मेघ बिजुली विवाह कवितांश व्याख्या
मेघ बिजुली कविताको निम्न कवितांशको व्याख्या गर्नुहोस् :
भइन् पृथ्वी तन्ना, चउर छ गलैंचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिमचुली
प्रस्तुत कवितांश कक्षा ९ को नेपाली पाठ्यपुस्तकअन्तर्गत ‘मेघ बिजुली विवाह’ शीर्षक पद्य कविताबाट साभार गरिएको हो । यसका रचनाकार परिष्कारवादी-छन्दवादी कवि भरतराज पन्त हुन् । यस कवितामा प्रकृति र पूर्वीय संस्कृतिको अनुपम संयोजन गरिएको पाइन्छ । कवितामा प्रकृतिलाई मानवीकरण गरी हिन्दु परम्परा अनुसार विवाह गर्ने पद्धतिको चित्रण गरी मानव जीवनसँग तुलना गरिएको छ । यस कवितांशमा मेघ र बिजुलीका बीच सम्पन्न विवाहमा पृथ्वीले तन्ना र हिमचुलीले दुलाहाको फेटा बनी विवाह सम्पन्न भएको भाव भएको छ ।
असार महिना धर्तीलाई सिञ्चित तुल्याउन वर्षात् हुने महिना हो । यस शुभ समयलाई प्रकृतिमा विवाहको लगन जुरेको सन्दर्भ उल्लेख गरी कवितामा दुलाहा मेघ र दुलही बिजुलीको बिचमा वैदिक विधिपूर्वक विवाह सम्पन्न भएको सुन्दर कल्पना गरिएको छ । मानिसको विवाहमा दुलाहा र जन्ती पक्षलाई स्वागत गर्न तन्ना, गलैँचा आदि बिच्छ्याउने प्रचलन छ । प्रकृतिको यस विवाह उत्सवमा तन्नाको रुपमा पृथ्वी रहेको र हरियो चउरले गलैंचा बनेर विभिन्न भूमिका निर्वाह गरेको कुरा व्यक्त गरिएको छ । प्रकृतिमा विद्यमान् सबै वस्तुहरुले मानिसको विवाहको बेलामा जस्तै अलग अलग भूमिका निर्वाह गरेका छन् । यहाँ दुलाहाले फेटा बाँध्ने संस्कारलाई तादात्मीकरण गरी प्रकृतिमा भने सन्ध्याको समयमा सूर्यको लाली छरिन गई रातै देखिने हिमालचुलीहरु नै दुलाहाको शिरमा लगाईने पगरी बनेको प्रसङ्ग उल्लेख गरिएको छ ।
यसरी माथिको कवितांशमा प्रकृतिको मानवीकरण गरी मेघ र बिजुलीको बिचमा हुने विवाहको क्रममा हुने विधि, वेशभूषा र संस्कारहरुलाई झल्काइएको पाइन्छ । प्रकृतिमा विभिन्न वस्तुहरुले आवश्यकता अनुसार आआफ्नो भूमिका र कर्तव्य निर्वाह गरी सृष्टिलाई निरन्तरता दिइरहेको कुरा यहाँ कलात्मक र भावात्मक रुपमा चित्रण गरिएको छ ।
व्याख्या
विहा हो यो पक्का जलद बिजुलीको गगनमा
जुरेको यो राम्रो ग्रहगति असारे लगनमा
बजेका हुन् भयाली झिमझिम गरी बाँसहरूमा
हरीयो दोसल्ला भिरि नग पुरेतै छ विधिमा ।
प्रकृति र पूर्वीय संस्कृतिको अनुपम संयोजन गरिएको उत्कृष्ट कविता मेघ बिजुली विवाह’ का प्रस्तुत कवितांशमा प्रकृतिलाई मानवीकरण गरिएको छ । यस कवितांशले प्राकृतिक दृश्य वा वस्तुलाई मानवीय भावमा प्रस्तुत गरेको छ ।
विवाह सांस्कृतिक उत्सव हो । निश्चित उमेर पूरा भएपछि विवाह गरिन्छ । कवितांशका सन्दर्भमा चाहिँ मनुसन प्रारम्भ हुने समयलाई नै विवाह गर्ने उमेरका रूपमा सङ्केत गरिएको छ । विवाह उत्सवका माध्यमबाट वर र वधू वैवाहिक सम्बन्धमा गाँसिन्छन् । विवाह पश्चात् नयाँ जीवनको सुरुआत हुन्छ । यस कवितामा वर र वधू क्रमश मेघ र विजुली बनेका छन् । मेघ र विजुलीको विवाह हेतु सैंस्कार र संस्कृतिअनुसार आयोजना गरिएको छ । विवाहले दुई परिवारबिच नयाँ नातासम्बन्ध जोड्ने काम गर्छ । प्रकृतिमा पनि मेघ र विजुलीको विवाहबाट धरती र आकाशको सुखद मिलन हुन्छ । आकाशले धरतीलाई अमृतरूपी वर्षा उपहार दिन्छ । धरतीले उक्त वर्षाबाट हरियाली वातावरण कायम गर्छ । प्राणीका लागि खाद्यान्न उब्जाउँछ । तसर्थ कविले मेघ र बिजुलीको विवाहलाई जीवन र जगत्का लागि महत्त्वपूर्ण भएको ठानेका छन् । असार महिनामा ग्रहगति अर्थात् शुभ साइत मिलाएर विवाहको लगन जुराइएको छ । असार महिनामा हुन लागेको उक्त विवाहमा प्रकृति जगत् नै एकजुट भएका छन् । बाँसका झ्याङले झ्याली बजाएका छन् । सिङ्गो प्रकृति जगत् पञ्चेबाजा बजाउत्त क्रियाशील छ । कवितांशमा उल्लिखित यस सन्दर्भले नेपाली वैवाहिक परम्पराको हर्षोल्लासलाई सङ्केत गरेको छ । पहाडले हरियो दोसल्ला ओढेको छ । वरिपरिका अग्ला डाँडा पुरेत बनेर विवाह मण्डपमा बसेका छन् । यस श्लोकमा मेघलाई बर, बिजुलीलाई वधू र अग्ला पहाडलाई पुरेतका रूपमा चित्रण गर्दै प्रकृतिलाई मानवीकरण गरिएको छ ।
अतः शिखरिणी छन्दमा रचित उपर्युक्त कवितांशले वैदिक विधिद्वारा मेघ र बिजुलीको विवाह सम्पन्न गराउने क्रममा प्रकृतिका विभिन्न वस्तुलाई अलग अलग भूमिकामा प्रस्तुत गरेको छ । विवाह उत्सवको सांस्कृतिक र परम्परित महत्त्वको जीवन्त चित्रण गरिएको छ । यसका साथै कवि मनमा निहीत अगाध प्रकृति र संस्कृतिप्रेम प्रस्तुत भएको छ ।
