करेसाबारी पाठको सङ्क्षिप्त विषयवस्तु
९. (क) करेसाबारीमा मलखाद प्रयोग, सिँचाइ र गोडमेलका बारेमा पाठमा व्यक्त विषयवस्तुप्रति आफ्ना धारणा व्यक्त गर्नुहोस्।
घरले चर्चेर बाँकी रहेको घर वरिपरिको खाली जमिनलाई करेसाबारी भनिन्छ । करेसाबारीको राम्रो व्यवस्थापन गरेर ताजा ताजा तरकारीहरू आफै उत्पादन गर्न सकिन्छ । आफै उत्पादन गरेका तरकारी स्वास्थ्यका लागि फाइदाकारी हुन्छन् । करेसाबारी शीर्षकको निबन्ध पाठले हामीलाई यस्तै कुरा बताएको छ।
करेसाबारीलाई सुन्दर बनाउनका लागि विभिन्न तरिका अपनाउन सकिने पक्षतिर पाठले सङ्केत गरेको छ । खासमा करेसाबारीमा तरकारी फल्ने होइन, जाँगर फल्ने हो । सागसब्जी लहलहाउने होइन, मानिसको परिश्रम र पसिना लहलहाउने हो । मानिसले पौरख गर्यो भने मरुभूमिमा फूल फुल्छ । बाँझा भीरपाखामा सुनसरी अन्न झुल्छ । करेसाबारी पनि आफै हराभरा हुँदैन । यसका लागि खनजोत, गोडमेल र सिँचाइको राम्रो प्रबन्ध मिलाउनुपर्छ । एउटा पुरानो भनाइ छ – “घोकन्ती विद्या, धावन्ती खेती ।” अहिले यो भनाइमा थोरै संशोधन गर्न सकिन्छ । घोकेर मात्रै होइन बुझेर पढ्नुपर्छ तर खेती राम्रो बनाउनका लागि धाउनैपर्छ,, गोडमेल र मलपानी गर्नैपर्छ । पाठले हामीलाई जैविक करेसाखेतीमा लाग्नुपर्ने सन्देश दिएको छ । रासायनिक मल, कीटनाशक विषादी र हाइब्रिड बिउबिजनको प्रयोग नगर्नेतर्फ सचेत गराएको छ।
घाँसपात, झार, पातपतिङ्गर कुहाएर प्राङ्गारिक मल बनाई बिरुवामा हाल्नुपर्ने कुरा बताएको छ । यसका दुई ओटा फाइदा छन् । एकातिर घरको फोहोर तह लगाउने समस्या समाधान हुन्छ भने अर्कातिर राम्रो तरकारी उत्पादन हुन्छ । साथै करेसबारीमा बारबेर गर्ने अथवा पर्खाल लगाएर रोपिएको बिरुवा जोगाउने सल्लाह पनि दिइएको छ । करेसाबारीमा बार लगाइएको ठाउँमा लहरे तरकारी लगाउन सकिन्छ । फरक फरक मौसममा फरक फरक तरकारी लगाइ जमिनको भरपुर मात्रामा उपयोग गर्ने तरिका बताइएको छ।
करेसाबारीबाट राम्रो उत्पादन लिनका लागि नियमित रूपमा गोडमेल गर्नुपर्छ । साथै सिँचाइ पनि गर्नुपर्छ । भान्सामा प्रयोग भइसकेको पानी बिरुवामा हाल्ने व्यवस्था मिलाउन सकिन्छ । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं हामीले अलिकति सोच राख्ने हो भने करेसाबारीबाट ताजा ताजा तरकारी उत्पादन गरी स्वास्थ्य राम्रो बनाउनका साथै घर वरिपरिको वातावरणसमेत सुन्दर बनाउन सकिन्छ । सिँगारौं करेसाबारी, फलाऔं ताजा तरकारी।
