मेघ बिजुली विवाह कविता पाठ पढ्नुहोस् ।
पाठ १
मेघ बिजुली विवाह
भरतराज पन्त
बिहा हो यो पक्का जलद विजुलीको गगनमा
जुरेको यो राम्रो ग्रहगति असारे लगनमा
बजेका हुन् भ्याली झिमझिम गरी बाँसहरूमा
हरीयो दोसल्ला भिरि नग पुरेतै छ विधिमा ।
मयूरीको बोली श्रुतिपथ हुँदा पद्धति भयो
हवाले हल्लेको वन जति सबै मण्डप भयो
थिए शैलश्रेणी उपर कदलीका दल पनि
भए शोभादायी रुचिर चंदुवा नै सरि बनी ।
भइन् पृथ्वी तन्ना, चउर छ गलैंचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिमचुली
बकुल्लाका ताती तरल गतिले आज नभमा
उडे जन्ती जस्तै रसबस बढाएर मनमा ।
सितारे घुम्टी हुन् चमचम निशाका जुनकिरी
भए ती इन्द्रेनी वसन बहुरङ्गी फिरिफिरी
भयो रातो खास्टो रवि किरणले पश्चिम गिरि
निशाको त्यो कालो तम पटल भो नील कवरी ।
बज्यो छं छं गर्दै सकल रुखमा त्यो समयमा
भयो बज्ने कल्ली गजब दुलहीको पयरमा
अहो ! झल्की झल्कीकन नव बधू आज विजुली
लुकेकी पर्दामा पलकभरमा क्यै सरम ली ।
सबै प्राणीलाई भुवनभरमा अन्नहरूको
खुवाएकै हो त्यो वर जलदले भोज यसको
सलामी बाजाले घननन गराएर गगन
गयो रानीलाई लिइ ऋतु शरद्मा रस लिन ।
