करेसाबारी निबन्धांशको व्याख्या
हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि पनि हुन पुग्छ र वातावरण स्वच्छ बन्न पाउँछ ।
हामीले आफूलाई आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा उत्पादन गर्नु आवश्यक हुन्छ । भर्खर टिपेका, नओइलाएका, झरिला र रसिला तरकारीलाई ताजा तरकारी भन्न सकिन्छ । हाम्रै घरवरिपरि आफैंले उमारेका ताजा तरकारी स्वाद र स्वाथ्यका दृष्टिले धेरै महत्त्वपूर्ण हुन्छन् । सहर बजारमा किनिएका तरकारी विभिन्न कीटनाशक विषादी, रासयनिक मल र अन्य रासायनिक पदार्थ प्रयोग गरेर उत्पादन गरिएका हुन सक्छन् । त्यस्ता तरकारीबाट जोगिने एउटै उपाय आफूलाई आवश्यक पर्ने ताजा तरकारी आफैंले उमार्नु नै हो । हामीले केही समय र श्रम आफ्नै करेसाबारीमा खर्च गर्ने हो भने ताजा तरकारी आफ्नै आँखा अगाडि उत्पादन गर्न सक्छौँ । करेसाबारीमा काम गर्दा शरीरलाई कसरत पनि हुन्छ । सहर बजारमा किनिने तरकारी बासीतासी र खानका लागि अयोग्य पनि हुन सक्छन् । त्यस्ता तरकारी व्यावसायिक दृष्टिले उत्पादन गरिएका हुन्छन् । तसर्थ हाम्रा घरवरिपरि खाली ठाउँ छ भने त्यसलाई कसेराबारी बनाउन सकिन्छ । घरको छतमा पनि कौसी खेती गर्न सकिन्छ । आफ्नै हातले खनजोत गरी आफैंले रोपेर गोडमेल गरेपछि फलेका तरकारी खाँदा आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ । वरिपरि फलेका तरकारीले घर आँगनको शोभा पनि बढाउँछन् ।
ताजा कुरा जे पनि राम्रा हुन्छन् । जस्तै ताजा हावा, ताजा पानी, ताजा फलफूल आदि । तरकारी त हाम्रो दैनिक उपभोग्य बस्तुमा पर्छ । त्यसैले स्वास्थ्यका लागि यसको धेरै महत्त्व छ । स्वास्थ्यसित प्रत्यक्ष सरोकार राख्ने भएकाले ताजा तरकारी उत्पादन गर्नु अत्यावश्यक छ । यसका लागि करेसाबारीलाई प्रयोग गर्न सकिन्छ ।
