामा रहेका दोष हटाई राम्रो बनाउने काम
-
सिकाइ सहजीकरण: सिकाइ प्रक्रियालाई सहज बनाउने काम
-
समालोचना: कुनै विषयवस्तुको राम्रा नराम्रा पक्षको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने काम
-
सहकार्यात्मक सिकाइ: सिकाइ सहजीकरणमा विद्यार्थीले सँगसँगै छलफल गरेर सिक्ने कार्य
