व्यक्तित्व विकासमा विद्यालयको भूमिका वक्तृता पाठ पढ्नुहोस् ।
पाठ १०: व्यक्तित्व विकासमा विद्यालयको भूमिका (वक्तृत्वकला प्रतियोगिता)
विद्यालयमा नौ कक्षाका विद्यार्थीको वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुँदै छ । आफ्नो कक्षाकोठाबाट निस्केर सबै विद्यार्थी विद्यालयको सभाहलमा पुगिसकेका छन् । कक्षामा भएको प्रतियोगिताबाट छानिएका दुई जना विद्यार्थी प्रथम स्थानका लागि आजको यस प्रतियोगितामा सहभागी भइरहेका छन् । सभाकक्षको मञ्चमा कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकज्यू हुनुहुन्छ । प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आसनग्रहण गर्नुभएको छ । मञ्चको देब्रे छेउमा तीन जना शिक्षक निर्णायकको भूमिकामा आआफ्नो आसनमा बसिसक्नुभएको छ । मञ्चको दाहिने छेउमा प्रतियोगी दुई विद्यार्थी बोल्ने समय र पालो पर्खदै बसेका छन् । विद्यालयका एक जना कर्मचारीलाई समयपालकको जिम्मेवारी दिइएको छ । कार्यक्रम सञ्चालनको अभिभारा नौ कक्षामा अध्ययनरत एक जना विद्यार्थीलाई दिइएको छ । कार्यक्रम सञ्चालकले प्रतियोगिताका नियम स्पष्ट पार्दै प्रतियोगी अमृता नेम्बाङलाई मञ्चमा आमन्त्रण गर्छन् ।
—
### अमृता नेम्बाङ
यस कार्यक्रमका आदरणीय सभाध्यक्ष, प्रमुख अतिथि, निर्णायक मण्डल, श्रद्धेय गुरुवर्ग, प्रतियोगी र अन्य सम्पूर्ण साथीहरू ! ‘व्यक्तित्व विकासमा विद्यालयको भूमिका’ शीर्षकको यस वक्तृत्वकला प्रतियोगितामा म अमृता नेम्बाङ आफ्नो भनाइ राख्ने अनुमति चाहन्छु ।
**आदरणीय महानुभावहरू !**
सर्वप्रथम त म ‘व्यक्तित्व विकासमा विद्यालयको भूमिका’ शीर्षकलाई परिभाषित गर्न चाहन्छु । व्यक्तित्व शब्दको अङ्ग्रेजी समानार्थी शब्द ‘पर्सनालिटी’ हो । सामान्यतः व्यक्तित्व शब्दले बाह्य अनुहार र बाहिरी वेशभूषा भन्ने अर्थ बुझाउँछ । शब्दकोशीय अर्थले बुझाउने अनुहार, बोली र बाह्य व्यवहार व्यक्तित्वका बाहिरी पाटा होलान् । यसको पनि महत्त्व होला तर म के भन्छु भने व्यक्तित्वको वास्तविक रूप उसको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता हो । त्यसैले विद्यालयमा विद्यार्थीको चिन्तन, सोच, आचरण तथा मनको प्रकृतिलाई अनुकूल गराउने गरी वातावरण निर्माण गर्नु र तदनुकूल शिक्षण क्रियाकलाप गर्नुले विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्छ भन्ने मेरो धारणा छ ।
**श्रद्धेय श्रोतागण !**
हामी विद्यार्थी विद्यालयमा ज्ञान आर्जन गरी योग्य नागरिक बन्ने अभिलाषा लिएर आउँछौँ । हाम्रा अभिभावक हामीलाई धेरै पढ्न र सफल बन्न हौस्याइरहनु हुन्छ । अझै हामीलाई तिमीहरू भविष्यमा यो वा त्यो बन्नुपर्छ भनेर उत्प्रेरित गरिरहनु हुन्छ । कहिलेकाहीँ विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा उनीहरूको आफ्नै रुचि जे छ त्यसैमा उत्प्रेरित गरेर हौस्याइयो भने विद्यार्थीको व्यक्तित्व निर्माण सहज रूपमा हुन सक्छ ।
वर्तमानमा विद्यालयमा हामीलाई पढाइन्छ, सिकाइन्छ, कक्षाकार्य र गृहकार्य दिइन्छ । हामी ती कार्य पूरा गर्दै विद्यालय जीवन बिताउँछौँ र सफलताको प्रमाणपत्र लिएर हामी निस्कन्छौँ । यसो गर्दा हामीले सूचना र ज्ञान पायौँ होला, हाम्रो बौद्धिक व्यक्तित्वको विकास भयो होला तर समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास र हामीभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काममा हाम्रा विद्यालयले कसरी अभिमुखीकरण गरेका छन् ? हामीभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्न र आत्मविश्वास जागृत गर्न हाम्रा विद्यालयले कस्तो वातावरण सिर्जना गरेका छन् त ? विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विद्यालयको दायित्व के हुनुपर्छ, यसमा व्यापक बहस हुनु जरुरी छ ।
**सभाध्यक्ष महोदय !**
पहिलो कुरा विद्यार्थीभित्र रहेको अनन्त ऊर्जा जगाउने काम हाम्रा विद्यालयले निर्वाध रूपमा गरुन् र विद्यार्थीमा स्वशक्तिको पहिचान गराउने काम होओस् । हरेक मानिसभित्र सकारात्मक र नकारात्मक दुबै खालको मन हुन्छ, सकारात्मक मन र सकारात्मक सोच मात्र जगाउने काम विद्यालयमा होस् ।
दोस्रो कुरो विद्यार्थीमा आत्मविश्वास जगाउने र उनीहरूभित्रको असीमित ऊर्जालाई प्रज्वलित गर्ने काम विद्यालयमा होओस् । बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्य अझै उज्यालो हुने गरी हरेक विद्यार्थीले आफ्नो सांस्कृतिक पृष्ठभूमिप्रति गौरव गर्ने वातावरण विद्यालयमा सिर्जना होओस् । विद्यार्थीभित्र विद्यमान प्रतिभा र बौद्धिकता जगाउने वातावरण विद्यालयले सिर्जना गरोस् । विद्यार्थी सिकाइमा विद्यार्थीमुखी कार्यकलाप गरियोस् । हामीलाई ठुलो मान्छे होइन असल मान्छे बन्न प्रेरित गरियोस् । हामी विद्यालयका शिक्षकका कुराबाट भन्दा उहाँहरूका आदत, बानी र व्यवहारबाट सिक्न पाऔं । ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्छ भन्ने कुरा कापीमा उत्तर लेखेर होइन, बसमा चढेका, बाटो काट्दै गरेका उनीहरूलाई सिट छाडेर अन्य किसिमका सहयोग गरेका आधारमा हाम्रो मूल्याङ्कन होओस् । दीनदुःखी र फरक क्षमता भएकालाई सहयोग एवम् सद्भाव व्यक्त गरेका आधारमा हाम्रो मूल्याङ्कन गरियोस् । किताबका अक्षर घोकेर उत्तरपुस्तिकामा पोखेकै आधारमा मात्र हाम्रो मूल्याङ्कन गर्ने प्रणालीले के हामी विद्यार्थीको समग्र व्यक्तित्व विकास हुन्छ त ? मेरा यी प्रश्नतर्फ म यहाँ उपस्थित सम्पूर्ण श्रोतागणको ध्यान आकृष्ट गर्न चाहन्छु । त्यसैले विद्यालयलाई किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाइयोस् र हाम्रो व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माण होओस् । क्रियाकलाप र सहक्रियाकलापलाई सिकाइकै अङ्ग बनाइयोस् ।
**आदरणीय गुरुवर्ग !**
हावर्ड गार्डनरले हरेक व्यक्तिमा हुने बहुबौद्धिकता वा बहुप्रतिभाको जुन कुरा गरेका छन्, त्यसमा ध्यान दिएर शिक्षण क्रियाकलाप सम्पन्न गरियो भने विद्यार्थीको बौद्धिक विकास हुन सक्थ्यो कि ? गार्डनरका अनुसार बौद्धिकताका प्रकारमध्ये संसारका हरेक व्यक्ति र सिकारुमा सबै वा अधिकांश प्रतिभा अलग अलग मात्रामा सन्तुलित वा सुषुप्त रूपमा रहेकै हुन्छन् । संसारका सबै व्यक्ति वा सिकारुमा रहेका यी प्रतिभा वा बौद्धिकतालाई विकसित गरी शिक्षणमा र विद्यार्थीको व्यक्तित्व विकासमा उपयोग गर्न सकिन्छ । गार्डनरको सिद्धान्तको सार हो, जो जुन कुरामा गहिरो रुचि राख्छ, तिनैसित सम्बन्धित क्रियाकलापमा तिनलाई भाग लिन दिनुपर्छ । उदाहरणका लागि साहित्यमा विशेष रुचि भएकाका लागि कथा, कविता, निबन्ध र सिर्जनात्मक लेखन क्रियाकलाप बढी उपयोगी हुन्छ भने शारीरिक क्षमता भएकाका लागि खेलकुद । हामीलाई थाहै छ, डार्विनको प्रतिभालाई कक्षाकोठाको खुराकले नपुगेर उनले प्रकृतिलाई नै आफ्नो पाठशाला बनाए र विकासवादको सिद्धान्त प्रतिपादन गरे । पारस खड्का, सन्दीप लामिछाने आदिको रुचिले नेपाली क्रिकेटलाई उचाइ प्रदान गरेको कुरा हामीलाई थाहै छ । सङ्गीतमा रुचि भएकालाई गीत सङ्गीतमा प्रतिभा प्रस्फुटन गर्ने वातावरण विद्यालयले तयार पार्नु जरुरी हुन्छ । आज विभिन्न आइडलका नाममा सञ्चालन भइरहेका कार्यक्रमले लुकेका प्रतिभाको व्यक्तित्वलाई उजागर गरी शिखरमा पुऱ्याएको छ त्यो कुरा हेर्दा यो छर्लङ्ग नै हुन्छ । अचेल कसरी बाल प्रतिभाले लोकदोहोरी गायनमा घगडान व्यक्तित्वलाई आच्छु आच्छु पारेका छन् यी सन्दर्भले पनि यो कुरालाई पुष्टि गरेकै छन् ।
**उपस्थित महानुभावहरू !**
विद्यालयमा गरिने सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई विद्यार्थीभित्रको उच्च तहको सिर्जनशील चिन्तन, समीक्षात्मक चिन्तन, सञ्चार सिप, निर्णय क्षमता, समस्या समाधानलगायत सिप विकाससित पनि जोड्दै लैजानुपर्छ । उनीहरूको बहुमुखी व्यक्तित्व विकासमा विद्यालय लाग्न आवश्यक छ ।
*(जनाउ घन्टी बज्छ ।)*
अन्त्यमा म के भन्छु भने विद्यार्थीको शैक्षिक र बौद्धिक व्यक्तित्व विकासमा विद्यालयको भूमिका रहेकै छ तर मान्छेलाई समाजमा समायोजन हुन र आफ्ना कर्तव्यप्रति सचेत हुन विद्यालयको भूमिका रहेको हुन्छ । विद्यार्थीभित्र निहित आत्मविश्वास, आँट, हिम्मत जागृत गर्न पनि विद्यालयको अहम् भूमिका हुन्छ । भविष्यमा एक होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गरोस् भन्ने मेरो अपेक्षा हो ।
धन्यवाद ।
*(उद्घोषकले अर्का प्रतियोगी छिरिङ लामालाई आफ्नो वक्तृताका लागि मञ्चमा आमन्त्रण गर्छन् ।)*
—
### छिरिङ लामा
आदरणीय सभाध्यक्ष महोदय ! प्रमुख अतिथिज्यू, गुरुवर्ग, निर्णायक मण्डल एवम् मेरा प्रतिस्पर्धी तथा सम्पूर्ण मित्र !
आज आयोजित यस वक्तृत्वकला प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा म गौरवान्वित छु । आजको वक्तृताको विषय छ, ‘ व्यक्तित्व विकासमा विद्यालयको भूमिका ।’
**सभाध्यक्ष महोदय !**
व्यक्तित्व भनेको व्यक्तिभित्र रहेका गुणको त्यो समूह हो जसले कुनै व्यक्तिलाई अर्को वा दोस्रो व्यक्तिभन्दा पृथक् राख्छ । लड्मेन डिक्सनरीका आधारमा कुनै व्यक्तिको सम्पूर्ण स्वभाव वा चरित्र उसको व्यक्तित्व हो । क्याम्ब्रिज इन्टरनेसनल डिक्सनेरीअनुसार तपाईंको व्यवहार गराइ, महसुस गराइ र सोचाइको तरिका तपाईंमा जुन देखिने गर्छ त्यो नै तपाईंको व्यक्तित्व हो । नेपाली बृहत् शब्दकोशले व्यक्तित्वलाई व्यक्तिको वैयक्तिक विशेषता देखाउने गुण, निजीपन र व्यक्तिमा निहित अरूलाई प्रभाव पार्ने विशेषताका रूपमा चिनाएको छ । त्यसैले म के भन्छु भने हरेक व्यक्तिमा शिष्टाचार, नैतिकता, आचरण, आत्मविश्वास, साहस, सोचाइ, व्यवहार, बोलीचाली र आनीबानीमा समेत झल्किने जुन भाव छ त्यो नै व्यक्तित्व हो । यी सबै कुरामा विद्यार्थीलाई सशक्त बनाउन र उनीहरूमा भावी जीवनको उज्यालो पक्ष देखाउन विद्यालयको गहन भूमिका रहन्छ भन्ने मलाई लाग्छ ।
**उपस्थित महानुभावहरू !**
विद्यालयले विद्यार्थीमा जुन किसिमको जीवनमूल्यलाई महत्त्व दिन्छ, विद्यार्थी त्यस्तै मूल्यमा प्रवृत्त हुँदै जान्छन् र त्यसैलाई ग्रहण गर्छन् । windowsill विद्यालयको परिवेश र वातावरण जस्तो हुन्छ, विद्यार्थीको धारणा निर्माणमा त्यही परिवेशले बढी प्रभाव पार्छ भन्ने मलाई लाग्छ ।
विद्यालय विद्यार्थीको दोस्रो घर हो । विद्यार्थीको अधिकांश समय घरपरिवारका अतिरिक्त विद्यालयमा नै बित्ने गर्छ । चार पाँचवर्षसम्म आमाबुबाको पालनपोषणबाट एक प्रकारको व्यक्तित्वको जग बसिसकेको हुन्छ । पारिवारिक परिवेशभित्र निर्मित व्यक्तित्वको त्यो जगलाई ठड्याउने र दरिलो बनाउने काममा विद्यालयको उदात्त परिवेशको अहम् भूमिका रहन्छ ।
विद्यालयमा विद्यार्थीको शिक्षक र साथीसँग सोझो सम्पर्क हुन्छ । विद्यार्थीका लागि शिक्षक पनि आमाबुबा जस्तै आदर्श हुन्छन् । संवेदनशील र सहानुभूतिपूर्ण स्वभाव भएका शिक्षकबाट विद्यार्थीको व्यक्तित्वमाथि गहिरो प्रभाव पर्छ । कक्षाका साथीको राम्रो र नराम्रो व्यवहारको पनि विद्यार्थीमाथि सकारात्मक र नकारात्मक प्रभाव पर्छ । यसरी हामी के भन्न सक्छौँ भने शिक्षकको प्रभावशाली व्यक्तित्व,迫 उसको सहानुभूतिपूर्ण व्यवहार, विषयगत योग्यता तथा शिक्षण शैलीको विद्यार्थीको व्यक्तित्वमाथि अनुकूल र राम्रो प्रभाव पर्छ । शिक्षकको मनोवृत्ति तथा व्यवहारको प्रभाव विद्यार्थीको व्यक्तित्वमाथि अनायास रूपमै परेको हुन्छ । शिक्षकले पढाएका कुरासँगसँगै उहाँहरूका आनीबानी, बोलीवचन र व्यवहारबाट विद्यार्थीले धेरै कुरा सिकिरहेका हुन्छन् । तिनले विद्यार्थीको व्यक्तित्वमा शनैः शनैः प्रभाव नपार्ने कुरै आउँदैन ।
**श्रद्धेय महानुभावहरू !**
विद्यार्थीको व्यक्तित्वमा विद्यालयको भौतिक परिवेश अनि भावात्मक र संवेगात्मक वातावरणले समेत प्रभाव पार्छ भन्ने मलाई लाग्छ । ध्वनि, वायु वा यस्तै कुनै कारणले प्रदूषित वातावरणमा यदि विद्यालय भवन छ भने त्यहाँका विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्छ । विद्यालय भवन र कक्षाकोठाको वातावरणले पनि विद्यार्थीको पठनपाठनमा प्रभाव पर्न सक्छ । त्यसले विद्यार्थीका मनमा एक प्रकारको चिन्ता र त्रास जस्ता भाव पैदा भई उनीहरूको संवेगपूर्ण व्यक्तित्वमाथि नकारात्मक असर पर्न सक्छ । विद्यार्थीको व्यक्तित्वमाथि गम्भीर र नकारात्मक प्रभाव पार्ने कुरामा सम्बन्धित पक्ष सचेत हुनु जरुरी छ भन्ने मलाई लाग्छ ।
**उपस्थित महानुभावहरू !**
विद्यालयमा विद्यार्थीभित्र आत्मविश्वास र आत्मअनुशासनको वातावरण सिर्जना गरियोस् । विवेकानन्द भन्छन् “आफूमा विश्वास राख्नुहोस्, सम्पूर्ण शक्ति तपाईंमा नै छ, यसलाई बाहिर ल्याउनुहोस् ।” विद्यार्थीभित्र रहेको सकारात्मक सोच र शक्तिलाई यसै गरी उजागर गरियोस् । असफलता र गल्तीलाई कमजोरी होइन शिक्षाका रूपमा लिने चेतना अनि विद्यार्थीभित्रको इच्छाशक्तिलाई दरो पार्ने वातावरण सिर्जना होओस् । एउटा कथन छ “हामी सफलताभन्दा पनि आफ्ना गल्ती र असफलताबाट बढी सिक्छौं, किनकि गल्ती नै हाम्रा शिक्षक हुन् ।” हो, विद्यार्थीले गल्ती गर्दा दण्ड होइन त्यो गल्तीले तिमीलाई यो पाठ पढायो त्यसैले त्यो तिम्रो शिक्षक हो भनी बताइयोस् । विद्यार्थीमा असीमित तागत छ । त्यस तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै व्यक्तित्व विकासमा विद्यालय समर्पित होउन् ।
*(जनाउ घन्टी बज्छ ।)*
विद्यार्थीलाई भावी जीवनको सुन्दर भविष्यको गोरेटो मात्र देखाइयोस् । यो विषय अध्ययन गर्छु, यसबाट मेरो भविष्य सुनिश्चित छ भन्ने एउटा उत्प्रेरणा उनीहरूमा जगाउन सकियोस्, जहाँ अब विद्यार्थीलाई पढ पढ भनेर समय खेर फाल्नु नपरोस्, विद्यार्थी स्वयम् पढ्नका लागि आतुर होउन्, कामप्रति लगनशील होउन्, राष्ट्रप्रति समर्पित होउन् ।
विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहन्छ । विद्यालयको वातावरण र शिक्षकका आचरणबाट निस्सृत असल प्रभावले नै विद्यार्थीको बहुमुखी व्यक्तित्व मुस्कुराउन र समाजमा सुवास छर्न सक्छ । विद्यार्थीको प्रतिभा प्रस्फुटित भई बहुमुखी व्यक्तित्व विकास गर्न विद्यालयले सकारात्मक ऊर्जा प्रदान गर्न सक्छ भन्दै मेरो भनाइ यहीं समाप्त गर्छु । धन्यवाद !
—
## शब्द र अर्थ (Glossary)
| शब्द | अर्थ |
| — | — |
| **असीमित** | सीमा नभएको
|
| **प्रवर्तन** | थालनी, आविष्कार
|
| **सुषुप्त** | गाढा निद्रामा परेको, निष्क्रिय अवस्थामा रहेको
|
| **समायोजन** | वातावरण वा परिस्थिति अनुकूल बनाउने काम, संयोजन
|
| **संवेदनशील** | मानिसमा हुने मार्मिक अनुभूति, मानवीय अनुभूति
|
| **सहानुभूति** | अरूको दुःखमा दुःखी हुनु वा सँगसँगै दुःखको अनुभूति गर्नु
|
| **अनायास** | प्रयत्नबिना नै, अकस्मात्, एकाएक
|
| **भावात्मक** | भाव प्रबल रूपमा रहेको, भावमूलक
|
| **संवेगपूर्ण** | संवेगको अवस्था, शारीरिक वा मानसिक क्रियामा आउने उत्तेजना
|
| **निस्सृत** | निस्केको, बहेको
|
