भविष्य निर्माण कथा पाठ पढ्नुहोस् ।
पाठ १६: भविष्य निर्माण
**- देवकुमारी थापा**
दार्जिलिङको तुङसुङ बस्तीमा एउटा सानो चिटिक्क परेको घर छ । त्यस घरको अगिल्तिर सुग्घर आँगनका दुबैपट्टि साना साना फूलबारी छन् । घर काठको एकतले छ । घरको छानाको रङ रातो छ । त्यसको भित्ता हरियो रङले पोतेको छ । सङ्घारका दुवैपट्टि गमलामा चमेलियाका बोट छन् । गमला रातो माटाले लिपेको छ । ढोका र भ्यालमा हरियो रङको पर्दा छ । तुङसुङ बस्तीतिर जाने मानिस त्यस घरतर्फ आकर्षित हुन्छन् ।
पार्वती हुन् त्यस घरकी गृहलक्ष्मी । तिनी शिक्षित र गुणवती थिइन् । साह्रै सुन्दरी नभए पनि तिनमा स्त्रीसुलभ सौन्दर्य अवश्य थियो । यसैले कप्तान कृष्णबहादुर सुखी छन् । दोस्रो महायुद्धमा तिनी लप्टन भएका थिए । पछि कप्तान भए । युद्ध थामियो, तिनी पल्टनबाट फर्केपछि आफ्नै सानोतिनो व्यापार गरेर अहिले जीवन बिताइरहेका छन् ।
तिनको पाँच वर्षको एउटा छोरो छ, नरेश । पार्वती योग्य गृहिणी भएकी हुनाले छोराको पालनपोषणमा विशेष ध्यान दिन्थिन् । छोरालाई यस देशको एक जना श्रेष्ठ व्यक्ति बनाउने तिनको एकान्त स्वप्न थियो तर यो स्वप्न तिनले पतिसम्मलाई पनि भनेकी थिइनन् । तिनको स्वभाव नै भावुक थियो ।
एक आइतवार तिनी एउटा दैनिक अखबार पढ्दै थिइन् । धेरै दिनदेखि तिनको हृदय भारी थियो, दाम्पत्यभारले । कोरियाको युद्ध, तिब्बतमा भएको आक्रमण, Nepalको जनक्रान्ति, रुस र अमेरिकाको मतभेद, विश्वमा कतै शान्ति छैन । यो विश्वयुद्धले घर घर अशान्तिको आगो सल्काइसक्यो । केटाकेटी युद्धकै खेल खेल्छन् । खेलमा कोही कप्तान हुने, कोही कर्णेल हुने अभिनय गर्छन् । यस्तो विश्वको अशान्त वातावरणमा छोरो कसरी बढ्ला ? तिनी यस्तै कुरा गमिरहन्थिन् । आफ्ना पतिसँग पनि तिनी यस्तो विषय लिएर कुरा गर्थिन् । दुबै पतिपत्नी छोरालाई यस्तै सम्पर्कदेखि अलग्ग राख्ने कोसिस गर्थे । सुत्ने कोठामा उनीहरूले बुद्धवाणी, गान्धीवाणी जस्ता धेरै शान्तिका सन्देश नेपालीमा लेखेर टाँगेका थिए । नरेशलाई युद्धवीर होइन, शान्तिवीर बनाउने उनीहरूको स्वप्न थियो ।
यो आइतवार पनि अखबारमा तिनले कोरियाका युद्धसम्बन्धी खबर पढिन् । कृष्णबहादुर घरभित्र आराम गरिरहेका थिए । नरेश तिनीसँग खेलिरहेको थियो । हठात् उसको दृष्टि आफ्ना बुबाको पाखुराको लामो दागमा पर्यो र सोध्यो, “बा, यहाँ के भयो ?” कृष्णबहादुरले भने “लडाइँमा गोली लागेको बाबु ।”
नरेश, “कसले गोली हानेको थियो बुबा ?”
कृष्ण, “जर्मनहरूले ।”
नरेश, “गोली लाग्दा तपाईंलाई दुखेन ?”
कृष्ण, “दुखेर के गर्नु ? लडाइँमा यस्तै हुन्छ, बाबु । शत्रुलाई मार्नै पर्छ ।”
नरेशले फेरि हठात् प्रश्न गर्यो “बुबा, तपाईंले पनि मानिस मार्नुभयो ?” छोराको यस प्रश्नले तिनी एकछिन गम्भीर भए र भने, “हो, धेरै जर्मनलाई मारेर त म कप्तान भएँ ।” यति मात्र भनेका थिए, तिनी आफै झसङ्ग भएर छोराको अनुहारमा पुलुक्क हेरे । नरेशको निर्दोष अनुहारमा जिज्ञासा र द्विविधा झल्किरहेको थियो । तिनलाई आफ्नो भुल थाहा भयो । अब पार्वतीले के भन्लिन् भन्ने तिनका मनमा पर्यो । कुरा सम्हाल्नु व्यर्थ थियो किनभने नरेश बाहिर गइसकेको थियो ।
पतिपत्नी बिचका कुरा भइरहेको थियो, नरेश एउटा लामो काठ बोकेर अजिब चालले कोठामा प्रवेश गर्यो । दुबैले हेरिरहेका थिए । नरेशले काठ देखाएर भन्यो, “बुबा, हेर्नोस् त बन्दुक, यसैले म ठुलो भएर पछि जर्मनहरूलाई मार्छु ।”
पार्वतीले पतितिर जिज्ञासु दृष्टिले हेरिन् । दुबैका आँखा जुधे । कृष्णबहादुरको अनुहारको रङ उडिसकेको थियो । पार्वतीले केही भनिनन्, केवल टोलिँदै छोरालाई हप्काइन् । एउटा उड्दै आएको पुतलीतिर देखाएर छोरालाई टोलाइन्, “उः ! हेर कस्ती राम्री पुतली ।” नरेश पुतलीका पछि पछि दगुर्यो ।
राति सुत्ने वेलामा नरेशले फेरि आमासित सोध्यो, “आमा, जर्मनहरू साहै खराब, हुन्छन् रे हो ?”
पार्वतीले भनिन्, “होइन बाबु, सबै जर्मनहरू खराब हुँदैनन्, तिनीहरू बडा ज्ञानी पनि हुन्छन् । रोगीलाई निको पार्ने अनेकौँ औषधी उनीहरू नै बनाउँछन् । कलकाँटाको काममा पनि उनीहरू सिपालु हुन्छन् ।”
नरेश, “उसो भए बुबालाई किन गोली हाने तो ?”
पार्वती, “उनीहरूले हानेनन् । अरू दुष्टहरूले हानेका थिए ।”
नरेश, “दुष्टहरू को हुन् आमा ?”
पार्वती, “जो अरूलाई दुःख दिन्छ, आफू मात्र खान्छ, ठुलाको अर्ती मान्दैन, त्यो नै दुष्ट हो ।” यस कुराले नरेशको मनमा गहिरो प्रभाव पर्यो । आमालाई हेरेर उसले सोध्यो, “आमा, म खराब छु कि राम्रो छु ?”
छोराको प्रश्नले पार्वती मनमनै हाँसिन् र भनिन्, “तिमी राम्रा छौ, सबैभन्दा राम्रा छौ, बाबु ।”
त्यो रात पार्वती निकै बेरसम्म छटपटाइरहिन् । कृष्णबहादुर पनि आफ्नो बेसुद्धीमा खिन्न थिए । भोलिपल्ट पनि नरेशले आमा चाहिँलाई जर्मनहरूकै कुरा सोध्यो । पार्वतीले त्यस अबोध बालकको मनदेखि प्रतिहिंसाको भाव हटाउने नै चेष्टा गरिरहिन् ।
त्यही रात भान्सा सकेर पार्वती छोरालाई सुताउने कोसिस गर्दै थिइन् । नरेशले आफ्ना साना साना बाहुले आमाको गाला छोपेर लाडे स्वरमा भन्यो, “आमा, आजदेखि मैले बन्दुक फालिदिएँ है । पछि म ठुलो भएर जर्मनी जान्छु, जर्मनहरूलाई साथी बनाउँछु र म पनि उनीहरूले जस्तै रोगीलाई निको पार्ने औषधी बनाउँछु ।” छोराको कुरा सुनेर पार्वतीको कण्ठ भरिएर आयो । तिनले “हुन्छ बाबु” सम्म भन्न सकिनन् । तिनको गला रुद्ध थियो, आँखामा हर्षाश्रु थियो । छोराको भविष्य आज तिनले निर्माण गर्न सकिन् । छोरो निदाइसकेर मिठो स्वप्नमा खेलिरहँदा पनि आमा चाहिँ छोराको भविष्य निर्माणमा झुलिरहेकी थिइन् ।
# शब्दार्थ
सङ्घार: ढोकाको ठेलो
श्रेष्ठ: असल, उत्तम
भावुक: कोमल भाव भएको, भावनामा डुबेको
मतभेद: मत वा विचारमा भिन्नता
हठात्: अचानक, एक्कासि
दाग: घाउ निको भएपछि रहेको टाटो, खत
निर्दोष: कुनै दोष नभएको
अजिब: अनौठो, आश्चर्य लाग्दो
दुष्ट: अर्कालाई दुःख दिने
बेसुद्धी: सचेत नभएको
चेष्टा: कोसिस, प्रयत्न
हर्षाश्रु: हर्ष वा खुसीको आँसु
