सारङ्गीमा देश कविता पाठ पढ्नुहोस् ।
पाठ ८: सारङ्गीमा देश (धीरेन्द्र प्रेमर्षि)
गाउँदै आयो यो नेपाली सारङ्गीमा देश
मेची काली हिमाल पहाड तराई मधेस ।
जीवनको कथा, व्यथा, सङ्घर्षमा बाँच्छ
हाम्रै आँसु हाँसोसँग सधैं रुन्छ हाँस्छ
सिर्जनामा रम्दै अनि साधनामा जम्दै
पौरखीका पसिनाको सुवासमा नाच्छ ।
बक्खु, भाङ्ग्रा, धोती सबै भन्छ मेरै भेष
गाउँदै आयो यो नेपाली सारङ्गीमा देश ।
हिमाललाई न्यानो दिन्छ तराईको काखा
मधेसको पङ्खा बनी बस्छन् भिरपाखा
स्वाभिमानको मियोमाथि पिरतीको दियो
बाली मुस्कुराएका छन् कोटी कोटी आँखा ।
नलागोस् है कसैको नि भावनामा ठेस
गाउँदै आयो यो नेपाली सारङ्गीमा देश ।
जन्मे यहीं बुद्ध अनि भृकुटी र सीता
यही माटामा कर्मयोग सिकाउँछ गीता
ज्ञानभूमि, तपोभूमि, स्वप्नभूमि यही
गर्वसाथ गाउने गर्छ, जय धर्ती माता !
जता हेर्यो त्यतै देख्छ विशेषै विशेष
गाउँदै आयो यो नेपाली सारङ्गीमा देश ।
प्रकृक्तिले सम्झाउँछ अमर गौरव गाथा
संसारकै शिरपोस हाम्रो सगरमाथा
समृद्धिको शिखर चुम्दै जान माथि माथि
रेटिंदै छ मानो रोपी फलाउन पाथी ।
सिङ्गो धर्ती सजाउने स्वर्णिम परिवेश
गाउँदै आयो यो नेपाली सारङ्गीमा देश ।
शब्द र अर्थ (Glossary)
| शब्द | अर्थ |
| व्यथा |
मानसिक वा शारीरिक पीडा, कष्ट |
| बक्खु |
उनको बाक्लो कोट जस्तो लामो कपडा |
| भाङ्ग्रा |
पाटबाट बुनेको बोरा जस्तो खस्रो कपडा |
| मियो |
दाइँ गर्न खलाको बिचमा बलियो गरी गाडिने खम्बा, केन्द्र वा मुख्य |
| कोटी |
करोड |
| कर्मयोग |
सफलता र विफलताको वास्ता नराखी समान भावले गरिने शुभकार्य |
| तपोभूमि |
देवता र ऋषिमुनिहरूले तपस्या गरेको भूमि |
| शिरपोस |
शिरमा लगाइने टोपी, पगरी, फेटा |
| समृद्धि |
समृद्ध हुनाको भाव वा अवस्था, सम्पन्नता |
| स्वर्णिम |
सुन जस्तै चम्किलो, सुनौलो |
