‘स्वाद’ कथाको समीक्षात्मक टिप्पणी
प्रश्न: जीवनको दैनिक आवश्यकतासम्म पूरा गर्न धौ धौ हुने नेपाली समाजको वास्तविकतालाई कथाले कसरी प्रस्तुत गरेको छ, समीक्षात्मक टिप्पणी गर्नुहोस् ।
कथाकार ध्रुवचन्द्र गौतम (वि.सं २००१) द्वारा रचित कथा ‘स्वाद’ ले नेपाली समाजको आर्थिक समस्या र त्यसले सिर्जित समाज तथा परिवारमा परेको प्रभावलाई चित्रण गरेको छ । न्यून वैतनिक कर्मचारीले मिठो मसिनो खान महिनौं कुर्नुपर्ने र ऋण काढ्नुपर्ने दयनीय नियतिलाई लोग्ने र स्वास्नी पात्रमार्फत् प्रस्तुत गरिएको छ । आर्थिक तथा सामाजिक समस्याले पारेको सामाजिक, पारिवारिक तथा वैयक्तिक प्रभावलाई प्रस्ट पारेर कथा बुनिएको छ ।
कथामा प्रस्तुत तत्कालीन समाज पनि लोग्ने, स्वास्नी, छोरा जस्ता पात्र मिलेर बनेको हुँदा त्यो समाजमा पनि हुँदा खाने र नहुँदा नखानेको वर्गीय खाडल रहेको अवस्थामा निम्छरा वर्गले आफ्नो दैनन्दिनी चलाउन पनि ऋण काढ्नुपरेको कारुणिक चित्र देखाइएको छ । एक जनाको सीमित आम्दानीले असीमित आवश्यकता पूरा गर्न नसक्ता अभावमा जीवन गुजार्नुपरेको तितो यथार्थ यहां प्रस्तुत गरिएको छ । पदोन्नति नभए पनि बेरोजगार बस्न नपरेकामा पुलकित हुने सामान्य कारिन्दाको महिनाभरको तलब आएका दिन पनि स्वादसँग एक छाक माछाभात खान पनि ऋण काढ्नुपरेको कारुणिक दृश्य यहाँ उतारिएको छ । एक छाक मिठो खाँदा लागेको ऋण औषधीलाई छुट्याएको बजेटबाट तिर्नुपर्ने घटनाको प्रस्तुतिले गरिबको सामाजिक सांस्कृतिक जीवनशैली कस्तो छ भन्ने कुरा कथामा अभिव्यक्त भएको छ । ऋण गरेर पनि घिउ खाने गरिबको टिठ लाग्दो कथानकले गरिबीपनलाई घृणा र त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्ने कुरालाई लोग्ने पात्रमार्फत् प्रस्तुत गरिएको छ । आपसी विश्वास र सहयोगी भावना हुँदा पारिवारिक वातावरण सुखद हुने र एक जना जागिरेले परिवारको आवश्यकता परिपूर्ति गर्न कठिन हुने हुँदा पराश्रित हुन नहुने, परिवारमा झुटो बोल्न नहुने, आफ्नो सामर्थ्य हेरेर खर्च गर्नुपर्ने अर्थात् घाँटी हेरेर स्वादले हाड निल्नुपर्ने तर आफ्ना इच्छा आकाङ्क्षा मार्न नहुने विषयलाई कथाले उठान गरेको छ ।
यसरी सामाजिक यथार्थवादी कथाकार गौतमले अत्यन्त सरल, सहज र संवादात्मक भाषाशैलीमा गरिबीको मारले सिर्जित पीडालाई सजीव रूपमा कथामा उतारेका छन् । एकातिर जागिर खाएकामा गर्व गर्ने कारिन्दाको अवस्था अर्कातिर दुःखदायी दैनन्दिनीको झल्कोले कथा सजीव चित्र उतार्न सफल बनेको छ । जीवनभर दैनिक आवश्यकतासम्म पूरा गर्न धौ धौ भएको सामान्य कारिन्दाको चर्चाले नेपाली समाजको वास्तविकता प्रस्तुत गर्न सफल भएको छ भन्न सकिन्छ ।
